७ साउन, काठमाडौं । चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयको कृषि संकायमा विश्वविद्यालयले छुट्याएको कोटाभन्दा ३७.४७ प्रतिशत कम विद्यार्थी भर्ना भएका छन् ।
विश्वविद्यालयको तथ्यांक अनुसार एक आंगिक र सात सम्बन्धन प्राप्त क्याम्पसहरुमा कृषि संकायमा एक जना पनि विद्यार्थी भर्ना भएका छैनन् । केन्द्रीय क्याम्पस र आंगिकका ५८४ सिट संख्यामा ३५० जना विद्यार्थी भर्ना भएका छन् भने बाँकी २३४ सिट खाली छन् । यसैगरी निजी क्याम्पसहरुमा ३५० सिट संख्या पुरै खाली छन् ।
विश्वविद्यालयको आंगिक क्याम्पस दैलेखको दुल्लुमा ५४ सिट संख्या भए पनि एक जना पनि विद्यार्थी भर्ना भएका छैनन् । यसैगरी सुर्खेतको वीरेन्द्रनगर, ललितपुरको चापागाउँ, नवलपरासीको रामनगर, झापाको गौरादह, सुनसरीको इटहरी, बाँकेको कोहलपुर, पूर्वी नवलपरासीको गैंडाकोट गरी सात सम्बन्धन प्राप्त कलेजमा ३५० सिट संख्या रहे पनि विद्यार्थी भर्ना संख्या शून्य छ ।
केन्द्रीय क्याम्पस रामपुरमा १६२ सिट संख्यामा जम्मा १२७ जना, पुनचौर कास्कीमा ५४ सिट संख्यामा ४८ जना, कपिलाकोट, सिन्धुलीमा ५४ सिट संख्यामा ४० जना, पाखि्रबास धनकुटामा ५४ सिटमा ३२ जना, टीकापुर कैलालीमा ५४ सिटमा ३१ जना, बर्दिवास महोत्तरीमा ५४ सिटमा २२ जना, खजुरा बाँकेको ४९ सिटमा २९ जना, माडीचौर रोल्पामा ४९ सिटमा २१ जना विद्यार्थी अध्ययनरत छन् ।
किन घटिरहेका छन् विद्यार्थी ?
विश्वविद्यालयका सहप्राध्यापक हिमाल लुईंटेलले हरेक वर्ष विद्यार्थी संख्या घट्दै गइरहेकाले संवेदनशील हुनुपर्ने बेला आएको बताए । शैक्षिक क्यालेन्डर लागू नहुँदा र क्याम्पसमा राजनीतिकरण हुँदा विद्यार्थी संख्या घटेको उनको अनुमान छ । ‘शैक्षिक क्यालेन्डर लागू गर्ने र राजनीतिकरण कम हुनुपर्छ । यति गर्नेबित्तिकै धेरै समस्या समाधान हुन्छ,’ उनी भन्छन् ।
विश्वविद्यालयका सहप्राध्यापक ईश्वरीप्रसाद कडरिया कृषि शिक्षा सरकारको प्राथमिकतामा नपरेकाले विद्यार्थी घटेको बताउँछन् । उनले विश्वविद्यालयका पदाधिकारीको क्षमतामाथि प्रश्न उठाउँदै फेसबुकमा लेखेका छन् ‘वर्तमान विश्वविद्यालयका पदाधिकारीले नेतृत्व कौशलता देखाउन नसक्नु र विगतका पदाधिकारी शैक्षिक माफियासँग मिलेर कमजोर मापदण्ड राखेर एकैचोटी निजी कलेज र नेता खुशी पार्न सरकारले कलेज खोल्नुको परिणाम हो ।’
नियुक्तिमा हुने राजनीतिक संघर्ष, नियुक्ति भइसकेपछिको किचलो र अध्यापनमा हुने लापरवाहीले विद्यार्थी घटिरहेको उनको भनाइ छ । ‘कुनै पनि पदमा नियुक्ति गर्नुपर्यो भने योग्यता भन्दा कुन राजनीतिक दल निकट भनेर हेरिन्छ । जुन दलको वा गुटको नियुक्तिमा पर्छ ती चुपचाप’, उनी भन्छन्, ‘जुन दल वा निकटको पर्दैन त्यसले ताला लगाउँछन् । अस्ति कृषि संकायको डीन नियुक्ति हुँदा पनि त त्यही नै भयो नि ।’
कतिपय भने कृषि संकाय पढेर पनि रोजगारी नपाउने समस्या देखिन थालेकाले विद्यार्थीको आकर्षण घट्दै गएको बताउँछन् । तर डीन प्रा.डा.अर्जुनकुमार श्रेष्ठ भने यो विश्वविद्यालयबाट उत्पादन भएका जनशक्ति बेरोजगार हुने अवस्था नभएको बताउँछन्
कृषि विभागमा डीन नियुक्तिलाई लिएर भएको विवादका कारण गत वैशाख २८ गते विभिन्न माग राख्दै विश्वविद्यालयको केन्द्रीय कार्यालयको मुख्य गेटमा अखिल क्रान्तिकारीले लगाएको ताला नखुल्दै माओवादी निकटकै नेपाल राष्ट्रिय कर्मचारी संगठनले जेठ १२ गते विश्वविद्यालयमा अर्को ताला लगाएको थियो ।
उक्त ताला असार १ गते सिडिओ कार्यालयले फुटाएको थियो । ती विद्यार्थी भन्छन्, ‘यहाँकै प्राध्यापकहरु आंगिक तथा निजी क्याम्पसमा पढाउन जाने र एकदम छिटो समयमा कोर्ष सकाउनुहुन्छ । कतिपय समयमा त प्राक्टिकल नगराई आन्तरिक मूल्यांकन गरेर पठाउनुहुन्छ ।’
तर कृषि संकायका डीन प्रा.डा.अर्जुनकुमार श्रेष्ठ भने विद्यार्थी घट्नुको मुख्य कारण विद्यार्थीहरु वैदेशिक अध्ययनमा जानु रहेको बताउँछन् । उनी भन्छन् ‘मुख्य वैदेशिक अध्ययनप्रति विद्यार्थीको आकर्षण हो । अर्को विद्यार्थील्ााई धेरै अप्सन भएर पनि हो ।’
कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई नेपाल सरकारले कृषि र कृषि सम्बन्धित विषयहरुको अध्ययन अनुसन्धान गराउने विशिष्टिकृत विश्वविद्यालयको रुपमा सञ्चालन गरेको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय सुरु भएपछि त्रिविले र अन्य विश्वविद्यालयले पनि कृषि सम्बन्धित कार्यक्रमहरु नै चलाउनाले पनि विद्यार्थी संख्या घटेको अनुमान छ ।
‘छुट्टै विशिष्टिकृत विश्वविद्यालय खुलिसकेपछि अरु विश्वविद्यालयले उही कार्यक्रम सञ्चालन गर्नु हुन्थेन एउटा र यसलाई सरकारले पनि नियन्त्रण गर्नुपर्थ्यो’, कृषि संकायका डीन प्रा.डा.अर्जुनकुमार श्रेष्ठले भने । कक्षा १२ पछि नेपालमा पढ्ने विद्यार्थी कम रहेको र त्यसमा पनि त्रिविले र अन्य विश्वविद्यालयले पनि कृषि कार्यक्रम सञ्चालन गरिरहेकोले विद्यार्थी छरिन पुग्दा संख्या घटेको उनको तर्क छ । विश्वविद्यालयको अध्यापनमा लापरवाही हुने, शिक्षकले प्रयोगात्मक नगराइ आन्तरिक नम्बर राखेर पठाउने विषयमा भने उनले भने, ‘त्यस्तो हुँदैन । प्राक्टिकल नगराई नम्बर पठाउने भन्ने हुँदैन । शिक्षक अभावको कारण समस्या भने भइरहेको हो ।’
विश्वविद्यालय अनुदान आयोगले हरेक विश्वविद्यालयको आंगिक कलेजमा २९ जना शिक्षक र ५६ जना कर्मचारी आवश्यक पर्छ भनेर रिपोर्ट बनाए पनि त्यो रिपोर्ट अनुसार शिक्षक कर्मचारी नदिइएको उनको भनाइ छ ।
उनले भने, ‘युजिसी आफैंले बनाएको रिपोर्ट अनुसार शिक्षक कर्मचारी दरबन्दी अथवा बजेट दिएन । स्वीकृत बजेट समेत दिएन । अहिलेको मुख्य समस्या नै त्यही हो ।’
कतिपय भने कृषि संकाय पढेर पनि रोजगारी नपाउने समस्या देखिन थालेकाले विद्यार्थीको आकर्षण घट्दै गएको बताउँछन् । तर डीन श्रेष्ठ भने यो विश्वविद्यालयबाट उत्पादन भएका जनशक्ति बेरोजगार हुने अवस्था नभएको बताउँछन् । विश्वविद्यालयबाट उत्पादित जनशक्ति कति र कहाँ खपत भएका छन् भन्ने विश्वविद्यालयले तथ्यांक संकलन नगरे पनि केही प्राध्यापकहरुले अध्ययन गरेको बताए । उनी भन्छन्, ‘हाम्रो विश्वविद्यालयले उत्पादन गरेको जनशक्ति वेरोजगार हुने समस्या छैन । कत्ति जनशक्ति कहाँ छन् भन्ने खोज्ने प्लान छ ।’
विश्वविद्यालयका एक शिक्षक भने समयमा परीक्षा तथा नतिजा नआउनु पनि विद्यार्थी घट्नुको कारण रहेको बताउँछन् । उनी भन्छन् ‘अहिलेका विद्यार्थीलाई धेरै अप्सन छ । कहाँ के छ भनेर घरैमा बसेर हेर्न, बुझ्न सक्छन् । अब हाम्रोमा न समयमा परीक्षा हुन्छ न नतिजा आउँछ । यस्तै हो भने विद्यार्थी विहीन हुँदैन भन्न पनि सकिँदैन ।’ डीन श्रेष्ठले भने कोभिडका कारण क्यालेण्डर प्रभावित भए पनि अब भने शैक्षिक क्यालेन्डर अनुसार गर्ने भने परीक्षा नियन्त्रण कार्यालयले जानकारी गराएको बताए ।
from Online Khabar https://ift.tt/71cJZfq
No comments:
Post a Comment