रंग पत्रकारिता हुँदै सिनेमा निर्देशनमा लागेका छन्, लक्ष्मण सुवेदी । उनैले निर्देशन गरेको फिल्म ‘सतीदेवी’ अहिले हलमा लागिरहेको छ । यसै सन्दर्भमा उनले सतीदेवी निर्माणका सात सन्दर्भ अनलाइनखबरसँग साझेदार गरेका छन् ।
साधुले राखिदिएको नाम
यो फिल्मको नाम सतीदेवी छ । यहाँ सतीदेवी नभएर अरू नै भए पनि फरक पर्नेवाला थिएन । यद्यपि नारीप्रधान नाम चाहिं चाहिएको थियो । कतिले यसलाई ‘सतीप्रथा’को कथा पो हो कि ! भनेर सोध्ने गर्छन् । तर, त्यसो होइन ।
आजभन्दा १५–१६ वर्ष अगाडिको कुरा हुनुपर्छ । त्यो मेरो संघर्षको बेला थियो । जागिरको खोजी, भौंतारिरहेको अवस्था । एकदिन न्यूरोड गइरहेको थिएँ । महांकाल मन्दिरको अगाडि एउटा साधु जस्तोले बोलायो— ‘हे पुत्र !’
‘क्या है ?’ मैले ठाडै सोधें ।
उसले ‘बैठो इधर’ भनी मलाई नजिकै बोलायो । हात देखाउन लगायो र हिन्दीमा भन्यो– ‘तूँ सतीदेवीकै पुत्र है, तुमको सौभाग्य प्राप्त है, लेकिन जीवन मे संघर्ष भी उतना ही ज्यादा है !’
मैले आफूसँग भएको १५–२० रुपैयाँ उसलाई दिएर हिंडें ।
मेरो आमाबुवा हुनुहुन्न । कहिलेकाहीं दुःख, अभाव हुँदा मलाई त्यो साधुले भनेको कुरा याद आइरहन्थ्यो । यसपालि फिल्मको कथा लेखिरहँदा मेरो मनमा ‘नाम के राख्ने’ भन्ने कुरा पनि खेलिरहन्थ्यो । यसै क्रममा कताकताबाट ‘सतीदेवी’ भन्ने नाम याद आयो । अनि फिल्मको नाम यही राखें ।
छोरी नै छोरी
रमाइलो कुरा, म स्वयम् छोरीको बुवा । दुई जना छोरी छन् । अस्ति एक जना साथी भेटेको थिएँ, उनको ९ जना छोरी रहेछन् । म यसअघि नयाँबानेश्वरमा डेरा बस्थें । मेरो घरबेटीका पाँच जना छोरी नै छोरी थिए । अहिले म जुन ठाउँमा बस्छु त्यहाँको सात–आठ वटा घरमा दुई–दुई छोरी छन् ।
यसमध्ये कतिले छोराको आशामा छोरी जन्माए होलान् । मेरो फिल्मको कथा यस्तै दम्पतीको हो, जसको कोखबाट छोरी नै छोरी जन्मिएका छन् । बानेश्वर डेरा बस्दाको घटनाबाट प्रेरित कथा हो, यो ।
जतिसुकै उपदेश छाँटे पनि, जतिसुकै शिक्षाको कुरा गरे पनि हाम्रो समाजमा छोरीलाई त्यसरी नै हेरिंदैन, जसरी छोरालाई हेरिन्छ । कुनै न कुनै तहमा विभेदको अवशेष छन् ।
आमाको रहर, छोरीको कहर
हामी परिवारमा चार दाजुभाइ, दुई दिदीबहिनी । हाम्रो दाजुभाइ र दिदीहरूबाट छोरी जन्मिएनन् । तर, परिवारमा छोरी जन्मिएन भने एक किसिमको खिन्नता महसुस हुनेरहेछ । सायद हाम्री आमालाई यस्तै भएको हुँदो हो ।
आमा, जसले मलाई फिल्म हेर्नका लागि लुकाई–लुकाई पैसा दिने । हामी आमा–छोरा नै फिल्म भनेपछि हुरुक्कै हुने । हामीले राजेश हमालको फिल्म त कति हे¥यौं, कति ! एउटै फिल्म ११ पटकसम्म हेरेका छौं !
घर सुर्खेत । आमासँग बजार जाँदा उहाँलाई छोरीको लुगाफाटोले लोभ्याउने । साना, चिटिक्क परेका जामा देखेपछि आमा भन्नुहुन्थ्यो, ‘मेरो नातिनी भएको भए यस्तो लुगा कति सुहाउँथ्यो होला !’
मेरो छोरी जन्मिइन् । तर, आमाले नातिनीको मुख हेर्न पाउनुभएन । नातिनी जन्मनु केही साताअघि नै उहाँको निधन भयो । आमा हुनुहुँदो हो त म भन्थें होला, ‘आमा हजुरको नातिनीलाई यो लुगा सुहायो !’
संभवतः आमाले मलाई फिल्मप्रति त्यस्तो रुचि नजगाइदिएको भए म यस क्षेत्रमा आउने थिइनँ होला । फिल्म बनाउने थिइनँ होला । थाहा छैन, सतीदेवी बन्ने थियो वा थिएन !
स्क्रिप्ट लेख्दा र छायांकनमा रोएँ
सतीदेवीको कथा धेरै अगाडिदेखि दिमागमा बोकेको थिएँ । आफूले देखेको, भोगेको कथा भएर पनि होला, यसले मलाई भित्रैबाट हल्लाइदियो । स्क्रिप्ट लेख्दै गर्दा मलाई कतिपय प्रसंगले रुवायो ।
अरूले कसरी स्क्रिप्ट लेख्छन्, थाहा छैन । म चाहिं अबको एक महिना वा पन्ध्र दिन स्क्रिप्टमा लाग्छु भनेपछि अरू सबै कुरा बन्द गरेर त्यसैमा तल्लीन हुन्छु । यति तल्लीन हुन्छु कि, अरू कुनै कुरामा मलाई परवाह हुँदैन । म दिनमा तीन घण्टा सरासर स्क्रिप्ट लेख्छु । बाँकी समय त्यो कथा, प्रसंग, पात्र, संवाद, परिवेशबारे घोत्लिन्छु । सपनामा पनि कहिलेकाहीं त्यही कथा घुमिरहेको हुन्छ । यसरी स्क्रिप्ट लेख्ने क्रममा सतिदेवीले मलाई धेरै पटक रुवाएको छ । पछि वर्कशपमा पनि म निकै भावुक भएँ ।
हामीले यो फिल्मको ८५ प्रतिशत छायांकन स्याङ्जामा गरेका थियौं । त्यहाँ छायांकन गरिरहँदा कति दृश्य यस्तो थियो, जहाँ हामी आफ्नो आँशु लुकाउन सक्दैनथ्यौं । म प्रायः कालो चश्मा लगाएर आफ्नो आँशु लुकाउने कोसिस गर्थें । म मात्र होइन; कलाकार, सिनेम्याटोग्राफर सबैको आँखा रसाएको हुन्थ्यो ।
छोरी अभिशाप होइनन्
मलाई विश्वास छ, यो फिल्म हेरिसकेपछि धेरैले छोरीप्रति हेर्ने दृष्टिकोण बदल्नेछन् । शिक्षित, सम्भ्रान्त, शहरियाहरूमा पनि छोराप्रति आसक्ति छ र उनीहरूलाई छोरीभन्दा छोरा नै होस् भन्ने भित्री चाह हुन्छ । त्यही कारण त समाजमा भनाइ नै छ— छोरा जन्मिए खसी, छोरी जन्मिए फर्सी । कन्या भ्रूण हत्या यही मनोविज्ञानको उपज हो । तराईमा मात्र होइन, अन्यत्र पनि कन्या भ्रूण हत्या नहोला भन्न सकिंदैन ।
छोरी जन्मिएका कारण कति आमाहरू अपहेलित भएका छन् । छोरा जन्माउनैपर्ने दबावको कारण उनीहरू घरबार त्याग्न मात्र होइन, आफैंलाई मार्न पनि बाध्य भएका छन् । यो समाज छोरीप्रति कति अनुदार छ भन्ने कुरा यो फिल्मले देखाउँछ । र, छोरी मात्र जन्मिएकोमा दुःख मान्नेहरूलाई त्यो खिन्नता हटाउनेछ ।
छोरीले छानिन् हिरोइन
फिल्ममा यस्तो परिवारको कथा छ, जसको पाँच जना छोरी नै छोरी छन् । उनीहरूले छोराको चाहमा छोरा जन्माउँछन् ।
यसमा मलाई ५ जना यस्तो छोरीहरू चाहिएको थियो, जसको उमेर र आवरण पनि क्रमबद्ध मिलेको होस् । एउटै बुवाआमाको छोरी जस्तै । उमेर पनि डेढ, दुई वर्ष अन्तरालको । अरूभन्दा पनि मलाई मुख्य भूमिकामा कसलाई खेलाउने भन्ने चिन्ता थियो । किनभने फिल्मको सम्पूर्ण कथा उनैले बोक्नुपर्ने हुन्थ्यो ।
मैले उक्त मुख्य पात्रको उमेर १८–१९ को राखेको छु । म यस्तो चरित्रको खोजीमा प्रायः टिकटक हेरिरहेको हुन्थें । यसमा मैले नन एक्टर पनि लिन त सक्थें, तर अलि चुनौती हुनसक्थ्यो । त्यसैले छोरीलाई भने, ‘मलाई यस्तो खालको हिरोइन चाहिएको छ, को हुनसक्छ खोज है !’
एकदिन छोरीले सोधिन्, ‘तपाईंले हिरोइन पाइसक्नुभो ?’
मैले भने, ‘छैन’ । त्यसपछि उनले एउटा भिडियो देखाउँदै भनिन्, ‘फूलबुट्टे साडीकी मलिका महत लिनु न !’
मैले अफिस पुगेर उनको भिडियोहरू हेरें । उनको खास उमेर त २३ वर्ष रहेछ । तर, १८–१९ वर्षमा सुहाउने देखियो । त्यसपछि मैले उनैलाई सोचेर स्क्रिप्टको खाकालाई थप परिमार्जन गरें ।
मलिकाको इमान र मिहिनेत
मैले धेरै फिल्म बनाएको छैन । धेरै कलाकारसँग काम वा संगत पनि गरेको छैन । तर, मलाई के लाग्यो भने मलिका वास्तवमै कामप्रति लगाव राख्ने र आफ्नो चरित्रमा हदैसम्म डुबेर अभिनय गर्ने कलाकार रहिछन् ।
प्रायः शान्त रहने, सौम्य र सुशील स्वभावको उनी नखरा पार्ने खालको थिइनन् । छायांकनको बेला पनि स्क्रिप्ट हेरेर बसिरहेकी हुन्थिन् । आफ्नो दृश्य र संवाद हेरिरहेकी हुन्थिन् । आफ्नो चरित्रलाई न्याय गर्नुपर्छ भन्ने उनलाई लाग्थ्यो र त्यही अनुरूप मिहिनेत गर्थिन् ।
समय पालक, भलाद्मी र चरित्रमा डुब्न सक्ने उनी मैले खोजे जस्तै पात्र थिइन् । त्यही कारण मलाई सतीदेवीको रूपमा मलिका सही छनोट लाग्यो । यसको मूल कथा उनैले डोहो¥याउँछिन् । यसमा उनले आफ्नो सम्पूर्ण सामथ्र्य लगाएकी छिन् ।
from Online Khabar https://ift.tt/zGpo3kK
No comments:
Post a Comment