लगभग ३५ वर्षको अवधिमा ३०० फिल्ममा अभिनय गरिसकेका अभिनेता राजेश हमाल पाँच वर्षको अन्तरपछि ठूलो पर्दामा फेरि देखिने तयारीमा छन् । दिवाकर भट्टराईको निर्देशनमा बन्न लागेको फिल्म नरसिंहा बाट हुने उनको कमब्याक चर्चामा छ । हमाल आफैं भने, ‘पहिलो फिल्म खेल्ने बेलामा झैं के होला, कस्तो होला भने जस्तो अनुभव भइरहेको’ बताउँछन् । कमब्याक र नयाँ फिल्मको सेरोफेरोमा हमाललाई अनलाइनखबरले गरेका ८ प्रश्न :
१. हालै नयाँ फिल्म साइन गरेको सार्वजनिक गर्नुभयो । यसलाई तपाईं आफ्नो कमब्याक मान्नुहुन्छ कि, म कहाँ गएको थिएँ र कमब्याक ? भन्नुहुन्छ ?
म यसलाई त्यो दुइटैको बीच मान्छु । किनभने, म कुनै न कुनै रूपमा यही क्षेत्रसँग आवद्ध रहिरहेकाले यसलाई कमब्याक भनिहाल्न मिल्दैन । म यसलाई कमब्याक भन्दा पनि ‘ग्याप’ भन्न रुचाउँछु । मैले ग्याप पनि किन भनिरहेको हुँ भने यो अन्तरालमा फिल्महरूको अफर आइरहेका थिए, स्क्रिप्ट सुन्ने/पढ्ने काम केही वर्षयता भइनैरहेको थियो । चलचित्र छान्न मात्रै समय लागिरहेको थियो । यो अन्तरालमा दुइटा फिल्म साइन पनि गरेको थिएँ । सत्यम् भन्ने साइन गरेको थिएँ, त्यो बन्न सकेन । अर्को मायाको माया भन्ने अंग्रेजी भाषाको फिल्म थियो, त्यसको त केही भाग छायांकन पनि भइसकेको थियो । तर, त्यो पूरा हुन सकेन । विविध कारणले ती फिल्महरू दर्शकहरूसामु आउन नसके पनि म यही क्षेत्रमा संलग्न थिएँ । यो क्षेत्र छोडेर अन्यत्र कतै वा अरू कुनै काममा संलग्न भएको थिइनँ ।
एउटा समयको अन्तरालमा एउटा विशुद्ध कमर्सियल फिल्ममा देखिन लागेकाले मैले यसलाई ‘ग्याप’ भनेको हुँ । म आफूचाहिं खासमा अहिले नै चलचित्र गरिहाल्छु भनेर तयार भएर बसिरहेको थिइनँ । अहिले मलाई कमब्याक त होइन, न्यूकमर जस्तो अनुभव भइरहेको छ । पहिलो फिल्म रिलिज हुँदा के होला ? कस्तो नतिजा आउला भन्ने जुन उत्सुकता हुन्थ्यो, यतिका फिल्म गरेर यतिका वर्ष बिताइसकेपछि आज म फेरि त्यही मोडमा आइपुगेको छु । यो फिल्मले के–कस्तो परिणाम ल्याउला, दर्शकले यसलाई कसरी लिनुहोला भन्ने खुल्दुली फेरि जागे जस्तो भएको छ ।
२. पाँच वर्षको अन्तरालमा ठूलो पर्दामा देखिंदै हुनुहुन्छ । तपाईंको चरित्र, रूपरंगमा के नयाँपन हुनेछ यसमा ? नरसिंहा भनेको एउटा अवतार हो । तपाईंको यसमा नयाँ अवतार हुन्छ कि पुरानै शैली हुन्छ ?
फिल्मलाई म नयाँ र पुरानोको रूपमा हेर्दिनँ । फिल्मको कथावस्तु भनेको खाना जस्तै हो । हामीले खाने खाना त उस्तैउस्तै हुन्छ तर फरक केमा हुन्छ भने त्यसलाई पकाउने र पस्किने तरिकामा । खाना पकाउने सामग्री एउटा हुँदा पनि पस्किने शैलीले फरक लाग्छ । फिल्मको पनि सामग्रीहरू त्यही नै होला– मानवीय संवेदना, मानवीय भावना, सम्बन्धहरू, समाजका विभिन्न किसिमका पात्रहरूमा त पहिला र अहिले खासै परिवर्तन भएको छैन नि ! अहिले पनि समाजमा किसान दाजुभाइहरू हुनुहुन्छ, विद्यार्थीहरू छन्, लभ पनि परिरहेको छ, पुलिस, आर्मी, राजनीतिज्ञ सबै छन् ।
पुराना फिल्म हेर्नुभयो भने पनि फिल्मका इन्ग्रिडियन्ट्स (विषयवस्तु वा सामग्री) त तिनै पाउनुहुन्छ । सामाजिक परिवेश र रहनसहनमा परिवर्तन आयो होला । त्यसकारण यसका सामग्रीहरू उस्तै भए पनि मैले यो फिल्म टिमको मनसायचाहिं यसलाई समसामयिक ढंगले पस्किऊँ, त्यसमा मिहिनेत गरौं भन्ने पाएको छु ।
३. यतिको अन्तरालमा प्रस्ताव आएका फिल्ममध्ये नरसिंहा को कुन कुराले आकर्षित गर्यो ? कथा, टिम वा अरू केही ?
पछिल्लो समयमा जति पनि फिल्म मैले छानें, त्यो सत्यम् होस् या मायाको माया होस् ती कुनै पनि अफर आयो, कुरा मिल्यो खेलिहालौं भनेर छानेको होइन, जुन प्रक्रियामा म पहिलेका फिल्महरू छान्थें, जुन बेला म निरन्तर चलचित्रहरू गरिरहेको थिएँ, त्यो बेला अफर आउँदाखेरि चल्तीको परिवेश अनुसारको फिल्म रै’छ, आफूलाई निर्धारित भूमिका पनि मिल्ने खालको रै’छ भनेपछि म चाँडै नै निर्णय लिइहाल्थें ।
अहिलेचाहिं दर्शकहरूको फिल्म हेर्ने तरिका र फिल्मबाट राख्ने अपेक्षामा नै ठूलो फरक आएको छ । त्यसले गर्दा मैले फिल्म र मेरो चरित्रलाई हेर्ने तरिकामा पनि फरक आएको छ । यो फिल्मको प्रस्ताव मलाई आएको अढाइ महिना जति भयो । यो अवधि मैले फिल्मको विषयवस्तुदेखि, त्यसलाई प्रस्तुत गर्ने तरिका के हुनेछ र टिम कस्तो छ भन्ने अध्ययनमा नै बिताएँ । किनभने, मैले अघि नै भनें नि, सामग्री नौलो हुँदैन । यो सामग्रीलाई उहाँहरूले समयसापेक्ष प्रस्तुत गर्न सक्नुहुन्छ कि हुँदैन भन्ने नै थियो । मलाई फिल्मको पात्र र कथा मनपरेको थियो । टिम पनि अनुभवी र नयाँ तरिकाले काम गर्न तयार रहेको बुझेपछि मैले यो फिल्म छनोट गरेको हुँ ।
४. तपाईंका पछिल्ला दुई फिल्म बागमती र सकुन्तला को असफलताले पनि यस किसिमले सोच्ने बनायो कि ?
अवश्य पनि । यी दुवै फिल्म विषयवस्तुका हिसाबले मलाई मन परेका फिल्म थिए । यी फिल्मबाट मैले आफ्नो चरित्र राम्रो भएतापनि यदि सम्पूर्ण चलचित्र त्यस अनुसारको बन्न सकेन भने त्यसले मार खान्छ भन्ने पाठ सिकें । त्यसपश्चात् मैले आफ्नो भूमिका कत्तिको राम्रो छ भन्ने मात्र नभई, सम्पूर्ण चलचित्र कस्तो बन्दैछ ? टिम कस्तो छ ? भन्ने कुरामा बढ्ता ध्यान दिन थालें । फेरि कमर्सियल फिल्महरू पहिले जसरी बनाइन्थ्यो, त्यतिबेला पत्यारिलो ढंगबाट प्रस्तुत गर्न खासै गाह्रो थिएन । त्यतिबेला दर्शकहरूलाई पनि फिल्ममेकिङबारे खासै जानकारी थिएन ।
अहिले त फिल्म कसरी खिच्ने, एडिट गर्ने, ब्याकग्राउन्ड म्युजिक कसरी राख्ने भन्ने कुराहरू सबैलाई थाहा छ । त्यसैले व्यावसायिक रूपमा काम गर्ने मान्छे अरूभन्दा उत्कृष्ट हुनैपर्छ । अहिले त्यो चुनौती छ । पहिले जसरी सिनेम्याटिक लिबर्टीका नाममा खुकुलो हिसाबले चल्न मिल्दैन । भावना र अभिव्यक्ति उस्तै भए पनि त्यसलाई कसरी पस्किने भन्ने अभिनयमा पनि फरक आएको छ । यी सबै कुरा बुझ्न र टिमबारे बुझ्न मैले समय लगाएँ । चित्त बुझेपछि साइन गरेको हुँ । म यसबाट आशावादी छु । तर, फेरि दर्शकसामु नआइकन फिल्मबारे ठोकुवाका साथ केही भन्न सकिंदैन ।
५. तपाईं अब कस्ताखाले फिल्म खेल्न चाहनुहुन्छ ? पुरानो एक्सन हिरोको छविलाई निरन्तरता दिनेखाले भूमिका तपाईंको रोजाइमा हुन्छ कि अब केही नयाँ गर्ने इच्छा छ ?
एक्सनको विरुद्ध त म छैन । किनभने, एक्सन भनेको सिनेमाको र जीवनकै एउटा पाटो हो । तर, फेरि एक्सन भूमिका मात्रै चाहिन्छ भन्ने पनि होइन । अहिले केही कुराहरू फरक भएका छन् । जस्तै, चलचित्रमा मेरो मुख्य भए तापनि चरित्रमा ‘सेड’ त फरक भएको छ । उमेरले गर्दा पनि त्यो फरक आएको छ । मैले आफूलाई जतिसुकै तन्दुरुस्त राखे पनि, एक्सन गरे पनि उमेरको असर त भइहाल्छ । त्यसैले अहिले यो भूमिका वा त्योभन्दा पनि आफू अहिले जुन विन्दुमा छु, त्यसलाई सुहाउँदो होस् र साथै प्रभावकारी पनि होस् भन्ने मनसाय मेरो छ ।
एउटा उमेरमा पुगें भन्दैमा अब चरित्र भूमिकाहरू गरौं भन्नेमा म छैन । सायद के थाहा बढ्दै गरेको उमेर अनुसारकै भूमिकामा चलचित्रमा प्रभावकारी काम गर्दै जान सकिन्छ कि ? चलचित्रमा फेरि अर्को कुनै ढाँचा बन्दै जान्छ कि ? प्रकृतिले दिएको बाहिरी आवरणमा परिवर्तन आए पनि जोश, जाँगर र शारीरिक क्षमतामा त ह्रास आएको छैन नि ! फेरि ह्रास आएको छैन भन्दैमा किताब च्यापेर कलेज जाने विद्यार्थीको भूमिका गर्छु भनेर त भएन !
६. पछिल्लो लटका नेपाली फिल्म र कलाकारहरूलाई कत्तिको अवलोकन गर्नुभएको छ ? कसरी लिनुभएको छ ?
सबै फिल्म त मैले हेरेको छैन तर के-कस्ता फिल्म बनिरहेका छन्, के कस्तो गतिविधि चलिरहेको छ भन्ने त जानकारी मलाई छ । हामी ‘नेपाली चलचित्रलाई माया गरिदिनुस्, माया गरिदिनुस्’ भनिरहेका हुन्छौं । दर्शकहरूले साँच्चिकै माया गरिरहनुभएको छ जस्तो मलाई लाग्छ । अहिलेका प्रायः नेपाली फिल्महरू कुनै विषय/मुद्दा उठाइएका वा हास्यप्रधान बनिरहेका छन् । ती फिल्मले उठाएको मुद्दा अथवा कुनै मुख्य कुरामा चित्त बुझेको खण्डमा दर्शकहरूले अन्य पाटोलाई नजरअन्दाज गरिदिएर फिल्मलाई स्वीकार्ने गर्नुभएको छ, चाहे त्यो मेकिङका कमजोरी हुन् वा प्राविधिक कमजोरी । यस हिसाबले दर्शकले माया गरेको मान्नुपर्छ ।
आजको समयमा चुनौतीचाहिं अत्यधिक हिट कमर्सियल फिल्म बनाउनलाई देखिएको छ । मुद्दा वा हास्यप्रधान फिल्मलाई म आजको घडीमा सुरक्षित प्रोजेक्ट जस्तो मान्छु । कमर्सियल, लार्जर देन लाइफ स्केलका फिल्महरू बढी खर्चिला पनि हुन्छन्, चुनौतीपूर्ण पनि हुन्छन् । पछिल्ला वर्षहरूमा ‘प्रेमगीत ३’ लगायतका जति पनि ठूलो बजेटका यस्ता फिल्महरू बनेका छन्, तिनले उल्लेखनीय सफलता नपाएको पनि देखिएको छ । मुद्दा वा हास्यप्रधान फिल्मका प्राविधिक त्रुटिहरू, खिचाइहरू नै नमिलेको भए पनि तिनले सफलता पाएका छन् । कमर्सियल फिल्ममा यस किसिमको त्रुटि हुने हो भने त त्यसले झन् बढी मार खान्छ ।
७. तपाईंले लामो समय फिल्ममा व्यावसायिकताको कुरा गर्नुभयो । त्यसका लागि उद्योग बन्नुपर्छ र उद्योग बन्नका लागि प्रशस्त संख्यामा सिनेमा बन्नुपर्छ ताकि कलाकारदेखि प्राविधिकसम्मको कुनै कमी नहोस् भन्नुभयो । अहिलेको विन्दुमा चाहिं तपाईं के भन्नुहुन्छ ? अब ध्यान के कुरामा हुनुपर्छ ?
मलाई सुरुवाती समयमा फिल्म छनोटको समस्या थिएन । किनभने, ती फिल्महरूको सेरोफेरो लगभग उस्तै हुन्थ्यो । कुनै फिल्म अन्त्यमा राम्रै बन्थे, कुनै विभिन्न कम्प्रोमाइज गर्नुपर्दा सोचे जस्तो बन्दैनथे । अहिले चाहिं कस्तो विषयवस्तु छान्यो र कसरी उठान गर्यो भन्नेले नै महत्वपूर्ण भूमिका निर्वाह गर्ने भयो । यो नै पहिलो खुट्किलो भएको छ, त्यसपछि कस्तो टिम छान्यो भन्ने कुरा आउँछ । त्यसैले अब छनोटको कुरा महत्वपूर्ण हुन आयो ।
पहिला नेपाली फिल्मको लगानी धेरै जोखिममा हुन्थेन । बाहिर हिट भयो भनेर धेरै हल्ला नगरे पनि प्रायः फिल्मले लगानी उठाइनै रहेका थिए । मैले जानेसम्म लगानी गरेको सबै पैसा डुब्ने वा खत्तमै हुने भन्ने थिएन । आजको घडीमा आइपुग्दा फिल्ममा लगानी पनि प्रशस्त भइरहेको छ र जोखिम पनि प्रशस्त छ । लगानी डुब्ने, नउठ्ने सम्भावना पनि बढेको छ । तर, फेरि जहाँ जोखिम हुन्छ, त्यहाँ फाइदाको सम्भावना पनि उत्तिकै हुन्छ ।
राम्रो लगानी, देश–विदेशमा विस्तार भइरहेको बजारका कारण अब यसलाई उद्योगको दर्जा दिन उचित हुन्छ । सरकारले यसलाई उद्योगको मान्यता दिएर त्यसै अनुसार सुविधा पनि दिनुपर्छ । त्यसले नेपाली चलचित्र क्षेत्रलाई अझै टेवा दिनेछ । आज फिल्म मेकिङमा कताकता चुके तापनि हामी यदि मेकिङमा खरो उत्रिन सक्ने हो भने नेपाली फिल्मको बजार त म झन् ठूलो हुने देखिरहेको छु ।
अहिलेसम्म त हाम्रो आफ्नै त्रुटिले, मेकिङमा खरो उत्रिन नसकेकाले नेपाली फिल्म हेर्न चाहने दर्शकलाई पनि हलसम्म ल्याउन सकेका छैनौं । फिल्म हेर्न चाहने दर्शक हुनुहुन्छ तर उहाँहरू ‘नेपाली चलचित्र’का नाममा मात्रै हेर्न आउनुहुन्न, उहाँहरू राम्रो चलचित्र मात्रै हेर्न आउन चाहनुहुन्छ । हामीले राम्रो चलचित्र पस्किन सक्यौं भने त अहिलेभन्दा धेरै बढी दर्शक पाउन सक्छौं ।
८. तपाईं आफैं फिल्म निर्देशनमा आउने कुरा सुनेको धेरै भइसक्यो, अझै समय भएको छैन ?
समय त भयो नि ! मैले यो बीचको अवधिमा जति स्क्रिप्टहरू पढिरहेको थिएँ, त्यो अवधिमा पनि अब मैले नै फिल्म बनाउने भनेर हामीले एउटा मोटामोटी स्क्रिप्ट तयार पारेका थियौं । अब आफ्नै प्रोजेक्ट गर्ने भन्ने हाम्रो सल्लाह थियो । व्यावसायिक हिसाबले जे-जस्तो नतिजा आए पनि फिल्म बनाउने भन्ने थियो । यहीबीचमा चलचित्र नरसिंहा आयो । यसले गर्दा मैले आफैं निर्देशन गर्ने योजना अलिकति पछाडि सरेको छ ।
from Online Khabar https://ift.tt/MJqcHIF
No comments:
Post a Comment