Wednesday, June 8, 2022

त्रिविमा अर्थशास्त्रपछि राजनीतिशास्त्रको प्रश्नपत्र पनि दोहोरियो

२६ जेठ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को अर्थशास्त्रको प्रश्नपत्र हुबहु मिलेको केही दिनपछि राजनीति शास्त्र विषयको परीक्षाको प्रश्नपत्र पनि दोहोरिएको पाइएको छ ।

परीक्षामा सोधिने प्रश्नपत्रमा पटक–पटक लापरबाही देखिएपछि छानबिन गरिने त्रिविले जनाएको छ ।

जेठ १८ गते स्नातकोत्तर तह तेस्रो सेमेष्टरको अर्थशास्त्र विषयअन्तर्गत ‘पब्लिक इकोनोमिक्स’को प्रश्नपत्र अघिल्लो वर्षको प्रश्नपत्रसँग हुबहु मिलेको थियो । यसैगरी जेठ २३ गते स्नातकोत्तर तहको राजनीतिशास्त्रको पहिलो सेमेस्टरको ‘इन्टरनेशनल पोलिटिक्स’ विषयको प्रश्नपत्र पनि अघिल्लो वर्षको प्रश्नपत्रसँग हुबहु मिलेको छ ।

त्रिविले अहिले सञ्चालन गरिरहेको स्नातकोत्तर तह मानविकी तथा समाजशास्त्र संकायको परीक्षाका दुईवटा विषयको प्रश्नपत्रमा हुबहु देखिएपछि छानबिनको प्रक्रिया अगाडि बढाइएको त्रिवि मानविकी संकायका डीन प्रा. डा. कुसुम शाक्यले जानकारी दिइन् ।

हुबहु दोहोरिएको प्रश्नपत्रका सम्बन्धमा छानबिन गर्नका लागि त्रिवि केन्द्रीय परीक्षा समितिसमक्ष आग्रह गरिसकेको जानकारी उनको भनाइ छ । ‘हामीले हुबहु प्रश्नपत्रका सम्बन्धमा छानबिन गर्नका लागि परीक्षा समितिलाई आग्रह गरिसकेका छौं’, उनले भनिन्, ‘अब हुने परीक्षामा यस्तो समस्या आउन नदिनका लागि हामी सचेत छौं ।’

रजिष्ट्रार तथा केन्द्रीय परीक्षा समितिका अध्यक्ष प्रा. डा. पेशल दाहालले मानविकी संकायले छानबिनका लागि आग्रह गरेको पत्र पाएको बताए । ‘मानविकी संकायले छानबिनका लागि आग्रह गरेको पत्र मैले प्राप्त गरेको छु,’ दाहालले भने, ‘छानबिन गरेपछि कसको लापरबाही रहेको छ भन्ने थाहा हुन्छ ।’

उनले परीक्षामा गत वर्षको पनि प्रश्नपत्र सोध्न पाइने उल्लेख गर्दै प्रश्नपत्रको सेट छान्दा हुबहु पर्ने गएको हुनसक्ने बताए । ६० पूर्णाङ्कको उक्त विषयको परीक्षामा १३ वटा प्रश्न सन् २०२० र सन् २०२१ को हुबहु मिलेको छ ।



from Online Khabar https://ift.tt/qJWGeOR

No comments:

Post a Comment