Friday, January 21, 2022

‘तीनै तहको चुनाव मंसिरमा गर्ने हो’

८ माघ, काठमाडौं । सत्तारुढ पाँचदलीय गठबन्धनले वैशाखमा प्रतिनिधिसभाको अर्ली इलेक्सन गर्ने प्रस्तावको च्याप्टर क्लोज गरेको छ । तर तीनै तहको निर्वाचन एकै पटक गर्ने बहस थालेको छ । त्यसअनुसार हुने हो भने आगामी मंसिरमा प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको चुनाव हुनेछ ।

अर्थात निर्वाचन आयोगले सिफारिस गरे झै वैशाख १४ र २२ मा चुनाव हुने सम्भावना कम छ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भन्छन्, ‘वैशाखमा चुनाव गर्न त तयारी नै भएको छैन ।’

उनका अनुसार २०७४ वैशाख २९ र असार १४ को निर्वाचनबाट निर्वाचित स्थानीय जनप्रतिनिधिको कार्यकाल लम्ब्यिाएर तीनै तहको निर्वाचनमा मंसिरमा हुनसक्छ ।

प्रस्तुत छ, बालुवाटारमा बसेको पाँचदलीय समन्वय समितिको बैठकपछि अध्यक्ष नेपालसँग अनलाइनखबरकर्मी बिनु सुवेदीेले गरेको कुराकानीको सम्पादित अंश :

पाँच दलीय गठबन्धनको बैठकमा केके कुरा भयो ?

प्रतिनिधिसभामा देखिएको समस्याबारे छलफल केन्द्रित रह्यो । संसदलाई नै भंग गर्ने, संसदविहीन बनाउने काममा स्वयम् प्रमुख प्रतिपक्षी लागिपरेको छ । प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गणतन्त्रप्रति श्रद्धा पनि छैन, संविधानप्रति निष्ठा छैन, संसदप्रति कुनै प्रतिबद्धता पनि छैन । नेपालको राजनीतिमा केपी ओली निकै खतरनाक शक्तिको रुपमा देखा परेका छन् । मुलुकको संसदीय राजनीतिमा यस्तो खतरनाक र नकरात्मक शक्ति हावी भएको छ, यसको बिरुद्धमा मिलेर जानुपर्छ भन्नेमा सबैको सहमति रह्यो ।

उसोभए सत्ता गठबन्धनको बैठकमा प्रतिपक्षीको आलोचना गरेर बस्नुभयो ?

त्यति मात्रै होइन । समस्या त्यहाँनिर छ भनेपछि समाधानका कुरा पनि भए । विशेषगरी प्रतिनिधिसभा चुनावका बिषयमा केन्द्रित रह्यौं । स्थानीय तहको चुनावपछि सारेर तीनै तहको चुनाव एउटै मितिमा गर्नुपर्छ भन्ने प्रस्तावमा सबै दलहरुबीच मोटामोटी सहमति भयो । तर ठोस निर्णय गर्न कानुनी परामर्श गर्ने कुरा भयो ।

तीनै तहको चुनाव एकैचोटि किन गर्नुपर्छ भनिरहनुभएको हो ?

किन नगर्ने ? नत्र त सधैँभरिका लागि समस्या आउनेभयो । त्यसमाथि अहिले पहिले केन्द्रको चुनाव नै महत्वपूर्ण हो । देशको राजनीतिलाई ठीक बाटोमा लाने भनेको केन्द्र हो ।

तीनै तहको चुनाव वैशाख जेठमा गर्ने कि मंसिरमा पुसमा त ?

वैशाख जेठमा त सम्भव हुँदैन । किनभने पहिले स्थानीय तहको चुनाव तीन चरणमा भएको थियो । वैशाख ३१, असार १४ र असोज २ । मतगणना गर्दा असोजको आधाआधी पुगेको थियो । त्यही सेरोफेरोलाई आधार मान्नुपर्छ । संविधानको धारा २२५ मा गाउँसभा र नगरसभाको कार्यकाल सकिएको ६ महिनाभित्र चुनाव सम्पन्न गरिसक्नुपर्छ भन्ने छ । हामी त संविधान अनुरुप अघि बढ्नुपर्छ नि ! बैठकमा पनि संविधानअनुरुप नै गर्नुपर्छ भन्नेमा सबैको जोड रह्यो ।

त्यो हुँदा स्थानीय तहको चुनाव मंसिरतिर सार्ने हुनुभयो ?

हो हो । तीनवटै तहको चुनाव एकैचोटी गर्ने ।

स्थानीय तह जनप्रतिनिधिविहीन हुने, संवैधानिक रिक्तता आउने कुरा पनि छ नि

देशको राजनीति ठिक ठाउँमा ल्याउन प्रतिनिधिसभालाई नै केन्द्रमा राख्नुपर्छ । देशको समस्याको बारेमा छलफल गर्ने ठाउँ प्रतिनिधिसभा हो ।

प्रतिपक्षीले वैशाखमा स्थानीय तहको चुनाव गर्नुपर्छ भनेको छ, कसरी मनाउनुहुन्छ ?

के मनाउनु ? सबैतिरबाट एक्लिएको छ । जनताले पनि दक्षिणपन्थी र संविधान र संसद विरोधी शक्ति हुन भनेर चिनेका छन् ।

तपाईंहरुलाई समयमै चुनाव गर्न नसकेको आरोप लाग्ला नि ?

वैशाखमा चुनाव हुनेको अबधी बढ्छ नि त । यहाँ के अप्ठ्यारो छ र ?

अहिलेसम्म तपाहरुको छलफलका आधारमा भन्दा वैशाखमा स्थानीय तहको चुनाव नहुने निश्चित भएको हो त ?

त्यो त हो नै । वैशाखमा चुनाव गर्न त अहिलेसम्म केही तयारी पनि भएको छैन ।

 



from Online Khabar https://ift.tt/3Iqd5wd

No comments:

Post a Comment