Friday, October 13, 2023

नेपालमा साम्प्रदायिक द्वन्द्वका नालीबेली

विगत केही समयदेखि नेपालका विभिन्न भूभाग र खासगरी तराईका विभिन्न जिल्लामा अन्तरधार्मिक साम्प्रदायिक द्वन्द्व बढ्दै गएको छ। अघिल्लो साता सर्लाहीको मलंगवामा स्थानीय प्रशासनले कर्फ्यु लगाउनुपर्ने स्थिति आयो। मलंगवाका अल्पसंख्यक समुदायका व्यक्तिहरू र खासगरी मुस्लिम समुदायका लागि यो स्थिति नौलो र विस्मयकारी छ।

सदैव आपसमा मिलेर बसेका विभिन्न धार्मिक समुदायको बीचमा एक्कासि यो द्वन्द्वको स्थिति कसरी उत्पन्न भयो? त्यही मधेश जसमा विभिन्न समुदायले काँधमा काँध मिलाएर अधिकारको लागि संघर्ष गरेका थिए, त्यही मधेश जहाँ अधिकार प्राप्तिका लागि ज्यानको आहुति दिने एक तिहाइभन्दा बढी शहीदहरू मुस्लिम समुदायका व्यक्ति रहेका छन् जबकि मुस्लिमहरूको जनसंख्या ५ प्रतिशतको हाराहारीमा मात्र छ।

विभिन्न धार्मिक समुदायहरू एकअर्कालाई सुख–दुःखमा साथ दिने गरेका त्यही मधेशको विभिन्न जिल्लामा एकपछि अर्को साम्प्रदायिक द्वन्द्वको स्थिति कसरी सिर्जना भयो? यो अकस्मात् भएको घटना हो अथवा एउटा सुनियोजित षडयन्त्रको परिणाम हो? यो घटना मलंगवासम्म मात्र सीमित हुने हो वा देशको अन्य ठाउँहरूमा पनि फैलँदै जाने हो? यी प्रश्नहरूका उत्तरको खोजीमा हामीहरूले विगतका केही घटनाक्रमलाई नियाल्न जरुरी छ।

केही वर्षअगाडि एकजना युवकले गेरुबस्त्र लगाएर फेसबुकमा एउटा भिडियो पोष्ट गर्छन्। त्यस भिडियोलाई झट्ट हेर्दा कुनै युवाले संन्यास धारण गरेर सत्कर्मका लागि मानवजातिलाई आह्वान गर्लान् तथा शान्ति, न्याय र मानवताको सन्देश देलान् भन्ने लाग्छ। तर मैथिली भाषीको लवजमा रहेका नेपाली बोल्ने ती युवकले शान्ति, न्याय र मानवताको सन्देश दिने ठाउँमा नेपाली मुस्लिम समुदायको विरुद्ध अरुलाई उचाल्ने किसिमको भाषण दिए।

अपराधीको कुनै धर्म हुँदैन तथा जुनसुकै अपराधीको विरुद्ध राज्यले कडा कारबाही गर्नुपर्छ भन्ने माग गर्नुपर्ने ठाउँमा सम्पूर्ण मुस्लिम समुदायलाई जिहादी भनेर सम्बोधन गरे। अब मुस्लिमलाई मुस्लिम शब्दको ठाउँमा जिहादी शब्दबाट आफ्ना हरेक भिडियोमा सम्बोधन गर्न थाले। यो शब्दको चयन संयोगवश थिएन। नेपालमा बस्ने सम्पूर्ण मुस्लिमहरू आतंककारी हुन् भन्ने भाष्य श्रोताहरूको मनमस्तिष्कमा स्थापना गर्ने अचूक प्रयास थियो।

भन्ने गरिन्छ एउटा असत्यलाई सय पटक दोहोर्‍याउँदा त्यो सत्यमा परिणत हुन्छ। मनोविज्ञानका आधुनिक रिसर्चले यही कुरा औंल्याएको छ। मानिसहरू एकठाउँमा बसे भने तिनको बीचमा कहिलेकाहीं कुनै कुरालाई लिएर असहमति र असन्तुष्टि पनि हुने गर्दछ। एउटै घरमा बस्ने दाजुभाइ, दिदीबहिनी, आमाबुबा र सन्तानको बीचमा पनि त्यसो हुनु स्वाभाविक हो। एउटा स्वच्छ समाज निर्माणका लागि त्यस्ता कुराहरूलाई आपसी सहमतिमा मिलाउँदै जानुपर्ने हुन्छ भन्ने कुरो हरेक बुझ्ने व्यक्तिले बुझेको हुन्छ।

तर यी युवाले त्यस्ता घटनालाई अतिरञ्जित पार्दै त्यसलाई साम्प्रदायिक रूप दिन खोजे। नेपालका जिहादीहरूले बहुसंख्यक हिन्दु समुदायका व्यक्तिहरूलाई सताइरहेको तथा संगठित रूपमा षड्यन्त्रपूर्वक देशलाई कब्जा गर्न खोजेको इलजाम लगाए। विभिन्न ठाउँमा भएको स-साना अन्तरसामुदायिक मतभेदलाई विकराल रूप दिएर मुस्लिम विरुद्ध बहुसंख्यक समुदायलाई जाइलाग्न आह्वान गरे। हिन्दु समुदाय समयमा नै जागेर जिहादीहरूको षड्यन्त्र विरुद्ध एकजुट भएर नलागेमा जिहादीहरू आफ्नो षड्यन्त्रमा सफल हुनेछन् भन्ने सन्देश दिएर बहुसंख्यक हिन्दु समुदायलाई मुस्लिम समुदायको विरुद्ध उचाल्न खोजे।

साम्प्रदायिक द्वन्द्व गराउने किसिमका क्रियाकलाप गर्ने जुनसुकै पनि व्यक्तिलाई दण्डित गर्नुपर्ने थियो। तर विभिन्न बुद्धिजीवीहरूले नेपालको अवस्था नाजुक बन्दै गएको तथा यसलाई तुरन्त नियन्त्रण नगरेमा नेपालका लागि भयावह अवस्था आउन सक्ने संकेत गर्दागर्दै पनि राज्य किन यस्तो गम्भीर विषयप्रति उदासीन रह्यो ? राज्यबाट यस्तो चुक कसरी भयो ?

स्पष्ट रूपमा यो चलाकीपूर्ण तरिकाले सोझासाझा व्यक्तिहरूको मनमस्तिष्कलाई प्रभावित पार्ने मनोवैज्ञानिक तकनिक (जसलाई अंग्रेजीमा म्यानुपुलेटिभ टेक्निक्स भनिन्छ) मध्ये एउटा तकनिकको प्रयोग थियो जसलाई गलत द्विविधा (फाल्स डाइकोटोमी) भनिन्छ।

माथिको सन्दर्भमा मिथ्या सूचनाको आधारमा नेपाली मुस्लिमको एउटा भयानक छवि तयार पारियो। त्यसपछि नेपाली नागरिकसमक्ष अर्को विकल्प राखियो जुन वास्तवमा नराम्रो विकल्प थियो। तर पहिलो विकल्प भयानक भएकोले अर्को विकल्प नराम्रो भए पनि मानिसको दिमागले स्वतः त्यसैलाई चयन गर्न बाध्य हुन्छ।

छिमेकी राष्ट्रमा सफलतापूर्वक प्रयोग भएको यही मोडेल अनुसार नेपालमा विभिन्न व्यक्तिले काम गरिरहेका छन्।

यसैक्रममा एउटा युट्युब च्यानलमा नेपाली सेनाभन्दा पृथक् एउटा सेनाको नाममा एउटा समूह सञ्चालन गर्ने र आफूलाई त्यस समूहका अध्यक्षका रूपमा चिनाउने युवाले यही मोडल अनुसार काम सुरु गरे। फेसबुक पेज पनि बनाइयो र यसै मोडेल अनुसार भिडियो प्रसारण हुनथाल्यो। काठमाडौंको एउटा क्याफेमा युवाहरूको साथमा गरिएको मिटिङमा यही व्यक्तिले आफूहरूको अन्तिम उद्देश्य राजनीतिमा जाने भए पनि त्योभन्दा अगाडि हिन्दुहरूलाई एकजुट गर्ने र त्यसका लागि मुस्लिम विरुद्ध खनिने योजना बनाए।

विभिन्न व्यक्तिलाई विभिन्न जिल्लाको जिम्मेवारी दिइयो। आफू स्वयंले महोत्तरी जिल्ला तथा अर्को एक जना व्यक्तिलाई सर्लाही जिल्लाको जिम्मेवारी सुम्पियो। एक जनालाई वीरगञ्ज तथा अर्का व्यक्तिलाई जनकपुरको जिम्मेवारी दिइयो।

त्यसपछि सुरु भयो विभिन्न ठाउँमा सञ्जाल विस्तार गर्ने तथा विभिन्न ठाउँमा रहेका युवाहरूलाई विभिन्न माध्यमबाट जोडेर तिनीहरूको मार्फत झन् बढी मिथ्या सूचना तथा घृणा प्रचारका सामग्रीहरू प्रसारण गर्ने काम।

सामाजिक सञ्जालका विभिन्न माध्यमहरूमा समूह बनाएर युवालाई निर्देशन दिएर विभिन्न कामहरू गर्न परिचालन गरियो। विभिन्न ठाउँमा कार्यक्रमहरू गरेर मिलेर बसेका सोझासाझा बहुसंख्यक समुदायका सदस्यहरूलाई गलत जानकारीका आधारमा मुस्लिम विरुद्ध भड्काउने काम गरियो। युवाहरूलाई संविधानविरोधी, लोकतन्त्रविरोधी, मानवताविरोधी गैरकानुनी काम गर्न प्रोत्साहन गरियो तथा गरेबापत स्याबासी दिइयो।

सधैं अरु समुदायसित मिलेर बस्दै आएका मुस्लिम समुदायका लागि यस्तो अवाञ्छनीय गतिविधि अपाच्य हुनु तथा उनीहरूले त्यसको विरुद्ध प्रतिक्रिया दिनु स्वाभाविक थियो। मुस्लिम युवाहरूले सामाजिक सञ्जालमा मुस्लिम विरुद्ध भ्रामक पोष्टहरूमा आफ्नो रिस पोखे। कतिले राम्रा शब्दहरूको प्रयोग गरेर विरोध गरे भने कतिले आवेशमा आएर नचाहिंदो शब्द पनि प्रयोग गरे।

साम्प्रदायिक द्वन्द्व उत्पन्न गराउन चाहने तत्वहरूलाई यस्तो प्रतिक्रिया आउँछ भन्ने राम्ररी थाहा थियो। उनीहरू यस्ता प्रतिक्रियाको पर्खाइमा बसेका थिए किनभने यसबाट उनको उद्देश्यलाई झन् मद्दत पुर्‍याउँछ। नचाहिंदो शब्द प्रयोग गर्ने मुस्लिम युवाहरूले आफूहरू अञ्जानमा मुस्लिम विरुद्ध गरिने षड्यन्त्रमा सहायक हुनगएको कुरा मेसो पाएनन्।

उनीहरूका पोस्टहरूको स्क्रिनसट लिएर बहुसंख्यकहरूलाई मुस्लिमहरूले हेपेको प्रमाणको रूपमा मुस्लिम विरुद्ध झन् बढी घृणा फैलाउन प्रयोग गरियो। यो अवस्था समुदायलाई साम्प्रदायिक द्वन्द्वतिर डोर्‍याउने पहिलो चरण थियो।

बहुसंख्यकको नजरमा मुस्लिम उनीहरूका छिमेकी, सहयात्री, आफ्नै देशका नागरिक नभएर एउटा जिहादीको रूपमा परिणत भइसकेका थिए। समुदायहरूको बीचमा रहेको परस्पर विश्वास तथा सद्भावना अब शंका र घृणामा परिणत भइसकेको थियो। अब अल्पसंख्यक समुदायले गर्ने हरेक क्रियाकलाप बहुसंख्यक समुदायको नजरमा बिझ्न थालेको थियो। यो अवस्था समुदायलाई साम्प्रदायिक द्वन्द्वतिर डोर्‍याउने दोस्रो चरण थियो। पहिलो चरणमा रोपिएको घृणाको बीउ रुखको रूपमा विकसित भइसकेको थियो। अब पालो थियो यो रुखमा फल लाग्ने जुन द्वन्द्वतिर डोर्‍याउने तेस्रो चरण थियो।

समुदायले आफ्नो चाडपर्वमा आफ्नो खुसी अनुरूप लाउडस्पिकर लगाएर आफ्नो धर्मलाई सुहाउँदो गीतहरू बजाउँछन्, झिलिमिली गर्छन्, जुलुसहरू निकाल्छन्। मस्जिदबाट एक पटकमा एक दुई मिनेट गरी दिनको पाँच पटक अजान हुने गर्दछ भने मन्दिरहरूमा बिहान–साँझ भजन तथा धार्मिक गीतहरू बजाउने गरिन्छ। समुदायहरूलाई एकअर्काको यस्तो क्रियाकलापबाट कुनै आपत्ति थिएन।

जनकपुर, नेपालगञ्ज जस्ता शहरहरूमा दुवै समुदायका व्यक्तिहरू एकअर्काको जुलुसमा हुने झाँकी हेर्न प्रतीक्षारत हुन्थे। आफ्नो घरको कौसीमाथि उभिएर महिला र बालबालिका झाँकी हेर्थे। मिठो खानेकुरा साटासाट गर्दथे। एकअर्काप्रति सहिष्णुता थियो। तर महोत्तरीमा पहिलो पटक मुस्लिमहरूले उत्सव मनाउन खोज्दा त्यसमा अवरोध गरियो। त्यतिवेला नजिकको छिमेकी देश भारतमा केन्द्रमा सरकार चलाइरहेको पार्टीद्वारा शासित राज्यहरूमा एउटा मुहीम चलाइएको थियो : यदि मुस्लिमले अजान दिन्छ भने मस्जिद अगाडि लाउडस्पिकर ठूलो आवाजमा भजन बजाइने मुहीम।

हाम्रो आउँदो पुस्ताको भविष्य धरापमा पर्नेछ। यो देशमा हाम्रा घरहरू आपसमा जोडिएका छन्। कुनै एउटा घरमा लागेको आगो हाम्रो घरसम्म पनि निश्चित तवरमा आइपुग्नेछ। तसर्थ हामी सबै मिलेर यो द्वन्द्वलाई समाधान गर्नुपर्छ।

यस्तो गर्न चाहने जुनसुकै व्यक्तिलाई त्यही पार्टीका व्यक्तिहरूले नि:शुल्क लाउडस्पिकर वितरण गरिरहेका थिए। छिमेकको घृणाको नीति भित्र्याउँदै नेपालको समूहले महोत्तरीमा मुस्लिमहरूको चाडपर्व चलिरहेको वेला र खासगरी आफ्नो चाडपर्व नभएको वेला मन्दिरबाट ठूलो आवाजमा लाउडस्पिकरबाट भजन बजाउन सुरु गर्‍यो। त्यसमा विवाद भयो। पछि स्थानीय सरकारको रोहबरमा त्यो लाउडस्पिकर बन्द गराइयो। तर प्रचार के भयो भने जिहादी समूहले मन्दिरबाट लाउडस्पिकर झार्न लगायो, सरकारले पनि जिहादीहरूको साथ दियो, हिन्दु बहुसंख्यक भएर पनि आफ्नो देशमा सुरक्षित छैन, जिहादीहरूलाई उनको ठाउँ देखाउनुपर्छ, आदि इत्यादि।

सेना समूहले केही दिनपछि धार्मिक यात्रा निकाल्ने कार्यक्रम राख्यो। त्यसमा मानिसहरूलाई जम्मा हुन आह्वान गर्‍यो। जानीजानी त्यही विवाद भएको ठाउँबाट जुलुस निकाल्न खोजियो। जुलुस विवाद हुने ठाउँमा पुग्नुभन्दा अगाडि नै लाउडस्पिकरमा मैथिली भाषामा जुलुसलाई सम्बोधन गर्दै भनियो “यो यात्रा हैन, युद्ध हो”। जुलुसमा मैथिली भाषामा बजाइएका गीत पहिलेको जस्तो धार्मिक नभएर मुस्लिम समुदायलाई चुनौती दिने, उसका धार्मिक आस्थालाई केन्द्रबिन्दुमा रहेका प्रतीकहरूलाई गालीगलौज गर्ने किसिमका नाराहरूले भरिपूर्ण थियो।

स्पष्ट रूपमा यो यात्राको उद्देश्य धार्मिक कर्मकाण्ड पूरा गर्नु नभएर केही अर्कै थियो। प्रशासनले मनाही गर्दागर्दै पनि मुस्लिम बस्तीहरूबाट यो यात्रालाई निकाल्न पाउनुपर्ने ढिपी गर्नु पछाडिको रहस्य मुस्लिमहरूलाई उत्तेजित पारेर द्वन्द्व गराउनु थियो। तर बाहिरी रूपमा “हिन्दुहरूले आफ्नो देशमा पनि आफ्नो इच्छाबमोजिम जुनसुकै स्थानबाट यात्रा निकाल्न नपाउने, जिहादीसित डराउनुपर्ने?” भनेर बहाना गरिएको थियो।

प्रशासन पनि दबावमा आयो। यात्रा मुस्लिम बस्तीबाट निस्क्यो। उच्छृंखल गीतहरू सुन्दा मुस्लिमहरूले प्रतिकार गर्नु स्वाभाविक थियो। साम्प्रदायिक द्वन्द्व गराउन चाहने व्यक्तिहरूलाई यसैको प्रतीक्षा थियो। उनीहरूलाई दुवै पक्षका व्यक्तिहरूको ज्यानको कुनै पर्वाह थिएन। यस्तो समयमा हुने कुनै दुर्घटनाले उनीहरूका दुष्ट योजनालाई अघि बढाउन झन् मदत गर्थ्यो। तर दुवै पक्षका सोझा व्यक्तिहरूले यो कुरा बुझेनन्।

आखिर द्वन्द्व भयो। प्रचार गरियो “हिन्दुहरूको जुलुसमा मुस्लिमहरूले आक्रमण गरे।” तर वास्तवमा यो घटना जानीजानी मुस्लिमलाई उचालेर द्वन्द्व गराउने षड्यन्त्र अनुसार घटाइएको थियो। यो अवसरको दुरूपयोग गरेर झन् मिथ्या सूचना प्रसारण गरियो। सर्वसाधारणले यो षड्यन्त्र बुझ्न सकेनन्। साम्प्रदायिक द्वन्द्व झन् चर्किंदै गयो।

हाम्रो छिमेकी राष्ट्रको विभिन्न ठाउँमा सफलतापूर्वक प्रयोग गरिएको यही मोडेललाई नेपालको मलंगवा, जनकपुर, कपिलवस्तु तथा नेपालगञ्ज जस्ता ठाउँमा प्रयोग गरियो। केही ठाउँमा द्वन्द्व पनि भयो। नेपालगञ्ज र कपिलवस्तुका मुस्लिमहरूले छिमेकी मुलुक जस्तै नेपाललाई पनि यस्ता प्रयत्नहरू द्वारा साम्प्रदायिक द्वन्द्वको अखाडा बनाउने प्रयास गरिएको भनी चाल पाएर पहिले अपमान सहेर बसे।

मलंगवाको सन्दर्भमा मिथ्या सूचना र घृणा प्रचारले जन्माएको साम्प्रदायिक तनाव र परस्पर आशंकाले भूमिका खेल्यो। परिणामस्वरूप अहिलेको अवस्था सृजना भयो। जनकपुरमा पनि झाँकी हेर्न पर्खिरहेका मुस्लिमहरूले कहिल्यै नदेखेको दृश्य हेर्नुपर्यो। मुस्लिम बस्तीमा पसेर मस्जिदको अगाडि हतियार बोकेको उग्र समूहले नाराबाजी गर्‍यो। साम्प्रदायिक द्वन्द्व गराउने प्रयास गर्‍यो। त्यहाँ कर्फ्यु लगाउनुपर्यो।

नेपालगञ्जमा पनि बारम्बार मुस्लिम विरुद्ध हुने गलत टिप्पणीले धैर्यको सीमा नाघ्दा मुस्लिमले दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरे। प्रदर्शन निसन्देह उग्र थियो तर यसले कसैको जनधन क्षति गरेको थिएन। तर यो पनि सत्य हो कि केही मुस्लिम युवाहरूबाट भावावेशमा केही गलत शब्दहरूको प्रयोग हुनगयो।

सबै मुस्लिम अगुवा तथा बुद्धिजीवीले उपर्युक्त कुराको भर्त्सना गरेका छन्। तर दोषीलाई संरक्षण गर्न र प्रदर्शनको विरोध गर्न अर्को समूहले बिहान निकालिसकेको सद्भाव र्‍यालीको विरुद्ध उग्रशैलीमा अर्को जुलुस गर्दा द्वन्द्व भयो र नेपालगञ्जमा पनि कर्फ्यु लगाउने अवस्था आयो। नेपालको अरु स्थानहरूमा पनि यस्तै अवस्था सृजना गराउन प्रयास हुने स्पष्ट संकेतहरू छन्।

अहिलेको साम्प्रदायिक द्वन्द्वको यो अवस्था आइपुग्नुको पछाडि कतै न कतै राज्यको लापरवाही पनि उत्तिकै जिम्मेवार छ। एउटा लोकतान्त्रिक, धर्मनिरपेक्ष राष्ट्रको रूपमा सम्पूर्ण समुदायलाई न्यायको दृष्टिकोणबाट समान नजरले हेर्ने जिम्मेवारी राज्यको थियो। यी सिद्धान्तहरूको विरुद्ध गएर कुनै समुदायले कुनै अर्को समुदायमाथि अन्याय गर्न नसकून्, कसैले कुनै पनि समुदायलाई नोक्सान पुर्‍याउने हर्कतहरू नगरुन्, सबै समुदायहरूको बीचमा सद्भाव तथा सहिष्णुता कायम रहोस् भन्ने कुराको ग्यारेन्टी राज्यले गर्नुपर्ने थियो।

साम्प्रदायिक द्वन्द्व गराउने किसिमका क्रियाकलाप गर्ने जुनसुकै पनि व्यक्तिलाई दण्डित गर्नुपर्ने थियो। तर विभिन्न बुद्धिजीवीहरूले नेपालको अवस्था नाजुक बन्दै गएको तथा यसलाई तुरन्त नियन्त्रण नगरेमा नेपालका लागि भयावह अवस्था आउन सक्ने संकेत गर्दागर्दै पनि राज्य किन यस्तो गम्भीर विषयप्रति उदासीन रह्यो ? राज्यबाट यस्तो चुक कसरी भयो?

अहिले पनि राज्य रोगको जरालाई इलाज गर्नुपर्ने ठाउँमा त्यसको बाहिरी लक्षणहरूलाई निको पार्नेतर्फ लागिरहेको छ। कि त उसले रोगलाई चिन्नै सकिरहेको छैन कि त कुनै विशेष कारणले खुट्टा कमाइरहेको छ। तर यस्तो व्यहोराले द्वन्द्वलाई उन्मूलन गर्न सक्दैन। भूसको आगो जस्तै यो भित्रभित्रै सल्किंदै जानेछ।

प्रगतिको मार्गमा हातेमालो गर्दै अगाडि बढ्नुपर्छ। मिलेर सहअस्तित्वको वातावरण तयार गर्नुपर्छ। कुनै अर्कै देश, अर्कै परिवेशको फोहोरी राजनीतिको शिकार बन्नबाट हाम्रो देश तथा यसका नागरिकलाई जोगाउनुपर्छ। गलत विरुद्ध बोल्नुपर्छ। यो देश हाम्रो हो। यसको रक्षा गर्नु हाम्रो संयुक्त दायित्व हो

मिथ्या सूचनाको सम्प्रेषण तथा घृणा प्रचारले नेपालमा समुदायहरूको बीचमा एकअर्काप्रति आशंका तथा घृणाको वातावरण सिर्जना भइरहेको छ जसले गर्दा समुदायहरूको बीचमा सहिष्णुता समाप्त हुँदै गइरहेको छ। बहुसंख्यक समुदायलाई अल्पसंख्यक समुदाय विरुद्ध झूटको सहारा लिएर उचाल्ने प्रयास भइरहेको छ। यस्तो अवस्थामा बहुसंख्यक समुदायका सचेत नागरिकले आफ्नो बुद्धिविवेक प्रयोग गरेर आफूसम्म आइपुग्ने जानकारीलाई जाँच्ने इमानदार कोशिश र प्रश्न गर्नुपर्छ।

हिजोसम्म एकअर्काका सुखदु:खका साथी बनेर दाजुभाइ जस्तै बसेका आफ्ना छिमेक, टोल, गाउँ, शहर, देशवासीहरू अरुले भन्दैमा मेरो अहित गर्न चाहने जिहादी हुन्छन् र ? मसित हिजोसम्म भलाकुसारी गर्ने, अधिकार प्राप्तिका लागि मसित काँधमा काँध जोडेर संघर्ष गर्ने र अग्रपंक्तिमा रहेर आफ्नो ज्यानको आहुति समेत दिने समुदायलाई आज एक्कासी मैले मेरो शत्रु कसरी ठान्न थालें ? मुस्लिम तिम्रो भाइ कहिल्यै हुन सक्दैन भन्ने व्यक्तिले कतै मलाई आफ्नो छिमेकी दाजुभाइ विरुद्ध उचाल्न खोजेको त छैन ?

आफ्नो राजनैतिक अभीष्ट पूरा गर्न समाजलाई द्वन्द्वतर्फ धकेलिरहेको त छैन ? कतै अन्जानमा म आफ्नै समाज र देश विरुद्ध हुने षड्यन्त्रको भाग त बनेको छैन ? कतै म आफ्नै देश र समाजमा अस्थिरता जन्माएर स्वयम् आफू, आफ्नो समाज र आफ्नो देशको प्रगतिलाई बाधित गर्ने र त्यसलाई विध्वंसको चक्रमा फसाउने कारक त बनिराखेको छैन ? के वास्तवमा मुस्लिम समुदायप्रति मेरो मनमा रहेको घृणा, अविश्वास र आशंका जायज छ ? के मैले मुस्लिम समुदायमाथि लगाएको इलजाम ठीक छ ?

के साँच्चिकै उनीहरूले त्यो कुकृत्य गरेका छन् जसको दोष मैले उनीहरूमाथि लगाइरहेको छु ? कतै कसैले समुदायहरूको बीचमा अविश्वासको खाडल खनेर धमिलो पानीमा माछा मार्ने प्रयास त गरिरहेको छैन ?

यावत् प्रश्न गर्ने बानीले उनीहरूलाई यथार्थसित सामना गराउनेछ। उनीहरूले बुझ्नेछन् मुस्लिम नेपालको सबैभन्दा पिछडिएको समुदाय हो। विभिन्न सूचकांकहरूमा ऊ सबैभन्दा पछाडि छ। राज्यबाट समुचित प्रतिनिधित्व र अवसर नपाएकोले धेरैजसो मुस्लिमहरू खाडी मुलुकमा कलिलो उमेरमै छिरेर नेपालको रेमिट्यान्सको स्रोत बनेका छन्। यसको निदान जरूरी छ। मुस्लिमहरू यो देशका नागरिक हुन्। यो देशलाई बनाउनमा उसको पनि योगदान छ। विभिन्न अधिकारको लडाइमा उसले आफ्नो कर्तव्य भन्दा बढी बलिदान गरेको छ।

तसर्थ यो देशमा उसको अधिकार अरुहरू जत्तिकै छ। देशमा विभिन्न समुदायका समस्या सम्बोधन गर्न सामुदायिक पहिचानमाथि आधारित विभिन्न आयोगहरू बनेका छन्। यी कुनै पनि आयोगमा मुस्लिम अटाउँदैनन्। विकासमा सबैभन्दा पछाडि परेको मुस्लिम समुदायका समस्याहरू छुट्टै खालका भएकाले त्यसलाई सम्बोधन गर्न सामुदायिक पहिचानमाथि आधारित मुस्लिम आयोग बनेको हो। मुस्लिमका लागि मुस्लिम आयोग नै चाहिन्छ। यसका कुनै पदाधिकारीबाट कुनै गलत काम भएको छ भने त्यसको विरोध गर्नुपर्छ। तर मुस्लिम आयोगले नेपाललाई मुस्लिम राष्ट्र बनाउन लाग्यो भनेर दुष्प्रचार गर्दै त्यसको खारेजीको माग अतिवादी सोचको नतिजा हो।

उनीहरूले बुझ्न थाल्छन् : नेपाली मुस्लिमहरूलाई जिहादी भनेर सम्बोधन गर्ने, समुदायको मुठीदानबाट चलेका मदरसाहरूलाई आतंककारी उत्पादन गर्ने अड्डा भन्ने, मुस्लिमहरूले लव जिहाद गर्दैछन् भन्ने, विभिन्न बहानामा मुस्लिमका धार्मिक कर्मकाण्डहरूको माथि प्रतिबन्ध लगाउन खोज्ने मानिसहरू अतिवादको रोगबाट ग्रसित भएका छन्।

उनीहरूले बुझ्न थाल्छन् : मुस्लिमले सबै ठाउँमा कब्जा गर्न लागिसके भन्ने व्यक्तिहरूले भ्रम छर्ने प्रयास गरिरहेका छन् किनभने नेपालमा मुस्लिमहरूको जनसंख्या जम्मा पाँच प्रतिशतको हाराहारीमा छ। सबै समुदायले समानुपातिक समावेशिताको सिद्धान्तको हिसाबले हरेक निकायमा प्रतिनिधित्वको माग गरिरहेको वेला मुस्लिमको प्रतिनिधित्व हरेक ठाउँमा कम छ। मुस्लिमहरूले पनि त्यस्तो माग राख्दा त्यो गलत माग हैन। त्यसमा शंका र विरोध गर्नु अनैतिक कार्य हो।

उनीहरूले बुझ्न थाल्छन् : धेरै नेपालीको बलिदानपछि नेपालमा बहुधार्मिक, बहुभाषिक, बहुसांस्कृतिक वातावरणको सृजना भएर नेपालका सम्पूर्ण समुदायहरूले एकअर्काको अधिकारलाई सम्मान गर्ने तथा समानता र सामाजिक न्यायको अनुभूति गर्न पाउने अवस्था आएको छ। यो बलियो जग हो जसमाथि टेकेर एउटा समावेशी राष्ट्रको निर्माण गर्दै यसलाई प्रगतितर्फ डोर्‍याउने र नेपालबाट गरिबी उन्मूलन गर्दै समृद्धितर्फ लैजाने अवसर छ। यो अवसरलाई मास्न खोज्ने तत्व राष्ट्रको अहित चाहने राष्ट्रविरोधी तत्व हुन्।

उनीहरूले चाहेको जस्तो द्वन्द्व फैलिंदै गयो भने नेपालको लागि भयावह स्थिति आउने कुरामा कुनै शंका छैन। विगतमा विभिन्न द्वन्द्व सहेर यो अवस्थासम्म आइपुगेको नेपाल र यस नागरिकका लागि यो अवस्था घातक हुनेछ। प्रगतिको मामलामा आफ्नो छिमेकीहरू भन्दा पिछडिएको यो देश झन् पछाडि पर्दै जानेछ जसको नतिजा हामी सबैलाई भोग्नुपर्नेछ।

हाम्रो आउँदो पुस्ताको भविष्य धरापमा पर्नेछ। यो देशमा हाम्रा घरहरू आपसमा जोडिएका छन्। कुनै एउटा घरमा लागेको आगो हाम्रो घरसम्म पनि निश्चित तवरमा आइपुग्नेछ। तसर्थ हामी सबै मिलेर यो द्वन्द्वलाई समाधान गर्नुपर्छ। एकअर्कासित संवाद गरेर हाम्रो बीचमा अरुले खनिदिएको अविश्वासको खाडललाई पुर्नुपर्छ। हाम्रो देशमा आगो लगाएर आफ्नो स्वार्थको रोटी सेक्न चाहने साम्प्रदायिक तत्व विरुद्ध मिलेर लड्नुपर्छ।

प्रगतिको मार्गमा हातेमालो गर्दै अगाडि बढ्नुपर्छ। मिलेर सहअस्तित्वको वातावरण तयार गर्नुपर्छ। कुनै अर्कै देश, अर्कै परिवेशको फोहोरी राजनीतिको शिकार बन्नबाट हाम्रो देश तथा यसका नागरिकलाई जोगाउनुपर्छ। गलत विरुद्ध बोल्नुपर्छ। यो देश हाम्रो हो। यसको रक्षा गर्नु हाम्रो संयुक्त दायित्व हो।

(लेखक दुई दशकदेखि इस्लाम र मुस्लिमबारे अध्यन गरिरहेका सामाजिक अभियन्ता हुन्।)

 



from Online Khabar https://ift.tt/sRHSiba

No comments:

Post a Comment