Saturday, June 11, 2022

लिग टू क्रिकेट: अन्तिम ओभरमा आदिल चम्कँदा अमेरिकासँग नेपालकाे नाटकीय बराबरी

२९ जेठ, काठमाडौं । आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजमा नेपालले अन्तिम दुई बलमा दुई विकेट लिएपछि अमेरिकासँगकाे खेल नाटकीय रुपमा बराबरीमा सकिएकाे छ । दुवैले समान २७४ रन बनाएपछि खेल टाई भयाे र १-१ अंक जाेडे ।

ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर २७४ रन बनाएको थियो । जवाफमा स्टेभेन टेलरले शतक प्रहार गरेपनि अमेरिकाले ५० ओभरमा ६ विकेट गुमाएर २७४ रन नै बनायो ।

अन्तिम ओभरमा अमेरिकालाई जितका लागि ६ रन चाहिएकाे थियाे । नेपालमा आदिल अन्सारीले बलिङ गरेकाे उक्त ओभरमा सबैखाले ड्रामा देखियाे । सुरुवाती तीन बलमा अमेरिकाले १-१ रन जाेड्याे । चाैथाे बल नाे बल भएपछि अमेरिकाले नाे बलमा एक रन जाेड्दै स्काेर बराबरी गर्दै जित नजिक पुगेकाे थियाे ।

तर, अन्तिम दुई बलमा नेपाल विकेट लियाे । पाँचाै बलमा आदिलले आराेन जाेन्सलाई राेहित पाैडेलबाट क्याचआउट गराए । त्यस्तै अन्तिम बलमा आदिल र दीपेन्द्र सिंह ऐरीले राहुल जरिवालाई रनआउट गर्दै खेल बराबरी गरे ।

अमेरिकाका लागि ओपनर टेलरले ११४ रन बनाए । १२३ बल खेलेका उनले ११ चौका र ३ छक्का प्रहार गरे । यस्तै कप्तान मोनाक पटेलले ८५ रन जोडे ।

अमेरिकालाई जितबाट रोक्न नेपालका लागि नेपालका लागि डेब्युमै सनसनीपूर्ण प्रदर्शन गरेका आदिलले ९ ओभरमा ४५ रन खर्चेर ३ विकेट लिए । कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले १-१ विकेट लिए ।

आदिलको डेब्यु अनि ओपनरद्वय कुशल भुर्तेल र शेखको पुनरागमनपछि नेपालले ओमान विरुद्धको खेलेको खेलमा तीन परिवर्तन गरेको थियो ।

अघिल्लो खेलको तुलनामा सुधारिएको ब्याटिङ गरेको नेपाल अन्तिमतिर सम्हालिन नसक्दा दुई बल अघि नै अलआउट हुनुपरेको थियो ।

नेपालका लागि तीन खेलाडीले अर्धशतक प्रहार गरेपछि फिनिसिङ चुस्त रहन सकेन । नेपालका लागि रोहित पौडेलले सर्वाधिक ६२ रन बनाउँदा आसिफले ६१ र देव खनालले ५४ रन योगदान गरे ।

पहिलो विकेटका लागि आसिफ र कुशल भुर्तेलले ५६ रनको साझेदारी गरेका थिए । दुवै खेलाडीले चोटका कारण अघिल्लो खेल गुमाएका थिए ।

त्यसकै कारण कुशलले अमेरिकासँग खेल्दा संघर्ष गर्नुपरेको देखियो । कुशलले ३६ बलमा कुनै काउन्ड्री प्रहार नगरी १९ रन बनाएर आउट भए । आसिफले ७० बल खेल्दा ६ चौका प्रहार गरे । दोस्रो विकेटका लागि आसिफले देव खनालसँग ६२ रनको साझेदारी गरे ।

३७औं ओभरमा आउट हुनुअघि देवले रोहित पौडेलसँग तेस्रो विकेटका लागि ६० रनको साझेदारी गरे । देवले ६९ बल खेल्दै ३ चौका प्रहार गरेका थिए । त्यसक्रमपछि डेब्युमा पाँचौ नम्बरमा ब्याटिङ गरेका आदि अन्सारीसँग रोहितले चौथो विकेटका लागि ६५ रनको साझेदारी गरे । यो नै नेपाली इनिङ्सको सर्वाधिक साझेदारी हो ।

नेपाली इनिङ्समा आदिल र रोहितले छक्का समेत प्रहार गरेका थिए । रोहितले ७२ बल खेल्दै ३ चौका र १ छक्का मद्दतमा ६२ रन बनाए । उता डेब्युमै छाएका आदिलले २४ बल खेल्दै ३ चौका र २ छक्का मद्दतमा ३६ रन जोडे । ४४औं ओभरमा आदिल आउट भएपछि नेपालले लगातार विकेट गुमायो ।

नेपालले ३१ रनका लागि अन्तिम ७ विकेट गुमाएको थियो ।

अमेरिका लागि रस्टी थेरोनले सर्वाधिक ४ तथा अल खान र सौरभ नेत्रभाल्करले २-२ विकेट लिए ।

एकदिवसीय अन्तर्राष्ट्रियको डेब्युमै ब्याट र बलबाट उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई हारबाट जोगाएका आदि अन्सारी खेलको म्यान अफ दि म्याच घोषित भए ।

तस्बिरः क्यान



from Online Khabar https://ift.tt/V6efpPS

No comments:

Post a Comment