Monday, August 14, 2023

महिनामै ५ गुणा डेंगु फैलिंदा सरकारी संयन्त्र निरीह

३० साउन, काठमाडौं । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) को तथ्यांक अनुसार गत पुसदेखि असार ३० सम्म आइपुग्दा २ हजार ९३० जनामा डेंगु संक्रमण पुष्टि भएको थियो । एक महिनायता डेंगु संक्रमित पाँच गुणाले बढेका छन् । २६ साउनसम्म १२ हजार ४९९ संक्रमित पुगेसँगै ७४ जिल्लामा डेंगु फैलिसकेको छ । जसमध्ये ६ हजार ६६७ सुनसरी जिल्लामा मात्रै छन् ।

सरकारी तथ्यांक अनुसार हालसम्म आठ जनाको मृत्यु पनि भइसकेको छ । इडीसीडीका अधिकारीका अनुसार भदौं महिनामा उच्च गतिमा फैलिने र कात्तिक अन्तिमसम्म डेंगुको जोखिम रहने छ ।

गत वर्ष डेंगु प्रकोपका कारणले ५४ हजार ७८४ संक्रमित हुँदा ८८ जनाको ज्यानै गयो । तर, यो वर्ष अझै भयावह अवस्था निम्तिने अधिकारीको आंकलन छ ।

‘अहिलेसम्मको डेंगु संक्रमितको ट्रेन्ड हेर्दा गत वर्षभन्दा उच्च गतिमा बढ्दै गएको छ । यही अनुपात बढ्ने हो भने गत वर्षको भन्दा धेरै संक्रमित हुनसक्छन्,’ कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख गोकर्ण दाहाल भन्छन् ।

निरीह सरकारी संयन्त्र

स्वास्थ्य मन्त्रालयका उच्च अधिकारी पनि नियमित काममै चित्त बुझाएर बसिरहेको देखिन्छ । डेंगु रोकथाममा कुनै देखिने खालको काम हुन सकेको छैन । बरु तल्लो तहलाई दोष थोपरेर उन्मुक्ति लिन खोजेको आभास हुन्छ

नेपालमा २०६१ सालमा जापानबाट आएका एक जनामा डेंगु संक्रमण पुष्टि भएको थियो । त्यसपछिका केही वर्ष डेंगुका बिरामी नेपालमा देखा परेनन् । विसं २०७३ सालमा चितवनलगायतका जिल्लामा एक हजार ५२६ डेंगुको संक्रमण भेटिएको थियो ।

२०७६ सालमा आएर डेंगुको प्रकोप ५६ जिल्लामा फैलिंदा १२ जनाले ज्यान गुमाएका थिए । कोरोना भाइरस महामारीका बेला २०७७ र २०७८ सालमा डेंगुका केस देखिएनन् । तर, २०७९ सालमा भने डेंगुले काठमाडौंमा प्रकोपकै रूप लियो ।

पछिल्ला वर्षमा दुई-तीन वर्षको अन्तरमा डेंगुले प्रकोपकै रूप लिंदै आएको छ । सरकारी संयन्त्र भने निरीह भएर बसेको छ ।

प्रत्येक वर्ष इडिसिडीका अधिकारीहरु एकै किसिमको बनिबनाउ जवाफ दिने गर्छन्, ‘डेंगु नियन्त्रणको लागि रणनीति बनाएर स्थानीय पालिकासम्म पुर्‍याइएको छ । केही स्वास्थ्यकर्मीलाई तालिम दिएका छौं ।’

नियन्त्रण तथा रोकथामका लागि केन्द्रदेखि स्थानीय सरकार मस्त निद्रा परेजस्तो देखिएको छ । एकले अर्कालाई दोष लगाएर बस्नमा केन्द्रित छन् ।

विज्ञहरुले यो वर्ष पनि भयावह अवस्था आउन सक्ने चेतावनी दिइरहँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय भने मुकदर्शक नै भएर बसेको छ ।

दैनिक डेंगुबाट मृत्यु हुने संख्या थपिरहँदा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत अझै हाइसञ्चोमा छन् । पछिल्ला दिनमा अस्पताल, फार्मेसी अनुगमनको प्रचारमोहमा रमाइरहेका मन्त्री बस्नेतले डेंगु नियन्त्रणमा कुनै पहल लिन सकेका छैनन् ।

निजी अस्पतालले परीक्षणको नाममा चर्को शुल्क असुल्दा उनी मौन छन् ।

वर्षाको पानी जम्ने जथाभावी फालेका बोतल, टिनका भाँडा, थोत्रो टायर, अलकत्रा वा मट्टीतेलका खाली ड्रमहरू गमला, पानीका ट्ंयाकी आदिमा एडिज नामक लामखुट्टेले फुल पार्छ । सहरी क्षेत्रमा यस्ता वस्तुहरू थुप्रै हुने भएकाले पनि बढी डेंगु देखिने गर्छन्

स्वास्थ्य मन्त्रालयका उच्च अधिकारी पनि नियमित काममै चित्त बुझाएर बसिरहेको देखिन्छ । डेंगु रोकथाममा कुनै देखिने खालको काम हुन सकेको छैन । बरु तल्लो तहलाई दोष थोपरेर उन्मुक्ति लिन खोजेको आभास हुन्छ ।

‘दैनिकजसो डेंगु नियन्त्रण र रोकथामका लागि बैठक हुन्छ । तर, बैठकले खासै प्रतिफल दिन सकेको छैन,’ मन्त्रालयका एक अधिकारी भन्छन्, ‘स्थानीय तहलाई दोष देखाएर केन्द्रमा बैठक गर्ने र भत्ता लिने मात्रै काम भइरहेको छ ।’

डेंगु समान्य झैं लाग्ने, तर कुनै पनि बेला प्रकोप रूप लिन सक्ने रोग हो । डेंगु लागेपछि सही उपचार गर्नु र प्रकोप रोक्न लामखुट्टेको लार्भा भएका ठाउँहरु खोजेर नष्ट गर्नु बाहेक अरु उपाय छैन ।

स्थानीय तहले पनि डेंगु नियन्त्रणका लागि ‘खोज तथा नष्ट’ अभियान प्रभावकारी रूपमा सञ्चालन गर्न नसक्दा यो अवस्था आएको हो । जनस्वास्थ्यविद्का अनुसार डेंगुले महामारीको रूप लिन लागेको अवस्थामा राज्यका सबै स्रोत-साधन परिचालन र जनचेतना अभियान अनिवार्य नै हुन्छ ।

विज्ञका अनुसार डेंगु नियन्त्रणका लागि मनसुन सुरू हुनुभन्दा अगाडि नै लार्भा खोज तथा नष्ट अभियान’ तीव्र रुपमा सञ्चालन गर्नुपर्छ । तर, अहिलेसम्मको अनुभवले डेंगु फैलिसकेपछि मात्रै ‘लार्भा खोज तथा नष्ट अभियान’ सुरू हुन्छ । त्यही पनि प्रभावकारी रुपमा सञ्चालन हुन सक्दैन ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व प्रमुख तथा जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी स्वास्थ्य मन्त्रालयले नै ‘कमान्डिङ’ भूमिका निर्वाह नगर्दा डेंगुको प्रकोप फैलिरहेको बताउँछन् ।

‘मनसुन सुरू हुनासाथ खोज तथा नष्ट अभियानलाई व्यापक बनाउनुपर्ने हुन्छ । लार्भा अवस्थामै मार्न सकियो भने डेंगु फैलिदैन,’ डा. मरासिनी भन्छन् ‘तर, डेंगु फैलिन सुरु गरेपछि मात्रै सरकार झारा टार्नका काम गरेजस्तो गर्छ ।’

ट्रपिकल मेडिसिन विशेषज्ञ डा. अनुप बाँस्तोला स्थानीय तहबाट डेंगु नियन्त्रण तथा रोकथामका कुनै काम नभएको बताउँछन् । ‘डेंगु नियन्त्रणका लागि स्थानीय तह गम्भीर भएर लाग्नुपर्छ । तर, अहिलेसम्म खोज तथा नष्ट अभियान प्रभावकारी रुपमा कतै सञ्चालन भएको छैन,’ डा. बाँस्तोला भन्छन्, ‘नागरिकलाई खोज तथा नष्ट अभियान दैनिक रुपमै गर्नुपर्छ भनेर बुझाउन नसक्दा सम्म डेंगुलाई नियन्त्रण गर्न सकिंदैन ।’

डेंगु फैलाउने मुख्य कारण ‘टायर’

विशेष गरी, वर्षाको पानी जम्ने जथाभावी फालेका बोतल, टिनका भाँडा, थोत्रो टायर, अलकत्रा वा मट्टीतेलका खाली ड्रमहरू गमला, पानीका ट्ंयाकी आदिमा एडिज नामक लामखुट्टेले फुल पार्छ । सहरी क्षेत्रमा यस्ता वस्तुहरू थुप्रै हुने भएकाले पनि बढी डेंगु देखिने गर्छन् ।

जनस्वास्थ्यविद् डा. मरासिनीका अनुसार अहिले मनसुन सँगसँगै डेंगु तीव्र गतिमा फैलिरहेको छ । बढी पानी संकलन भएका ठाउँमा लामखुट्टेको लागि उपयुक्त वातावरण भएकाले पनि डेंगु बढी, छिटो र तीव्र गतिमा फैलिने गर्छ । शहरबजारमा भएका पुराना टायरले लामखुट्टेलाई हुर्कन अनुकुल वातावरण दिन्छ ।

केही वर्ष अगाडि त्रिभुवन विश्वविद्यालयले गरेको एक अध्ययनमा काठमाडौं र ललितपुरमा डेंगु सार्ने लामखुट्टे सबैभन्दा बढी टायरमा बस्ने गरेको देखिएको थियो । अप्रिल २००९ देखि मार्च २०१० सम्म लगाएर गरिएको अध्ययनमा ९५ प्रतिशत लार्भा टायरमा भएको पाइएको थियो । यस्तै, मेटल ड्रममा २ प्रतिशत र प्लाष्टिक ड्रममा भने १.२५ प्रतिशत लार्भा भेटिएका थिए ।

‘अध्यारो ठाँउ र सफा पानीमा फुल पार्न लामखुट्टेले बढी मन पराउँछ । पानी पर्ने ठाँउमा टायर नराख्ने हो भने ६० प्रतिशत डेंगुको नियन्त्रण गर्न सकिन्छ,’ डा. मरासिनी भन्छन् ।

यस्तै, सरुवा रोग विशेषज्ञ डा. शेरबहादर पुन पनि डेंगु सार्ने एडिस एजिप्टाई जातको लामखुट्टेले प्रकृति अनुसार परिवर्तन गर्दै गएको बताउँछन् ।

पहिले राति मात्र सताउने यो लामखुट्टले अहिले दिउँसो पनि टोक्ने गरेको उनी बताउँछन् ।

कुनै एक प्रजातिको इन्फेक्सन भएमा जीवनभर त्यही सेरोटाइपको संक्रमण हुँदैन । तर, अन्य प्रजातिले भने संक्रमण गर्न सक्छ । तर, कुनै व्यक्तिमा दोस्रो सेरोटाइपको डेंगु संक्रमण भएमा बढी जटिल हुन्छ

‘जब समुदाय लामखुट्टे वयस्क भएर टोक्न सुरु गर्छ । त्यसपछि नियन्त्रण तथा रोकथाम गर्न गाह्रो हुन्छ,’ डा. पुनले भने, ‘डेंगु फैलिन नदिनका लागि लार्भा नै बन्न दिन हुँदैन । मनसुन सुरु हुनासाथ खोज र नष्ट गर अभियान सञ्चालन गर्नुपर्छ ।’

‘लामखुट्टेलाई अत्यधिक बस्न मन पर्ने ठाउँ फालिएका टायर हुन् । काठमाडौंलगायतका सहरी क्षेत्रमा जनघनत्वको साथसाथै सवारी साधन पनि बढ्दै गएको छ,’ डा. पुन भन्छन् , ‘जबसम्म हामीले लामखुट्टेलाई अनुकुल वातावरण बनाइदिन्छौं । डेंगु कुनै पनि हालतमा नियन्त्रण हुँदैन ।’

डा. पुनका अनुसार लामखुट्टेले फुल पार्न सक्ने घरभित्रका सम्भावित ठाउँ, वरपरका पानी जमेको ठाउँहरू र पानी राख्ने भाँडाहरू खोजी-खोजी सफा गर्नुपर्छ । त्यस्तै लामखुट्टेको फुल पनि नष्ट गर्नुपर्दछ ।

यस्तै, डेंगु फैलाउनुको अर्को कारण जलवाय परिवर्तन र तापक्रम वृद्धि हो ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले २०७८ जेठमा डेंगु एक अध्ययन गरेको थियो । परिषद्का प्रमुख अनुसन्धान अधिकृत मेघनाथ धिमालसहित १४ जनाले गरेको अध्ययनमा जलवायु परिवर्तन र तापक्रम वृद्धिका कारण डेंगु, मलेरिया, चिकनगुनिया जस्ता संक्रामक रोग बढ्न थालेको अध्ययनको निष्कर्ष छ ।

अध्ययनको क्रममा समुद्री सहतबाट ८५ मिटरको उचाईको वीरगन्जदेखि २१०० मिटर उचाइको धुन्चेसम्म ८३४ वटा घरबाट जमेको पानीको नमुना संकलन भएको थियो । जसमा डेंगु फैलाउने लामखुट्टेका जीवाणु फेला परेको थिए ।

कुनै एक समय अवधि र निश्चित भौगोलिक क्षेत्रमा मात्र देखिंदै आइरहेका थुप्रै किटजन्य सरुवा रोग सोही क्षेत्र वा स्थानमा मात्र हाल सीमित छैनन् ।

‘जलवायु परिवर्तनको असर उच्च भू-भागमा देखिएको छ । हिजोका दिनमा चिसो हुने ठाउँमा तापक्रम बढेसँगै प्रत्यक्ष रूपमा लामखुट्टे, भुसुनाका कारण हुने किटजन्य रोग फैलिएका छन् । मौसममा बदलावसँगै अन्य कारणले तराईको रोग पहाड अनि हिमालमा उक्लिरहेको छ,’ डा. धिमाल भन्छन् ।

हिजो प्रकोपकै रूपमा तराईमा देखिंदै गएका रोगको संक्रमण बरु त्यहाँ घट्दै गएको छ । किनकि, ३५ डिग्री नाघेपछि लामखुट्टे मर्छ । तर, यसको उल्टो पहाडी र हिमाली क्षेत्रमा लामखुट्टेको प्रकोप बढ्दो छ । किनकि १२/१३ डिग्रीमा पनि डेंगु सहजै फैलिन सक्छ ।

तापक्रम वृद्धि र गर्मीका दिन डेंगु सार्ने एडिजलगायतका विभिन्न प्रजातिका लामखुट्टेका लागि बसोबास र प्रजनन् गर्न अनुकुल बन्दै गएको छ । डेंगु सार्ने लामखुट्टेका लागि १० देखि २५ डिग्री सेल्सियसको वातावरण राम्रो मानिन्छ ।

दोस्रो पटक लाग्दा झन् सिकिस्त

डेंगु एडिस एजेप्टाइ र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइरल संक्रमण हो । यो भाइरस डेंगु १, डेंगु २, डेंगु ३ र डेंगु ४ गरी चार प्रकारका सेरोटाइप हुन्छन् ।

डा. पुनका अनुसार डेंगु १, डेंगु २, डेंगु ३ र डेंगु ४ मध्ये कुनै एक प्रजातिको इन्फेक्सन भएमा जीवनभर त्यही सेरोटाइपको संक्रमण हुँदैन । तर, अन्य प्रजातिले भने संक्रमण गर्न सक्छ । किनभने एक प्रजातिको इन्फेक्सन भएको अवस्थामा जीवनभर शरीरमा त्यसप्रजातिविरुद्ध लड्न सक्ने क्षमता विकास भइसकेको हुन्छ । तर, कुनै व्यक्तिमा दोस्रो सेरोटाइपको डेंगु संक्रमण भएमा बढी जटिल हुन्छ । नेपालमा ४ वटा सेरोटाइप रहेको अध्ययनले पुष्टि गरिसकेका छन् ।

धरानमा उपचाररत डेंगु संक्रमित ।

‘एकै व्यक्तिलाई फेरि संक्रमण भयो भने पहिलेभन्दा फरक सेरोटाइपले संक्रमण गराउने सम्भावना बढी हुन्छ । जसको कारण संक्रमित बढी सिकिस्त वा मृत्यु हुने अवस्था हुन्छ,’ डा. पुन भन्छन् ।

२०७६ सालमा धरानमा सेरोटाइप-२ ले संक्रमण गराएको थियो । तर, त्यसबेला धेरै मानिस सिकिस्त भएका थिएनन् । २०७९ सालमा काठमाडौंमा फैलिएको डेंगुले धेरै मानिसको सिकिस्त बनायो । धेरै मानिस बेहोस भएर अस्पताल आउने र मृत्यु हुने संख्या पनि धेरै थियो ।

सिकिस्त र मृत्युको संख्या बढेपछि इडीसीडीले गरेको एक अध्ययनमा काठमाडौं उपत्यकामा भने सेरोटाइप १ र ३ बढी संक्रिय रहेको पाइएको थियो ।

डा. पुनका अनुसार डेंगु भएका थोरै संख्याका मानिसलाई हेमोजेरिक हुने गर्छ । यसमा बढी मात्रमा रक्तस्राव हुने, गिजाबाट रगत बग्ने हुन्छ । साथै, अन्तरिक रक्तस्राव पनि हुन्छ ।

डेंगु संक्रमित व्यक्तिमा श्वास-प्रश्वासमा कठिनाइ भएमा, पेट दुख्ने, गिजाबाट रगत बगेजस्तो हुने, कालो खालको दिसा आउने, थकान महसुस हुने, उल्टी हुँदा रगत देखिने, बिरामी बेहोस हुनेलगायत लक्षण देखिएमा डेंगु जटिल भयो भनेर बुझनुपर्छ ।

डेंगु अधिकांशलाई घरमै बसेर आराम गरेमा सञ्चो हुन्छ । तर, जटिल लक्षण देखिएको अवस्थामा तुरून्तै अस्पताल जानुपर्छ र संक्रमितलाई भर्ना गरेर उपचार गर्न जरूरी हुन्छ । अस्पताल आइपुगेका जटिल लक्षण भएका बिरामी फोक्सो वा पेटमा पानी जमिरहेको हुन्छ ।

‘शरीरमा डेंगु संक्रमण हुँदा त्यसले बोनम्यारोलाई केही समय निष्क्रिय गराउँछ, जसले गर्दा सेतो प्लेटलेट्सको मात्रा बिस्तारै घटेर जान्छ, जुन स्वाभाविक प्रक्रिया हो । तर, शरीर जति कमजोर हुन्छ, त्यति नै अन्य ब्याक्टेरियाले आंक्रमण गर्ने सम्भावना रहन्छ,’ डा. पुन भन्छन् ।

चिकित्सकका अनुसार सामान्य डेंगु ज्वरो आएका मानिसमा प्रशस्त पानी पिउने र प्यारासिटामोलको सेबन गर्नाले नै रोग ठीक हुन्छ । ज्वरो आएपछि वा दुखाइ बढेपछि फ्लेक्जन, ब्रुफिन, निम्स जस्ता औषधि सेवन गर्न हुँदैन ।

‘डेंगु संक्रमितले यस्ता औषधि डाक्टरको सल्लाहविना खानु वास्तवमै हानिकारक र घातक हुनसक्छ’ डा. पुन भन्छन्, ‘यस्ता औषधि खाँदा आन्द्रा सुन्निने, घाउ हुने र रगतमा प्लेटलेट्स कम भएका बेला रगत बग्न सक्नेजस्ता जोखिम बढेर जान्छ ।’

एडिस जातको लामखुट्टे दिउँसो बढी सक्रिय हुने भएकाले बढी सावधानी अपनाउनुपर्ने चिकित्सक बताउँछन् ।

‘मानिसले अझै पनि दिउँसो लामखुट्टेले टोक्छ भन्ने विश्वास गरेको पाइँदैन । राति सुत्दा झुलदेखि सबै सुरक्षाका मापदण्ड अपनाउँछन् । तर दिउँसो भने यसलाई बेवास्ता गरिरहेका हुन्छन्,’ डा. पुन स्पष्ट पार्छन्, ‘दिउँसो काममा व्यस्त भएकाले त्यही बेलामा टोक्ने गरेको छ । जहिले पनि राति नै लामखुट्टेले टोक्छ भन्ने सोचलाई परिवर्तन ल्याउन जरूरी हुन्छ ।’



from Online Khabar https://ift.tt/igDueKH

No comments:

Post a Comment