Friday, August 16, 2024

चालीस वर्षअघि दुई गर्भिणीले पार गरेको भँगालो

‘बछवा बढ रहा है
पेट मे चलता फिरता है तो साफ मालुम होता है’

कलकत्ताको घाटमा एक जोडी सुस्ताइरहेको छ । पति उत्तानो परेर भुईंमा सुतिरहेको छ । पत्नी कुनै लोकगीत गुन्गुनाइरहेकी छन् । अगाडि छ विशाल फैलिएको नदी, हुग्ली । बिहारको मंगेर गाउँका यी मुसहर जोडी यो शहरमा कसरी आइपुगे । यिनको यो नदीसँग के सम्बन्ध छ ? र, पत्नीको पेटमा बढिरहेको ‘बछवा’ को कहानी के छ ?

यो दृश्य त्यही फिल्म पार को हो । यो फिल्म त्यो दौरानको फिल्म हो, जुन समय भारतमा समानान्तर सिनेमाको बोलवाला थियो । असीको दशकमा बलिउडले अत्यन्तै कमसल फिल्म बनाइरहेको थियो भने श्याम बेनेगल, गोविन्द निहालनी, सईद अख्तर मिर्जा, गौतम घोष लगायतका निर्देशकहरूले नसिरुद्दिन शाह, ओम पुरी र स्मिता पाटिल जस्ता कलाकारलाई लिएर ग्रामीण भारतको एउटा अलग्गै चित्र कोरिरहेका थिए । सुभाष घई र मनमोहन देसाईको बलिउडको रंग एउटा थियो भने बेनेगल–निहालनीका सिनेमाको बेग्लै ।

मन्थन, मन्डी, हजार चौरासीकी मा, आक्रोश, अर्धसत्य, द्रोहकाल जस्ता सिनेमाले भारतीय सिनेमालाई संसारिक वास्तविकताको झन्–झन् नजिक लगिरहेका थिए । त्यही पर्खालको एउटा ईंटा थियो-पार ।

नसिरुद्दिन शाह र सबाना आजमी । दुवै अत्यन्त शहरिया मानिसहरू । आर्थिक र चेतना दुवैका हिसाबले उच्च परिवारका सदस्य । पार मा यी थिए, गाउँले, गरिब, हेपिएका, दबिएका मुसहरको भूमिकामा । जब चेकको कोर्लोविवेरी इन्टरनेशनल फिल्म फेस्टिभलमा यो फिल्म देखाइयो त्यहाँ फिल्मका निर्देशक गौतम घोषलाई प्रश्नोत्तरमा सोधियो-‘यति राम्रो अभिनय गर्ने गाउँलेहरू तपाईंले कसरी भेट्टाउनुभयो ?’

केही वर्षअघि ठमेलको काठमाडौं गेस्ट हाउसमा मैले यो प्रसंग उप्काउँदा घोष मुस्कुराएका थिए । ‘मैले उनीहरू ट्रेन्ड एक्टरहरू हुन् भनेर बताउँदा उनीहरू आश्चर्यमा परे’, उनले भनेका थिए । त्यही भेटमा मैले निर्देशक घोषलाई यो फिल्म बनाउने विचार कसरी आयो भनेर पनि सोधेको थिएँ । तब उनले भनेका थिए, ‘त्यसताका कलकत्ताबाट एउटा म्यागाजिन निस्किन्थ्यो- ‘सन्डे’ । सम्पादक थिए, एम जे अकबर । (यी अकबर पछि राजनीतिमा आए । पहिले कांग्रेसका प्रवक्ता थिए पछि भारतीय जनता पार्टीका पनि प्रवक्ता भए । केन्द्रीय मन्त्री पनि भए । यौन दुर्व्यवहारको आरोप लागेपछि पद गुमाएका थिए ।) त्यही म्यागाजिनमा मैले एउटा स्टोरी पढेको थिएँ- उच्च जातिका मान्छेले घरमा आगो लगाइदिएपछि भागेर कलकत्ता आएका बिहारका मुसहरहरूको । उनीहरूको कथा पढेर मलाई यो फिल्म बनाउन मन लागेको थियो ।’

फिल्मका मुख्य पात्र सुरुदेखि एउटा अन्त्यहीन यात्रामा छन् । उनीहरू भागिरहेका छन् । अपरिचित व्यक्तिका नाममा लेखिएका चिठी च्यापेर ज्यान जोगाउनका लागि भाग्दाभाग्दै यी सोझा गाउँलेहरू महानगर कलकत्ता आइपुग्छन् । घर छोडेर भाग्ने बेला घरमा दन्किएको आगो नौरंगाको आँखामा अहिले पनि जलिरहेको छ

फिल्मको कथा यही हो । नौरंगा र रमा, यी पति-पत्नी मंगेरबाट भागेर आइपुगेका छन् कलकत्ता । गाउँको एउटा त्रासदी बोकेर । यिनका आँखामा एउटा गहिरो उदासी र डर छ । यहाँ गाउँ कवितामा वर्णन गरिए जस्तो ‘अर्गानिक’ र ‘इन्भाइरोमेन्टल’ छैन । गाउँमा छन्, जमिनदार, शोषक, सामन्त । ठूला जातका मान्छेको ठूलै अहंकार । त्यही गाउँमा छन्, एकजना शिक्षक- विचारमा माक्र्सवादी, व्यवहारमा गान्धीवादी । जसले गरिब मुसहरहरूको मनमा विस्तारै विद्रोहको आगो सल्काइदिन्छन् । सरकारले तोकेको ज्याला साहु-महाजनले दिनैपर्छ भनेर उनले गाउँलेलाई पढाउँछन् । गाउँका युवाको मनमा उनको एउटा वाक्य गुरुमन्त्र भएर बस्छ- सरकारको नियम सबैले मान्नुपर्छ, साहु-महाजन सरकारभन्दा माथि छैनन् !

त्यो आगो कसरी गाउँमा सल्किन्छ । यसले क-कसलाई डढाउँछ र पुच्छरमा आगो लगाइएको हनुमान जसरी नौरंगा मनको आगो निभाउन कहाँ कहाँ पुग्छ ? अनि अन्त्यमा कसरी ३६ वटा सुँगुरसँगै हुग्लीमा हेलिन्छ ? पार नौरंगा र रमाको त्यही दौडको कथा हो ।

यहाँनेर यो पनि भनिहालुँ, यो चालीस वर्षअघि बनेको फिल्म भएकाले मैले यो लेखमा यसको कथाको विस्तृत रूपमा चर्चा गरेको छु । तपाईंले फिल्म हेर्नुभएको छैन र फिल्म हेर्ने रुचि छ भने, यो लेख फिल्म हेरेर मात्रै पढ्न म सिफारिस गर्छु ।

****

असारको महिना, किसानको महिना । वर्षभरि खाने अन्न उब्जाउनका लागि खेतमा उत्रिने महिना । तर, यही महिनामा कामदारबीच खुसरखासर सुरु हुन्छ-सरकारले तोकेको ज्याला मालिकहरूले दिइरहेका छैनन्, यो अन्याय हो । यसका विरुद्ध लड्नुपर्छ । नौरंगाले जब साँझ खाना खाइरहेको आफ्नो परिवारलाई सुनाउँछ- ‘भोलिदेखि कोही काममा जाँदैन ।’ तब उसका बुबाले भन्छन्- ‘सबभन्दा धेरै काम चाहिने बेला काममा नगए वर्षभरि के खाने ?’

बस्, समस्याको जड यही ‘मजबुरी’मा भेटिन्छ । मालिकले शोषण गरे पनि ठगे पनि जति ज्याला दिन्छ, त्यो नै कामदारको एउटा मात्र आम्दानीको स्रोत हो । यी मुसहरहरूसँग आफ्नो जग्गा-जमिन छैन । लामो समय दलितलाई शिक्षा निषेध गरिएको समाज भएकाले लेखपढ छैन । सरकारले कुनै अन्य कामधन्दा दिएको छैन । यिनलाई हेर्ने, यिनको पक्ष लिने कोही छैन । यस्तोमा गरिब मुसहरले विद्रोह गरेर के पाउँछन् ? विद्रोह नगरे सधैंको शोषण, दमन, अत्याचारबाट मुक्ति कसरी मिल्छ ? यही दोसाँधमा गरिबको पुस्तादेखि पुस्ता बितिरहेको छ ।

नौरंगाको नेतृत्वमा विद्रोह भएरै छाड्छ । र, त्यसले केही मानिसको बलि लिन्छ । त्यसको प्रतिकार पनि हुन्छ । बलिया बांगाले साना मान्छेको विद्रोहलाई सहन गर्दैनन् ।

****

फिल्मका मुख्य पात्र सुरुदेखि एउटा अन्त्यहीन यात्रामा छन् । उनीहरू भागिरहेका छन् । अपरिचित व्यक्तिका नाममा लेखिएका चिठी च्यापेर ज्यान जोगाउनका लागि भाग्दाभाग्दै यी सोझा गाउँलेहरू महानगर कलकत्ता आइपुग्छन् । घर छोडेर भाग्ने बेला घरमा दन्किएको आगो नौरंगाको आँखामा अहिले पनि जलिरहेको छ । बाउआमाको कुनै खोजखबर छैन । हिउँदका कीरा फट्याङ्ग्रा जंगलको डढेलोमा परे जस्तो बा-आमा त्यही घरभित्र भष्म भए कि अझै जीवितै छन्, केही थाहा छैन । त्यसमाथि रमाको पेटमा छ एउटा जोगाउनुपर्ने कुरा-बच्चा ।

बडो मुश्किलले सुँगुरलाई पारि तारेर लखतरान भएका उनीहरू एकछिन सुस्ताएर हेर्दा जब नदीको अर्को भँगालो देखिन्छ, नौरंगाको होश उड्छ । यहाँनेर लाग्छ, जीवन पनि यस्तै हो । एउटा ठूलो भेल पार गरेको ठान्यो, अर्को त्योभन्दा ठूलो भेलले प्रतीक्षा गरिरहेको हुन्छ । के मानिसको जीवन नौरंगा र रमाको अन्त्यहीन दौड जस्तै छैन ? लक्ष्य र गन्तव्य थाहा नभइकन लगातार हिंडिरहेका थकित यात्री जस्तो !

बुधवा नाम गरेको एउटा छोरो थियो, यो जोडीको । एक दिन गाउँकै इनारमा खसेर उसको जीवन समाप्त भयो । तर, रमा अझै पनि आफ्नो पतिलाई केवल ‘बुधवा के बापु’ भनेर बोलाउँछे । उसलाई लाग्छ, बुधवा फेरि उसको कोखमा आएको छ ।

र, हुग्लीको किनारमा यो दम्पती सुरुमा वर्णित दृश्यमा पहिलोचोटि नभागिकन, कसैको खोजी नगरिकन एकछिन सुस्ताइरहेको छ । रमा लोकगीत गाउँदै ‘बुधवा के बापु’लाई पेटको बच्चा बढिरहेको र चलिरहेको बताइरहेकी छ । पहिलोचोटि यिनको मुहारमा शान्ति देखिएको छ । यो बोधको शान्ति हो, भागेर कहीं पुग्न सकिंदैन भन्ने बोधको । जति भागे पनि फर्केर आफ्नै ठाउँमा पुग्नुपर्छ, आइपुगिन्छ भन्ने सत्यको ज्ञानले दिएको प्रकाश ।

उनीहरू अब गाउँ फर्किएर जान्छन् । बाउआमालाई भेट्न चाहन्छन् । त्यसका लागि चाहिने खर्च दिने गरी महाजनको मानिस उनीहरूलाई काम दिन यही घाटमा आउँदैछ । काम के हो भन्ने उनीहरूलाई थाहा छैन ।

****

फिल्मको एउटा असाध्यै मार्मिक दृश्य हो, नौरंगा र रमाले ३६ वटा सुँगुरलाई नदी पार तार्ने दृश्य । सुँगुरलाई अशुद्ध मानिने भएकाले कुनै पनि डुंगाले चढाउन मान्दैनन् । त्यसैले मानिसले नै नदीमा हेलिएर यिनलाई हाँकेर पार गराउनुपर्छ ।

तीन दिनदेखि केही खान नपाएको नौरंगाका लागि यसको मजदुरी २० रुपैयाँ धेरै ठूलो कुरा हो । रमालाई भने यो काम गर्न मन छैन । पानीमा पस्नुअघि नै उसको मनमा चिसो पसिसकेको छ-यत्रो ठूलो नदीमा पौडिंदा कोखको बच्चालाई केही भयो भने ?

नौरंगा जिद्दी गर्छ । उसका सामु कुनै विकल्प छैन । सबै बाटो बन्द भएपछि मान्छेले के गर्छ ? जे नगर्नुपर्ने हो त्यो पनि गर्छ ।

‘यो दृश्यका लागि नसिरुद्दिन शाहले धेरै मिहिनेत गरेका थिए । उनले सुँगुर हाँक्ने कला सिकेका थिए । सुँगुरलाई बोलाउने शब्द, हकार्ने शब्द सबै सिकेका थिए । शबानाले पनि भाषा सिकेकी थिइन्’, मलाई गौतम घोषले बताएका थिए । उनीहरूको त्यो मिहिनेत र अभिनय कला यो दृश्यमा साँच्चिकै जीवन्त भएर आएको छ । तपाईं एकफेर फिल्म हेर्नुहोला, यो युट्युबमा पनि उपलब्ध छ ।

फिल्ममा केही गजबका बिम्ब र प्रतीकहरू प्रयोग गरिएको छ । जस्तै, नौरंगा र रमाको पहिलो छोरा पानीमा डुबेर मरेको थियो । उनीहरू पेटमा रहेको बच्चा सहित अब फेरि पानीमा हेलिंदैछन् ।

बडो मुश्किलले सुँगुरलाई पारि तारेर लखतरान भएका उनीहरू एकछिन सुस्ताएर हेर्दा जब नदीको अर्को भँगालो देखिन्छ, नौरंगाको होश उड्छ । यहाँनेर लाग्छ, जीवन पनि यस्तै हो । एउटा ठूलो भेल पार गरेको ठान्यो, अर्को त्योभन्दा ठूलो भेलले प्रतीक्षा गरिरहेको हुन्छ । के मानिसको जीवन नौरंगा र रमाको अन्त्यहीन दौड जस्तै छैन ? लक्ष्य र गन्तव्य थाहा नभइकन लगातार हिंडिरहेका थकित यात्री जस्तो !

यो दृश्यमा अर्को पनि गज्जब कुरा छ । जब उनीहरू दोस्रो भँगालोमा हेलिन्छन्, तब पारि बसेको महाजनले भन्छ- ‘अरू त त्यस्तै हो, त्यहाँ एउटी गर्भिणी सुँगुर्नी पनि छ, त्यसलाई तार्न मुश्किल छ ।’ यो संवाद सुन्नासाथ हामीलाई रमाको याद आइहाल्छ । यो भँगालोमा एउटा मात्र होइन, दुइटी गर्भिणी आमाहरू हेलिएका छन् । उनीहरू पार तर्नसके जीवन सम्भव छ, नत्र फूलको थुँगा बगेर जानेछ, त्यही गंगाको पानीमा !

महाजनले उनीहरूको मजदुरी दिन्छ । कैयौं दिनदेखि खाने-बस्ने व्यवस्था नभएका उनीहरूलाई त्यसको व्यवस्था गरिदिन्छ । त्यस रात छाप्रोमा भयंकर पानी पर्छ । पहिलोचोटि यी पति-पत्नी एकअर्काको अँगालोमा देखिन्छन् । यो दृश्य देख्दा लाग्छ- जस्तै संकट परे पनि, जस्तै खराब हालत भए पनि मानिसबीचको प्रेम मर्दैन । मान्छेको मनलाई समय र परिस्थितिले जस्तै कठोर बनाइदिए पनि त्यो रसाउन सक्छ । र, जतिसुकै खराब समयमा पनि मानिसलाई कसैको साथले शान्ति दिनसक्छ ।

फिल्मको अन्त्यमा दर्शकको मनमा तब चिसो पस्छ, जब रमाले भन्छे-पेटमा बच्चा चल्न छाड्यो । नौरंगा हडबडिन्छ । दर्शकलाई फेरि एक पटक मानिसको विवशता बोध गराउँछ ।

त्यो बच्चाको अवस्था के हुन्छ ? यी दुई दुःखीहरूको जीवन कसरी अघि बढ्छ, त्यसमा फिल्म धेरै विस्तारमा गएको छैन । त्यसको एउटा संकेत दिएर छोडेको छ ।

ज्यान जोगाउन घरबाट भागेको दम्पती आखिरमा ज्यान जोगाउनलाई त्यही घर फर्किनुपर्ने अवस्थामा आइपुग्छ । आखिर मान्छे कति टाढा भाग्न सक्छ ? समस्याहरू भागेर मात्रै समाधान हुन्छन् ? यस्ता प्रश्नहरू फिल्मले छोडेर जान्छ । समाजमा रहेको विभेद अन्त्य गर्ने लडाईं सजिलो छैन भन्ने पनि यसले देखाउँछ ।

यो फिल्मले त्यस समयमा भारतका कुनाकाप्चाका स-साना गाउँमा दलितहरूको जीवन कस्तो थियो भन्ने चित्र ठूलो पर्दामा देखाएको थियो । सत्यजीत रेको फिल्म सद्गति र गौतम घोषको पार दुई फिल्मले त्यो काम गरेका थिए । सद्गति का मुख्य अभिनेता ओम पुरी पार मा पनि छन् । उनका साथमा उत्तपल दत्त र मोहन आगासे जस्ता कलाकार पनि यसमा छन् ।

पार को चालीस वर्षपछि पनि यो क्षेत्रमा दलितको जीवनस्तरमा कति परिवर्तन आएको छ त भनेर तपाईं सोच्नुहोला । के अझै पनि जातीय र वर्गीय भेदभाव र दमनले मानिसहरूलाई लखेटिरहेको छैन ? समानताको यात्रामा हिंड्ने यात्रीका अघि हुग्ली र गंगाभन्दा ठूला विभेद र शोषणका भँगालाहरू लमतन्न परेर बाटो छेक्न आउन छोडेका छन् र ? र, यो फिल्ममा देखाइए जस्तो मानिसको विवशता पनि कम भएको छ ? अनि माथि उठेको प्रश्न थियो-कमजोरले गर्ने विद्रोहले उसैलाई झन् कमजोर बनाउने सम्भावना हुन्छ कि हुँदैन ? त्यस्तोमा कमजोरले के गर्ने ? यसको उत्तर हुनसक्छ- झन् जोडदार विद्रोह र प्रतिकार ।



from Online Khabar https://ift.tt/pz8KyZ3

No comments:

Post a Comment