Thursday, November 17, 2022

चुनावको दिन कस्तो होला मौसम ?

२ मंसिर, काठमाडौं । मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुन्नका लागि मतदान हुँदैछ । यस दिन मौसम कस्तो रहला ? हामीले यो जिज्ञासा जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद मञ्जु वासीसमक्ष राखेका थियौं  । उनले भनिन्, ‘चुनावलाई प्रभावित पार्ने खालको मौसमी प्रणाली देशैभर छैन ।’ उनका अनुसार देशभर मौसम सफा रहने बताइन् ।

मतदानको दिन मंसिर ४ गते प्रदेश १ र गण्डकी प्रदेशमा दिउँसोतिर बादल लाग्ने तर पानी नपर्ने उनले बताइन् । उनका अनुसार सोही दिन उच्च हिमाली भागमा हिमपातको सम्भावना त छ तर एकदमै कम ।

आज मंसिर २ गते र भोलि मंसिर ३ गते हिमाली भूभागमा हिमपातको सम्भावना छ तर चुनावकै दिनमा हिमपात नहुने उनले बताइन् ।

निर्वाचन सामग्री बोकेर हिमाली जिल्लाका मतदान केन्द्रमा जाँदा हिउँले कर्मचारीहरु रोकिएका समाचार आएका छन् । मौसमविद वासीले त्यो हिउँ नयाँ नभएको बताइन् । ‘मुस्ताङतिर हिउँले गर्दा बाटोमै रोकिएको भन्ने समाचार हामीले पनि थाहा पायौं तर त्यो नयाँ होइन,’ उनले भनिन् ।

बाटोमा हिउँ जमेका कारण मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ साङ्ताको हिमाली आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान गराउन जाँदै गरेका कर्मचारी र सुरक्षाकर्मी समस्यामा परेका हुन् । आज डोजरले हिउँ पन्छाएर बाटो सफा गर्ने तयारी भइरहेका मुस्ताङका प्रहरी प्रमुख डीएसपी रविन्द्र पौडेलले जानकारी दिए ।

मौसमविद मञ्जु वासी

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले पनि निर्वाचन विशेष मौसम बुलेटिन जारी गर्दै नेपालमा पश्चिमी वायुको प्रभाव सामान्य भए पनि निर्वाचन प्रभावित हुने खालको प्रणाली नरहेको जानकारी दिएको छ ।

महाशाखाले जारी गरेको मंसिर २ गतेदेखि ४ गतेसम्मको मौसम पूर्वानुमान यस्तो छ–

२०७९ मंसिर ०२ (शुक्रबार) : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने सम्भावना छ । प्रदेश नं १, बागमती तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ ।

२०७९ मंसिर ०३ (शनिबार) : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने सम्भावना छ । प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ ।

२०७९ मंसिर ०४ (आइतबार) : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने सम्भावना छ ।



from Online Khabar https://ift.tt/2EBC368

No comments:

Post a Comment