म करिब दश वर्षदेखि सामाजिक, राजनीतिक कामसँगै वैज्ञानिक खोज अनुसन्धान र पुस्तक लेखनमा क्रियाशील छु । दश वर्षमा मेरा दुई वटा पुस्तक बजारमा आएका छन् र तेस्रो पुस्तक आउने अन्तिम चरणमा छ । यो दश वर्षको बीचमा मैले राजनीतिक, सामाजिक र राज्यका विभिन्न जिम्मेवारीमा रहेर काम मात्र गरिनँ स्वयं आफू, समाज, राजनीति, राज्य र विज्ञान प्रविधिलाई एकसाथ नजिकबाट बुझ्ने अवसर पनि पाएँ ।
परन्तु, यहाँ उल्लिखित सबै विषयका बारेमा बहस गर्न सम्भव छैन, केवल राजनीति र राज्यका बारेमा मात्र कुरा गर्न खोजेको छु । समाज, राजनीति र देशका प्रति चिन्ता राख्नुहुन्छ भने यो आलेख तपाईंका लागि सान्दर्भिक हुनसक्छ ।
मैले उहाँलाई राम्रोसँग चिन्दिनँ । तर, उहाँ मेरो साथीले चिनेको मान्छे हुनुहुँदोरहेछ । पेशाले चार्टर्ड अकाउन्टेन्ट, नाम प्रकाश अधिकारी । हाल उहाँ विदेशमा हुनुहुन्छ रे !
केही दिन अगाडि अधिकारीले आफ्नो फेसबुक वालमा लेख्नुभएको एउटा पोस्टको स्क्रिनसट मलाई हिजो एक जना साथीले पठाउनुभएको थियो । अधिकारीको स्टाटसले मलाई यो लेख लेख्न प्रेरित गर्यो ।
स्टाटसमा लेखिएको छ- ‘लाग्थ्यो नेपालीहरू विदेश गइरहेका छन्, तर गलत रहेछु म । नेपालीहरू त बस नेपाल छोडिरहेका रहेछन् ।’ मलाई पनि केही समय अगाडिदेखि लाग्ने गरेकै थियो, ४० डिग्री तातो अरबमा मजदुरी गर्ने भिसा लाग्दा त एउटा युवा खुशीले साथीभाइलाई पार्टी दिन्छ, युरोप र अमेरिकाको सहजै भिसा पाउने भए नेपालमा को बस्थ्यो होला ! सायद नेपाल देश नागरिकविहीन हुन्थ्यो होला !
आज प्रायः हरेक युवाले युरोप र अमेरिकाको सपना बोकेर हिंडेको छ । युरोप र अमेरिका नै नभए पनि खाडी उसको अनिवार्य गन्तव्य बनेको छ । युरोप र अमेरिका पुग्न ऊ घरखेत बेच्न र ऋणको भारी बोक्न मात्र हैन, देश छोड्न आतुर छ । यतिसम्म कि लाखौं पैसा तिरेर वा पचासौं दिन पैदल हिंडेर नै किन नहोस् अमेरिका पुग्ने कष्टपूर्ण जोखिम उठाउन अग्रसर छ ।
अमेजनको जंगलमा पैदल हिंड्दै गर्दा बाघले नखाए, सर्प र बिच्छीले नटोकी बाँचे वा मेक्सिकन र अमेरिकी सेनाको आँखा छल्न सके मात्र ऊ अमेरिका पुग्न सक्छ । परन्तु, उसको सपनाका अगाडि यावत् पीडाको कुनै अर्थ छैन ।
मेरो फेसबुकमा साथी रहेका एक जना युवाले करिब १५ महिना अगाडि एउटा यस्तै भिडियो फेसबुकमा राखेका थिए । भिडियोमा वैदेशिक रोजगारीको पीडादायी दृश्य थियो ।
ती युवाले राखेको भिडियो अरू कसैको नभएर उनकै श्रीमती र छोराछोरीको हो । उनकी श्रीमती दूधेबालक छोरा र पाँच-सात वर्षकी छोरीलाई छोडेर विदेश जान खादा, माला र टीका लगाएर पिलपिल आँसु बगाउँदै एयरपोर्ट पुग्छिन् । छुट्ने बेलामा एयरपोर्टमा छोरा-छोरी र आमा अँगालो हाल्दै डाँको छोडेर रुन्छन् । यसरी रुन्छन्, मानौं एकसाथ छातीमा सयौं चिरा परेको छ । मुटु टुक्राटुक्रा हुने गरी फुटेको छ । त्यहीबेला धर्ती भासिंदैछ । त्यो नै उनीहरूको अन्तिम पल हो ।
तर, छोराछोरीभन्दा विदेशिनुपर्ने बाध्यता उनका लागि ठूलो थियो । गरिबीसँग पराजित एक निरीह आमा, ‘पापा लिएर आउँछु है, राम्रोसँग बस’ भन्दै गेटभित्र छिर्छिन् ।
देख्नेलाई नै भावविहृवल बनाउने यी त केही प्रतिनिधि उदाहरण मात्र हुन् । यति मात्र हैन, साहुसँग दुई लाख रुपैयाँ ऋण काढेर अरबको खाडीमा पुगेका होनहार युवाको दैनिक चार पाँच वटा लास काठको बाकसमा फर्किने गरेको तथ्यांक त अब हाम्रो लागि नौलो रहेन ।
मोरङमा मैले यतिसम्म देखेको छु कि, कपाल-दाह्री फुलेर सेताम्मे भएका बाबुले छोरालाई ऋण काढेर खाडी मुलुक पठाउँछन् । विदेश गएको छोराले भने अनुसारको काम पाउँदैन र ऋण तिर्न धौ-धौ पर्छ । यही अवस्थामा मेसिनले च्यापिएर उसको खुट्टा काट्नुपर्छ । बाबुका दुवै मिर्गाैला फेल हुन्छन् । साहुले ऋण तिर्न दबाब दिन्छ ।
धेरथोर पैसा पठाउने छोरो विदेशी भूमिमै खुट्टा गुमाएर हस्पिटलमा छट्पटाइरहेको छ । ६८ वर्षकी सेतै फुलेकी बुढीआमा बनिबुतो गर्दै मिर्गाैला फेल भएर आँखा अगाडि मृत्यु देखिरहेका निरीह पतिलाई खोले खुवाउँछिन् !
मैले यो लेख तयार गर्ने अर्को कहानी हिजोकै हो । हिजो करिब १ बजेतिर बानेश्वरस्थित मेरो अफिसमा केही युवा इन्जिनियरहरू अलिक मलिन अनुहारमा आएका थिए ।
त्यसमध्येका एक जनाचाहिं मसँग नजिक रहेर काम गरेका साथी पनि थिए, जसले मलाई प्रकाश अधिकारीको फेसबुक स्टाटस पठाएका हुन् । मैले के छ, कसो छ भन्न नपाउँदै लामो सास फेरेर उनले भने, ‘आज हामी चारै जनाले क्यानाडाको भिसा अप्लाई गर्न कन्सल्टेन्सीमा बुझेर आएको ।’
पाँच दिन अगाडि भेट्दासम्म केही नभनेका उनले एक्कासी विदेश जान लागेको भनेपछि म अचम्ममा परें । अनौठो मान्दै सोधें, ‘किन जान लाग्नुभएको ?’ तपाइँहरू जस्तो युवा इन्जिनियरहरूलाई देशमा अवसर छँदैछ नि !’
मैले यति के भनेको थिएँ, देशप्रति उनीहरूले सारै विरक्त भएको सुनाए । काम गर्ने वातावरण नभएको, कमिसन नदिई काम नपाउने, जति गर्दा पनि बाँच्न नसकिने भयो । अब नेपालमा नबस्ने, यस्तै यस्तै निष्कर्ष सुनाए ।
पछिल्लो समय अल्टरनेटिभ फाउण्डेशनले देशमा व्याप्त भ्रष्टाचारका सवालमा देशव्यापी तथ्यांक संकलन र अध्ययनको काम गरिरहेको छ । प्रतिवेदन यही भदौभित्र सार्वजनिक हुँदैछ । अध्ययनका क्रममा दश वटा फरक-फरक क्षेत्रका सरोकारवालासँग छलफल पनि गरिएको छ ।
सम्भव भएसम्म हरेक छलफलमा म आफैं बसेको थिएँ । हरेक छलफलका सहभागीले व्यक्त गरेको धारणाले मलाई बेचैन बनायो ।
सबैको एउटै बुझाइ छ- यो देश बन्दैन । यो देशबाट भ्रष्टाचारको अन्त्य पनि हुँदैन ।
करिब १५० जनासँग छलफल गर्दा देशको भविष्यप्रति उत्साहित एक जना पनि पाइएन । सबै निराश र उकुसमुकुस छन् । देशको राजनीति, नेता र कर्मचारीतन्त्रप्रति मान्छेलाई अलिकति पनि आशा र भरोसा छैन ।
राम्रो देशको भिसा पाए सबै विदेश जान चाहन्छन् । उनीहरूको अभिव्यक्ति हेर्दा लाग्थ्यो, नेपालीहरू धुवाँ भरिएको बन्दकोठामा छन् । निसास्सिएका छन् । मृत्यु नजिकिंदैछ । चिच्याइरहेका छन् तर कसैले सुन्दैन ।
पछिल्लो राजनीतिक परिवर्तन भएको करिब दुई दशक भइसक्दा पनि नागरिक अपेक्षा अनुसार राज्यले काम नगर्नु दुःखद हो । खिचातानी र जालझेलपूर्ण एवं भिजनविहीन राजनीति र राज्य यसको प्रमुख कारण हो ।
राजनीतितिर फर्किंदा मानिस निराश हुन्छ । सरकारतिर फर्किंदा झनै निराश हुन्छ । लामो समयदेखि एउटै पात्र र प्रवृत्ति राजनीतिको शीर्ष स्थानमा रहनु, युवा पुस्ता र नयाँ भिजनले स्थान नपाउनु, नकारात्मक एटिच्युड, व्यक्ति प्रधानता र आफन्तवादको दुष्चक्रमा राजनीति परेको छ । यी र यस्तै कारणले नागरिकमा चरम निराशा पैदा गरेको छ ।
नेपालको राजनीतिलाई यो दुष्चक्रबाट बाहिर निकाल्न बेलाबखत युवा नेताहरूले पहल लिन खोजेको त देखिन्छ तर, त्यो तत्काल सार्थक हुने सम्भावना देखिंदैन । हिजो भएन, आज भइरहेको छैन र भोलि हुने पनि ग्यारेन्टी नहुँदा नागरिकमा बेचैनी बढ्नु स्वाभाविक हो ।
वर्तमान सरकारले केही भ्रष्टाचारीलाई कारबाही गर्न खोजेको त देखिन्छ तर, देश नै बनाउने मानेमा यो पर्याप्त हैन । मान्छेका चेतना, आकांक्षा, आवश्यकता र विज्ञान प्रविधि अगाडि अगाडि सरकारका नीति पछाडि पछाडि छन् । जबकि, विकसित देशलाई हेर्दा नीतिले सबै कुराको अगुवाई गरेको पाइन्छ ।
वर्तमान सरकारले भ्रष्टाचारीलाई कारबाही त गर्न खोजेको छ, जुन अपरिहार्य पनि हो । तर, राजनीतिक नेतृत्व भ्रष्टाचारीलाई कारबाही गरेकोमा ठूलै उपलब्धि मानेर बसेको छ । यो ठीक हैन । घटनाको पछि त पुलिस लागिहाल्छ नि, नेता लाग्नु पर्दैन नि ! नेताले त ‘पलिसी सिफ्ट’ को अगुवाई गर्ने होला नि !
नेपालमा हालसम्म निर्माण भएका नीति-नियम कस्ता छन् ? तिनले देश विकासमा कहाँ र कसरी अवरोध पैदा गरेका छन् ? प्रणालीलाई कसरी पट्यारलाग्दो बनाएका छन् आदि नीतिको पहिचान गरी नीतिगत रूपान्तरणको अगुवाई गर्नुपर्नेमा त्यतातर्फ अग्रसर भएको देखिंदैन ।
प्रधानमन्त्री प्रचण्डले आफ्नो तौर-तरिकामा थोरै मात्र परिवर्तन गर्ने हो भने अहिलेको भन्दा दश गुणा बढी काम त भर्खरै हुन्छ, त्यो पनि कुनै अतिरिक्त प्रयास विना । तर, आँखा अगाडि सम्भावना हुँदाहुँदै पनि उहाँ त्यसतर्फ अग्रसर हुन चाहे जस्तो देखिंदैन ।
देश विकास गर्न के के गर्नुपर्छ, त्यसमा केही प्रयास गर्नुभएको छ ? तर, के के गर्नुहुँदैन, त्यसमा उहाँ चुक्नुभएको छ । गर्नु र नगर्नुपर्ने दुवै काम गरेमा परिणाम बराबर हुन जान्छ । यसतर्फ ध्यान दिनुपर्ने हो कि ?
अमेरिकी लेखक, फ्रयाङ हर्बटले भनेका छन्- ‘सुशासन कहिल्यै कानुनमा निर्भर हुँदैन, यो त सम्बन्धित नेतृत्वको गुणमा निर्भर हुन्छ । सरकारका संयन्त्रहरू जहिल्यै पनि ती संयन्त्र चलाउने मानिसको इच्छाको अधीनमा रहन्छन् ।’
कपाल, दाह्री सेतै फुलेका दुवै मिर्गौला फेल भएका बुढा बा, अरबको खाडीमा खुट्टा काटिएका नेपाली युवा, दूधे बालकका आँसु सलले पुछ्दै खादा, माला र टीका लगाएर खाडी हिंडेकी एउटा निरीह आमा, दाइजोको निहुँमा जिउँदै जलाइएकी गर्भवती युवती, पटुकाले बच्चा बेरेर त्रिशूलीको किनारमा बालुवा चाल्दै गरेकी गरिब आमा, केही गर्दा पनि पार नलागेर दिनदहाडै शरीरमा पेट्रोल छर्किएर आगो लगाई बानेश्वरमा आत्मदाह गरेका प्रेम सञ्जेलको आँखाबाट हेर्दा राज्य कस्तो देखिएला ?
नेता र उच्च पदस्थ कर्मचारीहरूले कहिले दुःखी, पीडित, असहृय निराश, बेचैन र गरिब नागरिकको आँखाबाट देशलाई हेर्ने गरेका छन् ? शानका साथ झण्डा हल्लाएर हिंड्ने र अघिपछि गर्नेको चेतनाले कहिल्यै आफूले आफैंलाई म यहाँ किन छु, प्रश्न गरेको छ ? उच्च पदस्थले देशका प्रतिको मेरो दायित्व के हो, कहिल्यै सोचेको छ ? छैन । यदि, सोच्दो हो त देशको यो अवस्था रहने नै थिएन नि !
आज यो देशमा केही गरौं भन्ने हरेक मान्छे निराश छ । देशका हरेक युवा विदेश जाने लाइनमा हातमा पासपोर्ट बोकेर बसेको छ । कल्पना गरौं त, यदि एलन मस्क नेपालमा जन्मिएको भए के हुन्थे होलान् ? के आज उनी विश्वकै धनी नेपाली कहलिन्थे होलान् ? कसैले भन्न सक्दैन, उनी नेपालमा जन्मिएको भए विश्वकै धनी मान्छे हुन्थे भनेर !
उसो भए, हामीले कस्तो देश बनायौं, हरेक मान्छे देश छोड्न चाहन्छ ? बरु अमेजनका जंगलमा बाघले खाओस् तर देश छोड्न चाहन्छ । हामीले चलाएको देशमा मान्छे किन बस्न चाहँदैन ? मान्छे बस्नै नचाहने कस्तो देश बनायौं ? जहाँ मान्छेले आफ्नो र सन्तानको भविष्य देख्दैन । जहाँ नागरिकलाई राजनीति र राज्यप्रति आशा, भरोसा र विश्वास नै छैन । यो कस्तो देश हो ? आज देश दुखेको छ ।
from Online Khabar https://ift.tt/CdBuF0r
No comments:
Post a Comment