केही समय पहिला कक्षा १२ सकेर बिदाइ भएर जाँदै गरेका विद्यार्थीले एकअर्काको सर्टमा ‘खाडीमा भेटौंला, वैदेशिक यात्रा सफल रहोस्, कोरियाको यात्रा सफल रहोस्, जापानको यात्रा सफल रहोस्’ लगायत कुरा लेखेको फोटोले सामाजिक सञ्जालमा एकदमै चर्चा पायो । सम्झनाका लागि साथीहरूलाई मायाको चिनो स्वरूप यस्ता शब्दहरू लेखिएको भए पनि त्यो फोटोले वर्तमान समाजको यथार्थ चित्रण गरेको छ ।
सामाजिक सञ्जालमा समेत धेरै चर्चा पाएको यो विषयले देशको नेतृत्व गर्छौं भनेर राजनीति गर्नेहरूको खिल्ली उडाइरहेको महसुस सबैलाई भइरहेको छ । तर स्वयं नेतृत्वकर्ताहरूलाई भने यसले खासै असर गरेको भने देखिंदैन ।
विद्यालय शिक्षा पूरा गरेर उच्च शिक्षा अध्ययन गरिसकेपछि आफ्नो सिकाइलाई व्यवहारमा कार्यान्वयन गरेर परिवार, समाज र राष्ट्रको मुहार फेर्ने अभिभारा पाउनुपर्ने युवाशक्ति नै आफ्नो ऊर्जाशील समय विदेशमा खर्चिन तल्लीन छन्, उनीहरूलाई भ्याईनभ्याई छ । अहिलेको बालक भविष्यको कर्णधार हो, भोलिका दिनमा यो देशको अभिभारा त्यही बालकको काँधमा आइपर्ने हो भन्ने कुरालाई भने नेतृत्वकर्ताहरूले महसुस नगरेको देखिन्छ । उनीहरूमा चरम सत्ता स्वार्थ बाहेक अन्य कुराको चासो नै देखिंदैन ।
अहिलेको समय नै यस्तो छ कि प्रत्येक मानिसले विलासिताको जीवन बिताउन चाहन्छ । आफ्नो वरपर अथवा आफ्ना साथीभाइ, आफन्तका ठूला-ठूला घर, महँगा गाडी, गरगहना, महिनैपिच्छे गर्ने घुमघाम, हप्तैपिच्छे रेस्टुरेन्टमा गरिने पार्टी देख्दा जो-कोहीलाई पनि आफ्नो जीवनशैली त्यस्तै बनाउन मन लाग्छ ।
त्यसको लागि चाहिने भनेको त पैसा नै हो तर हाम्रो जस्तो मुलुकमा इमानदारीपूर्वक गरिने कामले यी सब इच्छा पूरा हुन असम्भव नै छ । त्यसैले अहिलेका युवाहरू विदेशिन बाध्य छन् । तत्कालका लागि यसबाट मुलुकलाई फाइदा नै छ तर पछि यसले देशलाई ठूलो घाटा हुनेछ ।
हिजोआज चियापसल, गाउँघरमा मानिस भेला हुँदा गरिने छलफलमा अबको दश वर्षमा यो देशमा शिक्षक, डाक्टर, इन्जिनियर, प्रहरी, आर्मी, सशस्त्र लगायत राष्ट्रसेवक कर्मचारी कोही पनि भेट्न सकिंदैन भन्ने कुराको चिन्ता बढी मात्रामा देख्न सकिन्छ । विद्यालय तहको अध्ययन सकेपश्चात् उच्च शिक्षा हासिल गरेर माथि उल्लिखित पेशामा लाग्नुपर्ने युवाशक्ति नै विदेश पलायन भएपछि यो देश वृद्धाश्रमको रूपमा मात्र नरहला भन्न सकिंदैन ।
त्यसैले अबका दिनमा देश र जनताको नेतृत्व गर्छौं भनेर अघि बढेका राजनीतिक दलका नेतृत्वकर्ताले कुरा मात्र नगरेर काम गर्नुपर्ने बेला आएको छ । अब भाषणमा मात्र मिठा-मिठा कुरा गरेर एकअर्कालाई दोषारोपण गरेर मात्र हुँदैन । भाषणमा भने झैं साँच्चिकै देश र जनताको मायाले नै प्रेरणा मिल्छ भने अहिले काम गर्ने बेला आएको छ ।
यसका लागि त्यति साह्रो केही गर्नुपर्ने पनि देखिंदैन । निर्वाचनका बेला आन्दोलन, र्यालीमा प्रयोग गर्ने युवाहरूलाई स्वदेशमै रोजगार सिर्जना गरेर उनीहरूको ऊर्जाशील समय स्वदेशमै प्रयोग गर्न सुरु गरे पुग्छ । विभिन्न कलेजमा गएर आफ्ना पार्टीका भ्रातृ संगठन गठनमा जति चासो देखिन्छ, त्यति नै चासो देखाएर उनीहरूको व्यवसायमुखी शिक्षामा लगानी गरेर दक्ष जनशक्ति उत्पादन गर्ने कार्य सुरु गरे पुग्छ ।
भर्खरै पढ्दै गरेका विद्यार्थीलाई कलेज र विद्यालयहरूमा गएर उनीहरूको उज्ज्वल भविष्य कसरी निर्धारण गर्ने भन्ने विषयमा प्रशिक्षण दिएर ऊर्जाशील बनाउने ठाउँमा उनीहरूको कमलो मस्तिष्कमा विभिन्न राजनीतिक दलको सिद्धान्त मात्रै सिकाउने काममा अग्रसर हुनु सही होइन । आफ्ना छोराछोरीलाई विदेशका महँगा विश्वविद्यालयमा पढ्न पठाउन सक्ने राजनीतिक दलका नेताहरूले जनताका छोराछोरीलाई स्वदेशमै गुणस्तरीय शिक्षाको व्यवस्था गर्न किन नसक्ने ?
यहाँ राम्रो काम गर्नेलाई राजनीतिक दलको नामले अगाडि बढ्न नदिनु र काम गर्न खोज्नेको खुट्टा तान्नु अर्को समस्या हो । कसैले राम्रो काम गर्न थाल्यो भने जनता यसको पक्षमा हुन्छन्, सबै ठाउँमा यसको प्रशंसा हुन्छ अनि लोकपि्रय हुन्छ भन्ने डरले पनि खुट्टा तानिन्छ । यस्तो प्रवृत्ति नयाँ युवा पुस्तामा पनि देखिन्छ । हामीले खुट्टा धेरै तान्यौं, अब सहयोगका लागि हात दिऊँ, राम्रो काम गर्नेलाई साथ दिऊँ ।
एकअर्काको खुट्टा तान्नुको साटो आफूभन्दा अग्रजको अनुभवबाट सिक्ने र सिकाइलाई नयाँ प्रविधिमा ढालेर अगाडि बढ्ने हो भने अवश्य पनि देश विकास हुन्छ । जुनसुकै राजनीतिक दलसँग आबद्ध भएको भए पनि यदि कुनै व्यक्तिले जनता र देशको हितमा काम गर्न खोज्छ भने त्यस्तो व्यक्तिलाई हामी सबै मिलेर साथ दिंदा अनि उसको क्षमताबाट सबैले लाभ लिंदा के नै बिग्रन्छ र ? तर यहाँ त्यसो हुनसकेको छैन । कसैको लोकपि्रयतासँग डराएर काम गर्न नदिनु भनेको एकप्रकारले आफनै खुट्टामा आफैं बन्चरो हाने जस्तै हो किनभने यस्तो प्रवृत्तिले अन्त्यमा हामीलाई नै हानि गर्छ ।
यसै प्रसङ्गमा भर्खरै सकिएको उपनिर्वाचनको कुरा गरौं । उपनिर्वाचनको नतिजाले सर्वव्यापी चर्चा पाइरहेको छ । जनताले अहिले पुराना दललाई पाखा लगाएर नयाँ दललाई आफ्नो मतमार्फत अपेक्षा प्रकट गरेका छन् । जनताले कुरा मात्रै गर्ने कामचोर नेतासँग वाक्क भएर नयाँलाई मत हालेका हुन् । यदि नयाँबाट समेत अपेक्षित काम हुन सकेन भने उनीहरू पनि भविष्यमा यसरी नै दण्डित हुनेछन् ।
त्यसैले अबका केही वर्ष व्यक्तिगत स्वार्थभन्दा माथि उठेर साँच्चिकै देश र जनताकै लागि भनेर लागौं त विश्वका विकसित देशहरू जस्तै हाम्रो देशले पनि कसो मुहार नफेर्ला ? कम्तीमा एकपटक प्रयोग गरेर त हेरौं ।
यसका लागि युवा शक्तिमा पनि देशमै केही गरौं भन्ने जोस र आँट हुनुपर्छ । यसबाहेक, सरकारले उद्यमशीलतालाई प्रोत्साहन गरेर युवालाई स्वदेशमै राख्ने उद्देश्यले सबैभन्दा पहिला पूर्वाधार विकास गर्न जरूरी छ किनभने पूर्वाधारले उद्योग-व्यवसाय विस्तारमा महत्वपूर्ण भूमिका खेल्छ ।
नेपाललाई नयाँ र आधुनिक बनाउन भन्दै २०७२ सालको संविधानअनुसार अहिले संघीय प्रणाली लागू गरिएको छ । तर पूर्वाधार विकासविना नै स्थानीयस्तरमा गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाहरू बनाइएको छ । फलस्वरूप, जनताले यसबाट सुविधा कम सास्ती धेरै पाएका छन् । स्थानीय सरकारबाट पाउने सेवा-सुविधा भन्दा चर्को रूपमा कर तिर्नुपर्दा आफूहरू चपेटामा परेको गुनासो आम नागरिकको छ ।
संघीय शासन प्रणाली अपनाएको नेपाललाई समृद्ध बनाउन राजनीतिक नेतृत्व, सरकार, प्रशासन र राष्ट्र सेवक कर्मचारीहरू स्वच्छ, इमानदार, त्यागी र सक्षम हुनुपर्छ । जबसम्म अक्षमता, भ्रष्टाचार र बेइमानी जारी रहन्छ तबसम्म देशले विकासको गति लिन असम्भव प्रायः छ । देशमा सुशासन कायम गर्न गैरकानुनी क्रियाकलापलाई नियन्त्रण गरी दण्ड-सजाय गर्ने हिम्मत सरकारले व्यवहारमा उतार्नै पर्दछ । अन्यथा सरकारले जतिसुकै सुशासन, आर्थिक विकास र समृद्धिको नारा लगाए पनि त्यसको कुनै औचित्य छैन ।
from Online Khabar https://ift.tt/hxfFGBw
No comments:
Post a Comment