Sunday, July 14, 2024

यामलले बने युरो २०२४ को उत्कृष्ट युवा खेलाडी

३१ असार, काठमाडौं । स्पानिस युवा स्टार लामिन यामलले युरो २०२४ को उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका छन् ।

स्पेनलाई कीर्तिमानी चौथो पटक युरो उपाधि जिताउन सनसनी प्रदर्शन गरेका यी १७ वर्षीय युवा स्टारले पहिलो पटक युरो खेल्दै उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका हुन् ।

युरो २०२४ मा उनले १ गोल गरेका थिए भने ४ असिस्ट समेत गरेका थिए । यस संस्करणको युरोमा उनी सर्वाधिक असिस्ट गर्ने खेलाडी समेत हुन् । उनले प्रतियोगिताभर कूल ५०७ मिनेट खेलेका थिए । जसमा उनले प्रतियोगिताकै सर्वाधिक ३२ ड्रिबल गरेका थिए ।

यामलले सेमिफाइनलमा फ्रान्स विरुद्ध उत्कृष्ट गोल गरेका थिए । एक गोलले पछि परेको अवस्थामा उनले स्पेनका लागि बराबरी गोल गर्दै खेलमा फर्काएका थिए । उनले स्पेनले खेलेको सातवटै खेल खेलेका थिए । जसमा समूह चरणमा क्रोएसियालाई ३-० ले पराजित गरेको खेलमा डेब्यु गर्दै युरोको सबैभन्दा कान्छो खेलाडी खेलाडीको कीर्तिमान बनाएका थिए । जतिबेला उनी १६ वर्ष ३३८ दिनका थिए ।

यस्तै सेमिफाइनलमा फ्रान्स विरुद्ध गोल गर्दै उनी युरो इतिहासमा गवल गर्ने पनि सबैभन्दा कान्छो खेलाडी बने । फ्रान्स विरुद्ध गोल गर्दा उनको उमेर १६ वर्ष ३६२ दिन थियो ।

फाइनलमा इंग्ल्याण्डलाई २-१ ले पराजित गर्नुअघिल्लो दिन मात्र उनले आफ्नो १७औं जन्मदिन मनाएका थिए ।

यामल युरोकपमा उत्कृष्ट युवा खेलाडीको अवार्ड जित्ने तेस्रो र स्पेनको दोस्रो खेलाडी हुन् । सन् २०१६ देखि युरोमा उत्कृष्ट युवा खेलाडीको अवार्ड प्रदान गर्न थालिएको थियो ।

उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेमा फरवार्ड लामलले यो सपना भएको बताए । ‘यो वास्तवमै सबैभन्दा राम्रो उपहार हो । यो एउटा सपना हो । खेल बराबरी हुँदा गाह्रो थियो । तिनीहरूले हामीलाई कडा टक्कर दिए, तर हामी सधैं फर्कन्छौं, हामी सधैं जित्छौं ।’

यामलले एकदमै खुशी लागेको र यो खुशी फ्यानहरुसँगै मनाउन उत्साहित रहेको बताए । ‘धेरै खुसी छु । स्पेन फर्कन र सबै फ्यानहरूसँग उत्सव मनाउनको लागि उत्सुक छु’ प्रतियोगिताको उत्कृष्ट युवा खेलाडीले भने।

 

युरोमा अहिलेसम्मका उत्कृष्ट युवा खेलाडी

२०१६:  रेनाटो सान्चेज (पोर्चुगल)

२०२० : पेड्री (स्पेन)



from Online Khabar https://ift.tt/TgUz8C9

No comments:

Post a Comment