हामीलाई जीवनका सानातिना पल, परिस्थिति, अनि आम भोगाइहरूको याद विरलै हुने गर्छ । ती स्वतः स्वभाविक रुपमा अविरल बगिरहेका हुन्छन् । ती पल, परिस्थिति अनि भोगाइको अनुभूति तब मात्र हुन्%ऽ जब ती परिस्थितिहरू हामीबाट क्षणभरमै खोसिन्छन् वा गुम्छन् । जब ती हल्का तर अमूल्य पल अनि भोगाइ हामीबाट गुम्दछन् सो पुन: प्राप्त सायदै हुन्छन् र भइहाले पनि ठूलो मूल्य चुकाएपछि महत्वहीन रूपमा स्वीकार्ने बाध्यता आइलाग्छ । यी हाम्रा अनुभूतिले नै जीवन डोर्याएको छ ।
जनमत संग्रहपछि सुडानबाट अलग्गिएर बनेको कान्छो देश दक्षिण सुडानको जोङग्ली स्टेटको सानो बजार बोरबाट करिब ९-१० किमी टाढा जंगलको बीच, जातीय गृहयुद्धका कारण आन्तरिक रुपमा विस्थापितहरुलाई सुरक्षित आश्रय दिन संयुक्त राष्ट्र संघद्वारा मजबुत अग्लो पर्खाल र पर्खालमाथि तारबार लगाई पीओसी (प्रोटेक्सन अफ सिभिलीएन) क्याम्पको स्थापना गरिएको छ । थुप्रै चरणको राजनैतिक र कूटनैतिक प्रक्रियापछि द्वन्द्वको मध्यस्थता गर्न साथै सुरक्षा स्थिति थप भयावह हुन नदिन संयुक्त राष्ट्र संघको यूएनएमआईएसएस (युनाइटेड मिसन इन साउथ सुडान) ले पीओसी क्याम्पको सुरक्षा तथा व्यवस्थापनको सम्पूर्ण जिम्मा लिएको छ ।
अन्दाजी ६ वर्ग किमी क्षेत्रफलमा फैलिएको पीओसी क्याम्पलाई सेक्टर १ र सेक्टर २ मा विभाजन गरी आधा क्षेत्रफलमा इन्डियन आर्मीको कुमाउ बटालियन र आधामा इथियोपियन आर्मीको ५१ नम्बर बटालियनका कुल ६०० सैनिकहरू सुरक्षार्थ तैनाथ छन् । युद्धरत अन्य जातिका लडाकुहरूबाट हुनसक्ने सम्भावित बाह्य आक्रमणबाट विस्थापितहरुलाई रक्षा गर्न पीओसी क्याम्पको चारैतिर डिउटी पोस्ट र बंकरहरू निर्माण गरी बख्तरबन्द गाडी, ट्यांक र आधुनिक हतियार सहित सैनिकहरू चौबीसै घण्टा पहरा दिइरहेका हुन्छन् । साउथ सुडानका दर्जनौं जातजाति मुख्यगरी डिकां, नियुर, मुरले, सिलुक, काक्वा, बारी, आजान्देबीचको जातीय गृहयुद्धबाट नागरिकहरूलाई सुरक्षा प्रदान गर्न साउथ सुडानभरिका थुप्रै द्वन्द्वग्रस्त राज्यहरुका थुप्रै स्थानमा पीओसी क्याम्पहरूको स्थापना गरिएको छ । विस्थापितहरुको संख्या कुनै पीओसी क्याम्पहरूमा लाख भन्दा बढी छ भने कुनैमा हजारौं छन् । देशभरका विभिन्न राज्यका गाउँबस्तीबाट विस्थापित भई सुरक्षित आश्रयका लागि पीओसी क्याम्पमा बस्न आउने साउथ सुडानीहरूको संख्यामा थपघट भइरहन्छ ।
जब-जब जातीय युद्ध उत्कर्षमा पुग्छ, दूरदराजका अनेक गाँउहरूमा घरहरू जल्छन्, खेतीहरू नष्ट गरिन्छन्, हत्या लुटपाट मचिन्छन्, महिला र बालिकाहरु बलात्कृत हुन्छन् तब-तब विस्थापितहरु रातविरात देशभर छरिएका पीओसी क्याम्पहरूमा पुग्ने गर्छन् । युद्ध चर्किंदा क्याम्पभित्र विस्थापितहरुको संख्यामा चढाव आउँछ भने मत्थर हुँदा उतार आउँछ । यसरी जातीय गृहयुद्धको भीषण चपेटामा परी स्वतन्त्र रुपमा जीवनयापन गर्न नसकी तडपिरहेका छन् कान्छो अफ्रिकी मुलुक साउथ सुडानका विभिन्न जातीय समुदायका बीसौं लाख नागरिक ।
पीओसी क्याम्पभित्र विस्थापितहरुको बसाइलाई सुरक्षित, शान्त अनि व्यवस्थित बनाउन छनोट परीक्षामा सफल भई मिसन इलाकामा आउने थुप्रै मुलुकका पुलिस एडभाइजरहरू र मनोनित भई आउने मिलिटरी अब्जरभरहरू नियमित रुपमा खटिएका हुन्छन् । यहाँ विश्वखाद्य कार्यक्रम, अन्तर्राष्ट्रिय आप्रवासन संगठन, विश्व स्वास्थ्य संगठन, युनिसेफ, स्थानीय एनजीओहरुका प्रतिनिधि क्याम्पको समग्र व्यवस्थापनको निम्ति सहकार्य गर्छन् । सिभिल, मिलिटरी र पुलिस साथै दर्जनौं राष्ट्रिय अनि अन्तर्राष्ट्रिय संघसंस्थाका प्रतिनिधिहरू पीओसी क्याम्पसँगै जोडिएको क्याम्पमा इथियोपियन र इन्डियन आर्मीको सुरक्षा घेराभित्र वातानुकूलित प्रि-फ्याब्रिकेडेट भवनहरूमा बस्छन् ।
जोङग्ली स्टेटको बोरस्थित यस पीओसी क्याम्प व्यवस्थापनमा करिब ३७ मुलुकका भिन्न विषय र क्षेत्रका विषेशज्ञ प्रतिनिधि कोही एक वर्ष, कोही दुई-तीन वर्ष र कोही हरेक वर्ष करार नवीरकण गर्दै संयुक्त राष्ट्र संघको झण्डामुनि आ-आफ्नो कार्यादेश अनुरुप विस्थापितहरुको सुरक्षा एवं सामाजिक, आर्थिक र अन्य विविध पक्षमा काम गरिरहेका हुन्छन् । यसरी शान्ति स्थापना गर्न संयुक्त राष्ट्र संघको मिसन सुरु भएको दशकौं बित्दा पनि सुरक्षा स्थितिमा भने खास सुधार आएको छैन र परिस्थिति लगभग जस्ताको त्यस्तै छ ।
पीओसी क्याम्पमा बसोबास गर्न नयाँ आउने विस्थापितहरुलाई क्याम्प म्यानेजर, पुलिस एड्इभाजर, अन्तर्राष्ट्रिय आप्रवासन संगठन र अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको रोहवरमा स्थानीय स्तरमा उपलब्ध गराइन्छ । काठका सानातिना खम्बा, रुखका हाँगाबिंगा, बाँसका पोल आदिलाई अनुदानमा प्राप्त भनेर ठूला अक्षरले आईओएम (अन्तर्राष्ट्रिय आप्रवासन संगठन) लेखेको त्रिपालले बेरबार गरी बनाइएको अन्दाजी १०X१० फिटको सानो झुप्रो विस्थापितहरुलाई उपलब्ध गराइन्छ । त्यहाँ एकनास लम्बाइ, चौडाइ र उचाइ भएका स-साना अनगिन्ती झुप्राहरूले सुकुम्बासी बस्तीको झल्को दिने गर्छ ।
क्याम्पभित्र, उही आईओएम लेखेको त्रिपालले बनाइएका साँघुरा चर्च, स्कुल, क्लिनिक, कफी पसल, शौचालयहरू सार्वजनिक प्रयोगका लागि निर्माण गरिएका हुन्छन् । ती स-साना झुप्राभित्र युनिसेफले वितरण गरेको एक-दुईवटा पानी राख्ने बाल्टिन, विश्व खाद्य कार्यक्रमले वितरण गरेको रासनको बोरा, यूएसएडले वितरण गरेको खाने तेलको टिनको बट्टा अनि विस्थापितहरुका व्यक्तिगत मालसामानहरू : कुच्चिएका टिनका बाकस, थोरै कपडा, सानो खाट, सानो ब्लुतुथ स्पिकर, टर्च लाइट अनि अन्य सामान्य सामानहरू हुन्छन् । ती विस्थापितहरू सबै वितरीत कोइलाले खाना पकाउने गर्छन् । उनीहरूको खाना पकाउने चुल्हो र काला पुराना पकाउने भाँडाहरू झुप्रो बाहिरै हुन्छन् । एउटा जाति डिंका, जसका राष्ट्रपतिले सरकारको नेतृत्व गरिरहँदा उनीहरूका जातिका साउथ सुडानी नागरिकहरू क्याम्प बाहिर स्वतन्त्र जीवन गुजार्दा अन्य जातिका नागरिकहरू भने प्रशस्त खुला जमिन भएर पनि साउथ सुडानमा छरिएका ती साना ठूला पीओसी क्याम्पका साँघुरा झुप्राहरूमा निसास्सिएर, उकुसमुकुसमा सकसपूर्ण जीवन बिताइरहेको विषय गम्भीर छैन र ?
पीओसी क्याम्पमा दैनिक चोरी, लैङ्गिक हिंसा, झगडा लगायत अनेकन झमेलायुक्त साना-ठूला घटना घटिरहेको हुन्छ र अधिकांश घटनाहरू मदिराजन्य कारणबाट हुने गर्छन् । क्याम्पभित्र मदिरा निषेध गरिएपनि विश्वखाद्य कार्यक्रमद्वारा वितरित सरगम (जुनेलो) को प्रयोग गरी विस्थापितहरु क्याम्पभित्रै लुकीचोरी मदिरा बनाउँछन्, अनि लुकीछिपी पिउँछन् । कहिलेकाहीं खुल्लमखुल्ला उनीहरू रमाइलोसँगै बवाल गर्छन् । मदिराले मस्तसँग मातेर युद्धका पीडाहरू पोख्छन् । त्यति बेला क्याम्पभित्र हुने यस्ता हिंसात्मक घटनाहरूको मध्यस्थता गर्दै पुलिस एड्भाइजर, विस्थापितहरूबाट चुनिएका क्याम्प लिडर, क्याम्प भित्रका विभिन्न ब्लकहरूका ब्लक लिडर, अनि क्याम्प व्यवस्थापनका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाका प्रतिनिधिहरूले अनुसन्धान गरेर छलफल मार्फत निष्कर्ष निकाल्छन् । सजाय स्वरूप दोषीलाई पीओसी क्याम्पभित्रै रहेको, सिपिङ कन्टेनरलाई काटछाँट गरी बनाइएको होल्डिङ सेन्टरमा अनुसन्धान अवधिभरका लागि थुनुवाको रूपमा राख्ने गरिन्छ, जुन कहिलेकाहीं महिना दिनसम्म पनि लम्बिने गर्छ । त्यसैगरी सानातिना गालीगलौजका घटनामा मातेका दोषीहरूलाई मदिरा नउत्रिउन्जेलसम्का लागि होल्डिङ सेन्टरमा राखिन्छ ।
यसै क्रममा पीओसी क्याम्पमा रहेका ४/५ वटा गेटमध्ये आवतजावतका लागि चल्तीको एउटा ठूलो गेट छ, जुन बिहान ७ बजे खुल्छ र बेलुकी ६ बजे बन्द हुन्छ, गेट खुला र बन्द गर्ने काम पुलिस एड्भाइजरहले गर्छन् । गेटबाट हुने नियमित आवतजावत अनि गेट वरिपरिको गतिविधिलाई नियमन र निगरानी गर्न पुलिस एड्भाइजर, मिलटरी अब्जर्भर, सशस्त्र प्रहरी बल, नेपालको एफपीयू (फर्मड पुलिस युनिट), इथियोपियन सैनिक अनि ब्लक लिडरहरूको संयुक्त डिउटी रहने गर्छ । गेटबाट खाद्यान्न र पिउने पानी आपूर्ति, फोहोर व्यवस्थापन र क्याम्पको दैनिकीलाई व्यवस्थित गर्न संयुक्त राष्ट्र संघका विभिन्न एजेन्सीहरु अनि स्थानीय एनजीओका गाडीहरू नियमित रूपमा ओहोरदोहोर गरिरहेका हुन्छन् ।
क्याम्पभित्र आउने सवारीसाधन र व्यक्तिलाई पुलिस एड्भाइजरहरूको टोलीले मिहिन तवरले सुरक्षा जाँच गर्छन् । क्याम्पको गेटबाट सीमित संख्यामा विस्थापितहरुलाई समेत कामका आधारमा केही घण्टाका लागि पुलिस एड्भाइजरहरूको स्वीकृतिमा बाहिर बोर बजारसम्म जान दिइन्छ । तर १८ वर्ष भन्दा कम उमेरका बालबालिकाहरूलाई भने अभिभावक विना पीओसी क्याम्पको उक्त गेट बाहिर जान निषेध छ । विस्थापितहरू क्याम्प बाहिर काम विशेषले जाँदा ब्लक लिडरको सिफारिसमा आफ्नो नाम, उमेर, जाने स्थान, फर्कने समय र अन्य विवरणहरू टिपाई पुलिस एड्भाइजरद्वारा दिइने टोकन लिन अनिवार्य हुन्छ ।
पीओसी क्याम्पको गेट एक अर्थमा यस्तो पर्खाल हो, जसले हजारौं विस्थापितहरुलाई बाहिरी दुनियाँसँगको सम्पर्क विच्छेद गरी ‘पीओसी क्याम्प’ नामको साँघुरो संसारमा कैद गरेको छ । पीओसी क्याम्प बाहिर बोर बजार वा अन्यत्र नजिकसम्म किनमेल गर्न वा अन्य कामले प्राय: उमेरले पाका महिलाहरू सावधानीका साथ जान्छन् । घृणाको जातीय युद्घमा प्रत्यक्ष सहभागी नभएका कारण बजारसम्म आवतजावत गर्न महिलाहरूलाई जोखिम अलि कम छ । पुरुषहरू भने विस्थापित हुनुपूर्व सैनिक सेवामा रहेका कारण वा कुनै न कुनै रूपले युद्धमा सहभागी भएकाले बाहिर जाँदा कसैले चिन्ला र आक्रमण गर्ला भनेर क्याम्प बाहिर अत्यन्तै कम जान्छन् । अति जरुरी परेर गइहाले पनि तुरुन्तै फर्कन्छन् । यद्यपि बाहिर जाँदा महिलाहरू पनि ढुक्क हुने स्थिति चाहिं हुदैन । उनीहरू हत्या, अपहरण, लुटपाट तथा बलत्कारको सिकार भइरहेका हुन्छन् । बिग्रँदो सुरक्षा स्थितिका कारण पीओसी क्याम्पभित्र र आसपासका इलाकाहरूमा हिंसात्मक घटना नघटेको दिनमा पुलिस एड्भाइजरहरू नियमित साँझ पठाउने अपरेसनल इमेलहरूमा लेख्ने गर्छन् ‘सेक्युरिटी सिचुएसन इज काल्म बट अनप्रेडिक्टेबल’ अर्थात् सुरक्षा स्थिति स्थिर छ तर केही क्षणमै के हुन्छ भन्न सकिन्न ।
डींका जाति सम्मिलित सरकारी पक्ष र सरकार बाहिर बसेको न्युर र अन्य जातिबीचको द्वन्द्व समाधानका निम्ति हुने शान्तिवार्ता र युद्धविरामले गृहयुद्ध केही समयका लागि मत्थर भएको अवस्थामा पीओसी क्याम्पको बसाइलाई अन्त्य गर्दै केही विस्थापितहरु आँट गरेर, स्वतन्त्र रुपमा बसोबास गर्न आफ्नो गाउँमा जाने गर्छन् । केही चाहिं टाढाको राजधानी जुबामा आफन्तहरू भेट्न साउथ सुडानभरिको सबैभन्दा ठूलो पीओसी क्याम्पमा १/२ दिनका लागि जाने गर्छन्, यद्यपि यसरी गाउँ र राजधानी जानेहरू सुरक्षित चाहिं हुँदैनन् । युद्धविराममा समेत हिंसात्मक घटना फाट्टफुट्ट घटिरहेका हुन्छन् ।
यहाँ देशको सुरक्षा स्थिति र शान्ति केही महिनाका लागि मात्र टिक्छ र एकाएक युद्धविराम तोडिन्छ । शान्तिवार्ता असफल हुन्छ र दिगो शान्तिका लागि गरिएका वर्षौंको प्रयास शून्य बिन्दुमा झर्छन् । जातीय युद्ध फेरि उत्कर्षमा पुग्छ अनि क्याम्प छोडेर गएका विस्थापितहरू मारिन्छन्, अपहरणमा पर्छन्, बलात्कृत हुन्छन् र फेरि सुरु हुन्छ पीओसी क्याम्पहरूमा आन्तरिक रुपमा विस्थापितहरुको ओइरिने क्रम ।
साउथ सुडान देश स्वतन्त्र राष्ट्रको रूपमा दरिएपछि केही वर्षमै सुरु भएको आन्तरिक द्वन्द्वको यो चक्र दशकौंदेखि दोहोरिरहेको छ । द्वन्द्वको समाधान आमरूपमा लामो अनि जटिल प्रक्रिया मार्फत हुने गर्छ जसमा पीडितले सबैभन्दा ठूलो मूल्य चुकाउनुपर्छ । मध्यस्तकर्ताहरू अक्सर कम्फर्ट जोनमा, ‘टाइम हिल्स अल उण्ड’ अर्थात् समयले जुनसुकै घाउ निको पार्छको मन्त्र जप्दै बस्ने गर्छन् ।
हरेक दिन बिहान केही घण्टाका लागि पीओसी क्याम्पको गेट आसपास सानोतिनो बजार लाग्ने गर्छ । बाहिर बजारका फुटकर व्यापारीहरु विस्थापितहरूका सीमित पैसाले किन्न सक्ने सागसब्जी, साबुन, सस्ता भाँडाकुँडा र घरेलु मालसमान बेच्न ल्याउँछन् । भिडभाडको समयमा विशेषगरी युवायुवती उत्सुकतापूर्वक गेटमा झुम्मिन्छन् । दोस्रो अर्थमा भने यो गेट पीओसी क्याम्पमा बस्ने विस्थापितहरुका निम्ति बाहिरी दुनियाँको झलक हेर्ने आँखीझ्याल हो । जहाँबाट युद्धको गन्धविहीन स्वतन्त्र सास लिन पाइन्छ ।
साताका अरु ६ दिन भन्दा आइतबार विशेष हुन्छ । विस्थापितहरू सुकिला कपडा लगाएर पीओसी क्याम्प भित्रको चर्च जान्छन् अनि प्रार्थना र नाचगान गरी क्याम्पभित्रै रमाइलो गर्छन् । कोही भने किनमेलका लागि बाहिर बजार जान्छन् ।
यसै प्रसंगमा यहाँनिर यो एउटा अति नै मन छुने स्वदेशप्रेम तथा उन्मुक्तिको हुटहुटीपूर्ण कथा शब्दचित्रमा उतार्नु मनासिब देखिन्छ । एक आइतबार चर्चको प्रार्थनापछि बिहान ९ बजेतिर गेटमा १२/१३ वर्षकी एउटी बालिका आउँछिन् । उनी क्याम्पमा आफ्नी आमासँग विस्थापितको रूपमा बसेको आठ वर्ष बितिसकेको हुन्छ । ती बालिका काली, दुब्ली र अग्ली छिन् । उनको खुजमुज्जेको छोटो कपाल छ, निधारभरि न्युर समुदायको विम्बको रूपमा धारिलो ढुंगाले खोपेर बनाइएका मसिना सयौं थोप्ला र चारवटा समानान्तर लामा तेर्सा गहिरा खतका धर्काहरू छन् । मैलो रातो सर्ट र छोटो निलो स्कर्ट लगाएकी ती सानीकेटी लजाउँदै तर सम्हालिंदै गेटसँगै टेबल पछाडि कुर्सीमा लहरै डिउटी बसेका पुलिस एड्भाजरहरूलाई सानो स्वरमा अनुरोध गर्छिन्- ‘आई अल्सो वान्ट टु गो आउट साइड टु बोर मार्केट’ अर्थात् म पनि बाहिर बोर बजारसम्म जान चाहन्छु । सँगै बसेका ६ जना पुलिस एड्भाइजरमध्ये सियरालियोनकी महिला पुलिस एड्भाइजर फ्रान्सिस जिब्रो लेप्र्याएर प्रश्न गर्छिन्- ‘उमेर १८ पुग्यो तिम्रो ?’ ।
सानीकेटी निली हुन्छिन् तर छाती थोरै तन्काउँदै आत्मविश्वासका साथ उत्तर फर्काउँछिन्, ‘म १९ वर्ष भइसकें र बोर बजार आफ्नो लागि ब्याग किन्न जानु छ ।’ लहरै बसेका पुलिस एड्भाइजरहरू एकैसाथ गलल्ल हाँस्छन् । युक्रेनकी पुलिस एड्भाइजर ओक्साना जिस्क्याउँदै सोध्छिन्- ‘ब्याग किन्ने रे ! कस्तो किन्ने नि ? पैसा चाहिं कसले दियो ?’ । बोस्नियाका पुलिस एड्भाइजर आदिस सानीकेटीलाई हप्काउँदै, गिज्याउँदै सोध्छन्- ‘कति पैसा छ नि तिमीसँग ? मलाई पनि सापटी देऊ न बरु ।’
आदिसको प्रश्नले फेरि सबै गलल्ल हाँस्छन् । जर्मनीका पुलिस एड्भाइजर हान्स प्रतिप्रश्न गर्छन्- ‘कतै बाहिर तिम्रो डिंका बोइफ्रेण्ड त छैन ?’ पुनः हाँसो गुन्जिन्छ । सानीकेटीलाई सबै उल्लीबिल्ली पार्छन् उसको सवालजवाफलाई डिउटी छोट्टयाउने उपाय र हल्का मजाक बनाउँछन् । सानीकेटी रुनु न हाँस्नु हुन्छिन् । लाजले हतासिएको स्वरमा जवाफ फर्काउँछिन्- ‘नपत्याएको ! साँच्ची हो म १९ वर्षको भइसकें । मलाई कृपया बजारसम्म जान दिनुस् । बरु म आधा घण्टामै फर्कौंला ।’
पुलिस एड्भाजरहरूको त्यस सिफ्टका अफिसरहरूबाट मिश्रित स्वरमा जवाफ आउँछ- ‘चाहिने नचाहिने गफ नगर । हामीलाई आफ्नो काम गर्न देऊ । बरु जाऊ अरु बच्चाहरूसँग क्याम्पभित्रै खेल ।’ सानीकेटीको केही लाग्दैन, कसैले पत्याउदैनन् उनको झुटलाई । थोरै पनि भाउ दिएनन्, पटक्कै पत्याएनन् पुलिस एड्भाइजरहरूको टोलीले ।
नेपाल प्रहरीका पुलिस एड्भाजर सई लोकराज भट्ट सानीकेटीलाई सम्झाउँदै भन्छन्- ‘तिमीलाई १८ वर्ष नपुगुन्जेल बाहिर पठाउने अधिकार हामीलाई छैन । यदि तिमीलाई जानै पर्ने हो भने आफ्नो अभिभावक लिएर आऊ अनि जान दिउँला ।’ सानिकेटी सई लोकराजसँग जिद्दी गर्छिन्- ‘हैन म एक्लै जान सक्छु ।’ उनीहरूको संवाद भइरहँदा बोस्नियाका पुलिस एडभाइजर आदिस कुर्सीबाट जुरुक्क उठ्छन् र हातलाई माथि उज्याएर पिटुला झैं गरी ठूलो स्वरमा जङ्गिदै त्यो सानीकेटीलाई हप्काउँछन्- ‘कस्ती केटी रैछे । यत्रो भन्दा पनि नलाग्ने ।’ आदिसले त्यति मात्र के भनेका थिए केटी हतास हुन्छिन् र आत्तिंदै बेतोडसँग भाग्छिन् । त्यहाँ क्याम्पका केटाकेटीको एउटा समान व्यवहार प्रस्तुत हुन जान्छ । उनीहरु कसैले हप्काउँदा वा तर्साउँदा असाध्यै चाँडै भाग्ने गर्छन् । दौडिएपछि ज्यान जोगाउन भागेको जस्तो, नरोक्किकन दौडिरहने यस्तै । सायद यो लामो द्वन्दले सिकाएको जीवन जोगाउने उत्तम उपाय होला । सानीकेटी बेतोडसँग दौडेको देखेर फेरि सबै हाँस्छन् ।
केही घण्टापछि सानीकेटी यताउति हेर्दै डराउँदै फेरि झुल्किन्छिन् गेटमा । पुलिस एड्भाइजरहरूको सिफ्ट डिउटी अदलीबदलीको बेला भएको हुन्छ, खानाको समयमा डिउटी फेरबदल मिलाइएको हुन्छ । क्याम्पको गेटमा केबल केन्याका पुलिस एड्भाइजर एम्ब्रुज होंगो मात्र हुन्छन् । सानीकेटीले सोही मौका छोपेर डराई-डराई, साहस जुटाउँदै, सानो स्वरमा एम्ब्रुज नजिक गएर विनम्र अनुरोध गर्छिन्- ‘ल भैगो म बजार जान्न, १० मिनेटका लागि गेट बाहिरसम्म जान दिनुस् ।’ एम्ब्रुज नसुने झैं गर्छन् र केही प्रतिक्रिया जनाउँदैनन् । उनी सानीकेटीतर्फ फर्कंदासम्म पनि फर्किंदैनन् । सानीकेटी अलमल्ल पर्छिन् । निहुरिएर भुईतर्फ हेर्दै नाङ्गा खुट्टाका औंलाहरू खुम्च्याउँदै माटो चलाउँछिन् र अकमक्क पर्दै पाका एमब्रुज समक्ष केही आशाका साथ आँखैआँखाले पुन: अनुरोध गर्छिन् ।
विभिन्न राष्ट्रका पुलिस एड्भाइजरमध्ये एमब्रुज पाका, अनुभवी र भलाद्मी छन् । उनी केन्यामा पुलिस इन्सपेक्टरको पदमा सेवारत रहँदा संयुक्त राष्ट्र संघको पुलिस एड्भाइजरको रूपमा साउथ सुडान आएका हुन् । उनी आएको दुई वर्ष पूरा भइसकेको छ । उनी बोर पीओसी क्याम्प आउनुपूर्व एक वर्ष राजधानी जुवाको पीओसी क्याम्पमा कार्यरत थिए ।
पीओसी क्याम्पमा पुलिस एडभाइजरहरूको नियमित आउजाउका कारण विस्थापितहरु पुलिस एडभाइजरहरूसँग नजिकिएका हुन्छन् । विस्थापितहरूलाई कुन देशको पुलिस एड्भाइजरको कस्तो स्वभाव छ, रिसाहा, नम्र, दयालु, सहयोगी, संयमी त्यो सबै थाहा हुन्छ । एम्ब्रुजको स्वभावबारे केही थाहा पाएरै होला सानीकेटीले एम्ब्रुज समक्ष गेट बाहिर जानका निम्ति पुन: अनुरोध गर्ने आँट गरिन् । अर्को कारण चाहिं एम्ब्रुज अफ्रिकी मूलको भएर पनि होला, सानीकेटीले एम्ब्रुज समक्ष बिन्ती गरेको । द्वन्द्वरत अफ्रिकी मुलुकहरूमा एउटा प्रचलित भनाइ छ- ‘अफ्रिकन सलुसन टु दी अफ्रिकन प्रब्लम’ अर्थात् अफ्रिकी समस्याको अफ्रिकी समाधान ।
बिहानको साढे ११ भइसकेको हुन्छ । सानीकेटीको बाहिर जाने आश अझै मरेको छैन । यसैबीच गर्मीमा एक छिन सुस्ताएर एम्ब्रुज आफ्नो ठूलो मोटो जीउ तन्काउँछन् र सानीकेटीलाई नियाल्छन् । सानीकेटी पनि उनलाई हेर्छिन् । एमब्रुजको प्रतिक्रियाविहीन हेराइ अनि सानीकेटीको आशायुक्त हेराइको साटासाट पछि एम्ब्रुज पग्लन्छिन् । ठूलो धोद्रो स्वरमा एम्ब्रुज सोध्छन्- ‘के नाम रे तिम्रो ?’ सानीकेटी मसिनो स्वरले उत्तर दिन्छिन्- ‘ग्रेस’ । एम्ब्रुज थप्छन्- ‘ल ल ग्रेस गेटको बाहिर नजिकसम्म मात्र जान दिन्छु तर पाँच मिनेटका लागि मात्र । अब आइन्दा कहिल्यै नआउनु मलाई फकाउन, भगाएर लैजान्छ डिंकाले जंगलतिर अनि चाल पाउँछ्यौ ।’
एम्ब्रुज बिस्तारै उठछन् र नजिकैको गेटको चुकुल खोलिदिन्छन् । सानीकेटी फुरुङ्ग हुन्छिन् । दुवै नाङ्गा खुट्टा बुरुक्क उचालेर उफ्रिंदै थ्याङ्क्यु, थ्याङ्क्यु, भन्छिन् । अनि आफ्नै न्युर भाषामा अरु पनि के-के भट्याउँछिन् । फ्रक हल्लाउँदै गेट बाहिरतिर छिटो-छिटो लम्किन्छे । एम्ब्रुज बढ्दै गरेको गर्मीलाई छल्न ठूला फलामे गेटको पिलरको आड लिई गेट र पिलरको चेपबाट सानीकेटीको क्रियाकलापलाई एकनासले नियालिरहेका हुन्छन् ।
बाहिर निस्किने बित्तिकै सानीकेटी चङ्गा हुन्छिन् । उनी फनक्क नाचेर स्कर्ट फरर घुमाउँछिन् अनि बोर बजार जाने बाटोको जिज्ञासा साथ नियाल्छिन् । गेट वरिपरि रहेका बोडा-बोडा (भाँडाका मोटरसाइकल) लाई देखेर दङ्ग हुन्छिन्, बोर बजारबाट बेच्न ल्याइएका खेलौनाहरू देखेर खुसी हुन्छिन् भने फरक अनुहारहरूलाई देखेर कौतुहल पनि भइरहन्छिन् । क्याम्प बाहिर मात्र १० मिटरमा रहेको सामान्य दृश्य र वातावरणमा सानीकेटी पूरै हराउँछिन् । हाँस्दै मुस्कुराउँदै फेरि फनक्क नाच्छिन् । तर पाप्रा नजमेका युद्धका घाउहरू सम्झेर मलिन हुन्छिन् र आकाशतिर हेर्छिन् ।
गर्मीले अनि भोकले लोलाएका आँखाहरूले गेटभित्रैबाट सानीकेटीको गतिविधिलाई नियालिरहेका एम्ब्रुज उनको मनोदशा महसुस गरिरहेका हुन्छन् । उसको खुशीमा फिस्स हाँस्छन् र सानो स्वरले बर्बराँउछन्- ‘ओ माईटी लर्ड, हेल्प देम’ अर्थात् हे भगवान् यिनीहरूलाई मद्दत गर ।
चार वर्षको हुँदा पीओसी क्याम्प आएपछि सानीकेटी आफ्नी आमासँग आफन्त भेट्न एकचोटि राजधानी जुवाँ र मुस्किलले दुई-चार पटक बोर बजारसम्म गएकी हुन्छिन् । उनीसँग केही धुमिल सम्झनाहरू मात्र छन् गाउँको । बढ्दो उमेरका कारण मनमा अनायासै आउने तीव्र चाहनाले होला, सानीकेटी एउटा कुरामा आशावादी छिन् कि जातीय युद्ध सदाका लागि समाप्त हुनेछ र चाँडै सबै कुरा ठीक हुनेछ ।
देशभर रहेका लाखौं विस्थापितहरूसँगै उनी पनि आफ्नी आमासँग पीओसी क्याम्प छोडेर आफू जन्मिएको गाउँको घरमा फर्किनेछिन् । आशा गर्छिन् चाँडै गाउँकै स्कुल जान पाइनेछ, प्रत्येक आइतबार गाउँकै चर्च गएर प्रार्थना गर्नेछिन्, साथीहरूसँग खेल्नेछिन् । गाउँको सानो पसलमा रंगीचंगी मिठाई किनेर खानेछिन् र यस्तै थुप्रै अरु प्रिय कार्यहरु गर्नेछिन् । जुन सानातिना जस्ता लाग्छन् तर ती उन्मुक्तिपूर्ण अजेय छन् । क्याम्प बाहिर सबैथोक प्रिय छ, थप केही आवश्यक छैन ।
एमब्रुज सानीकेटी ग्रेसको क्रियाकलाप हेर्दै उनको मनोदशालाई महसुस गर्दै दबेको स्वरले बर्बराउँछन्- ‘हो तिम्रा लागि यो प्रिय परिस्थिति चाँडै आउँछ अनि तिमी क्याम्प बाहिर आफ्नो गाउँमा सधैंका लागि जानेछ्यौ, ‘यु विल सुन गो आउट साइड फर फ्रिडम’ ।
from Online Khabar https://ift.tt/6y3prxt
No comments:
Post a Comment