१९ साउन, काठमाडौं । साउने झरीसँगै उर्लंदो खहरे मिसिएको त्रिशूलीको बहाव उच्च छ । बर्खायाममा लेदो मिसिएर आउने त्रिशूली सङ्लो हुने कुरै भएन । हाइ करेन्टका कारण गोताखोर कुनै एक ठाउँमा स्थिर भएर खोजी गर्न सक्ने अवस्था छैन ।
त्रिशूलीको मध्ये भेलमा पुग्ने बित्तिकै थकित हुने अवस्था छ । तर सशस्त्र प्रहरीको गोताखोर टोली २१ दिनदेखि अनवरत रुपमा त्रिशूलीको भेलमा हेलिएको हेल्यै छ ।
गोताखोरले चितवनको सिमलतालदेखि भारतको गण्डक नहरसम्म २१ दिनसम्म खोजी गर्दा समेत दुईवटा बस र ४१ यात्रुको अवस्था अझै अज्ञात छ ।
पछिल्लो केही दिउँसो पानी नपरेकाले खोजी तथा उद्दारमा केही सहज त भएको छ, तर राति पानी परेका कारण त्यतिकै असहज पनि । त्यसका बाबजुद गोताखोरहरू दिनभर खोजीमा जुट्छन् । खोजी गरिसकेको ठाउँमा केही संकेत गरेर साँझ निथुक्क हुँदै गोताखोर कुरिनटारको उकालो चढ्छन् ।
तर रातभरको पानीले अघिल्लो दिन लगाएको संकेत चिन्नसक्ने अवस्था हुँदैन । नदीको सतह बढ्छ, अनि फेरि रनभल्लु । पहिल्यै खोजेको ठाउँमा दोहोर्याइतेहेर्याइ होइन, दर्जन बढी पटक पनि खोजिन्छ । तर अवस्थामा केही फरक छैन ।
करिब ६५ यात्रु सहित हराएका दुई बस हराएको छ । २४ शव फेला परे पनि ४१ यात्रुको अत्तोपत्तो छैन । दुर्घटनाको सुरुवाती दिनमा नदी किनारमा बाक्लो संख्यामा उपस्थित भएका आफन्तजनहरू अहिले आश मारेर घर फर्किसके । गोताखोरहरू भने अझै आश मारेका छैनन्, त्रिशूलीमा दिनहुँ हेलिएका छन् ।
यसरी त्रिशूलीमा २१ दिनसम्म हेलिने गोताखोरका कमाण्ड हुन् सशस्त्रका सई रमेश थापा । बंगलादेशमा गएर पहिलो पटक गोताखोर तालिम लिएका उनी १२ वर्षसम्म निरन्तर गोताखोरीमा सक्रिय छन् । १२ वर्षमा उनले निकै उतार चढाव देखे ।
केही व्यक्तिलाई जिवित्तै उद्दार गर्दा संसार जितेजस्तो भान भयो । अहिले २१ दिनसम्म खोज्दा पनि सबै मान्छेको शव नभेटिँदा उनी त्यति नै चिन्तित छन् । ‘जो जहाँको भए पनि बेपत्ता हुनु भएको छ । सास नभए पनि लास मात्रै उपलब्ध गराउन पाए पनि एउटा चित्त बुझाउने बाटो हुन्थ्यो’ रमेश थापाले अनलाइनखबरसँग भने, तर अहिलेसम्म भेट्न नसक्दा निकै दुःख लागेको छ ।’
गोताखोर कमाण्डर रमेश थापाको टोली बिहानै खाजा खाएर त्रिशूली नदीमा पुग्छ । कमाण्डर थापाको साथमा १९ जनाको गोताखोर टोली पालैपालो त्रिशूलीमा हेलिन्छ । दिउँसोभर घामपानी नभनी बेपत्ताहरूको खोजीमा जुट्छन् ।
यसरी नदीमा पस्नु निकै पीडादायी हुन्छ । ‘९९ प्रतिशत जोखिम नै हो, बाँकी १ प्रतिशतको आशामा पानी मुनी जान्छौं’ गोताखोर कमाण्डर थापा भन्छन्, ‘गोही घिस्रिए जसरी ढुंगा समाउँदै नदीभित्र पस्छौं । नदिले बगाएर ल्याएका गेग्रान, ढुंगा मुढाले हिर्काएर घाइते समेत बनाउँछ ।’ स्थलचर प्राणी मान्छे जलचरको रुपमा काम गर्नुपर्दा निकै कठीन हुने उनले अनुभव छ ।
पानीमा जति गहिराइमा गयो, त्यति गाह्रो हुन्छ । भन्छन्, ‘नेपालको हकमा ३३ फिट गहिराइमा पुगेपछि ६ लिटर फोक्सो थियो भने खुम्चिएर ३ लिटरमा आउँछ । अर्थात् आधा खुम्चिसक्छ । यो पानीको प्रेसरको कारण हो ।’
फोक्सो खुम्चिएपछि स्वभाविक रुपमा असहज हुन्छ । अर्कोतर्फ पानीभित्र देखिन भन्दा पनि इसाराले छोएर काम गर्नुपर्दा असहज हुने उनी बताउँछन् । यस्तो जोमिख मोलेर खोजी तथा उद्दारमा जुटेको विषय उनीहरू सकेम्म घर परिवारलाई धेरै सुनाउँदैनन् । ‘हामी गोताखोरलाई भन्दा तनाब आफन्त घरपरिवारलाई हुने रहेछ । त्यसैले यस्ता धेरै कुराहरू म घर परिवारमा शेयर नै गर्दिनँ’ भन्छन् ।
३०० भत्तामा, ज्यान हत्केलामा
सशस्त्र प्रहरीका गोताखोरहरू आठ वर्षसम्म बीमा र भत्ता विना नै उद्दारमा खटिए । बंगलादेशमा तालिम गरेर आएका केही खोताखोरले राजीनामा समेत दिएका थिए ।
ज्यान जोखिममा राखेर भेलमा हेलिने गोताखोरलाई बेवास्ता गरेको भन्दै प्रश्न उठेपछि सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनालको पालाबाट गोताखोरलाई भत्ता दिने निर्णय भएको थियो । ८ असोज २०७७ को मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरीका गोताखोरलाई १० लाखको बिमा, काम गरेका दिन ३०० रुपैयाँका दरले भत्ता दिने निर्णय गर्यो । अहिले पनि त्यही सुविधामा काम गरिरहेका छन् ।
‘यो भत्ता दिनका लागि दिए जस्तो मात्रै देखिन्छ । त्यसैले साथीहरू बरु भत्ता चाहिएन, जोखिम मोल्न नपारे हुनुहुन्छ’ एक खोताखोर भन्छन्, ‘यसलाई मैले नराम्रो हिसाबले भन्न खोजेको होइन त्यति जोखिम छ भन्न खाजेको हो ।’
सशस्त्रका आईजी राजु अर्यालले दुई वर्षअघि मार्मिक ढंगले गोताखोरहरूको व्यथा सुनाएका थए । २७ जेठ २०७९ मा २० जना प्रशिक्षार्थीलाई दीक्षित गर्ने कार्यक्रममा अर्यालले भनेका थिए, ‘गोताखोरी बिरामीलाई भेन्टिलेटरमा पठाए जस्तै हो । बिरामी भेन्टिलेटरमा पठाउँदा अक्सिजन लगाएर पठाउँछौं, फर्केर आउला/नआउला भन्ने दुविधा कायमै हुन्छ । गोताखोर पनि अक्सिजन लगाएर पानीमा डुब्छन् । गहिराइमा पुग्छन्, फर्किएलान् / नफर्केलान् भन्ने हुन्छ ।’
कतिसम्म खोज तथा उद्दारका लागि जाँदा र आउँदा लाग्ने बाटोको समयको दिन वापत समेत गोताखोरलाई भत्ता उपलब्ध नहुने गरेको उनले बताएका थिए ।
गोताखारहरूलाई कम्तिमा मासिक भत्ता हुनुपर्ने माग सशस्त्र प्रहरी हेडक्वाटरमा गरिरहेको सशस्त्र प्रहरीका डीआईजी तथा प्रवक्ता कुमार न्यौपाने बताउँछन् ।
यसरी सुरु भयो गोताखोर
२०६९ सम्म सशस्त्र प्रहरी बलसँग पानीमुनि गएर खोज तथा उद्दार गर्ने दक्ष जनशक्ति थिएन ।
दुर्घटना तथा विपदका कारण नदी, ताल तलैया, पोखरीमुनि गएर खोज तथा उद्दार गर्नुपर्ने भएपछि सशस्त्र प्रहरीले गोताखोरको आवश्यकता महसुस गरेको थियो ।
२५ जना सुरक्षाकर्मीलाई २०६९ वैशाखमा पहिलो पटक गोताखोर तालिमका लागि टोली बंगलादेश पठायो । ३० वैशाख २०६९ देखि ३१ साउन २०६९ सम्म गरी तीन महिना तालिम गरेर २५ जनाको टोली काठमाडौं फर्कियो ।
बंगलादेशमा तालिम गरेर आएको गोताखोरको टोलीले नै २०७६ सालसम्म काम गरेको थियो । गोताखोरको काम अत्यन्त जोखिमपूर्ण हुन्छ । थोरै मात्रै सन्तुनलन नमिलेको अवस्थामा ज्यान तलमाथि हुने जोखिम देखिएपछि ६ जना गोताखोरले राजिनामा दिए । अहिले बंगलादेशमा तालिम गरेर आएका गोताखोरमध्ये १६ जना मात्रै संगठनमा रहेको सशस्त्र प्रहरीका प्रवक्ता न्यौपाने बताउँछन् ।
तर सशस्त्र प्रहरीले आफैंले तालिम दिएर गोताखोर उत्पादन गर्दै आएको छ । नपहिलो पटक ९ असोज २०७६ देखि २६ कात्तिकसम्म बराह बाहिनी पकलीमा सुनसरीमा गोताखोर तालिम सञ्चालन भएको थियो । १९ जना सशस्त्र प्रहरीले तालिम लिए ।
त्रिशूली, कोशी नदी, फेवाताल, कुलेखानी लगायतका फरक–फरक भौगोलिक स्थान तथा वातावरणमा प्रशिक्षण गराइन्छ । विशेषगरी सशस्त्र प्रहरी बल नेपाल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा गोताखोरको तालिम दिने गरिन्छ । गत २१ असार मात्रै १९ जना प्रशिक्षार्थी गोताखोर तालिम प्राप्त गरेसँगै अब सशस्त्र प्रहरीसँग गोताखोरको संख्या ११० पुगेको छ ।
अहिले सातै प्रदेशका ७ बाहिनी मुख्यालय, तालिम शिक्षालय कुरिनटार, उपत्यकास्थित नं. २० विपद् उद्धार गण सिनामंगल, नं. २४ कालिका गण कास्की र सिन्धुलीको खुर्कोट बेसमा गोताखोर तैनाथ छन् ।
from Online Khabar https://ift.tt/qYMVZxh
No comments:
Post a Comment