Wednesday, August 10, 2022

युवा परिषदले घोषणा गर्‍यो गजल, टिकटक र युट्युब प्रतियोगिताका विजेता

२६ साउन, काठमाडौं । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा राष्ट्रिय युवा परिषदले आयोजना गरेको सन्देशमुलक नेपाली गजल, टिकटक र युट्युब भिडियो प्रतियोगिताको नतिजा सार्वजनिक भएको छ ।

परिषदले बुधबार सार्वजनिक गरेको नतिजा अनुसार गजल प्रतियोगितामा डोटीका समीर ओझा पहिलो, खोटाङका विक्रम चेतनशील राई दोस्रो र कास्कीका संयोग बस्याल तेस्रो भएका छन् । झापाकी सरु आचार्य (दुलाल)ले सान्त्वना स्थान प्राप्त गरेकी छन् ।

यसैगरी युट्युब भिडियो प्रतियोगितामा कास्कीका अभ्यासराज चालिसे पहिलो, सुनसरीका तीर्थराज विश्वकर्मा दोस्रो र सुर्खेतकी प्रिशिला गिरी तेस्रो भए । यो विधामा कपिलबस्तुका खुमबहादुर सुनारले सान्त्वना स्थान हासिल गरे ।

यस्तै टिकटक प्रतियोगितामा काठमाडौंकी काजोल कार्की पहिलो भइन् । नवलपरासीका आश्विन परियार दोस्रो, दाङकी मनिषा परियार तेस्रो र इलामका विनोद लोहारले सान्त्वना स्थान हासिल गरेका छन् ।

सबै प्रतियोगितामा पहिलो हुनेलाई चालिस हजार, दोस्रो हुनेलाई ३० हजार, तेस्रो हुनेलाई २० हजार र सान्त्वना स्थान हासिल गर्नेलाई १० हजार नगद पुरस्कार प्रदान गरिने राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए ।

अगष्ट १२ गते मनाइने अन्तर्राष्ट्रिय युवा दिवसको दिन अर्थात् यही साउन २७ गते राष्ट्रिय सभा गृहमा आयोजना हुने मूल समारोहमा विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने छ । सो समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थिति रहनेछ ।

सप्ताहब्यापी कार्यक्रमका साथ अन्तर्राष्ट्रिय युवा दिवस मनाएको परिषदले विदेशबाट फर्किएका युवासँग उद्यम परिसंवाद, नव उद्यमी युवालाई अभिमुखीकरण, कर्णाली युवा संवाद, सरसफाइ लगायतका विविध कार्यक्रम आयोजना गरेको छ ।

युवाका सवाललाई सम्बोधन गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि नियमितरूपमा विश्वभर युवा दिवसका सन्दर्भमा विविध कार्यक्रम हुँदै आएका छन् । नेपालमा भने युवासँग काम गर्ने संस्थाको अगुवाइमा पहिलो पटक सन् २००४ देखि दिवस मनाउन थालिएको हो ।

सरकारले वि.सं २०७२ मा राष्ट्रिय युवापरिषद् गठन गर्दै युवाको नेतृत्व विकासमा काम गर्दै आइरहेको छ । परिषद् गठन भएसँगै परिषद्कै अगुवाइमा दिवस हरेक वर्ष मनाउन थालिएको छ ।



from Online Khabar https://ift.tt/rWgJe13

No comments:

Post a Comment