Saturday, November 26, 2022

रविले धान्न सक्लान् त यति ठूलो मतभार ?

हिन्दीमा एउटा उखान छ- ‘उपरवाले देता है तो छप्पर फाडके देता है !’ रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका लागि भर्खरै सम्पन्न आम चुनाव यस्तै सावित भएको छ । मतदातालाई ‘उपरवाले’ र रवि लामिछानेको पार्टीलाई ‘भक्त’ मान्ने हो भने भगवानले भक्तलाई छानो फोरेरै मत दिएका छन् ।

विश्व राजनीतिमा नै पनि यस्ता घटना विरलै भएका छन् । कुनै पनि स्वरुपको आन्दोलन विना नेपालको राजनीतिक इतिहासमा त यो पहिलो घटना हो । पार्टी गठन गरेको केही महिना नबित्दै यो स्तरको चुनावी सफलता कुनै राजनीतिक दलले पाएका थिएनन् ।

नेपालमा कांग्रेस, कम्युनिस्ट र राजावादी दललाई परम्परागत शास्त्रीय दल मान्ने प्रचलन छ । विचारका हिसाबले यी उदार लोकतान्त्रिक, साम्यवादी र सम्वर्द्धनवादी दल हुन् । १९९० सालयताको करिब एक शताब्दी समय देशको राजनीति यिनै तीन दल र विचारका वरिपरि नै घुम्ने गरेको थियो । यो चुनावमा पनि यी तीन दल र विचारधारा कुनै न कुनै रूपमा अस्तित्ववान र शक्तिशाली नै रहे । यो दशकौं पुरानो प्रवृत्तिकै पुनरावृत्ति भएको हुँदा यसमा कुनै आश्चर्य वा नयाँपन भएन ।

तर, रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी चर्को गरी घन्टी बजाएरै उदायो । नयाँ र मध्यम वर्गीय शहरिया जनमत भएका निर्वाचन क्षेत्रमा मात्रै हैन, हारेका निर्वाचन क्षेत्रहरूमा पनि जुन सम्मानजनक मत ल्यायो । यो आश्चर्यजनक र नयाँ प्रवृत्ति नै हो । यो किन र कसरी संभव भयो ? यसका संकेत थिए कि यो आकस्मिक रूपमा भएको हो ? यसले भविष्यका लागि के संकेत गर्दछ ? यी निकै रोचक प्रश्न हुन् ।

कांग्रेस, कम्युनिस्ट र राजावादी बाहेकको प्रगतिशील-लोकतान्त्रिक वा समावेशी दल बनाउने प्रयत्न यसअघि नभएका हैनन् । २०४६ सालपछि नै डा. देवेन्द्रराज पाण्डेको नेतृत्वमा लोक दल बनाउने प्रयत्न भएको थियो । त्यसैगरी, कुवेर शर्माले ‘ग्रीन’ अवधारणालाई पक्रेर हरियाली पार्टी बनाउने प्रयत्न गरे । गजेन्द्रनारायण सिंहले मधेश मुद्दामा सद्भावना पार्टी र गोरेबहादुर खपाङ्गीले जनमुक्ति पार्टी बनाएका थिए । यी कुनै पनि प्रयास यो स्तरमा सफल भएनन् ।

निर्वाचन आयोगमा हरेक निर्वाचन अघि नयाँ-नयाँ दल दर्ता भए । यी सबैको सपना र सोच हुँदो हो- अहिलेको घन्टीले जस्तो तरक्की गर्ने । तर, कुनै पनि सफल भएनन् । २०७० को दशकमा तीन वटा दलले नयाँ राजनीतिक धार पक्रिन खोजे । उज्ज्वल थापा नेतृत्वको विवेकशील नेपाली, रवीन्द्र मिश्र नेतृत्वको साझा र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी ।

यी पार्टीको पनि चर्चा र होहल्ला कम थिएन । तर, २०७४ को स्थानीय चुनावमा रञ्जु दर्शना र किशोर थापाले काठमाडौंमा पाएको मत कमजोर थिएन । २०७४ कै आम निर्वाचनमा दुई दल मिलेर बनेको विवेकशील साझाले झण्डै राष्ट्रिय थ्रेसहोल्ड छोएको थियो । प्रत्यक्षतर्फका यसका उम्मेदवारले उपत्यकामा अधिकांश निर्वाचन क्षेत्रमा सम्मानजनक तेस्रो मत ल्याएका थिए । बागमती प्रदेशको थ्रेसहोल्ड काटेर तीन जना प्रदेश सभा सदस्य पाएको थियो । यी प्रारम्भिक सफलताले भविष्यका लागि राम्रै संकेत गर्थे ।

तर, रवि लामिछानेले अहिले पाएका सफलता अगाडि ती निकै साना र पुड्का थिए । नेपाली मतदाताले रवि लामिछानेमा त्यस्तो के संभावना र आकर्षण देखे जो डा. देवेन्द्रराज पाण्डे, कुवेर शर्मा, गजेन्द्रनारायण सिंह, गोरेबहादुर खपाङ्गी, उज्ज्वल थापा, रवीन्द्र मिश्र, डा. बाबुराम भट्टराईमा पाएनन् ? यो आफैंमा एक रोचक अध्ययनको विषय हो ।

अब एक अन्तिम प्रश्नमा प्रवेश गरी यो आलेख बिट मार्न चाहन्छु । त्यो हो- रवि लामिछानेको नेतृत्व क्षमता र उनको पार्टीको भविष्य के ? कतै यो पार्टी हिजोको विवेकशील साझा जस्तो त हुँदैन ? रवि अर्को रवीन्द्र मिश्र त हुँदैनन् ? के हो यो पार्टीको नीति, सिद्धान्त, विचार र एजेण्डा ? के रविले यति धेरै भोटको गरिमा र इज्जत जोगाउन सक्लान् ?

वास्तवमा संसारमा जुन कुनै र जे-जति परिघटना हुन्छन्, त्यसमा जे परिणाम आउँछन्, त्यसैको आफ्नै ‘टाइम एण्ड स्पेश’, आफ्नै परिवेश र पारिस्थितिकी हुन्छन् । त्यसका तारतम्य मिल्यो भने आश्चर्यजनक र चामत्कारिक परिणाम आउँछन् । मिलेन भने जस्तै भुखुन्ड प्रयत्नले पनि परिणाम नदिन सक्दछ ।

यस-पटकको चुनावमा कुनै न कुनै प्रकारको ‘ब्यालेट विद्रोह’ हुन सक्दछ भन्ने अनुमान गत स्थानीय चुनावमा ‘अन्डर करेन्ट’ थियो तर, यसपटक सतहमा आइसकेको थियो । विशेषतः स्थानीय चुनावमा बालेन्द्र शाह र हर्क साम्पाङको विजयले त्यसको संकेत गरिसकेको थियो । तर, तथाकथित मूलधारका शीर्ष नेताहरूले यो बुझ्दै नबुझेका पनि हैनन् । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसदको रोष्टमकै उभिएर ‘हामी बढारिन पनि सक्दछौं’ भनेका थिए । नभन्दै घन्टीको लहरले स्वयं उनकी छोरी मानुषी यमी भट्टराई पनि बढारिइन्, जो तुलनात्मक रूपमा ‘रातो स्टिकर’ टाँसेको ‘थोत्रो पुरानो’ दल की ‘नयाँ, असल र सक्षम’ उम्मेदवार मानिएकी थिइन् ।

तर, पुराना शीर्ष नेताहरूको ‘नयाँ करेन्ट’ लाई ‘रेस्पोन्स एण्ड ट्याकल’ गर्ने तरिका भने ठीक उल्टो थियो । उनीहरूले गठबन्धन र तालमेलको नाममा राजनीतिक सिन्डिकेटतन्त्र खडा गरी मतदाताका विकल्पहरू सीमितीकरण गर्ने र मतदातालाई छेकारो मारेर आफ्नो ढोक्सीमा हाल्ने मूर्ख र अलोकतान्त्रिक तरिका अवलम्बन गरे । फलतः मतदातामा असन्तुष्टि र विद्रोहको लहर झनै विस्तार भयो ।

रवि लामिछानेको उदय बालेन्द्र शाह उदयकै अर्को शंृखला हो । यी दुई घटनाबीच प्रष्ट देखिने तारतम्य छ र सायद आन्तरिक सहकार्य पनि । रवि लामिछानेको ‘घन्टी पार्टी’ मा बालेन्द्र शाहका समर्थकहरू कुनै न कुनै रूपमा सक्रिय थिए । त्यसैगरी पूर्वविवेकशील साझाका पुकार बम र विराजभक्त श्रेष्ठ लगायतकाहरू ज्ाोडिएको कारणले पनि त्यो आन्दोलनको विस्तार भएको थियो ।

रञ्जु दर्शना र मिलन पाण्डे गत चुनावमा उपत्यकामा नयाँ पुस्ताका ‘आइकन’ वा ‘हिरो’ जस्ता थिए, यो चुनावमा उनीहरूले जमानत पनि कटाउन सकेनन् । यसमा उनीहरूको कुनै दोष वा कमजोर छैन । यो सबै परिवेश र पारिस्थितिकीको खेल हो । संसारमा कुनै पनि मान्छे त्यति शक्तिशाली हुँदैन, र त्यति कमजोर पनि हुँदैन कि उसले ‘टाइम एण्ड स्पेस’ बाहिर गएर नतिजा दिओस् । मान्छेको सक्षमता त्यतिखेर देखिने हो जब उसले ‘टाइम एण्ड स्पेस’ सँग तारतम्य मिलाएर कदम चाल्छ वा स्वाभाविक तवरले मान्छेले चालेका कदम ‘टाइम एण्ड स्पेस’ सँग अनुकूल हुन पुग्दछन्- संयोगले नै किन नहोस् ?

रवि लामिछानेको उदय हुनु पछाडि प्रष्ट देखिने पाँच वटा ठूला कारण छन् ।

एक- विगत पाँच वर्षमा देशमा भएका बेथिति, भ्रष्टाचार, अस्थिरता, दम्भ, अहंकारको लडाईं र कुशासनबाट विरक्त भएको युवा पुस्ता र शहरिया मध्यम वर्ग । ग्रामीण क्षेत्रका आम जनता पनि यी चिजबाट विरक्त थिए तर, शहरमा मान्छे विद्रोही मनोविज्ञानको सशक्तीकरण भइसकेन ।

दुई- नयाँ पुस्ताको मतदाता अनुपातमा वृद्धि । उत्तरआधुनिक युगको नयाँ पुस्ताले हिजोको जस्तो शास्त्रीय ‘इनडक्टि्रनेसन’ मन नपराउनु स्वाभाविक थियो । भनिन्छ- गत वैशाखको स्थानीय चुनावदेखि पहिलो पटक मतदान गर्न थालेको नयाँ पुस्ताको संख्या ३० लाख पुग्न लागेको छ ।

तीन- डिजिटल स्पेसको बढ्दो प्रभाव र ग्लोबल सिटिजनको भावना । युट्युब र सामाजिक सञ्जालले परम्परागत मिडिया वा कुनै संस्थाले मान्यता दिएपछि मात्रै कसैको व्यक्तित्व स्थापित भएको मानिने र त्यस्तो व्यक्तित्वलाई भोट गर्ने प्रचलन अब आम रूपमा बाँकी रहेन ।

साथै, विश्वभरि धेरै छरिइसके । भर्खरै प्रकाशित संयुक्त राष्ट्रसंघको एक जनसंख्या प्रतिवेदनका अनुसार सन् २०१०-२०२१ बीचमा सबैभन्दा बढी अन्तरदेशीय बसाइँसराइ गर्ने देशमा नेपाल चौथो स्थानमा छ । यस १० वर्षमा कम्तीमा १६ लाख नेपाली विश्वभरि छरिएका छन् । ती सबै नेपालको जनगणनाको तथ्यांकमा समेटिएका पनि छैनन् ।

यसले गर्दा नेपालीले विश्वभरिको विकास, सुशासन र आर्थिक समृद्धि देख्ने अवसर पाएका छन् । आफ्नो देश पनि त्यस्तै भइदिएहुन्थ्यो भन्ने आकांक्षा, अपेक्षा, भावना र सपना उनीहरूमा व्यापक वृद्धि भएको छ । उनीहरूले नेपालमा बस्ने परिवार सदस्य र आफन्तलाई नयाँ राजनीतिक शक्तिलाई साथ दिन अनुरोध गरे । आफूलाई वैश्विक नागरिकका रूपमा अनुभूत गर्दै गएपछि मान्छेको दिमाग स्थानीय मुद्दाको प्रभावबाट बाहिर आउँछ, र त्यसले नयाँपनलाई स्वाभाविक मान्दछन् । त्यसको समेत व्यापक प्रभाव पर्‍यो ।

चार- यसपालि वैकल्पिक राजनीतिको ‘स्पेस’ पूरै खाली त थिएन तर त्यो एकोहोरिएको थियो । रवीन्द्र मिश्रको राप्रपा प्रवेश र डा. बाबुराम भट्टराईको ‘माओवादी फिर्ती’ ले हिजो विवेकशील, साझा र नयाँ शक्तिले बनाएका अभियन्ता, समर्थक र मतदाता तितरवितर भएका थिए । यो स्पेशमा थोरै प्रतिस्पर्धा लौरो अभियानले गरिरहेको थियो तर, मान्छेको ध्यान घन्टीको आवाजले खिच्यो ।

र, पाँचौं- अन्तिम समयमा राजनीतिक दलहरूले बनाएको गठबन्धन र तालमेल नामको सिन्डिकेटतन्त्रबाट असन्तुष्ट मतदाता । जसले सामान्यतया माओवादी केन्द्रको हँसिया हथौडा चिहृनमा मतदान गर्न इच्छा राखेनन् ।

विचार लुकाएर, एजेण्डामा अस्पष्ट वा मझधार बसेर अघि बढ्न सक्ने संभावना अब रविका लागि समाप्त भएको छ । संसदमा सत्ताको चाबी उनको पार्टीसँग आउने संभावना पनि छ । कसको गठबन्धनमा किन सामेल हुने र त्यो सरकारले कस्ता नीति, योजना र कार्यक्रम ल्याउने भन्ने विषयमा कुनै तटस्थता हुनसक्दैन

म काठमाडौंको त्यस्तो टोलमा डेरा बस्छु, जहाँ अधिकांश मतदाता कांग्रेस समर्थक मात्र हैन, कांग्रेसका क्रियाशील सदस्य र कमिटीमा समेत आबद्ध छन् । तिनले माओवादी केन्द्रबाट उठेकी पूर्वसभामुख ओनसरी घर्तीलाई मत दिने कुनै इच्छा राखेनन् । बरु राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमलाई भोट दिए । गौतमले जितिनन् मात्र घर्तीले शर्मनाक जस्तो हार बेहोरिन् । सभामुख भइसकेकी राष्ट्रिय व्यक्तित्व त्यति ठूलो गठबन्धनबाट चुनाव लड्दा प्रमुख प्रतिस्पर्धी समेत बन्न सकिनन् ।

के यी मतदाताले अब कांग्रेससँगको सम्बन्ध तोड्छन् ? भन्न सकिन्न । उनीहरू कांग्रेसकै पार्टी संगठन र राजनीतिक जीवनमा फर्किन पनि सक्दछन् । तर, देशैभरि त्यहाँ-त्यहाँ घन्टीले धेरै भोट पाएको देखिन्छ जहाँ-जहाँ कांग्रेस समर्थक मतदाताको बहुलता र माओवादी केन्द्रका उम्मेदवार थिए । अर्कोतिर त्यस्ता निर्वाचन क्षेत्रमा पनि घन्टीले धेरै भोट पाएको देखिन्छ, जहाँ कांग्रेस एमालेका निकै पटक दोहोरिएका पुराना उम्मेदवार थिए ।

रवि लामिछानेको आक्रामक टिभी एङ्करिङको व्यक्तित्वले राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भएको विश्लेषण सतही हो । हुन सक्छ, त्यसको पनि अधिकतम २५ प्रतिशतसम्म योगदान छ । तर, मुख्य कुरा- माथिका पाँच कारण हुन् ।

अब एक अन्तिम प्रश्नमा प्रवेश गरी यो आलेख बिट मार्न चाहन्छु । त्यो हो- रवि लामिछानेको नेतृत्व क्षमता र उनको पार्टीको भविष्य के ? कतै यो पार्टी हिजोको विवेकशील साझा जस्तो त हुँदैन ? रवि अर्को रवीन्द्र मिश्र त हुँदैनन् ? के हो यो पार्टीको नीति, सिद्धान्त, विचार र एजेण्डा ? के रविले यति धेरै भोटको लाज जोगाउन र इज्जत धान्न सक्लान् ?

अक्सर आकस्मिक उदाएका नेताहरू उसरी नै हराएका उदाहरण विश्व राजनीतिमा धेरै छन् । भारतीय राजनीतिमा अमिताभ बच्चन कुनै यसरी नै उदाएका थिए । तर, पछि आफैं स्वीकार गरे- ‘राजनीति मेरो क्षेत्र हैन रहेछ ।’ त्यसो त युक्रेनका जेलेन्स्की जस्ता उदाहरण पनि छन्, जो सेलिब्रेटी व्यक्तित्वबाट एकाएक राष्ट्रपति भएर युद्धजस्तो असहज परिस्थितिमा पनि डटिरहेका छन् ।

रविको पार्टीले संघीयता, समावेशिता र आरक्षणको विरुद्धमा जाने प्रष्ट संकेत दिइसकेको छ, जो नेपाली राजनीतिको पछिल्लो एक महत्वपूर्ण प्रगतिशील मुद्दा हो । त्यसैको सन्देश दिन पार्टीले प्रदेशसभातिर उम्मेदवारी दिएन । रविले प्रदेशको व्यालेटमा भोट हालेनन् । बालेन्द्र शाहले प्रदेशतिर मतदान गर्न अस्वीकार मात्र गरेनन् मतदान केन्द्रका सामु ‘हिरोइज्म’ प्रस्तुत गरेर उनी यी मुद्दाप्रति कति नकारात्मक छन् भन्ने छर्लङ्ग पारे ।

विचार लुकाएर, एजेण्डामा अस्पष्ट वा मझधार बसेर अघि बढ्न सक्ने संभावना अब रविका लागि समाप्त भएको छ । संसदमा सत्ताको चाबी उनको पार्टीसँग आउने संभावना पनि छ । कसको गठबन्धनमा किन सामेल हुने र त्यो सरकारले कस्ता नीति, योजना र कार्यक्रम ल्याउने भन्ने विषयमा कुनै तटस्थता हुन सक्दैन ।

नागरिकता ऐन संशोधन विधेयक र राष्ट्रपतिको असंवैधानिक अप्रमाणीकरणको मुद्दा जटिल भएर बसेको छ । यस मुद्दामा रवि र उनको पार्टीको पक्षधरता के रहन्छ ? प्रधान न्यायाधीशको थाती महाअभियोग मुद्दामा उनका सांसदले कता भोट हाल्लान् ?

यी त केही उदाहरण मात्र हुन् । संसदमा राष्ट्रिय जीवनका यस्ता केही न केही मुद्दा आइरहन्छन् । त्यसमा रवि र रविको पार्टीको धारणा र पक्षधरता के कस्तो हुन्छ ? रास्वपाको वास्तविक परीक्षा अब सुरु हुन्छ ।

यस्ता सबै परिबन्धबाट गुज्रेर वा बचेर पनि रविले पार्टीले जोगाए भने मान्नुपर्छ, उनीसँग राजनीतिक नेतृत्वको क्षमता छ र देशका लागि उनले केही योगदान गर्न सक्लान् । अन्यथा अर्को चुनावसम्म पुग्दा नपुग्दा उनी पनि अर्को रवीन्द्र मिश्र नहोलान् भन्न सकिन्न ।

अहिलेलाई भने विना पूर्वाग्रह शंकाको सुविधा दिन पर्छ । रास्वपा र यसका नेता रवि लामिछानेलगायत सबै अभियन्तालाई हार्दिक बधाई तथा शुभकामना !



from Online Khabar https://ift.tt/Jl4H63f

No comments:

Post a Comment