Friday, October 6, 2023

नियति

‘फुर्वा, तेरो आमा त बित्यो रे!’- भेडा चराइरहेको फुर्वालाई झरनाले एकैसासमा भनी।

यो खबर सुन्नासाथ फुर्वाका कानका लोतीहरू ताता भए। शरीर लगलग् काँप्न थाल्यो। क्षणभरमै उसका आँखा अश्रुधाराले भरिए। थचक्क बस्यो र ऊ जहाँको त्यहीँ जम्यो।

‘तँ घर जा, म तेरा भेडाहरू सम्हालेर घरमा ल्याइदिउँला !’- झरनाले निकै गम्भीर भएर भनी।

फुर्वा झट्पट् उठ्यो, र घरतिर वायुको वेगमा दौडियो। दौड्दै गर्दा उसको मुखबाट अनायासै फुत्कियो– ‘आमा, यति सानैमा मलाई टुहुरो बनाएर किन गयौ नि?’

त्यसपछि उसको भक्कानो फुट्यो। आँशुले भरिएका आँखाले उसले आफू अगाडि पसारिएको बाटो देखेन। सधैं आकाशमा हेरेर हिंड्दा पनि पन्छिदिने ढुंगाले आज उसको खुट्टै ताकेर ठिङ्ग उभ्भिदियो। ठेस लागेर ऊ लड्यो। खुट्टाबाट भल्भल्ती रगत बग्न थाल्यो, तर फुर्वा रोकिएन।

उसको मनमा परेको बज्रपात उसको खुट्टामा लागेको चोट भन्दा कैयौं गुणा असह्य थियो। ऊ फेरि उठेर दौडियो।

आमाको लाश आँगनमा राखिएको थियो। गाउँले सबै भेला भएका थिए। फुर्वाको बाउ लाशको एक छेउमा पुर्पुरोमा हात राखेर झोक्राइरहेको थियो। फुर्वा आमाको लाश अगाडि थ्याच्च बस्यो, र जोडले रोयो। त्यो कारुणिक दृश्य देखेर सबैका आँखा रसाएका थिए।

समय बित्दै गयो। आमाको मृत्युपछि फुर्वा पहिले जस्तो रहेन। श्रीमती बितेको वर्ष दिन पनि नबित्दै फुर्वाको बाउले अर्को बिहे गर्‍यो। फुर्वा निकै एक्लो महसुस गर्थ्यो। झरनाले साथ त दिन्थी, तर ऊ आमाको मायाको कमी हरदम महसुस गरिरहन्थ्यो। उसको बाउको माया त उसले कहिल्यै महसुससम्म पनि गर्न पाएन। ऊ जहिल्यै जाँड खाएर आउँथ्यो। घरव्यवहार प्रति पूरै बेपरबाह थियो ऊ।

फुर्वा जसोतसो बसिरहेकै थियो, सौतेनी आमाले पनि माया गर्थिन्। तर जब उनी दुई जीउकी भइन्, उनको फुर्वालाई गर्ने व्यवहारमा पूरै परिवर्तन आउन थाल्यो। विस्तारै फुर्वालाई घरप्रति नै वितृष्णा बढेर गयो।

एक रात फुर्वा गाउँबाट हरायो। घरबाट हिंड्दा उसँग आफूले लगाएको एकसरो लुगा शिवाय केही थिएन। उसको कसैले खोजीनिती पनि गरेन। यसरी गाउँबाट हराएसँगै उसको अस्तित्व पनि त्यो गाउँको विस्मृतिमा पुग्यो।

फुर्वा गाउँबाट भाग्दा भर्खर १६ कटेर १७ वर्षमा टेक्दै थियो। पुसको महिना थियो, माछापुच्छ्रे, अन्नपूर्ण लगायतका हिमाल हिउँको बाक्लो च्यादर ओडेर निदाइरहेका थिए। हिउँदमा हिमालबाट बहेर आउने चिसो सिरेटोले सीधै मुटुसँग संवाद गर्थ्यो।

यस्तो चिसो मौसममा घरबाट भागेको भोलिपल्ट मात्रै ऊ घान्द्रुक आइपुग्यो। बीचमा बाटो अल्मलिएकाले ऊ रातभर जंगलको चक्कर काटिरह्यो। धेरैबेर हिंडेपछि टाढा कतै बत्ती टिलपिल् गरेको देखेपछि त्यसैलाई पछ्याउँदै ऊ घान्द्रुक झरेको थियो।

घान्द्रुक आइपुग्दा बिहान हुन रातको केही प्रहर बाँकी थियो। ऊ भोक, थकान, निद्रा र चिसोले निकै गलेको थियो। अब यहाँभन्दा अगाडि बढ्न सकिंदैन जस्तो लागेपछि काठको खम्बामा बलिरहेको बत्तीको प्रकाशलाई पछ्याउँदै ऊ एउटा होटलको आँगनमा छिर्यो।

उसको भाग्य बलियो थियो सायद, होटलको छिंडीमा गद्दा राखेको लामो बेन्च देख्यो। थकानले चुर फुर्वाले केही नसोची आफ्नो भारी र चिसो शरीर त्यसैमा लडाइदियो। पल्टिने बित्तिकै ऊ भुसुक्कै निदायो।

बिहानपखको घाम उसको आँखामा परेपछि बल्ल ऊ झसंग भयो। फुर्वा जुरूक्क उठ्यो, र त्यहाँबाट भाग्न खोज्यो। उसको नजिकै एक जना पाहुनाहरूलाई बिहानपखको नास्ताको लागि बन्दोबस्त मिलाउँदै थिए।

‘ए पख त!’- त्यो मान्छेले फुर्वालाई रोक्न खोज्दै भने।

ऊ रातो मुख लगाएर टक्क अडियो।

‘को हौ तिमी? कहाँबाट आयौ?’- उनले सोधे।

मान्छेको डर एउटा यस्तो चिज हो, जुन कसैको मीठो बोली सुन्ने बित्तिकै छुमन्तर भइजान्छ। फुर्वाको डर पनि त्यो मान्छेले ‘तिमी’ भनेर सम्बोधन गर्ने बित्तिकै हराएर गयो। उसले सबै कुरा विस्तारमा बताइदियो। उसले कामको लागि पनि ती मान्छेसँग आग्रह गर्‍यो ।

फुर्वाको कुरा सुनेपछि ती होटलका साहुलाई ऊप्रति दया जाग्यो। आफ्नो होटलका पाहुनालाई नास्ता दिइसकेपछि फुर्वालाई पनि नास्ता र तातो चिया खान दिए। फुर्वाले त्यो नास्ता गहभरि आँशु बनाएर निल्यो। उसले पहिलो पटक भगवान देखेझैं साहुलाई मनैदेखि धन्यवाद दियो।

होटलको साहुले कामको बारेमा सोध्दा उसले आफूलाई गाईबस्तु हेर्न, दाउरा चिर्न र खेतीपातीको काम मात्र आउने कुरा बतायो।

होटल साहु उसको सोझोपन र इमानदारी देखेर छिट्टै प्रभावित भइहाले।

‘तिमीले जानेको काम पनि काम लाग्ला भविष्यमा, तर म तिमीलाई अर्कै काम दिन्छु। तिमी मलाई होटलको काममा सघाऊ, त्यति भए पुग्छ। काम विस्तारै सिक्दै जानेछौ, त्यसको चिन्ता नलेऊ।’

साहुको कुराले उसलाई ठूलो बोझ टाउकोबाट उतारेर भुइँमा राखे जस्तो हलुका भयो।

समय बित्दै गयो। फुर्वाले काम पनि सिक्दै गयो। फुर्वा झन् जवान अनि हृष्टपुष्ट हुँदै जाँदैथियो।

बिहान पाहुनालाई ब्रेकफास्ट लगिदिने, कोठाका तन्नाहरू बदलिदिने, होटल वरपर सरसफाइ गरिदिने र खच्चडलाई कुँडो दिने कामहरू उसका हुन्थे। ऊ सब काम बडो तन्मयका साथ गर्थ्यो।

हप्तामा एकदिन नयाँपुल झरेर होटललाई चाहिने सामान ल्याउनुपर्थ्यो। खच्चडले सामान बोक्थ्यो, ऊ खच्चड डोर्‍याउँथ्यो।

कहिलेकाहीँ, जिन्दगीले मीठो लय समात्छ। त्यो लयको सुरमा हामी अक्सर हाम्रो विगत र भविष्यको अनिश्चितता नै बिर्सिदिन्छौं। जीवनप्रतिका तमाम गुनासाहरू नै बिर्सिदिन्छौं। फुर्वाको जीवनले पनि एउटा लय समातेको थियो। उसले आफ्नो अँध्यारो विगत बिर्सेर वर्तमानको लयमा गुन्गुनाउन सिकिसकेको थियो।

उसले यसरी गुन्गुनाउने गीतमा संगीत भर्न रचनाकार बनेर आएकी थिई, संगीता। संगीता पनि ऊ जस्तै होटलमा काम गर्थी। उनीहरूको भेट नयाँपुल आवतजावत गर्ने क्रममा भएको थियो। ऊ पनि बेलाबेला होटलको सामान किनमेल गर्न नयाँपुल झर्ने गर्थी। समय बित्दै जाँदा उनीहरू बीचको प्रेम पनि नयाँ पालुवा हालेको रूख झैं झ्याँगिंदै जाँदैथियो। उनीहरू लुकी–लुकी एकअर्कालाई भेट्ने गर्थे।

फुर्वा सम्हालिन खोज्दा खोज्दै भीरबाट खस्न पुग्यो। एकातिर बढी भारी भएर झाँटेपछि खच्चड पनि भीरतिर ढल्कियो। अथक् प्रयास गर्दागर्दै अन्त्यमा उसले पनि सन्तुलन गुमायो र भीरबाट खस्यो। खस्ने बेला खच्चडले अन्तिम पटक फुर्वालाई बोलायो। तर फुर्वाको आवाज अघि नै बन्द भइसकेको थियो

एकदिन छतमा कपडा सुकाउँदै पारि अर्को होटलको छतमा कपडा सुकाउँदै गरेकी संगीतासँग जिस्किंदै गर्दा फुर्वाको साहुले देख्छन्। त्यसपछि साहुले उसलाई बोलाएर खार्छन्। उसले पनि आफ्नो अभिभावक सरह साहुलाई सबै कुरा बताइदिन्छ। फुर्वाको सबै कुरा सुनिसकेपछि उनले सोधेका थिए- ‘के बिहे गर्छस् त त्यही केटीसँग?’

फुर्वा लजाउँछ मात्र, केही भन्न सक्दैन। साहुले उसको मनसाय बुझेपछि संगीता काम गर्ने होटलका साहु, उनको छिमेकीसँग उनीहरूको बारेमा कुरा गर्न जान्छन्। संगीताको मालिकबाट उनले संगीता पनि परिस्थितिले पिल्सिएकी दुखिया रहिछे भन्ने थाहा पाउँछन्।

दुवै जनालाई उनीहरूको बिहे गर्दिनु नै उचित लागेपछि समय मिलाएर उनीहरूको बिहे गरिदिन्छन्। यसरी उनीहरूले दुई गितारको तार एकैठाउँमा बाँधिदिन्छन्। उनीहरूको जीवनले झन् सुन्दर गीत गुन्गुनाउन सुरु गर्छ।

बिहेपछि पनि उनीहरूले आ-आफ्नो कामलाई पूरा इमानदारी र लगनशीलका साथ निरन्तरता दिन्छन्। बिहे भएको एक वर्षपछि संगीता गर्भवती हुन्छे। त्यसपछि भने उसले केही समय कामबाट बिदा लिन्छे।

फुर्वा भने घर र होटल दुवैको काम मिलाएर गर्छ। ऊ निकै उत्साहित थियो। छन त संगीता पनि उस्तै उत्साहित थिई। दुवै जना आफ्नो सन्तानले आफूले भोगेको जस्तो नियति भोग्न नपरोस् भन्ने हरपल कामना गर्थे।

एक रात संगीताले जुम्ल्याहा बच्चालाई जन्म दिई- एउटा छोरा, एउटी छोरी। जुम्ल्याहा बच्चा भएपछि भने उनीहरू केही डराएका थिए। उनीहरूले सुनेका थिए, जुम्ल्याहा बच्चा भयो भने दुवै जनालाई बचाउन निकै गाह्रो हुन्छ। तर त्यस्तो केही भएन। उनीहरू दुवै जना छिट्टै नै भय मुक्त भए, दुवैजना राम्रोसँग हुर्कँदै गए। फुर्वा काममा पनि जान्थ्यो, फुर्सदमा छोराछोरीको अनुहार हेर्न छुस्स घर पनि आउन भ्याउँथ्यो। छोराछोरी भनेपछि दुवै जना हुरुक्कै गर्थे।

फुर्वाले काम गर्ने होटल एकदम राम्रोसँग चलिरहेको थियो। होटल साहु आफ्नो व्यवसाय विस्तार गर्न होटलमा कोठाको संख्या थप्ने सोचमा थिए। तिनताक यातायातको सुविधा नभएकाले खच्चडले नै सबै सामान ढुवानी गर्नुपर्थ्यो।

एकदिन फुर्वा सबेरै आफ्नो प्रिय खच्चड लिएर छड लिन नयाँपुलको लागि निस्कियो। सधैं आवतजावत गरिरहने बाटो भएकाले पनि फुर्वालाई ओहोरदोहोरमा कुनै समस्या थिएन।

नयाँपुलबाट मध्यान्हमा एकमुठा छड खच्चडमा लादेर ऊ होटलको लागि निस्कियो। उकालो बाटो त्यसमाथि ढुंगा छापेर बनाइएका सिंढीले मान्छेलाई हिंड्न निकै सहज भए पनि खच्चडलाई भारी बोकेर उक्लिन निकै सकस पर्थ्यो। तर के गर्नु, अरू कुनै उपाय पनि त थिएन!

फुर्वाको प्रिय खच्चड उमेरमा बूढो भए पनि भारी अझै अरू खच्चडहरू सरह नै बोक्न सक्थ्यो। नयाँपुलबाट केहीबेरसम्म मोटरबाटो हिंडेपछि उकालो सुरु हुन्थ्यो। खच्चड बूढो भएकाले फुर्वा बेलाबेलामा उसलाई उभ्भिएरै धकाउन दिन्थ्यो। बाटोमा झर्ना भएर बग्ने खोलाबाट तन्तनी पानी पिएपछि उकालो चढ्ने काम पुन: सुरु हुन्थ्यो। फुर्वा हमेसा खच्चडको वरपर नै हुन्थ्यो। कहिले धाप मारेर हिंड्न आदेश दिन्थ्यो त कहिले रोकिन। फुर्वाको धापसँग खच्चड पूरै अभ्यस्त थियो, त्यसैले उसलाई थाहा थियो, कतिबेला रोकिनु र कतिबेला हिंड्नु भन्ने।

बाटो समग्रमा सहज थियो। तर घर पुग्ने-पुग्ने बेला एउटा साँघुरो घोडेटो बाटो पार गर्नुपर्ने हुन्थ्यो। बाटोको एकातिर निकै अग्लो पहरो थियो भने अर्कोतिर कहालीलाग्दो भीर। त्यसकारण पनि त्यो बाटो एकदम जोखिमयुक्त मानिन्थ्यो। तर त्यो हेर्दा डरलाग्दो भए पनि आजसम्म त्यो भीरमा कुनै अप्रिय घटना भने घटेको थिएन।

त्यो भीरको बारेमा त्यहाँ एउटा जनविश्वास थियो। कैयौं पटक त्यो बाटो हिंडेकाहरू भन्ने गर्थे, त्यो भीरमा बस्ने देउता शाकाहारी छन्। उनलाई भीरमौरीको मह निकै मनपर्छ। त्यसकारण वर्षमा एकपटक गाउँले सबै मिलेर भीरबाट काढेको भीरमौरीको मह चढाउँथे। त्यो भीर पार गर्नुअघि सबैले भीर देवतालाई भाक्ने गर्थे। फुर्वा पनि सधैँ देवता सम्झिएर त्यो भीर पार गर्ने गर्थ्यो।

हुन त डर एउटा यस्तो मानवीय संवेदना हो, जसलाई बानीले सहजै पराजित गर्न सकिन्छ। केही हुन्छ भन्दा लाग्ने डर, केही हुँदैन भन्ने लाग्न थालेपछि आफसे आफ हराएर जान्छ। फुर्वालाई पनि त्यो भीरको बाटो सामान्य नै लाग्थ्यो, तर त्यो भीरको बाटो छिर्नुअघि भगवान् भाक्न भने बिर्संदैनथ्यो।

भीर सुरू हुनुभन्दा केही अगाडि बाटोको दुवैतिर बाद्धे ढुंगामा बाटो हिंड्ने बटुवाले चढाएको फूलपातीको थुप्रो देखिन्थ्यो।

भनिन्छ नि, सधैं एकनास हुँदैन ! केहीबेर भगवान् सम्झेपछि फुर्वा भीरको बाटो हिंडन सुरू गर्‍यो। त्यो भीर हिंड्न खच्चड भने सधैं संकोच मान्थ्यो। तर फुर्वाले धाप मारेपछि भने ऊ केही हुँदैन भन्ने कुरामा विश्वस्त हुन्थ्यो सायद, त्यसैले फटाफट हिंड्थ्यो।

तर त्यो दिन, आधा बाटो सहजै पार गरेपछि खच्चडको पछाडिको खुट्टा एउटा गोलो ढुंगामा परेर पछाडि चिप्लियो। चिप्लिने बेला जोड परेर फलामे छड बाँधेको डोरी पनि एकातिरबाट फुस्कियो। डोरी फुस्किएकाले रडले खच्चडलाई एकातिरबाट तानिरहेको थियो। यो सबको बाबजुद पनि खच्चडले आफूलाई सम्हाल्यो।

खच्चड सम्हालिएपछि फुर्वा उसको छेउमा गएर धाप मार्‍यो। खच्चड त्यहीं रोकियो। फुर्वाले फेरि डोरी कस्न भीरपट्टि गयो। फुस्किएको डोरी फुर्वाले हातमा लिने बित्तिकै छड आफ्नै आकारमा आउन तनक्क तन्कियो। तन्किने क्रममा त्यो रडको मुठ्ठोले फुर्वालाई धक्का दियो। फुर्वा सम्हालिन खोज्दा खोज्दै भीरबाट खस्न पुग्यो। एकातिर बढी भारी भएर झाँटेपछि खच्चड पनि भीरतिर ढल्कियो। अथक् प्रयास गर्दागर्दै अन्त्यमा उसले पनि सन्तुलन गुमायो र भीरबाट खस्यो। खस्ने बेला खच्चडले अन्तिम पटक फुर्वालाई बोलायो। तर फुर्वाको आवाज अघि नै बन्द भइसकेको थियो।

उसलाई अन्तिमसम्म पनि फुर्वाले बचाउँछ भन्ने विश्वास थियो। भीरबाट खस्दै गर्दा जसरी फुर्वाको आँखामा संगीता र उसका दुई सन्तानको अनुहार अन्तिम पटक नाचिरहेको थियो, त्यस्तै बन्द हुनुअघि खच्चडको आँखामा पनि फुर्वाको अनुहार झल्झली नाचिरहेको थियो।



from Online Khabar https://ift.tt/kbyYnuK

No comments:

Post a Comment