Tuesday, May 2, 2023

शीर्ष स्थानको गुजरातमाथि पुछारको दिल्लीको रोमाञ्चक जित

२० वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा पुछारमा रहेको दिल्ली क्यापिटल्सले शीर्ष स्थानको गुजरात टाइटन्समाथि ५ रनको रोमाञ्चकक जित हात पारेको छ ।

गुजरातको घरेलु मैदान नरेन्द्र मोदी स्टेडियममा भएको लो स्कोरिङ थ्रीलर खेलमा दिल्लीले १३० रनको लक्ष्य डिफेण्ड गर्दै सिजनको तेस्रो जित निकालेको हो ।

दिल्लीले दिएको १३१ रनको लक्ष्य पछ्याएको गुजरातले कप्तान हार्किद पाण्ड्याले अर्धशतक प्रहार गरेपनि लक्ष्य भेट्न सकेन ।

गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२५ रन मात्र बनाउन सक्यो । कप्तान हार्किद पाण्ड्याले ५३ बल खेल्दै ७ चौका प्रहार गरी अविजित ५९ रन बनाए । अभिनव मनोहरले ३३ बलमा २६ रन बनाउँदा राहुल तेवाटियाले ७ बलमा ३ छक्का सहित २० रन जोडे ।

गजुरातलाई जितबाट रोक्न दिल्लीका खलिल अहमद र इशान्त शर्माले २/२ तथा एनरिक नोर्किअ र कुलदिप यादवले समान १ विकेट लिए ।

त्यसअघि गुजरातको घरेलु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३० रन बनाएको थियो ।

गुजरातका मोहम्मद शामीले दिल्लीको टप अर्डर ध्वस्त पारेपछि २३-५ को खराब अवस्थामा पुगेको दिल्लीको इनिङ्स सातौं नम्बरमा ब्याटिङ गरेका अमन हाकिम खानले अर्धशतक प्रहार गरेपछि उकासिएको थियो ।

अमनले ४४ बल खेल्दै ३ चौका  ३ छक्का प्रहार गरी ५१ रन बनाए । उनले अक्षर पटेलसँग ५० रनको साझेदारी गरे । अक्षरले २७ रन जोडे । रिपाल पटेलले १३ बलमा २३ रन बनाए । प्रियम गार्गले १० रन जोडे । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

गुजरातका शामीले ४ ओभरमा ११ रन मात्र खर्चेर ४ विकेट लिए । मोहित शर्माले २ तथा रासिद खानले १ विकेट लिए ।

९ खेल खेल्दा दिल्लीको यस सिजन यो तेस्रो जित हो भने लिग लिडर गुजरातको तेस्रो हार हो । हारपछि पनि ९ खेलबाट १२ अंकसहित गुजरात शीर्ष स्थानमै छ ।

कोलकता नाइट राइडर्स र सनराइजर्स हैदरवाद समान ६ अंक भएपनि दिल्ली रनरेटका आधारमा पुछारमै छ ।



from Online Khabar https://ift.tt/TZRYI1N

No comments:

Post a Comment