Friday, August 4, 2023

व्यक्तिगत खर्चमा ३० जनालाई सैलुनसम्बन्धी निःशुल्क तालिम

२० साउन, चितवन । चितवनको भरतपुरस्थित सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनका सञ्चालक सुभल सिग्देलले आफ्नो व्यक्तिगत खर्चमा ३० जना युवायुवतीलाई निस्शुल्क सैलुन तालिम दिन सुरु गरेका छन् ।

लामो समय विदेश बसेर फर्किएका सुलभले सिपविना केही गर्न नसकिने भन्दैं आफ्नै खर्चमा भरतपुर महानगरपालिकाका विभिन्न वडाबाट प्रतिनिधित्व हुने गरी गरिब तथा विपन्नहरुलाई छनोट गरी तालिम दिन थालेका हुन् ।

उनले निःशुल्क तालिमका लागि माग गरेको आवेदनमा ८३ जनाले फारम भरेका थिए । तीमध्ये ६ महिलासहित ३० जनालाई विभिन्न वडाबाट प्रतिनिधित्व रहने गरी छनोट गरिएको सिग्देलले जानकारी दिए । उनी भन्छन्, ‘सिप सिकेर कम्तीमा पनि महानगरपालिकाको हरेक वडामा एक स्थानीय युवाले सैलुन चलाएको हेर्न रहर छ, मलाईं । नेपाली युवालाई स्वरोजगार बनाउन सिप सिकाउनुपर्छ भनेर कस्सिएको हुँ ।’ तालिम ४५ दिनसम्म चल्छ ।

तालिमपछि युवाहरु आफैंले सैलुन खोल्ने सक्ने बताउनु आफ्नो उद्देश्य रहेको उनको भनाइ छ ।

पपुलर युनिसेक्स सैलुनको १०औँ वाषिर्कोत्सवका अवसरमा तालिमको उद्घाटन सत्रमा बोल्दै उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले सैलनुबाट कमाएको रकम बचाएर निःशुल्क तालिम पवित्र उद्देश्यका साथ गरेको भन्दैं यसले युवालाई स्वरोजगार बन्न ठूलो सहयोग पुग्ने बताए ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयको निरन्तर शिक्षा केन्द्रका निर्देशक डा. निराजन भट्टराईले सानो लगानीमा आम्दानी गर्न सकिने सैलुन व्यवसाय चलाउन अन्यत्रबाट जनशक्ति आउनुपर्ने अवस्थाको अन्त्य गर्ने तालिम फलदायी बन्ने बताए ।

उनले हरेक पालिकाहरुले युवाहरुलाई स्वरोजगार बनाउन यस्ता सिपमुलक तालिमहरुलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखे ।

तालिम सिक्न आएका गैंडाकोट नगरपालिका २ का प्रदिप पौडेलले सैलुन तालिम लिएर देशभित्र नै स्वरोजगार बन्न चाहेको बताए ।

भरतपुर-११ की सुनि गुरूङ केटा र केटी दुवैको कपाल काट्न सिक्न पाउने भएकोले सिप सिकेर आफैंले व्यवसाय गर्न चाहेको बताइन् ।

वीरेन्द्र क्याम्पसमा पढ्दै गरेकी सुनिले सैलनु पेशा थोरै लगानीमा आम्दानी पनि गर्न सकिने भएकोले विना हिच्किचाहट सिक्न आएको सुनाइन् ।

भरतपुर १२ की शर्मिला पन्त तिवारी गृहणी हुन् । हातमा सिप नभएको कतैं पनि काम पाउन मुस्किल हुने गरेकोले सिप सिकेर स्वालम्बी भएर आफ्नै खुट्टामा उभिने रहर भएकोले सैलुन तालिममा सहभागी हुन आएको उनको भनाइ छ ।



from Online Khabar https://ift.tt/jQrq0lF

No comments:

Post a Comment