Thursday, August 31, 2023

एसिया कप : बंगलादेशलाई हराउँदै घरेलु टोली श्रीलंकाको विजयी सुरुवात

१५ भदौ, काठमाडौं । तीव्र गतिका बलर मथिशा पाथिराना र मध्यक्रमका ब्याटर चरिथ असलंकाको उत्कृष्ट प्रदर्शनमा घरेलु टोली श्रीलंकाले एसिया कपमा बंगलादेशलाई पाँच विकेटले हराउँदै विजयी सुरुवात गरेको छ ।

जितको लागि १६५ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंकाले ३९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । श्रीलंकाका लागि चरिथ असलंका ९२ बलमा ५ चौका र १ छक्कासहित ६२ रनमा नटआउट रहे । ओपनर पाथुम निसंका १४, दिमुथ करुणारत्ने १ र कुशल मेन्डिस ५ रनमा आउट भएका थिए ।

चौथो विकेटका लागि चरिथ र सदिरा समराविक्रमाले ७८ रनको साझेदारी गर्दै खेललाई लयमा फर्काएका थिए । सदिरा ७७ बलमा ६ चौका ५४ रनमा आउट भए । दासुन शानका २१ बलमा १ चौकासहित १४ रनमा नटआउट रहे ।

बंगलादेशका कप्तान सकिब अल हसनले १० ओभरमा २ मेडनसहित २९ रन खर्चेर २ विकेट लिए । तस्किन अहमद, मेहदी हसन र शोरिफुल इस्लामले एक–एक विकेट लिए ।

त्यसअघि, पालेकाले इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको बंगलादेश ४२.४ ओभरमा १६४ रनमा अलआउट भएको थियो । बंगलादेशका नाज्मुल हसन शान्टोले १२२ बलमा ७ चौकासहित सर्वाधिक ८९ रनको योगदान दिए पनि जितको लागि पर्याप्त हुन सकेन । अन्तिम ६ विकेट ३७ रनमा गुमाउनु बंगलादेशको लागि भारी पर्यो ।

सान्टो स्पिनर महेश थिक्सेनाको बलमा एलबीडब्लू आउट भएपछि शतक बनाउन चुकेका थिए । एक समय बंगलादेश १२७–४ को अवस्थामा रहेपनि अन्तिम ६ विकेट मात्रै ३७ रनमा गुमाउन पुगेको थियो ।

ओपनर मोहम्मद नइम १६, तान्जिद हसन डक, कप्तान सकिब अल हसन ५, तोवहिद ह्दोय २०, मुश्फिकर रहिम १३, मेहेदी हसन मिराज ५, मेहेदी हसन ६ र मुश्ताफिजुर रहमान डक आउट भए ।

श्रीलंकाका तीव्र गतिका बलर मथिसा पाथिरानाले ७.४ ओभरमा ३२ रन खर्चेर ४ विकेट लिए । महेश थिक्सेना ८ ओभरमा १ मेडनसहित १९ रन खर्चेर २ विकेट लिए । धनन्जय डि सिल्भा, दुनिथ वेलाजिगे र दासुन शानकाले एक–एक विकेट लिए ।

एसिया कप अन्तर्गत समूह ‘ए’ को खेलमा शनिबार भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।



from Online Khabar https://ift.tt/wYgqTCs

No comments:

Post a Comment