१३ असार, काठमाडौं । सरकारले संशोधन विना बजेट पास गर्ने तयारी गरेको छ । आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकले बजेट पास गर्ने सम्भावित कार्यसूची छ ।
आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकहरु माथिको छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिनेछन् । त्यसपछि खर्च कटौतीका प्रस्तावहरु निर्णयार्थ प्रस्तुत भएपछि बजेट पास गर्ने सम्भावित कार्यसूची संसद सचिवालयले सार्वजनिक गरेको छ ।
गत जेठ १५ गते अर्थमन्त्री महतले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । सत्ता साझेदार दलकै नेताहरुले बजेट विभेदकारी भएको भन्दै संशोधनको माग गरेका थिए । तर अहिले बजेट संशोधन गर्न सम्भव नभएको भन्दै बजेट पास गर्ने तयारी छ ।
एकीकृत समाजवादीका शीर्ष नेताहरुले नै बजेट संशोधन नभए पारित गर्न नदिने सार्वजनिक अभिव्यक्ति दिँदै आएका थिए । तर सो पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेका अनुसार एकीकृत समाजवादी सर्तसहित बजेट पास गर्ने पक्षमा छ । सो पार्टीका अर्का नेता मेटमणि चौधरीले पनि बजेटको पक्षमा मतदान गर्ने बताएका छन् ।
यसअघि कांग्रेस, माओवादी लगायत दलले बजेटको पक्षमा मत दिन ह्वीप जारी गरिसकेका छन् ।
from Online Khabar https://ift.tt/AICek8U
No comments:
Post a Comment