यदाकदा हामीभित्र ‘राष्ट्र प्रेम’ यसरी भुलुक्क उम्लिन्छ । आन्दोलित मनलाई थामथुम पार्नै कठिन हुन्छ । अहिले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’को एउटा संवादलाई लिएर नेपाली मनमा यस्तै आँधी उछालिएको छ । ‘जानकी भारतकी छोरी हुन्’ भन्ने आशयको संवादमाथि नेपालीलाई चित्त दुखेको हो ।
किनभने हाम्रो ठहरमा त्यो फगत संवाद मात्र होइन, जालसाजी हो । हाम्रो आस्था, अस्तित्व र अस्मितामाथिको हेपाइ हो । हाम्रो पौराणिक विरासतमाथिको खेलाँची हो ।
यो चित्त दुखाइ त्यती सस्तो छैन । यसले ‘आदिपुरुष’लाई आच्छु-आच्छु बनाइदिएको छ ।
देशभरका सिनेमा घरबाट आदिपुरुषको शो हटाइएको छ । एउटा जमात सिनेमा घरमा टाँगिएको पोस्टर च्यात्न हतारिएका छन् । आदिपुरुषको ‘झेली संवाद’ नसच्याएसम्म काठमाडौंका हलहरुमा कुनै पनि हिन्दी फिल्म चल्न नदिने मेयर बालेन्द्र शाहको चेतावनीले अर्को झट्का दिएको छ ।
नेपालकी धर्ती पुत्री जानकीलाई परायले ‘हाम्री छोरी’ भनी हकदावी गर्दा हाम्रो रक्तचाप बढ्छ । लिपुलेकको चुच्चे नक्सालाई नेपालको मानचित्रबाट हटाउँदा ‘देशभक्त’ नेपालीलाई जति झोंक चलेको थियो त्यो भन्दा बढ्दा कन्पारो त आदिपुरुषको संवादले तात्छ । आयातित सिनेमाको कुनै पात्रद्वारा बोलिएको संवादले हामीलाई किन यतिविध्न उद्वेलित र उत्तेजित बनाउँछ ?
हुनसक्छ, यहाँ कसैलाई लोकप्रियता र चर्चाको भोक छ । हुनसक्छ, कसैलाई अन्ध राष्ट्रवादले उक्साएको छ । यी दुईथरी प्राणीलाई पन्छाएर विमर्श गर्ने हो भने यसको अन्तर्य र आयाम फरक देखिन सक्छ ।
किनभने हाम्रो अल्पज्ञानले बुझेजस्तो ‘हल्का रमाइलो’ मात्र होइन, सिनेमा । यो कलाले सुशोभित दस्तावेज हो । मान्छेको जीवन पद्दती र दर्शनमाथि थाहै नपाई हस्तक्षेप गर्ने सप्तरंगी हतियार हो । दुनियाँलाई क्षणभरमै सम्मोहित बनाउने सांस्कृतिक जादू हो ।
संक्रामक सिनेमा ?
जहाँ–जहाँ सिनेमाले परिक्रमा गर्छ, त्यहाँ–त्यहाँ यसको नौरंगी पदचाप पनि छाडिने गर्छ । त्यही पदचाप पच्छ्याउँदै हामी थाहै नपाई अरु कसैको रहनसहन, बोलीचाली, वेशभूषा, खानपानमा लपेटिन पुग्छौं । आयातित सिनेमाले गर्नसक्ने सांस्कृतिक विस्तार वा अतिक्रमण यही हो ।
आज हाम्रा अवोध छोरोले उल्कै मन पराएर खेल्ने ‘ट्रान्सफर्मर्स टोय कार’ कहाँबाट आउँदैछ ? आज हाम्री छोरीले हत्ते गरेर किन्न लगाउने ‘बार्बी डल’ कसले बनाउँदैछ ? आज हाम्रा छिमेकी दिदी/बहिनीको विवाहमा आयोजित थरीथरी ‘सेरोमनी’ कताबाट प्रेरित छ ? आज हाम्रो चाडपर्वमा घन्किने ‘काला चस्मा’ कसले रच्दैछन् ? हाम्रो आङ ढाक्ने पहिरन, हाम्रो आँत तृप्त बनाउने व्यञ्जन, हाम्रो उत्सव मनाउने पारा कहाँबाट सिको गरिदैछ ?
आयतित सिनेमा, शृंखला नै यसकf मूल स्रोत हुन् ।
नेपालको कुनै भू-भागमा हुने सीमा अतिक्रमण भन्दा भयानक सांस्कृतिक हस्तक्षेप हो, जुन आज हाम्रो घर-भान्सासम्म आइपुगेका छन् । किनभने देश भनेको भूगोल मात्र होइन । यो त नेपाली मन र नेपाली पनलाई अभिन्न रुपमा जोड्ने कला, संस्कृति, रहनसहनको सीमाहीन फैलावट हो ।
दशैंको तिथिमा जहाँ-जहाँ मालश्री धुन बज्छ, उभौली-उधौलीमा जहाँ-जहाँ साकेला नाचिन्छ, असार पन्ध्रमा जहाँ-जहाँ दही चिउरा खाइन्छ, तिहारमा जहाँ-जहाँ देउँसी भैलो भट्याइन्छ त्यहाँ-त्यहाँ विस्तारित हुन्छ देश । त्यहीँ -त्यहीँ हुन्छ नेपाली मन र मुटु पनि । भौगोलिक मानचित्र फगत देश होइन ।
जब-जब हाम्रा यी रीतिथिति, विश्वास पद्दती, जीवनशैलीमाथि हस्तक्षेप हुन थाल्छ, तब हामी यता न उताको हुनपुग्छौं । आयातित सिनेमा, शृंखलाको प्रभावमा हुनसक्ने खतरा यही हो ।
त्यसो भए ती सिनेमाहरुको अतिक्रमण रोक्न ‘पूर्ण प्रतिबन्ध’ लगाउने ? वा ज्ञानेन्द्र शाहीहरुले भने झै ‘कोटा प्रणाली’ लागु गरेर घरेलु सिनेमाको उत्थान गर्ने ?
यी तरिकाहरु न विवेकसम्मत् छन्, न विज्ञानसम्मत् ।
गाँठी कुरा के पनि हो भने, सिनेमा आफैँमा संक्रामक हुँदैन । वर्तमान युगको सर्वाधिक उन्नत र सर्वप्रीय कला हो यो । तर, हरेक कमजोर वस्तुमाथि बलशाली वस्तु हाबी हुने प्राकृतिक सत्य सिनेमाको हकमा पनि लागु हुन्छ ।
टिठलाग्दो कुरा त के भने, हाम्रो सिनेमा आफैँमा आयातित सिनेमाका सह-उत्पादन जस्ता छन् । यदि घरेलु सिनेमाले आफ्नै अवयव निर्माण गर्न सकेका भए, आफ्नै इन्द्रीयहरुलाई जागृत गर्न सकेको भए, आफ्नै प्राणायामले प्राण भर्न सकेको भए, आयातित सिनेमाको यतिविध्न बिगबिगी हुँदैनथ्यो ।
कसले कमजोर बनायो सिनेमा ?
त्यसो भए नेपाली सिनेमालाई तागतिलो र आफ्नै खुट्टामा उभिन सक्ने बनाउनबाट कसले रोकिरहेको छ त ?
फिल्मकर्मीले ? लगानीकर्ताले ? पटकथाकारले ? हल संचालकले ? वितरकले ? वा घरेलु सिनेमालाई माया नगर्ने दर्शकले ?
बजेट र बजारको आकारलाई आंकलन गरेर भन्ने हो भने, नेपाली फिल्ममेकरले जसरी सिनेमा निर्माण गरिरहेका छन् त्यो अतुलनीय छ । हिन्दी सिनेमाको एउटा आइटम नृत्य छायांकन गर्ने रकमले नेपालमा चार वटा सिनेमा निर्माण हुनसक्छ । नेपाली फिल्ममेकरले गर्ने बेहिसाब श्रमलाई तुलना गर्ने हो भने अहिले जे–जस्ता सिनेमा बनिरहेका छन्, त्यसको उछितो काढ्नु त्यती न्यायोचित छैन । त्यसो भए घरेलु सिनेमालाई पोलियोग्रस्त बनाउनमा को जिम्मेवार छ ?
शासक–जसले सिनेमाको सौन्दर्य, शक्ति र सुगन्ध महसुस गर्नै सकेन । बेलाबखत फिल्मकर्मीले गर्ने निमन्त्रणामा पुगेर ‘देशप्रेम झल्किएको कथा’ भनी टिप्पणी गर्ने, लोकप्रियताका लागि ‘विदेशी फिल्म प्रतिबन्ध गर्नुपर्छ’ भनी भाषण ठोक्ने बाहेक ठोस काम गर्न सकेन, जानेन वा चाहेन ।
कथित वुद्धिजीवि– जसले सिनेमाको मर्म, महत्व र मधुरता अनुभूत गर्नै सकेन । सिनेमालाई ‘हल्का मनोरञ्जन’को कोटीमा राखेर यसलाई समय कटाउने बाहानाको रुपमा मात्र बुझे ।
नीति-निर्माता, शासक, बुद्धिजीविले सिनेमालाई सही रुपमा बुझ्न, सुन्न, हेर्न र मन्थन गर्न सकेको भए हास्यस्पद ढंगमा अन्धाधुन्द यसो भन्नु पर्दैनथ्यो, ‘विदेशी फिल्म रोकौं, नेपाली फिल्मको उद्धार गरौं ।’
from Online Khabar https://ift.tt/XC5uoJk
No comments:
Post a Comment