Thursday, July 4, 2024

भ्रममुक्त भएर माओवादी नेतृत्वले अब हिंड्नुपर्ने बाटो

राजनीतिक शक्ति अंकगणितले मात्र होइन बीजगणितले समेत तय हुन्छ भन्ने मान्यता भुल्दा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुमर्‍याङमा पर्नुभएको छ । र, फत्तेमान राजभण्डारीले गाएको गीतको संयोगमा पर्नुभएको छ– ‘यस्तो पनि हुँदो रै’छ जिन्दगीमा कहिले–कहिले; कसैलाई माया गर्नु एउटा भूल गरें मैले … !’

खासमा आफ्नो पार्टीको ३२ अंकमा सधैं जादुमयी तरिकाले अरू अंक पनि जोडिने र नेपाल कम्युनिस्ट पार्टी एमालेको समर्थन निरन्तर रहने प्रधानमन्त्री प्रचण्डको विश्वासको धरातल नै कमजोर थियो । एमाले र नेपाली कांग्रेसमा कडा प्रतिद्वन्द्विता छ, यसै कारण उनीहरू मिल्नै सक्दैनन् भन्ने विश्वास एक हदसम्म ठिकै हो । तर, यिनको मूल मान्यता, कर्पोरेट र अन्तर्राष्ट्रिय प्रभावको स्वार्थ जुनसुकै बेला एकठाउँमा आउन सक्छ भन्ने सामान्य मार्क्सवादी विश्लेषण पनि प्रचण्ड र उहाँका सहयोगीहरूले किन हो भुल्नुभयो !

नेपाली कांग्रेस चिढिए एमालेको काँध चढ्छु, एमालेले विश्वास तोडे कांग्रेसको काँध चढ्छु भन्नेमा नै अध्यक्ष प्रचण्डको ध्यान गयो । उहाँ अहिले पनि संसद्को अंकगणितमा केन्द्रित हुनुहुन्छ । कांग्रेसलाई सत्ता समीकरणमा ल्याउन सकिन्छ कि भन्ने आशा राखिरहनुभएको छ । यो स्पष्ट देखिइसकेको छ कि उहाँको अंकगणितलाई बीजगणितले पाखा पारिसकेको छ ।

डेढ वर्ष बढीदेखि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेतृत्व गरेको वर्तमान सरकारलाई पछिल्लो समीकरणको मूल पार्टी एमालेले साथ नदिएपछि र ऊ नेपाली कांग्रेससँगको गठबन्धनमा गएपछि राजनीतिले नयाँ मोड लिएको छ । मुख्यतः कांग्रेस प्रारूप यो मोडले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाउने र समकालमा उपस्थित सुशासन लगायत कैयौं मुद्दालाई देखावटीमा मिलेर सल्ट्याउने भन्दै मूलतः ढाकछोप गर्ने उद्देश्य लिएको देखिन्छ ।

प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारका अनगिन्ती सन्दर्भलाई बास्केटमै राखेर खोज–अनुसन्धान गर्न निर्देशन गरेपछि र त्यसनिम्ति गृहमन्त्री रवि लामिछाने समेतले पहल बढाएपछि कांग्रेस–एमालेमा छटपटी सुरु भएको सतहमा देखिएको विषय हो । जबकि स्वयं रवि लामिछाने पनि सहकारी घोटालाको अनुसन्धान दायरामा हुनुहुन्छ भने माओवादी केन्द्रका नेताहरू समेत सुन लगायत अन्य प्रकरणमा मुछिनुभएको छ ।

नेपालीसँग करोडौं असुलेर गैरनागरिक बनाई भुटानी शरणार्थीका रूपमा अमेरिका पठाउने गिरोहका मूल नाइके बेचन झालाई प्रहरीले पक्राउ गरेपछिको सन्दर्भपछि नै राजनीतिक समीकरणले अलि तीव्रतामा नयाँ मोड लिएको हो । बेचनको नेपाल, भारत र अमेरिकामा समेत राम्रो सम्बन्ध भएको तथा खासगरी कांग्रेस सभापति परिवारसँगको सम्बन्धको सुइँको पाएपछि यसलाई टार्न नयाँ समीकरण भएको धेरैले महसुस गरेका छन्, जुन सामाजिक मिडियामा समेत छ्याप्छ्याप्ती आएका छन् । अहिलेको राजनीतिक समीकरणलाई तीव्रतामा ल्याउन यसले एक हदसम्म काम गरेकै हो तर मुख्य पक्ष यो होइन । मुख्य पक्ष त परिवर्तनको एजेन्डालाई विसर्जन गर्ने नै हो ।

कांग्रेस–एमालेले संविधान संशोधन सहित स्थिरताको नारा दिएर समीकरण गरेका छन् । हालका राजकीय संरचनाहरू भद्दा भए भन्नुको अर्थ तिनलाई अझै लोककल्याणकारी बनाएर पुनर्संरचना गर्नु हो । तर, माओवादी युद्ध र जनआन्दोलनले स्थापित गरेका संघीय एवम् समावेशिताका आधारभूत मर्ममा प्रहार गर्ने छाँट देखिंदैछ । राप्रपा जस्तो राजावादी शक्तिले समेत स्वागत गरिसकेको कांग्रेस–एमालेको संविधान संशोधन प्याकेजलाई वर्तमान संविधान विरुद्धको प्रतिगामी षड्यन्त्र भन्न मिल्ने ठाउँ प्रशस्त छ ।

माओवादी आन्दोलनले नेपाली राजनीतिमा स्थापित गरेका मुद्दाहरू अहिले पनि राजनीतिको केन्द्रमै छन् । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र विशेषतः समावेशी लोकतन्त्र कम्युनिस्टहरूका निम्ति मात्र होइन विश्वका तमाम अग्रगामी राजनीतिक शक्तिहरूको मूल मुद्दा बन्ने गरेको छ ।

यी मुद्दालाई व्यवहारमा अनुवाद गर्न नभई नहुने मूल्य र नैतिक आचरण भने माओवादी आन्दोलनले वा जनयुद्ध/जनआन्दोलनपछि सधैं वा प्रायःजसो सत्ताको केन्द्रमा भएको माओवादी केन्द्रले नै राख्नुपर्थ्यो ।

लोककल्याणकारी सामाजिक मुद्दालाई लागू गर्ने कार्यक्रम र योजना माओवादीले पेश गर्न सकेको भए आजका प्रतिद्वन्द्वी राजनीतिक शक्तिहरू प्रतिद्वन्द्विता गर्ने अवस्थामै हुने थिएनन् । माओवादीको नैतिक प्राधिकार गुम्दै जानुको मूल अर्थ के हो भने उसले आफ्ना राजनीतिक मुद्दा अनुकूलका रणनीतिक एवम् कार्यनीतिक कार्यक्रम र योजनाको प्राथमिकता बिर्सनु ।

जनतहबाट स्थापित भइसकेका मुद्दालाई प्रतिस्पर्धी राजनीतिक शक्तिले गिज्याउने वातावरण निर्माण हुनु माओवादी आन्दोलन–शक्तिको क्षय हो । माओवादीले सिद्धान्ततः आफ्ना एजेन्डा त त्यागेको छैन तर, आमजनताको तथा सिंगो देशको नेतृत्वकर्ता बन्नुपर्ने उसले कैयौं गैरमार्क्सवादी दृष्टिभ्रम राख्दा त्यसलाई पूँजीवादी संसारले खासै महत्व नदिएको अवस्था पनि जगजाहेर भइसकेको छ ।

माओवादीले दोहोर्‍याइरहने मुद्दाहरू पूँजीवादी संसारलाई काउसो सावित भएका छन् । माओवादी मुद्दाहरू कायम रहे भोलिको राजनीतिक शक्तिले समेत यिनै मुद्दा वरिपरि आफ्नो राजनीति केन्द्रित गर्न सक्छन् भन्ने त्रास पूँजीवादी शिविरमा छ ।

तिमी गाई, बाख्रा, सुँगुर पाल, हामी तस्कर र दलाल पाल्छौं भन्ने नेतृत्व संस्कृतिलाई अब धूलिसात् पार्नुपर्छ ।

त्यसैले अहिले नेपाली कांग्रेस र एमाले मार्फत यी मुद्दाको विसर्जन गर्ने अभिप्राय देखिंदैछ र यसले राजनीतिलाई ध्रुवीकृत गरेको छ । प्रचण्ड नेतृत्वको सरकारले यी मुद्दा बढार्ने दुष्कर्म रोक्ने सामथ्र्य राख्ला वा सरकार बाहिर भएको अवस्थामा यी मुद्दामा आन्दोलन गर्ला भन्नेमा कोही पनि श्रमवर्गीयहरू विश्वस्त छैनन् ।

सत्ता साझेदारीका नाममा कतिपय अनैतिक र कतिपय दुष्कार्यका कुण्डमा माओवादीहरू आफैं चोबलिएकै हुन् । तर, नेपालमा करिब संस्थागत नै भएको भ्रष्टाचार काण्डहरूको जरा माओवादी नेतृत्वकै शासनकालमा जनताले देख्न सक्ने गरी उदाङ्गियो ।

कांग्रेस, एमाले, कर्मचारी, व्यापारी र स्वयं माओवादीभित्रैका समेत छोप्नै नसकिने भ्रष्टाचारीको उजागर गर्नुको दण्ड माओवादी नेतृत्वको सरकारले पाउनैपर्छ भन्नेमा भ्रष्टाचारका संरक्षकहरू सहमत भएका जस्ता देखिन्छन् आज । त्यस आधारमै अहिले कांग्रेस–एमालेका वैयक्तिक सहमतिलाई राष्ट्रिय सरकारको साइनबोर्डद्वारा सजाउने क्रियाकलाप सुरु भएको छ ।

आफ्ना कमजोरी र सम्भावनाबारे गम्भीर र निर्मम आत्मसमीक्षा गर्ने साहस माओवादीको मूल नेतृत्वदेखि गाउँ–टोलसम्मका नेतृत्वले अब व्यवहारमै देखाउन सक्नुपर्छ । हरेक तहका नेतृत्वले आफ्नो सम्पत्ति विवरण कमसेकम पार्टी पंक्तिभित्र पारदर्शी ढंगले प्रस्तुत गर्न सक्नुपर्छ ।

पञ्च, कांग्रेस, एमालेको देखासिकी गरी माओवादी सम्बद्धले आर्जन गरेका अवैध सम्पत्ति पार्टीकरण र पार्टी मार्फत राष्ट्रियकरण गरिनुपर्छ । अतीतमा भएका वैचारिक, राजनीतिक, सांगठनिक, सैनिक र आर्थिक भूलहरू विना संकोच कबुल गरिनुपर्छ । भूलको प्रकृति अनुसार दण्ड भोग्न र प्रायश्चित गर्न तयार रहनुपर्छ । जघन्य अपराध बाहेकका गल्तीका निम्ति प्रायश्चितको व्यवस्था गरिनुपर्छ ।

जघन्य अपराध र अपराधीको मिसिललाई भने पार्टीले नै आवश्यकता अनुसार सरकार वा न्यायालयलाई सुम्पिनुपर्छ । सांगठनिक नीति निर्माणको कामलाई उच्च तहमा रहेका नेताको बपौती सम्झने रोगबाट मुक्त हुनुपर्छ । नीति निर्माणमा कार्यकर्ता र जनतालाई समेत सहभागी गराउनुपर्छ ।

पार्टीको तहबाट निर्वाचित विभिन्न निकायका पदाधिकारीले नवउदारवादी प्रणालीसँग सम्बन्धविच्छेद गर्दै समाजवादद्वारा निर्देशित नीति र कार्यक्रम लागू गर्ने भगीरथ प्रयत्न गर्नुपर्छ । तिमी गाई, बाख्रा, सुँगुर पाल, हामी तस्कर र दलाल पाल्छौं भन्ने नेतृत्व संस्कृतिलाई अब धूलिसात् पार्नुपर्छ ।



from Online Khabar https://ift.tt/ZKb2nAL

No comments:

Post a Comment