‘डा. साप, के उनको उपचार सम्भव छ ?’
सुनसरी चतराकी विमला काश्यपले मलाई सोधिन् । उनले फेसबुक म्यासेन्जरमा एक यस्तो भिडियो पठाएकी थिइन्, जो गर्भावस्थाको ठूलो जोखिममा छिन् । जटिल समस्याबाट गुज्रिरहेकी ती गर्भवतीको भिडियो देख्नासाथ मैले भनें, ‘उपचार सम्भव छ ।’
नैतिक र व्यावसायिक दुवै हिसाबले यस्तो जवाफ दिनुपरेको थियो मैले । किनभने म एक त प्रसूतिरोग विशेषज्ञ । मेरो काम नै सुरक्षित प्रसूतिका लागि सहयोग गर्नु हो । अर्को कुरा, म मान्छे हुँ । एउटा जटिल बिरामी, जो विपन्न छन् । उनको ज्यान बचाउनका लागि मलाई आफ्नो मानवीय भावनाले बढी झक्झकाउँछ ।
विमलाले भनेकी थिइन्, ‘उनलाई उपचार त चाहिएको छ, तर उनीसँग केही छैन ।’
‘केही छैन’ को अर्थ उपचारका लागि पैसा छैन । मैले जवाफमा भनें, ‘म आफ्नो तर्फबाट गर्ने काम निःशुल्क गरिदिन्छु । अस्पतालसँग पनि सहयोगका लागि आग्रह गर्नेछु ।’
बिहान सात बजेको हुँदो हो । हामीबीच यति नै संवाद भयो । जेठ महिनाको अन्तिम साता ।
रातको करिब साढे ९ बजेको हुँदो हो । म कार्यरत अस्पतालमा ती गर्भवतीलाई ल्याइयो । उनको अवस्था नाजुक थियो । राम्रोसँग बोल्न नसक्ने । हातखुट्टा, अनुहार सुन्निएको । रक्तचाप ह्वात्तै बढेको रहेछ । सामान्य परीक्षणबाट थाहा भयो, उनमा रक्तअल्पता छ ।
उनको यसअघि पनि शल्यक्रियाबाट प्रसूति गराइएको रहेछ । त्यो घाउ अझै ओभाएको थिएन, पाकेर त्यसबाट गन्ध आइरहेको थियो । उनको कुनै कुरुवा थिएन र सात महिनादेखि उनले नुहाएका रहेनछन् । समग्रमा उनको स्थिति त्यति सन्तोषजनक थिएन । कतिपय अवस्थामा संवेदनशील बिरामीलाई भर्ना गर्न र उपचार गर्न चिकित्सकहरु हच्किने गर्छन् । किनभने उपचारमा चिकित्सकले शतप्रतिशत प्रयास गरेपनि नतिजा सधैं सकारात्मक आउँछ भन्ने हुँदैन । यदि बिरामीको उपचार गरिरहँदा केही तलमाथि भयो भने त्यसको सम्पूर्ण दोष चिकित्सकलाई दिइन्छ । यसको प्रतिक्रिया के हुन्छ ? त्यो त तपाईं-हामीले देखे–भोगेका छौं । चिकित्सकमाथि हातपात गर्ने, अस्पताल तोडफोड गर्ने र क्षतिपूर्ति तिराउने प्रवृत्ति व्यापक छ ।
ती गर्भवतीले थुप्रै अस्पतालको चक्कर लगाउनु परेछ । सुरुमा भोजपुरको जिल्ला अस्पताल पुगिन्, त्यहाँबाट नभएपछि धरानको बीपी प्रतिष्ठान पुगिन् । त्यहाँबाट पनि नभएपछि उनी कोशी अस्पताल पुगिन् । यसरी अस्पतालको फन्को लगाइरहँदा उनीसँग भएभरको पैसा सकियो । पैसा सकियो त, ठीकै छ । उपचार पनि भएन । पैसा रित्याएर, पीडा ज्यूँका त्यूँ बोकेर उनी आजित भई घर फर्किइन् ।
त्यही अवस्थामा स्थानीय एक युट्युब च्यानलले उनको पीडा देखाइदिएपछि मान्छेहरुमा उनीप्रति चासो बढ्यो । उनको यो दुःख देखेर धेरैले सरकारलाई गाली गरे, जसले निमुखालाई सहज उपचार दिंदैन । कतिले उनका श्रीमानलाई गाली गरे, जसले आफ्नी श्रीमतीको उपचार गर्ने दायित्वबोध गरेकै छैनन् । जबकि श्रीमान सुस्त र बोल्न नसक्ने अवस्थाका रहेछन् ।
एकातिर भावना, अर्कोतिर चिकित्सा
कोशी हेल्थ कलेजका नर्सिङ प्रथम वर्षका विद्यार्थीहरु आधारभूत नर्सिङ केयर सिक्न अस्पताल आएका थिए । उनीहरुले नै ती गर्भवतीलाई नुहाइधुवाई गरिदिए । उनको दाँत माझ्ने, नङ काट्ने, लुगा फेर्ने सबै गरिदिए । यतिबेलासम्म उनको सम्पूर्ण परीक्षणको रिपोर्ट आयो ।
अब पहिलो काम उनको रक्तचाप नियन्त्रण गर्नु थियो । रक्तचाप नियन्त्रणका लागि औषधि सुरु गरियो । गर्भ रहेको मात्र ३२ हप्ता भएको थियो । यस्तो अवस्थामा बच्चाको शारीरिक विकास राम्ररी भइनसकेको हुनसक्छ । त्यसैले बच्चाको विकास र श्वासप्रश्वास प्रणाली सहज बनाउन औषधि प्रयोग गरियो । गर्भको अवधि केही लम्बाउन सकिन्छ कि भनेर तुरुन्तै शल्यक्रिया गरिएन ।
गर्भको अवधिमा हुने उच्च रक्तचाप र प्रोटिन युरिया (पिसाबबाट प्रोटिन खेर गएको अवस्था) ले उनको अवस्था जटिल भएको थियो । चिकित्सकीय भाषामा यसलाई ‘प्रि-इक्लेम्पसिया’ भनिन्छ । करिब ६ प्रतिशत गर्भवतीहरुमा यस किसिमको जटिलता आउने गरेको अध्ययनले देखाएको छ । यही कारण हरेक वर्ष करिब ५ लाख शिशु र ७० हजार भन्दा बढी गर्भवतीहरुको मृत्यु हुने गरेको विभिन्न प्रतिवेदनमा उल्लेख छ ।
नेपालमा २०७८ सालमा गरिएको मातृमृत्यु अध्ययन प्रतिवेदनले कुल मातृमृत्युको ११ प्रतिशत मृत्युको कारण यही ‘प्रि–ईक्लेम्पसिया’ रहेको देखाएको छ । यो तथ्यांकले नै उनको उपचार किन भोजपुरमा सम्भव भएन ? स्पष्ट छ । यस अवस्थामा आमा र बच्चा दुवैलाई खतरा हुन्छ ।
आमालाई आईसीयू र बच्चालाई एनआईसीयूमा राखेर उपचार गर्दागर्दै पनि बचाउन नसकिने अवस्था आउन सक्ने हुन्छ । औषधि, अक्सिजन र सघन कक्षको शुल्क बढी अर्थात् धेरै खर्च गरेर पनि ‘हात लाग्यो शून्य’ हुनसक्छ । यस्तो बिरामीलाई छुने भन्दा पनि रिफर गरिदिन नै ठीक ठान्छन् कतिपय चिकित्सक । तर मलाई त्यस्तो छुट थिएन । उनको उपचारसँग धेरैको भावना जोडिएको थियो । सामाजिक सञ्जालमा उनको अवस्था सार्वजनिक भएदेखि उनको बारेमा सरोकार राख्नेहरु थुप्रै थिए । यद्यपि यो भावनाभन्दा बढी प्राविधिक विषय थियो । ती गर्भवतीको रक्तचाप नियन्त्रण गर्ने मेरो योजना सफल भएन ।
अनि शल्यक्रिया सुरु भयो
कम अवधि (३२ हप्ता मात्र पुगेको) बच्चालाई जोगाउन गाह्रो हुने भएकाले अलिक दिन लम्बाउन सके आमा भन्दा पनि बच्चाको लागि राम्रो हुने थियो, तर सम्भव भएन । उच्च रक्तचापले मिर्गौला, कलेजोमा असर बढ्दै गयो । त्यसैले २५ गते शल्यक्रिया (सिजरियन) गर्नैपर्ने भयो ।
शल्यक्रियाका लागि हामी तयार भयौं । प्रसूतिका लागि अरु किसिमको जटिलता त हामीले झेलेकै थियौं । कति असहज वा असम्भव जस्तो लाग्ने शल्यक्रिया पनि गरिएकै थियो । तर यसपालिको काम फरक थियो ।
शल्यक्रियाका लागि जब हामीले पेट खोल्यौं, त्यहाँ करिब दुई लिटर पानी (असाईटिक फ्लुड) थियो । यस्ता अवस्थामा केही पानी (असाईटिस्) हुनु स्वभाविक थियो तर दुई लिटर ! यो चाहिं पहिलो अनुभव भयो । पहिले पनि अप्रेसन भएको र त्यस अवस्थामा घाउ पनि पाकेकाले बच्चा निकाल्न गाह्रो भयो ।
तर बच्चा सकुशल निकाल्न सम्भव भयो । छोरीको रुँदै जन्म भयो । उनको रुवाई शल्यकक्षमा गुन्जियो, त्यो तनावमा पनि शल्यकक्षमा केही खुसी छल्कियो । शल्यक्रिया सफल भयो । उनको रक्तअल्पताका लागि तीन पिन्ट रगत दिइयो । रक्तचाप पनि सामान्यतर्फ फर्किंदै गयो ।
जटिल अवस्थामा शल्यक्रिया र मात्र १.६ किलोग्रामकी छोरी भएकाले अस्पतालको बसाइ अलि लम्बियो । नौ दिनसम्म उनलाई अस्पताल राखियो । सामाजिक सञ्जालदेखि समाचारहरुमा समेत उनको चर्चा र उपचार गर्ने चिकित्सक समूहप्रति कृतज्ञता प्राप्त भइरह्यो ।
सहयोगी मन र भावना भएकाहरुले आर्थिक सहयोग गरे । यसबाट के भइदियो भने अत्यन्तै विपन्न परिवारका सुत्केरीलाई पुग्दो खाना र पोषणको बन्दोबस्ती भयो । सुत्केरी कुरुवामा रहेका राम्रोसँग बोल्न नसक्ने उनका श्रीमान र जेठाजुलाई भनेको जस्तो खान समस्या भएन । भोजपुरको रामप्रसादराई गाउँपालिकाका प्रतिनिधि, लायन्स क्लब अफ विराटनगरका अध्यक्ष, प्रदेश राज्यमन्त्री समेतले उनीहरुलाई भेटेर आर्थिक सहयोग गरे । उनको समस्या समाधान भयो ।
तर कथा सकिएको छैन
यो कथा सरसर्ती सुखान्त मोडमा सकिएको जस्तो लाग्छ । तर यो कथाको ‘ह्याप्पी इन्डिङ’ भएको छैन । के अब फेरि ती महिलालाई जस्तो समस्या अरुलाई पर्दैन ? दक्षता र क्षमता अभिवृद्धिका लागि स्वास्थ्यकर्मी चिकित्सक वा नर्सहरुलाई तालिमको व्यवस्था छ । तर यो सुविधा सरकारी सेवामा भएकाहरुका लागि मात्र प्राथमिकतामा राख्ने हुन्छ । निजी अस्पताललाई आर्थिक मुनाफाका लागि मात्र स्थापना भएको मानिन्छ ।
निजी अस्पतालमा कार्यरत वा सेवा दिने डाक्टर लगायतका सेवाकर्मीहरुलाई नेपालका नागरिक हुन् र यसै देशका नागरिकलाई सेवा दिन्छन् भन्ने सोच न राज्यले देखाउँछ, न त समाजले । बरु यिनीहरु लुट्न बसेका हुन् समेत भन्न पछि पर्दैनन् । तर जब जटिल अवस्थामा बिरामी पुग्छन्, तब खोजी यिनै निजी अस्पतालहरुको हुन्छ ।
from Online Khabar https://ift.tt/uW0Nvma
No comments:
Post a Comment