जतिबेला उनी फुच्चे थिए, शरीर अस्वाभाविक मोटो थियो । ‘मोटो’ हुनुको अनेक बेफाइदा छन् । जस्तो लुगाफाटोको साइज नमिल्ने, शरीर भद्दा देखिने, खेल्न–उफ्रिन कठिन हुने । तर, विप्लव कार्कीलाई यी सबै कुराको कुनै मतलब थिएन ।
मतलब किन थिएन भने उनलाई ‘रेस्लर’ जो बन्नु थियो । अजंगको ज्यान, गठिलो मांसपेशी, आक्रामक अनुहार । टेलिभिजनमा अक्सर रेस्लिङ हेरिरहने विप्लवको बालहठ थियो, ‘रेस्लर त बन्छु नै बन्छु ।’
रेस्लर बन्न हौसिएका उनी ‘जे आउँछ मज्जाले पचाउँछ’ शैलीमा भरपेट खाइदिन्थे । खानाले थेग्दै गएपछि ज्यानमा बोसो लाग्ने नै भयो । उनी रेस्लर होइन, सुमो खेलाडी झैँ देखिन थाले ।
आफू सुमो खेलाडी जस्तै हुँदै गएको कुरा उनलाई त्यसबेला अनुभूत हुन थाल्यो, जब उनी विद्यालयमा ‘हाँसोको पात्र’ बन्न थाले । साथीहरुले उनलाई सग्लो नामले बोलाउन छाडे । सबैले भन्न थाले, ‘ओइ मोटे’ ।
मोटे हुनुको पीडाले अब पो बिझाउन थाल्यो उनलाई ।
त्यसबेला विप्लव मीनभवनस्थित भिएस निकेतनमा पढ्दै थिए । उमेर सानै थियो । विद्यालयका सहपाठीहरु उनलाई घोच्ने, चलाउने, गिज्याउने गर्थे । कसैले पाइन्ट खुस्काइदिन्थे, कसैले पेट चलाइदिन्थे । कसैले दौडन लगाउँथे, कसैले उफ्रिन । अरु त अरु, कक्षाकोठामा शिक्षक समेत यसरी बोलाउँथे, ‘ए मोटे ।’
बाल मस्तिष्कमा आत्मग्लानी र डर
अब उनलाई ‘मोटे’ शब्द बोझिलो बन्न थाल्यो । यो शब्दले उनलाई भित्र भित्रै आतंकित बनाउन थाल्यो । उनलाई ऐनादेखि डर लाग्न थाल्यो । त्यहाँ देखिने आफ्नै प्रतिविम्बले उनलाई तर्साउन थाल्यो ।
विद्यालयमा आफ्नै सहपाठीबाट हुने अपहेलनाले विप्लवलाई वास्तवमै गलाउन थाल्यो । उनमा ग्लानी भाव पैदा भयो । विद्यालय सम्झदा डर लाग्थ्यो, सहपाठी सम्झदा डर लाग्थ्यो । खाना खान डर लाग्थ्यो, लुगा लगाउन डर लाग्थ्यो । अर्थात अब उनको जीवनमा डरले डेरा जमाइसकेको थियो ।
उपहासपूर्वक सम्बोधन गरिने ‘मोटे’ शब्दले उनको कलिलो मस्तिष्कलाई डिप्रेसनग्रस्त बनाउँदै लगेको थियो । त्यसैले न उनी राम्ररी निदाउन सक्थे, न विद्यालय जान नै । आफूलाई सबैले गिज्याउने डरले विप्लव विद्यालय जान आनाकानी गर्न थाले । एक हप्ता त उनी विद्यालय नै गएनन् ।
डरको अगाडि जीत छ
कलिलो मस्तिष्कमा परेको यो पीडा कतिसम्म गहिरो भइदियो भने उनी अब मोटोपनबाट उन्मुक्ति खोज्नतर्फ लागे । अरु साथीभाइ रमाएर खेलिरहेको बेला, पढिरहेको बेला विप्लव भने गुगल र युट्युबमा खोजिरहेका हुन्थे, कसरी मोटोपन घटाउने ?
सुरुमा उनले भेटे, वाटर डाइट । ७–८ दिनसम्म खानाको साटो पानी मात्र खाने । उनले त्यसै गरे । बढ्दो उमेरमा भोक त कति लाग्दो हो ? तर उनलाई भोक भन्दा अपमान सहन गाह्रो थियो ।
केही दिनमा केही तौल घट्यो पनि । तर, यो दिगो थिएन । त्यसपछि फेरी उनले अर्को जुक्ति भेट्याए, एग डाइट । यो भनेको अण्डा मात्र खाने, अरु केही नखाने । यो उपाय पनि काम लागेन । तेस्रो जुक्ति थियो, केटो डाइट । अहिले कतिपयले मोटोपन घटाउने सूत्र भनिरहेको केटो डाइट वास्तवमा अल्पकालीन विधि मात्र थियो । ‘यसले चाँडै तौल त घट्थ्यो तर फेरि उत्ति नै चाँडो तौल बढ्ने पनि’ विप्लव सम्झन्छन्, ‘कुनै पनि कुराले जति छिटो नतिजा दिन्छ, उत्तिनै छिटो त्यसको उपयोगिता पनि सकिन्छ ।’
केटो डाइटले जति तीव्रतासाथ उनको मोटोपन घट्थ्यो, उत्तिनै छिटो बढ्थ्यो पनि । ‘यो एकदमै अस्वस्थ्यकर तरिका रहेछ तौल घटाउने’ विप्लवलाई बोध भयो । अब के गर्ने त ?
उनी इन्टरनेटबाट पाइने नानाथरी सुझावको पछि लागेनन् । बरु, स्वविवेकले व्यायाम गर्न थाले । सानै भए पनि उनी कठिनपूर्वक व्यायाम गरिरहे । त्यससँगै आफ्नै हिसाबले खानाको मात्रा मिलाए । खाना खानुअघि उनी बेस्सरी पानी पिउथे, ताकि पेट भरियोस् र थोरै मात्र अन्न पेटमा पुगोस् ।
यसबेलासम्म उनी एसएलसी दिन लागिसकेका थिए । जसै एलएलसी परीक्षा सिध्याए विनासकारी भूकम्पले सर्बत्र तहसनहस बनायो । विद्यालयको पढाइ रोकियो । तब यो फुर्सदिलो समयमा उनी तीनकुनेस्थित त्रिनेत्र क्लब धाउन थाले, फिटनेसका लागि । यतिबेला विप्लव १५ वर्षका थिए ।
५–६ महिनाको नियमित र कठोर व्यायामपछि उनको शरीरको बोसो हट्दै गयो । र, त्यसले सुडौल रुप लिन थाल्यो । फिटनेस र खानपानको तालमेलले कहिले काहीँ निकै राम्रो नतिजा दिन्छ । त्यसमा वंशाणुगत गुण अर्को कारण हो । विप्लवलाई यस्तै लाग्छ ।
कुनै कुराले जब सार्थक नतिजा दिन्छ, त्यसमा स्वाभाविक लगाव बढ्छ । मोटो एवं भद्दा शरीर जति राम्ररी सुडौल बन्दै थियो, विप्लवलाई फिनेसको मोह उत्ति नै बढ्दै थियो । यसले उनमा आत्मविश्वास चुलिदै गयो । आखिरमा जहाँ उनले पहिलो पटक जिम सिके, त्यहीँ नै प्रशिक्षकको रुपमा काम गर्न थाले ।
फिटनेस ट्रेनर भएपछि अरु प्रशिक्षार्थीसँग भेट्नुपर्ने, बोल्नुपर्ने । उनको डर हट्दै गयो । उनी निर्धक्क बोल्न र केही गर्न सक्ने भए ।
१२ कक्षामा पढ्दै गर्दा उनी पर्सनल ट्रेनरको रुपमा व्यस्त हुन थालेका थिए । एक वर्ष पछि उनी भारततिर हान्निए, इन्जिनियरिङ पढ्न । फिटनेसले आत्मविश्वास, ऊर्जा र उत्प्रेरणा दिए पनि भविष्य दिन सक्दैन भन्ने कुरामा उनी पक्का थिए । किनभने फिटनेस ट्रेनरको रुपमा सधैँ एकनासको काम र कमाइ नहुने उनको अनुमान थियो । त्यसैले भविष्यलाई सुरक्षित राख्नका लागि पनि इन्जिनियरिङ पढ्नुपर्छ भन्ने निधोमा पुगेका थिए ।
अनि बने बडी बिल्डर
सन् २००७ । दोस्रो संस्करणको मिस्टर काठमाडौं आयोजना हुँदै थियो । विप्लवलाई अब त्यसमा प्रतिस्पर्धा गर्ने हिम्मत आयो । त्यसबेला उनी जिम ट्रेनरको रुपमा काम गरिरहेका थिए । दाइहरुले उनलाई ढाडस दिए, ‘भाइ तिम्रो ज्यान राम्रो छ, तिमीले हाम्रो जिमलाई प्रतिनिधित्व गर्नुपर्छ ।’
अरुको सामुन्ने कसरी प्रस्तुत हुने, कसरी स्टेजमा प्रदर्शन गर्ने जस्ता कुरामा उनलाई जिमकै दाइ आवेश सिंह भण्डारीले भरपुर हिम्मत दिए ।
हौसला पाएर उनी पहिलो पटक स्टेज उक्लिए । त्यो अन्डर २१ बीचको प्रतिस्पर्धा थियो । विप्लव त्यसबेला जम्माजम्मी १८ वर्षका थिए । आफ्नो सुगठित शरीरको कलात्मक प्रदर्शन गरे । यसपाली उनले टप २५ मा चित्त बुझाउनुपर्यो ।
यो प्रतियोगितामा उनले उपाधि त हासिल गरेनन् । तर, स्टेजमा उक्लिएपछि कस्तो हुन्छ ? कसरी आफ्नो शरीरको मूल्यांकन गरिन्छ ? उनले राम्ररी भेउ पाए । यही मोडमा पुगेपछि हो, विप्लवले बडी बिल्डर बन्ने निर्णय लिएको ।
बडी बिल्डिङमा शरीरलाई एउटा मापदण्डको आकार–प्रकारमा तयार गर्नुभन्दा पनि कठिन हो, स्टेजमा त्यसलाई प्रस्तुत गर्न । बडी बिल्डिङमा मुख्यत सात वटा पोजमा प्रस्तुती दिनुपर्ने हुन्छ । कुन अंगलाई कसरी देखाउने भन्ने कुराले उनीहरुको क्षमता जाँच गर्छ । यसका लागि पनि दैनिक आधा घण्टा वा एक घण्टा तयारी गर्नुपर्ने हुन्छ ।
कडा मिहिनेत, सार्थक प्रयास र निरन्तरता । यी तीन यस्तो चाबी हो, जसले कर्मको ढोका खोलिदिन्छ । विप्लवको हकमा यस्तै भयो । खुला प्रतियोगिता अन्तर्गत यसै आयोजना भएको मिस्टर हिमालयनमा उनले स्वर्ण पदक जिते । अब उनले मिस्टर एसियाका लागि भिड्न पाउनेछन् ।
मिस्टर हिमालयमा भाग लिनुअघि उनी भारतको दिल्लीमा आयोजित नरेश सूर्य क्लासिकमा नेपाली झण्डा बोकेर स्टेजमा उक्लिए र चौथो स्थान हासिल गरे ।
भारतमा इन्जिनियरिङ पढिरहेको बखत पनि उनले एउटा प्रतिष्ठित प्रतियोगितामा भाग लिएका थिए, एनपीसी मिस्टर कर्नाटका क्लासिक फिजिक च्याम्पियन । त्यहाँ उनी फस्ट रनरअप भए ।
कडा व्यायाम, तौलिएर खाना
पृथ्वीनारायण शाहले ‘मेरा साना दुःखले आर्ज्याका मुलुक होइन’ भन्ने वाणी झैँ विप्लवको यो ज्यान पनि चानचुने श्रम र मिहिनेतले आर्जन भएको होइन । त्यसको पछाडि उनको कठोर संघर्षको कथा लुकेको छ ।
भर्खरै २३ औं जन्मोत्सव मनाएका विप्लवले किशोर उमेरदेखि नै आफूलाई कडा अनुशासनमा राख्दै आए । चाहे त्यो खानपानको सवालमा होस् वा व्यायामको, कुनै सम्झौता गरेनन् । बिहान ४ बजे उठ्नु, व्यायाम गर्नु, तौलिएर खाना खानु । वाल्यकालमा भोगेको अपमानलाई जित्न उनले आफैँलाई कठोर अनुशासनमा बाँधे ।
विप्लवको बुझाइमा शारीरिक तन्दुरुस्तीका लागि फिटनेस जति जरुरी छ त्यो भन्दा महत्वपूर्ण छ, खानपान र उनको अनुभवले भन्छ, ‘परम्परागत नेपाली खाना दालभात नै स्वस्थ्य र तन्दुरुस्तीको लागि सम्पूर्ण खुराक हो ।’
यद्यपि बडी बिल्डरका लागि यति मात्र काफी छैन । शरीरमा बोसोको मात्रा एकदमै घटाउनुपर्ने र मांशपेशीको मात्रा बढाउनुपर्ने बाध्यता यहाँ छ । त्यसैले दैनिक एक किलो चिकेन ब्रेस्ट उनको नियमित खुराकमा पर्छ । थोरै भात, पर्याप्त सागपात र अधिक प्रोटिन उनको दैनिक खानामा समावेश हुनैपर्छ ।
‘बडी बिल्डरको लागि जुन किसिमको खानपान जरुरी हुन्छ, त्यो समग्र स्वास्थ्यका लागि भने ठीक छैन’ विप्लव स्विकार्छन्, ‘त्यसैले त यो खेललाई ओलम्पिकमा मान्यता दिइएको छैन ।’ यसर्थ बडी बिल्डर बन्नु भनेको आफ्नै शरीरमाथि खेल्नु पनि हो । तर, जीवनमा जित्नैपर्ने कतिपय कुराले गर्दा विप्लवलाई बडी बिल्डरको रुपमा उभ्याएको छ ।
उनी भन्छन्, ‘नेपालको झण्डा ओढेर अन्तर्राष्ट्रिय प्रतियोगिता जितेपछि मात्र मेरो यो दौड पूरा हुनेछ ।’
फोटो : चन्द्र आले
from Online Khabar https://ift.tt/zLZIR6E
No comments:
Post a Comment