समयको आफ्नै गति छ। यसले न कसैलाई पर्खिन्छ न यो कसैका निम्ति रोकिन्छ।तर समयको गतिभन्दा धेरै ढिलो छ हाम्रो देश । त्यो भन्दा पनि ढिलो छ देश चलाइरहेकाहरुको सोच।
देशले समयको गति पछ्याउन नसकेको वितृष्णाले उब्जाएको आक्रोश बोकेर हिँडिरहेछ आजको युवा पुस्ता। लोकतन्त्रका निम्ति लडेको पुस्ताले देखेको र भोगेको देशको कथा अब पुरानो भइसक्यो। अब विकासको सुनौलो अक्षरले देशको भविष्य कोरिनुपर्ने हो । त्यसका लागि हाम्रा तयारीहरु सुरु भइसक्नुपर्ने हो ।
अन्तराष्ट्रिय स्तरमा देशको विकासको सूचकाङ्क अगाडी हुनुपर्छ, हाम्रो देश समयसँगै चल्नुपर्छ भन्ने सोचले ओतप्रोत युवा पुस्ताले सोचेको देश बनाउने चुनौती आजको नेतृत्वसामु टड्कारो रुपमा खडा भएको छ।
पुरानाले हामीले भनेझैं देश बनाउन, चलाउन सक्दैनन् भने देश हामी चलाउँछौ भन्नेसम्मको सोच युवामा पलाएको छ। स्थापित दलहरुको मन्चबाट सम्भव नभए वा त्यसबाट विकर्षित भएका युवाहरु देश चलाउने आत्मविश्वास बोकेर स्वतन्त्र बनेरै पनि राजनीतिको दृश्यमा आउन थालेका छन्।
तर देश चलाउन सकारात्मक सोचमात्रै भएर पनि पुग्दैन। देश जादुको छडी घुमाएर बनाउन सकिँदैन। देश बनाउन सुस्पष्ट दृष्टिकोण, सोच, जोश र जाँगरका अलावा धैर्य पनि चाहिन्छ भन्ने कुरा युवा मस्तिष्कले बुझ्नुपर्छ।
आज देश चलाइरहेका पाका नेताहरु युवा अवस्थाबाट गुज्रिएरै यहाँसम्म आइपुगेका हुन्। आजका युवाको जस्तै हुटहुटी र समयसँगै चल्नुपर्छ भन्ने सोचाइ बोकेर कठिन परिस्थिति पार गर्दै देश र जनताको निम्ति ज्यानको बाजी थापेको त्योबेलाको युवा पुस्तासँग आजको युवा पुस्ता किन रुष्ट छ? यसको जवाफ भने गहिरिएर खोज्नैपर्छ।
समस्या छ थाहा छ, त्यसलाई कसरी समाधान गर्ने त्यो पनि थाहा छ तर समस्या किन र कहाँबाट सुरु भयो त्यो पनि सोच्नुपर्छ।
हामीले युवा अवस्था पार गरेर आज देश चलाइरहेकाहरुको उमेर बाँच्दैगर्दा आउने पुस्ताले हामीलाई हामीले अहिलेको बूढो पुस्तालाई गरेको जस्तै व्यवहार नगरोस् भन्नेमा सचेत हुनुपर्छ। विचारसहितको युवा कि जोश मात्रैको युवा भन्ने प्रश्न युवाहरुतिर पनि स्पष्ट ढंगले ठडिएको छ।
युवा उमेरले त युवा वर्गभित्र पर्नैपर्छ, तर यति हुनु पर्याप्त छैन । उमेरको जोशसँगै सोच युवा हुनुपर्छ, विचार युवा हुनुपर्छ। सुरुमा युवा भएर मात्रै ऊ कुनै दलको नेता् वा कार्यकर्ता हुनुपर्छ। मुद्दा उठानमा पनि ऊ पहिला युवा हुनुपर्छ। समयको गति अगाडि बढिसक्दा पनि पुरातन मानसिकता बोकेर बस्ने युवा अबको समयमा असान्दर्भिक हो ।
लोकतन्त्रलाई मन नपराउने, सामुहिक नेतृत्व र जवाफदेहिताप्रति आदरभाव नहुने र देश र विश्वकै जीवनमा विभिन्न कालखण्डमा पिलो बनेर सताएको निरङ्कुशताको महिमामा रमाउनेहरु काँचै उमेरका भए पनि कदापि युवा हुन सक्दैनन्।
कुनै राजनीतिक विचार बोकेर अर्को दर्शनलाई गाली गर्ने, नयाँले पुरानालाई, पुरानाले नयाँलाई, स्वतन्त्र हुँ भन्नेले पार्टीका कार्यकर्तालाई, पार्टीका युवाले अन्यलाई गालिगलौज, धम्की र असहमतिमा युवाहरु अल्झिनु हुँदैन । आज हामी प्रविधिको प्रयोग मार्फत एकैपटकमा धेरै ठाउँमा उपस्थित हुन सक्छौं।
एकैपटकमा कसैलाई नायक र कसैलाई खलनायक बनाउने सामर्थ्य राख्ने, विश्वलाई नै एउटा गाउँ बनाउने र कृत्रिम विद्वताले मानिसको विद्वता र चेतनामाथि शासन गर्ने सामर्थ्य राख्ने आजको सामाजिक संजाल र आर्टिफिसियल इन्टिलिजेन्सको जमानाका युवा हौँ हामी।
यसकारण पनि हाम्रो समय संवेदनशील छ। तरल समयमा फिँजको सतहमाथि हिँड्नुपर्ने चुनाती बोकेर उभिएको पुस्ताका युवाले देशको भविष्य र आफूले चाहेको समाज बनाउनका लागि जोशमा होशले काम लिन जरुरी छ।
एउटा समाचार सुनेर, अझ भनौं कुनै ठूलो अक्षरको द्विअर्थी समाचार शिर्षक देखेकै भरमा तथ्यसमेत परिक्षण नगरी पक्ष विपक्षमा विभाजित हुने एउटा रोग आजको युवा पुस्तामा सल्किसकेको छ। सजिलै दिग्भ्रमित पार्न सकिने र सुन्दा राम्रो लाग्ने तर व्यवहारिकता नै नभएको कुराको पछि लागेर क्षणिक कुराले प्रभावित हुने र त्यसमा प्रतिक्रिया जनाउने परिपाटी बसिसकेको छ।
युवा पुस्ता हरेक कुरा चाहने बित्तिकै तत्काल साकार होस् भन्ने चाहन्छ। एउटा विरुवा हुर्कन पनि तापक्रम, मलजल मिल्नुपर्छ। चाँडै हुर्काउने आकांक्षाले धेरै मलजल गर्दा विरुवा हुर्कनको सट्टा मर्न पनि सक्छ भन्ने सामान्य ज्ञान युवामा हुनुपर्छ।
एउटा बच्चा जन्मिनको लागि पहिला गर्भधारण हुन्छ। नौ महिनामा बच्चा जन्मन्छ र जन्मिएपछि समयको गति र आवश्यक स्याहारसुसार सँगै बच्चा हुर्कन्छ। जसरी बच्चा हुर्कन समय लाग्छ भन्ने कुराको स्वभाविक प्रक्रिया बुझ्नुपर्छ त्यसैगरी एकैचोटि चुट्कीको भरमा सबैथोक हुँदैन भन्ने पनि बुझ्नुपर्छ।
महाभारतमा गान्धारी दुई वर्षसम्म अस्वाभाविक रुपमा गर्भवती भएको र पछि मासुको पिण्ड जन्माएको वर्णन छ। कुनै पनि कुराले समय कटिसक्दा पनि परिणाम नदिनु पनि समस्या नै हो र यसको पनि समाधान खोज्नुपर्छ तर समयअगावै स्वभाविकता नै गुम्नेगरि चाहनु र नभए आक्रोश गर्नुचाहिँ मुर्खता हो। विकासको सन्दर्भ पनि यही हो र प्रगतिको गति पनि यही हो। अस्वाभाविक हो भने प्रश्न गर्ने र समाधान खोज्ने, स्वभाविक हो भने पर्खने धैर्यचाहिँ युवा पुस्तामा हुनुपर्छ।
राजनीतिबाट देश सुन्दर बनाउने आकाङ्क्षा र जोश बोकेका युवाहरू अहिले धेरै छन् । यस्तो गर्ने भनेर योजना बनाएर सोच्दै, अघि बढ्दैगर्दा योजना र जोश लिएर मात्र अघि बढ्ने कि विचारसहित भन्ने प्रश्न पनि उठ्न जान्छ। विचारबिनाको राजनीतिले दुर्घटना निम्त्याउँछ। विचार कमजोर भयो भने जवाफदेहिता पनि कम हुन्छ, नेतृत्व स्वेच्छाचारी हुन्छ।
आज देश चलाइरहेकाहरुले जे कुरामा गल्ती गरेका छन्, जस्ता कमजोरी गरेका छन्, ती कुराहरु कम्तिमा युवाले नदोहोर्याउन कोशिस गर्नुपर्छ। लहडमा देश बदल्न सकिन्छ भन्ने सोच मात्रैले नेतृत्वमा गयो भने अहिलेकाले जति पनि काम गर्न सकिँदैन। ट्राफिक नियममा प्रयोग हुने “तीव्र गति जीवन क्षति” को नारा राजनीतिमा पनि लागू हुन्छ। छिटो गन्तव्य भेट्ने उद्देश्यले तीव्र गतिमा हिँडिरहेको सवारी दुर्घटनामा पर्ने खतरा हुन्छ त्यो खतराले अरुको जीवन पनि जोखिममा पार्छ।
नैतिकता, जवाफदेहीता भएको, व्यवस्था, अवस्था बुझेको, हिजो र आज बुझेको युवा आजको आवश्यकता हो। प्रेस स्वतन्त्रता, मानव अधिकार, कल्याणकारी राज्य र विधिको शासन बुझेको युवा हाम्रो आवश्यकता हो। स्पष्ट वैदेशिक नीति, हाम्रो भौगोलिक अवस्थिति र यस अनुकुलको कुटनीति बुझेको युवा नेतृत्व आजको आवश्यकता हो।
सामाजिक संजालका तारिफको आत्मरतिमा रमाउनका खातिर असंवेदनशील धारणा र दुष्प्रचारको खेती गर्ने युवा नेतृत्वले कदापि राष्ट्रको हित गर्न सक्दैन । क्षणिक लाभका लागि सामाजिक सहिष्णुता र समुदायबीचमा घृणा फैलाउने युवा पनि समयको माग हैन ।
युवाहरुले सक्षमताका आधारमा हर कोहिलाई मार्ग प्रसस्त गर्न सक्नुपर्छ। नेतृत्वका गलत कदमबिरुद्धको खबरदारीमा निष्पक्षता राख्नुपर्छ।उमेर क्षमता होइन केवल जीवनको एउटा खण्ड हो। युवाले चाहेको देश भनेको युवाहरु बस्न लायक देश हो। तर लाखौंको संख्यामा देश छोडिरहेका युवालाई सोध्ने हो भने उनीहरुले चाहेका कुरा एकदम सामान्य छन् ।
देश हरेक किसिमका सिप र ज्ञान भएकाहरुको रोजगारीको ग्यारेन्टी हुने थलो बन्नुपर्छ। अव्यवस्था, प्रशासनिक ढिलासुस्ती, भ्रष्टाचार, अनियमितता, नातावाद, कृपावाद, कमिसनतन्त्रले आजित भएर अन्तिम विकल्पका रूपमा देश छोडेर बिदेश जाने युवाको संख्या धेरै छ ।
यी तमाम युवाका आकांक्षाहरुलाई सम्बोधन गर्ने कार्यक्रमसहितको नेतृत्व अबको राजनीतिले खोजेको छ। सार्वजनिक यातायातको व्यवस्थापनदेखि व्यवस्थित बाटोघाटो र स्वच्छ वातावरण, सर्वसुलभ जीवनोपयोगी शिक्षादेखि गुणस्तरीय र सुरक्षित स्वास्थ क्षेत्र, भ्रष्टाचाररहित समाजदेखि नैतिक चरित्रवान र जवाफदेही नेता, विभेदरहित समाज, सामाजिक न्याय र धार्मिक सहिष्णुता भएको देश, पेशा र व्यवसायमैत्री राज्यप्रणाली र संयन्त्र भएको देश नै युवाले चाहेको हो। यस सँगसँगै शिक्षालय र विश्वविद्यालय राजनीतिक अभ्यासको प्रयोगशाला बन्नु हुँदैन। राजनीतिक निकटताबाट प्रेरित भई विश्वविद्यालयको नेतृत्व चुनिने परिपाटीको अन्त्य हुनुपर्छ जसले प्राज्ञिक विचार र बहससहितको प्रगतिशील राज्यका लागि मार्गप्रशस्त गर्दछ ।
योसँगै निष्पक्ष र राजनीतिक हस्तक्षेप रहित न्यायालय पनि आजको आवश्यकता हो। दण्डहिनताको प्रकोप र कानुनि शासनको अभावले न्यायमा विश्वास मारिसकेका नागरिकको आत्मबल बलियो नभएसम्म साँचो अर्थमा देश दह्रो गरेर उभिन सक्दैन ।
युवा र युवाले चाहेको देश परिकल्पना गर्दै गर्दा के युवा सबै हिसाबले नेतृत्व गर्न सक्षम छन् ? विकास भनेको आर्थिक सुचकाङ्क मात्रै होइन, भौतिक विकास मात्रै होइन। कसैले पनि कुनै प्रकारको विभेदमा नपरी पेशा, मेहनत र व्यवसाय गरेर खाना सक्नु र सबैको निम्ति सुरक्षा, सम्मान र समानताको अनुभुति हुने समाज निर्माण गर्नु नै असली विकास हो। युवाले चाहेको जस्तो देश निर्माणका लागि देशले पनि आफूले चाहेको जस्तो युवा नेतृत्व खोजेको छ, यसका निम्ती नेतृत्वको अभिलाषा लिएर हिँडेका युवाले पनि आत्मसमीक्षा गर्नु पर्दछ।
(ढकाल नेविसंघकी पूर्वकेन्द्रीय सदस्य हुन् ।)
from Online Khabar https://ift.tt/dzwBPjW
No comments:
Post a Comment