Wednesday, August 9, 2023

ग्लोबल नेपाली फिल्म अवार्डका लागि कलाकारहरु न्यूयोर्कमा

न्यूयोर्क । ड्रिम्स युनिभर्सल एलएलसीको आयोजनामा अमेरिकाको न्यूयोर्कमा हुन लागेको ग्लोबल नेपाली फिल्म अवार्डमा सहभागि हुन कलाकार न्यूयोर्क पुग्ने क्रम जारी छ । पाका कलाकारहरु शिव श्रेष्ठ, कृष्ण मल्ल, शर्मिला मल्ल, सुनिल थापा न्यूयोर्कमा पुगिसकेका छन् भने अन्य कलाकारहरु शुक्रबार बेलुकासम्म पुगिसक्ने जनाइएको छ ।

आयोजक संस्था ड्रिम्स युनिभर्सलका प्रमुख शैलेश श्रेष्ठ लगायतले अतिथिलाई जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । अनलाइनखबरसँग कुरा गर्दै अभिनेता तथा नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले न्यूयोर्कले देखाएको हार्दिकताप्रति खुशि व्यक्त गरे ।

शनिबार न्यूयोर्कको क्वीन्समा हुन लागेको अवार्ड समारोहमा प्रियंका कार्की, अनमोल केसी, सरोज खनाल ,दिलिप रायमाझी ,मेलिना मानन्धर, ऋचा घिमिरे, जल शाह, पूजा चन्द, अरुणिमा लम्साल, निखिल उप्रेती, सारङ्गा श्रेष्ठ, शंकर घिमिरे, स्वस्तिमा खड्का, आयुष्मान देशराज जोशी, रेश्मा घिमिरेलगायतका सहभागिता हुने जनाइएको छ । अवार्डका लागि न्यूयोर्कमा पाँच दर्जन कलाकारको उपस्थिती हुने जनाइएको छ ।

अवार्डमा अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्नेहरुको उल्लेख्य उपस्थिती हुने अपेक्षा गरिएको छ । सन् २०१६ देखि सुरु भएको ग्लोबल नेपाली फिल्म अवार्डको यो छैटौं श्रृंखला हो । यसपटकको नारा ‘नेपाली चलचित्र गाउँदेखि विश्वसम्म’ तय गरिएको छ ।

नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड, गोल्डेन स्टेट मुभी मेकर र ८८४८ मिडिया हाउस एलएलसीले मिलेर अवार्ड कार्यक्रम आयोजना गर्न लागेका हुन् । अवार्डका संरक्षक तथा नेपाल फिल्म सोसाइटीका केन्द्रीय अध्यक्ष कृष्ण मल्ल हुन् भने ग्लोबल फिल्म अवार्डका अध्यक्ष नवराज श्रेष्ठ हुन् ।

अवार्डका प्रमुख प्रायोजकमा एटिए एवरेस्ट इन्सुरेन्स (बिमा) संस्था तथा अल स्टेटका सुनिल पाठक छन् । यसपटक अवार्ड वितरणसँगै मनोरञ्जनात्मक कार्यक्रमको आयोजनालाई समेत प्राथमिकता दिइने भएको छ । गोविन्द राईको कोरियोग्राफीमा अभिनेत्री नन्दिता केसी, बसन्ती राई लगायतले समेत समारोहमा नृत्य प्रस्तुत गर्ने भएका छन् ।



from Online Khabar https://ift.tt/Mt3Hsfu

No comments:

Post a Comment