Tuesday, June 14, 2022

निर्दोष कुकुरलाई काराबास, चोरी सिकारीको आरोप

१ असार, काठमाडौं । डिभिजन वन कार्यालय मुगुमा दुई महिनादेखि एउटा कुकुर थुनामा छ । घोरल चोरी सिकारीको आरोपमा मालिकसँगै कुकुरलाई पनि नियन्त्रणमा लिइएको थियो ।

१४ चैत २०७८ मा मुगुको कार्मारोङ गाउँपालिका-१ चितैका च्याम्पा तामाङ, उनका छोरा दावाछोर्देन, टासी र छिमेक तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरूका साथमा कुकुर पनि थियो ।

जंगली जनावर चोरी सिकारीको आरोपमा उनीहरूलाई वन कार्यालयले मुद्दा चलायो । गत जेठ १२ मा जिल्ला अदालतको आदेशबाट च्याम्पा र दावाछोर्देन ७० हजार रुपैयाँ धरौटीमा रिहा भए । टासी र छिमेक साधारण तारेखमा छुटे ।

वन कार्यालयले चलाएको मुद्दामा चार जना मात्र प्रतिवादी थिए । सिकारी कुकुरको प्रतिवादी नभएपछि अदालतले पनि त्यस विषयमा केही बोलेन । अदालतले कुकुरको विषयमा केही नभनेपछि वन कार्यालयले कुकुरलाई थुनेर राखेको छ ।

राष्ट्रिय निकुञ्ज ऐनको दफा २८ मा ‘सिकारी कुकुरलाई मार्ने’ उल्लेख

कुनै पनि कुकुरले घोरल र मृग जस्ता जनावरको सिकार गर्‍यो भने त्यस्तो कुकुरलाई त नियन्त्रणमा लिइन्छ नै । घोरल सिकार गर्ने क्रममा कुकुर र मानिसलाई समातियो । मानिसको हकमा अदालतले अनुसन्धान गरिरहेको छ भने कुकुरको विषयमा अदालतले केही पनि निर्देशन नदिएकोले थुनामै राखिएको डिभिजन वन अधिकृत गगन महतारा बताउँछन् ।

राष्ट्रिय निकुञ्ज ऐनको दफा २८ अनुसार ‘सिकारी कुकुरलाई मुद्दा हेर्ने अधिकारीको निर्देशन अनुसार मार्नुपर्ने छ’ भनिएको छ । दफाले त्यो भने पनि मुद्दा हेर्ने अधिकारीले कुकुरलाई  छोड्न र मार्ने केही पनि नभनिएको हुनाले त्यसलाई थुनामै राख्नु परेको महताराको भनाइ छ । ‘अरू पनि जनावरको सिकार गर्न सक्छ त्यसैले मार्नुपर्छ भनेर ऐनले त भन्यो । तर अदालतले कुनै पनि आदेश नदिएको हुनाले त्यस कुकुरलाई डिभिजन वन कार्यालयले राखेको हो,’ उनी भन्छन् ।

‘कुकुरको मालिकलाई कुकुर जिम्मा लगाउँदा फेरि पनि कुकुरसँग मिलेर अन्य वन्यजन्तु सिकार गर्ला । यो सिकारी कुकुर होइन, छोड भनेर अदालतले छोड भन्यो भने हामी छोड्छौं,’ महतारा भन्छन् ।

यो कुकुर सिकारी हो र धेरै कस्तुरी तथा मृग मारिसकेको छ भनेर गाउँलेहरूको पनि बयान आएको छ । पक्राउ परेका अभियुक्तले पनि घोरललाई यो कुकुरले मारेर ल्याएको र आफूहरुले मासु खानको लागि ल्याएको भनेर बयान दिएका छन् । मतराता भन्छन्, ‘घोरलको सिकार गर्ने कुकुरको मालिक पनि धरौटीमा छुटेको हो, मुद्दा त अदालतमा चलिरहेको छ ।’

कुकुरलाई थुनामा राख्न मिल्दैन’

कुकुरसँग मानिसको जस्तो विवेक नहुने भएकाले गल्ती गर्‍यो भनेर मानिसलाई जस्तो थुनामा राख्न नपाइने पशु अधिकारकर्मी बिना पन्त बताउँछिन् । ‘कुकुरलाई कुट्ने, मार्ने, थुनामा राख्ने जस्ता गतिविधि दिन प्रतिदिन बढ्दै गएको छ । बोल्न नसक्नेका लागि कसले आवाज उठाउँछ ? कुकुरलाई गरिने यस्तो निर्दयी व्यवहारले मानिसहरू कति स्वार्थी छन् भन्ने प्रस्ट हुन्छ,’ उनी भन्छिन् ।

सिकार गर्‍यो भनेर कुकुरलाई थुनामा राख्ने हो भने बाघलाई पनि राख्नुपर्छ’

जनावरहरूलाई के गर्न हुन्छ, के हुँदैन भन्ने ज्ञान हुने कुरै भएन । त्यसैले जनावरले कुनै गल्ती गरे सजाय दिने कानुन पनि बनेको छैन । यस्तो अवस्थामा मुगुमा भएको घटनामा कुकुरलाई थुनामा राख्न नमिल्ने अधिवक्ता पदमबहादुर श्रेष्ठ बताउँछन् ।

अर्का अधिवक्ता लोकेन्द्र वली पनि श्रेष्ठकै कुरा दोहोर्‍याउँछन् । भन्छन्, ‘नेपालको कानुनको अहिलेसम्मको इतिहासमा जनावरलाई कैद गर्ने दफा छैन । कुनै पनि पशुले गरेको अपराधमा पशुलाई थुन्ने व्यवस्था छैन । यो एकदमै नयाँ घटना हो । यो कसरी गरियो, आरोप पत्रमा के छ भन्ने कुरा थाहा पाइयो भने मात्र यो विषयमा थप वकालत गर्न सकिन्छ ।’

कुकुरलाई थुनामा

मुगुको घटनालाई हेर्दा एउटा कुकुरलाई घोरल मारेको आरोपमा यसरी २२ दिन सम्म थुनामा राख्नु आफैमा एउटा अपराध भएको जानकारहरु बताउँछन् ।  कुकुरले घोरल मारेको हो वा हैन भनेर प्रमाणित नभई यसरी कुकुरलाई थुनामा राख्ने वा कुकुरलाई मार्ने भन्ने निर्देशन मुद्दा हेर्ने अधिकारीले पनि दिन नमिल्ने अधिवक्ता श्रेष्ठ बताउँछन् ।

कुकुरको मालिकले आफूले घोरल मारेर कुकुरलाई आरोप लगाएका छन् । यो कुरा घोरलको पोस्ट मार्टम रिपोटबाट पनि पत्ता लागेको छ । कुकुरले घोरल नमारेको प्रमाणित भएपछि कुकुरलाई छोडिएको छ । तर, यसरी निर्दोष कुकुरलाई एउटा अपराधमा प्रयोग गर्ने कुकुरको मालिकलाई भने कुकुरलाई क्रुर व्यवहार गरे बापत ३ महिनासम्म जेल सजाय र ५ हजार सम्म जरिवाना हुनुपर्ने उनले बताए । ‘डिभिजन वन कार्यालयले घटनाको सत्य तथ्य थाहा नपाई यसरी थुनामा राख्नु गलत हो । निर्दोष कुकुरलाई यसरी थुनामा राख्नेलाई पनि जरिवाना र कारबाही हुनु पर्ने हो तर त्यो व्यवस्था भने नेपालको कानुनमा छैन ।’



from Online Khabar https://ift.tt/A06J18g

No comments:

Post a Comment