Monday, July 15, 2024

रुकुमपश्चिममा बाढीपहिरो : एक जनाको मृत्यु, ३ जना घरभित्रै च्यापिए

१ साउन, काठमाडौं । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको भिमचौरमा बाढी–पहिरोले दुईवटा घर र एउटा टहरा बगाउँदा कम्तिमा एक जनाको मृत्यु भएको छ । तीन जना घरभित्रै च्यापिएका छन् । घरभित्रै च्यापिएकाहरुको अवस्था थाहा हुन सकेको छैन ।

गएराति गिजा खोलामा आएको बाढीको चपेटामा उनीहरु परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक बखत शाहीले दिएको जानकारी अनुसार घटनामा एक जनाको मृत्यु भएको पुष्टि भएको छ । मृतकको सनाखत भने भइसकेको छैन ।

‘एक जनाको शव बाहिरै फेला परेको छ । अरु तीन जना घरले च्यापिएको अवस्थामा छन् । उनीहरुको अवस्था थाहा हुन सकेको छैन,’ प्रहरी निरीक्षक शाहीले अनलाइनखबरसँग भने ।

उनका अनुसार बाढीपहिरोमा परी केही घाइते भएका छन् । घाइतेहरुलाई स्थानीयले राति नै उद्धार गरेर अस्पताल पठाएका थिए ।

आज बिहान प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त, प्रहरी प्रमुख नवराज पोख्रेल सहित जिल्ला विपद व्यवस्थापनको टोली उद्धारका लागि घटनास्थल पुगेको छ ।

आठबिसकोट नगरपालिकाकै वडा नम्बर १२ मा पनि बाढी–पहिरोले केही घरमा क्षति पुर्‍याएको प्रारम्भिक सूचना आएको छ । वडा नम्बर १२ को बगर नजिक रहेका तातोपानी खोला र झिन्चौर खोलामा आएको बाढीले क्षति पुर्‍याएको भनिए पनि विस्तृत विवरण आउन सकेको छैन ।

आठबिसकोट नगरपालिका वडा नम्बर ११ स्थित धुर्सेनी बस्ती पनि शोभा खोलाको बाढीका कारण जोखिममा परेको स्थानीयले बताएका छन् ।

अविरल वर्षाले राडी–रिम्ना सडकखण्ड अन्तर्गत धुर्सेनी, बोझाबारी खोला, चिसापानी र भल्मा खोलामा आएको बाढीपहिरोले अवरुद्ध भएको सडक डोजरको सहायताले खुलाइएको थियो ।

 



from Online Khabar https://ift.tt/eJPMwln

No comments:

Post a Comment