Sunday, June 4, 2023

संसदको अवरोध हटाउन पहल

२२ जेठ, काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको अवरोध हटाउन छलफल सुरु गरेका छन् ।

सभामुखले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सदनको अवरोध हटाउने विषयमा छलफल गरेका हुन् ।

उनले बजेट पारित गर्न समयको चाप रहेको स्मरण गराउँदै विपक्षीदलसँग संवाद गर्न आग्रह गरेका छन् ।

आइतबार प्रतिनिधि सभा अवरोध भएलगत्तै सभामुखले प्रधानमन्त्रीसँग टेलिफोन संवाद गरेका थिए ।

सभामुखले आइतबार साँझ नै फेरि सदनको अवरोध हटाउन सरकारकातर्फबाट पहल गर्न आग्रह गरेका थिए । ‘प्रधानमन्त्रीको भारत भ्रमणका कारण चार दिन व्यतित भइसकेको छ, अझै सदनमा अवरोध हुने हो भने बजेट पारित गर्न समय अभाव हुन्छ,’ प्रधानमन्त्रीलाई सभामुखले भने, ‘समयमा नै संवादबाट निकास खोजौं, अब सदन अवरोध भइरहन सक्दैन ।’

सभामुखसँगको संवादमा प्रधानमन्त्री प्रचण्डले सदनमा विपक्षीले उठाएको मागबारे आफू जानकार रहेको बताउँदै आजको संसदमा आफूले प्रष्टीकरण दिने बताए । ‘म एमाले अध्यक्ष केपी शर्मा ओलीसहित विपक्षी दलसँग पनि कुरा गर्छु, सरकारकातर्फबाट लचकता र पहल हुन्छ,’ प्रचण्डले सभामुखलाई भने ।

सभामुखले एमाले प्रमुख सचेतक पदम गिरी, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार र राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीमार्फत विपक्षीदलहरुलाई बजेट पारित गर्ने समय सीमा बुझिदिन आग्रह गरेका थिए ।

प्रतिनिधि सभा बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ ।



from Online Khabar https://ift.tt/8MsRNnO

No comments:

Post a Comment