मलाई लाग्छ, कुनै पनि पात्र, चरित्रले आफूले आफैंलाई व्यक्त गर्न अथवा कथाको मर्म-मर्कालाई न्यायोचितसँग अभिव्यक्त गर्न सबैभन्दा महत्त्वपूर्ण भूमिका, तिनीहरूले टेकिरहेको भूगोल र त्यहाँ बगिरहेको हावाले खेलेको हुन्छ, चाहे त्यो सिनेमामा होस् या उपन्यासमा।
भूगोल यस अर्थमा पनि हो, किनभने माटोसँगै जोडिएर आउँछ, त्यहाँ रोपिएको संस्कार। त्यहाँ फूलेको, फलेको जनजीवन । जसको एउटा राम्रो उदाहरण मान्न सकिन्छ, नवीन सुब्बाको फिल्म ‘गाउँ आएको बाटो’लाई। पूर्वको विकट भोजपुरमा खिचिएको उक्त फिल्मले त्यहाँ बसोबास गर्ने जाति, उनीहरूले अँगाल्ने पेशा, मान्ने धर्म, पछ्याउने परम्परालाई केही हदसम्म विभिन्न माध्यमहरूबाट देखाउने कोसिस गरेको छ। कुनै पनि माटोको कथालाई विश्वसनीय रूपमा कहन पात्रहरूले बोल्ने भाषा, शैली, लगाउने पहिरन, साजसज्जा, उनीहरू बस्ने घरगोठ, प्रयोग गरिने समानहरूले धेरै हदसम्म सहयोग पुर्याएका हुन्छन् ।
अर्को कुरा हो- समयरेखा । फिल्मले बोकेको व्यथा र पात्रहरूको मनोदशालाई चित्रण गर्न कालखण्डले झनै योगदान पुर्याएको हुन्छ। ‘समय’ फिल्मको सबैभन्दा महत्वपूर्ण पात्र भन्दा फरक नपर्ला। ‘गाउँ आएको बाटो’को कथा र त्यसले उठाएको मुद्दा गज्जबको छ। तर, फिल्मलाई मिहिन ढङ्गले केलाउने हो भने, त्यहाँ रहेका स-साना डिटेलिङ्गहरू (अप्पो मोबाइल र बर्डबाइजरको विज्ञापन, डिस होम, एलईडी टिभी, ‘बचपनका प्यार’ गीत, एउटा भाले बेच्न धरान बजार नै झर्नुपर्ने अवस्था, रिलबाट फोटो धुलाउने प्रसंग, मोजाको भुकुण्डो बनाएर खेलेको दृश्य, बसको पछाडि टाँसिएको फ्रि-वाईफाई आदि इत्यादिको तालमेल) ले गर्दा कथा कुन समयमा बाँचिरहेको छ, हामी दर्शकहरूलाई पहिल्याउन गाह्रो पर्छ। भन्नैपर्छ, यसमा निर्देशक चुकेकै हुन्।
फिल्म कुन समयरेखामा बगिरहेको छ, त्यो मात्रै नभएर, कथा कुन ऋतु याममा पौडिरहेको छ, त्यो देखाउन पनि आवश्यक छ। हामी सिनेमामा अक्सर कथा पात्रहरूको उतारचढावमै अल्झिने गर्छौं। फिल्मले कति अन्तरालभित्रको काललाई परावर्तन गरिरहेको छ, हामीलाई त्यसको ज्ञान हुनुपर्छ। समय यस्तो दर्पण हो, जसले कुनै पनि पात्रहरूको अन्तरद्वन्द्व र मनस्थितिलाई मात्रै नभएर सो पात्र बाँचिरहेको समाज– प्रकृतिलाई पनि स्पष्ट रूपमा देखाउन सक्छ। जसले गर्दा हामी कथालाई गहिरोसँग अनुभूत गर्न सक्छौं। तिनीहरूसँग जोडिन सक्छौं।
यसमा कुनै आशंका छैन, समय र प्रकृतिलाई सबैभन्दा राम्रोसँग वृत्तचित्र बनाउनेहरूले देखाउन सक्छन्। म केही समययता हिमालका कथाहरूलाई खोजिरहेको छु। त्यही क्रममा थुप्रै व्यावसायिक फिल्म तथा डकुमेन्ट्रीहरू बनाएका मुस्तफा कराको फिल्म ‘कोल्ड अफ कलन्दर’ हेर्न पुगें। उक्त फिल्म २०१७ मा टर्कीबाट ओस्कारका लागि पठाइएको थियो। फिल्मले प्रकृतिको कोखमा बसिरहेको बाँचिरहेको एउटा गरिब परिवारको कहानीलाई देखाउँछ।
जीवन र जगतलाई एकदमै सूक्ष्म तरिकाले नियाल्न थालेको टर्किस सिनेमाले त्यति धेरै समय भइसकेको छैन भन्दा फरक नपर्ला। टर्किस सिनेमा अर्थात् ‘यसिलक्याम’ जसलाई विश्वभर ‘ग्रिन पाइन’ भनेर पनि चिनिन्छ। ‘यसिलक्याम’ नाम ‘इस्तानबुल’को ‘यसिलक्याम स्ट्रिट’बाट लिइएको हो, जहाँ कुनै समय थुप्रै फिल्म मेकर, कलाकार, फिल्म स्टुडियोहरू रहेका थिए। साठीको दशकमा उत्कर्षमा पुगेको टर्किस सिनेमा नब्बेको दशक आइसक्दा मरणासन्न अवस्थामा पुगिसकेको थियो। त्यसैले भन्न मनासिब रहला, टर्किस सिनेमाले विश्व सिनेमा बजारमा पुनरागमन गरेको धेरै भएको छैन।
यही कम अन्तरालमा थुप्रै कलात्मक सिनेमाहरू बने, जसले टर्किस सिनेमालाई एक प्रकारले मलजल दिने काम गरे। भिडियो गेम तथा विदेशी फिल्महरूको बढ्दो लोकप्रियताको बीचमा टर्कीका केही फिल्म मेकरहरूले हिम्मत देखाउँदै आफू उभिइरहेको धरातलको कथालाई इमानदारीपूर्वक बनाए र देखाए। उनीहरूलाई आफ्नै माटो र हावाले बचाए भन्दा फरक नपर्ला। त्यही भीडमा ‘कोल्ड अफ कलन्दर’ विशिष्ट स्थानमा उभिएको छ, जो पन्ध्र वर्षयताकै पहिलो टर्किस फिल्म बन्न पुग्यो नुरी बिल्गे सिलानको फिल्म ‘क्लाउड्स अफ मे’ पछि एनजर्स युरोपियन फस्ट फिल्म फेस्टिभलमा सम्मानित हुने।
‘ब्ल्याक सी’को किनारमा अवस्थित ‘ट्रयाप्जोन भेग’मा रहेको ‘मक्का’ गाउँमा कोरिएको छ, ‘कोल्ड अफ कलन्दर’को क्यानभास, जहाँ पाँच सदस्यको एक परिवार प्रकृतिलाई चुनौती दिंदै आफ्नो भाग्य विरुद्ध बाँच्ने कोशिश गरिरहेको छ। उक्त परिवारलाई भारी ऋणले च्यापेको छ। परिवारको मुख्य सदस्य मेहमेट, पहाड कोतर्न जान्छ, खनिज तथा अन्य कच्चा धातुहरू (विशेष गरेर सुनको ढुङ्गा) खोज्न। त्यो काम उसको पेशा भन्दा पनि रुचि हो। यसरी पहाडको जरा खोतल्न जाँदा ऊ आफ्ना दुई छोरा, (कान्छा छोरा डाउन सिन्ड्रोमबाट ग्रस्त) स्वास्नी र वृद्ध आमालाई बिर्सेर घरबाट कैयौं दिनसम्म पहाडकै गुफामा बस्ने गर्छ। त्यसैले घर-व्यवहार उसकी स्वास्नी हानेफले जेनतेन (गाईवस्तु बेचेर) चलाइरहेकी छिन्।
बाल्यावस्थामा हुँदा निर्देशक ‘करा’ले केही आयु आफ्नो गाउँमा बाँचेका थिए। त्यही बेला उनले गाउँमा एउटा यस्ता पात्र देखे–भेटेका थिए, जो खनिज खोज्न पहाड उक्लिन्थे, एक्लै। ऊ कैयौं दिनसम्म हराउँथ्यो। करालाई त्यो मनुवा रहस्यले भरिएको लाग्थ्यो। केही उमेर कराले गाउँकै खानीलाई पनि दिए। उनलाई त्यस किसिमको वायुमण्डल, पात्र र स्थानले त्यही समयबाटै एक प्रकारले प्रेरित गरिरहेका थिए। ती तत्वहरूले उनलाई सम्मोहनमा बाँधिरहेका थिए। त्यसैले उनी त्यस्तै क्यानभासमा आफ्नो मस्तिष्कमा छापिएको चित्र पोत्न चाहन्थे। र बनाए, ‘कोल्ड अफ कलन्दर’। तर, त्यस्तो ठाउँ परिवेश रोज्नुको कारण उनको अतीतसँग गाँसिएको भावना र भावुकता मात्रै थिएन। उनी पात्रहरूको दशा–दुर्दशालाई जीवन्त तरिकाले चित्रण गर्न चाहन्थे, प्रकृतिले बदलिरहने रूपहरूबाट। ‘कोल्ड अफ कलन्दर’ प्रदर्शनमा आउँदा उनले सानो छँदा गाउँमा देखेको त्यो रहस्यमयी व्यक्ति जीवित नै थियो, असी वर्षको उमेर लिएर बाँचिरहेको।
करा सफल पनि भएका छन्, आफ्ना पात्रका अव्यक्त मनोभाव र विचारहरूलाई स्पष्टसँग कोर्न। उनीहरूको व्याकुलता, अहमता, आक्रोश हरेक प्रकारका संवेदनाहरूलाई निर्देशकले पोतेका छन्, बतासले लखेटिरहेको हुस्सुमा, चुल्होमा भर्भराउने आगोका लप्काहरूमा, धुवाँ–कसबाट पुत्पुताइरहने धुवाँका लहराहरूमा, फुसुसु गर्दै कपास जसरी झर्ने हिउँका त्यान्द्राहरूमा।
‘कोल्ड अफ कलन्दर’ प्रकृतिमा कोरिएको एउटा दुर्बोध तर निकै नै यथार्थ चित्र हो। वृद्ध आमाको आशा, भरोसा होस् या आमाको आक्रोश र गुनासो। छोराहरूको उत्साह, सपना होस् अथवा बुबाको महत्वाकांक्षी र जिद्दी, हामी उनीहरूका हरेक संवेदनाहरूलाई स्पर्श गर्न सक्छौं
फिल्मले मेहमेटको परिवारको दैनिकीलाई देखाउँछ, जो पहाडको काखमा गोठ जस्तै थोत्रो झुपडीमा बाँच्न बाध्य छ, विना बिजुली र खानेपानी। उक्त झुपडीलाई उसको परिवारले अनुभव गरेका आर्थिक कठिनाइहरूको सरल अभिव्यक्ति मान्न सकिन्छ। ऊभित्र एक प्रकारको अंहकार छ, जसले हामी मानव प्रवृत्तिलाई प्रतिबिम्बित गर्ने काम गरेको छ। परिवारको आवश्यकता र दरिद्रतालाई ऊ बेलाबखत नजरअन्दाज गरिदिन्छ। उसलाई आफ्नै रहरहरूको पछि लाग्नुछ। त्यहाँबाट भएको आर्जनले ऊ छोराको उपचार गर्न चाहन्छ, पक्का घर बनाउन चाहन्छ, गाईवस्तुहरू किन्न चाहन्छ, ऋण तिर्न चाहन्छ, परिवार पाल्न चाहन्छ। त्यसैले ऊ परिवारको गुनासो र चिन्तालाई पनि बेवास्ता गरिदिन्छ। मेहमेट र उसको परिवार बस्ने क्षेत्र सुन, चाँदी र तामाको भण्डारमा धनी छ। खानी यस क्षेत्रका मान्छेको जीविकोपार्जनमध्ये एक हो। त्यसले त्यहाँको सामाजिक संरचनालाई आकार दिएको छ। हरेक गर्मी याममा खुल्ने खानीमा दैनिक मजदुरीको काम गर्नु भन्ने स्वास्नीको सुझावलाई मेहमेट किनारा लगाइदिन्छ। ऊ हरेकपटक आफूभित्रको इन्द्रेणीलाई पछ्याउँदै नाङ्गो पहाडहरूमा उक्लिने निहुँ र बहानाहरू खोजिरहन्छ। ऊ सजिलै आफ्ना रहरहरूलाई त्याग्न सक्दैन। त्यही छ, अर्को पात्र छिमेकी पनि, जो रहरहरूलाई (भेडा-बाख्रा) पालेर बसिरहेको छ, ब्वाँसोहरूको बीचमा। सुविधा खोजेर शहरबजार छिरेका सन्तानहरूले उसलाई बोलाउँदा पनि जाँदैन। रहरले हामीलाई गुलाम बाहेक अरू के बनाउँछ ?
मेहमेटले तीन वर्षयता पहाडमा त्यस्तो बहुमूल्य केही पाइरहेको छैन। तर, पनि खन्ती र हतौडा लिएर कहिले हुस्सुमा पौडिंदै, कहिले पानीमा रूझ्दै, कहिले हिउँमा गाडिंदै पहाड–पहाड उफ्रिरहन्छ। ऊभित्रको अहमतालाई पुरूषत्व भावको एउटा लक्षण मान्न सकिन्छ। त्यही जोशका कारण ऊ व्यवस्था र समाजको अस्थायी व्यक्तिमा परिणत हुन्छ। ऊ परिवारसँग रहेर, उनीहरूलाई सहयोग गरेर, दैनिक ज्याला मजदुरी गरेर एक आदर्श पिता, बुबा, अथवा छोरा हुनसकिरहेको छैन। ऊ गर्मी यामभरि आफ्ना रहरहरूको जरा खोतलिरहन्छ। जब चिसो बतासले हिउँदलाई लिएर आउँछ, ऊ घर फर्किन्छ, निराश र रित्तो भएर। तर, ऊ हार मान्न तयार हुँदैन। मौसम परिवर्तन हुन थालेपछि परिवारलाई भने गाईवस्तुका लागि घाँस, पराल, बाल्नको निमित्त दाउरा भण्डारण गर्न हतारो हुन्छ। हानिफले समाजको दृष्टिकोणबाट आफ्नै नजरमा मेहमेटको मूल्य निर्धारण गरेकी छिन्। आफ्नो लोग्नेको व्यवहारले उनी आजित–लज्जित भइसकेकी छिन्। त्यसैले उनी आफ्नो परिवार कहाँ फर्केर जान पनि सक्दिनन्। घरको खम्बा बलियो भएन भने घर ढल्दै जान्छ, त्यसरी नै घरको मूल मान्छेको लापरवाहीको कारण परिवारले समाजमा आफ्नो स्थान र सम्मान गुमाउँदै जान्छ। मेहमेटको परिवारको अवस्था पनि त्यही छ।
समुद्री सतहबाट लगभग तीन हजारको उँचाइभन्दा माथि र प्रकृतिले बेलाबेला परिवर्तन गरिरहने आफ्नो रूपले गर्दा निर्देशक करालाई फिल्म खिच्न निकै सकस भएको थियो। कतिपय दृश्यहरू क्यामराको फ्रेममा कैद गर्न उनले महिनौं कुर्नुपर्थ्यो। उनी आधुनिकतामा उभिएको कंक्रिट शहर र प्रकृतिको विराटतामा जीवनयापन गर्नेहरू बीचको फरक–फरक संघर्षलाई देखाउन चाहन्थे। सुरुमा जब उनको मस्तिष्कमा फिल्मको आइडिया रोपियो, पटकथाका लागि उनी आफ्ना युनिभर्सिटीका प्रोफेसर बिलाल सर्ट कहाँ गए, जसले उनलाई भिजुअल आर्ट एन्ड साइन्स (फिल्म, टिभी र रेडियो) पढाएका थिए। पछि दुवैले मिलेर फिल्मको स्क्रिप्ट तयार पारे। २०१० मा सो स्क्रिप्ट इस्तानबुल फिल्म फेस्टिभलको स्टोरी वर्कसपमा छानियो। त्यहाँबाट उक्त प्रोजेक्टमा थुप्रै संस्थाहरू जोडिन पुगे। फिल्मको छायाङ्कन भने २०१३ बाट मात्र सुरू हुनगयो।
समयको विभिन्न अनुहार र चक्रलाई कैद गर्न उनले ‘कोल्ड अफ कलन्दर’लाई वर्षौँभरि खिचे। उनले मेहमेट पात्रको निमित्त चालीसदेखि पचास वर्षभित्रका लगभग साठीभन्दा बढी कलाकारका अन्तर्वार्ता अडिसन लिए। तर, उनी सन्तोष हुन सकिरहेका थिएनन्। र अन्तिममा पुगे, आफ्नो अर्को गुरू ह्यदर सिस्मन कहाँ, जसले उनलाई कुनै समय प्रारम्भिक तहमा पढाएका थिए। र उनै ह्यदर सिस्मन मेहमेट बने, जसले यही फिल्मबाट ‘Antalya Film Festival’ मा उत्कृष्ट अभिनेताको अवार्ड थापे।
फिल्मले ‘ट्रयाप्जोन’ भेगको प्राकृतिक अवस्था मात्रै देखाएको छैन, त्यसले त्यहाँको परम्परा र इतिहासलाई पनि बुझाएको छ।
कलन्दर नाम ल्याटिन शब्द ‘क्यालेन्डर’ बाट आएको विश्वास छ। हरेक ‘कलन्दर नाइट’ मा ‘ट्रयाप्जोन’ भेगका मान्छेहरूले नयाँ वर्षलाई स्वागत गर्छन्, आफ्नै परम्परालाई पछ्याउँदै। इतिहास पल्टाउने हो भने थाहा पाइन्छ, कुनै समय त्यस भू-भागमा ग्रिकहरू बस्ने गर्थे। उनीहरूले त्यहाँ घरहरू, गिर्जाघर, विहार बनाएर बस्ती बसाए। तर, पछि सरकारले सबै भत्काइदिए, जलाइदिए। युद्धले गर्दा ग्रिकहरू सबै त्यहाँबाट पलायन हुन बाध्य भए। उनीहरूले रोपेका परम्परालाई आफ्नै रङ्ग र ढङ्गमा घोलेर टर्किसहरूले अहिले पनि हरेक वर्ष कलन्दर नाइट मनाउने गर्छन्। एकातिर प्रकृति र अर्कातिर प्राचीन लोक विश्वास र संस्कृतिसँगको सम्बन्धमा शताब्दीयौंदेखि चल्दै आएको कलन्दर पर्वले नयाँ वर्षमा प्रवेश गर्दा मान्छेहरूको सुख, समृद्धि, प्रचुरता र संस्कृतिको अपेक्षालाई मुख्य जोड दिने गर्छ। उक्त उत्सवमा युवायुवती, बालबालिकाहरू अनेक पहिरनमा सजिएर घर–घरमा घुम्ने गर्छन्। उनीहरूलाई घरधनीले फलफूल, मिठाई तथा अन्य उपहारहरू दिएर बिदाई गर्न गर्छन्। त्यस रातसँग थुप्रै लोककथाहरू बाँधिएका छन्, जसमध्ये एउटा ‘मेहमेट’की आमाले आफ्ना नातिहरूलाई सुनाउँछिन्, सुत्ने बेलामा।
‘कोल्ड अफ कलन्दर’को सबैभन्दा ठूलो र सुन्दर बिम्ब हो, प्रकृति। प्रकतिले सुन्दरता र खतरा दुवैको अर्थ राख्छ। मान्छेहरूले बाँच्ने कला–कौशल प्रकृतिसँगै सिक्ने गर्छन्। हिउँदमा ब्वाँसोहरूले आफ्नो आहारालाई हिउँभित्र गाडेर राख्ने गर्छन्। मान्छेहरूले पनि आफ्ना खाना जमिनमुनि गाडेर राख्छन्। मेहमेटको परिवारले पनि खाना त्यसरी नै भण्डारण गर्छन्। हिउँदमा गाउँलेहरूले भेडा–बाख्रा लेकबाट तल झार्छन्। गर्मीमा, तिनीहरूलाई पठारतिर पठाइन्छन्। ग्रामीण भेग, कठोर मौसम र त्यहाँ बाँचिरहेको जीवनको अवस्थाले कथालाई झन् धेरै यथार्थता र अर्थपूर्ण बनाएको छ।
‘ट्रयाप्जोन’को अर्को मुख्य आकर्षण हो, त्यहाँको स्थानीय परम्परा, गोरू जुधाई– जुन मुस्तफा कराले फिल्ममा पनि समावेश गराएका छन्, कथालाई अर्को कोण दिन।
स्वास्नीको लगातारको घोचाइ र लज्जित भइसकेको मेहमेटले अब नयाँ रहर जन्माएको छ, गोरु जुधाई प्रतियोगितामा आफ्नो गोरु जुधाउने। त्यहाँबाट जितेको धनराशिले आफ्ना रहरहरू पूरा गर्ने। सुरूमा स्वास्नी हानिफले कडा आपत्ति जनाउँछिन्। तर, उनलाई लोग्नेको आँसुले पगाल्छ र अन्तत: उनी राजी हुन्छिन्, उसको फैसलामा। यसरी मेहमेट आफ्नो जिद्दीलाई जिताउन पितृसत्तात्मक संस्कृतिको अवधारणा ‘पुरूषहरू कहिल्यै रूँदैनन्’ लाई पनि पाखा लगाइदिन्छ।
टर्कीको इतिहास, त्यहाँका पौराणिक कथा, गाथाहरूमा साथै जीवन र विश्वास प्रणालीमा जनावरहरूलाई महत्त्वपूर्ण प्रतीकका रूपमा मानिन्छ। टर्कीका मान्छेहरूसँग जीवनका प्रत्येक अवधिमा जनावरहरूको सम्बन्ध निकै बाक्लो र घनिष्ठ रहेको छ। त्यहाँ मान्छेहरूले जनावरहरूलाई कर्तव्य र शक्तिको पवित्र बिम्बका रूपमा श्रेय दिने गर्छन्। त्यसैले उनीहरूले जनावरहरूलाई आफ्ना जीवन, लोक कथाहरू, ग्रन्थ महाकाव्यहरूमा समावेश गराएका छन्। पुरातन टर्की संस्कृतिमा गोरुलाई युद्धको देवता भनेर पुजिन्छ। तिनीहरूलाई शक्ति र बहादुरीको प्रतीक मानिन्छ। गोरुको शक्ति सार्वभौमसत्तासँग गाँसिएको छ। उदाहरणका लागि फिल्मको एउटा दृश्यमा गोरू जुधाईको चर्चा चल्छ, जहाँ एक पात्रले गोरू र गोरू जुधाईको सम्बन्धलाई यसरी परिभाषित गर्छन्- ‘यो पेशा मैले पैसाको लागि गरेको होइन, यो एउटा रोग हो, मेरो बुबादेखि सर्दै आएको रोग।’ यो अभिव्यक्तिले जनाउँछ, गोरु जुधाईले मर्दानी र शक्तिको भरपूर अर्थ राख्छ। विरासतमा प्राप्त यो परम्पराले, परिवार र समाजमा पितृसत्तात्मक संरचनालाई निरन्तरता दिने काम गर्छ। यस्तो लाग्छ, जुधिरहेको गोरु होइन, पुरुषत्व र पुरुषको शक्ति जुधिरहेको हो।
आफ्नो पुरुषत्व प्रमाणित गर्न मेहमेट एकदमै मिहिनेत र लगनशीलताका साथ प्रतिस्पर्धाको लागि आफ्नो गोरुलाई प्रशिक्षण दिन थाल्छ। उसको लागि त्यो प्रतिस्पर्धा जसरी पनि जित्न आवश्यक छ, आफ्नो पुरुषत्व र आत्मसम्मान पुन: प्राप्त गर्न। त्यसैले यो सम्भवत: उसको अन्तिम मौका हो, पुनरुत्थानको। तर, योसँगै जोडिएको छ, उसको पतन पनि। बुबासँगै बजार जान पाउने खुसीले दुई छोराहरू चिप्लेकीरा खोज्न थाल्छन्, बेच्नको लागि (बजारका मान्छेहरूले चिप्लेकीरालाई उसिनेर खाने गर्छन्)। हानिफको अनुहारमा पनि बेग्लै उत्साह देखिन थाल्छ। वृद्ध आमा आफ्नो गोरुको जित होस् भन्ने कामना बोकेर बस्न थाल्छिन्। आफ्नो गोरु जुधिरहेको बेला मेहमेटको मनोवैज्ञानिक अवस्था उसको अनुहारमा कोरिएको चिन्ताबाट स्पष्टसँग देखिन्छ। उसको गोरु हार्छ भने ऊ पुन: त्यही गहिरो गरिबी र भावनात्मक अवसादमा फर्किनेछ। प्रतियोगितामा उनीहरूको गोरु हार्छ। मेहमेट दु:खी हुन्छ। ऊ फेरि एकपटक जीवनबाट पराजित हुन्छ। उसको अनुहारमा निराशाभन्दा ज्यादा ‘अब मैले स्वास्नीको हरेक आदेश र फैसलालाई स्वीकार गर्नुपर्छ। समाजका नियमहरूमा बाँधिएर बाँच्नुपर्छ’ भन्ने भाव झल्किन्छ।
हारले परिवारका सबै सदस्यहरू निराश हुन्छन्। उनीहरूभित्र आकार लिइरहेका सपनाहरू पुन: भत्किन्छन्। फिल्ममा पहिलोपल्ट उनीहरूको कान्छो छोरा मुस्तफा रून्छ। तर, उसको आँसुलाई झरीले पखालिदिन्छ। पराजयले उसको अबोध मानसिकतामा जरा गाड्न थाल्छ। फिल्मभरि मौन रहेको उसको आक्रोशले सायद अर्को दिन परिणाम पाउँछ। एकाएक गोठबाट उनीहरूको त्यो गोरु फिल्मको अन्त्य र मेहमेटको परिवारको भाग्यलाई लिएर कतै हराउँछ। दुई छोराहरूले भाँडोमा जम्मा पारेर राखेका चिप्लेकीराहरू सबै छरिएका हुन्छन्। तिनीहरूले मेहमेटको झुपडीलाई पूरै ढाकेका हुन्छन्।
परिवारका सबै सदस्यहरू गोरु खोज्न निस्किन्छन्, कान्छो छोरा मुस्तफालाई घरमै छाडेर। झरीपछि मात्रै देखिने चिप्लेकीराले फिल्ममा महत्वपूर्ण बिम्बलाई आफ्नो खपटाभित्र लुकाएर हिंडिरहेको हुन्छ। चिप्लेकीरा अर्थात् संयम र सफलता। सुरक्षा र शरण। सुस्त र शुभ। कताकता यिनै तत्वहरूले फिल्मलाई राम्रोसँग परिभाषित गरेका छन्।
‘कोल्ड अफ कलन्दर’ले मान्छे, प्रकृति र जनावरको सम्बन्धलाई व्याख्या गरेको छ। पहाडहरूको दर्शनीय परिदृश्य यस फिल्मको पृष्ठभूमि अथवा क्यानभास मात्रै होइन, तिनीहरू कथाका जरा हुन्, जसले पूरै कथानकलाई आफ्नो हत्केलामा अड्याएका छन्। फिल्मले प्रकृतिको विभिन्न रूपलाई देखाएको छ, सुन्दर, सुखद्, सौम्य, कठोर, नग्न, भयानक। यस फिल्मका दुई प्रतिभाशाली सिनेम्याटोग्राफरहरू, सेवाहिर साहिन र कुर्सात उरेसिनका आँखाले माटो र मौसमका हरेक मूडलाई कैद गरेका छन्, मनमोहक तरिकाले। उनीहरूले खिचेका हरेक दृश्यहरूले भुतुक्कै पार्छन्। ती दृश्यहरूले पात्रहरूको मौनतालाई आवाज दिने काम गरेका छन्।
फिल्मका पात्रहरूलाई प्रकृतिले जोडेका छन्। प्रकृतिलाई समयले डोर्याइरहेको छ। समयले यथार्थ बोकेको एउटा सुन्दर र करूणादायी कथा कहेको छ। कथाले इन्द्रेणीलाई पछ्याउँदै रहरको जरा खन्नेहरूको व्यथा भन्छ। फिल्मको अन्त्य मेहमेटको निमित्त एउटा परीक्षा हो। उसको परिवारको निमित्त कर्मको प्रतिफल पनि हो।
‘कोल्ड अफ कलन्दर’ प्रकृतिमा कोरिएको एउटा दुर्बोध तर निकै नै यथार्थ चित्र हो। वृद्ध आमाको आशा, भरोसा होस् या आमाको आक्रोश र गुनासो। छोराहरूको उत्साह, सपना होस् अथवा बुबाको महत्वाकांक्षी र जिद्दी, हामी उनीहरूका हरेक संवेदनाहरूलाई स्पर्श गर्न सक्छौं। समय र स्थानको जस्तोसुकै बदलिंदो अनुहार होस् या अवस्था, त्यहाँका विवशता, कठोरता, सुन्दरता सबै प्रकारका आयामलाई हामी अनुभूत गर्न सक्छौं। ‘कोल्ड अफ कलन्दर’ प्रकृति, मान्छे र जनावर बीचको यस्तो प्रेम कहानी हो, जो पारदर्शी र निष्कपट छ। लाग्छ, फिल्म होइन जीवन हो।
आफ्नो अनुहार ट्रान्सप्लान्ट गर्न चाहने एक महिलाको कथा लिएर चाँडै आउँदैछन्, निर्देशक मुस्तफा करा फेरि। म उनको उक्त कृति पढ्न अधीर छु।
from Online Khabar https://ift.tt/zQEAf16