१५ माघ, काठमाडौं । शहरमा कोरोना आतंक छ । तर, गाउँघरमा भने यसको त्रासदीले खासै छोएको पाइँदैन । केही समयअघि गोरखास्थित बारपाक सुलिकोट गाउँपालिकाको फन्को लगाइरहँदा यस्तै अनुभव भएको थियो ।
गाउँको जनजीवन सामान्य थियो । खेतीबाली लगाउने, बस्तुभाउ स्याहार्ने, घाँस–दाउरा एवं मेलापात गर्ने क्रममा कुनै बाधा–व्यवधान देखिदैनथ्यो । यस्तो लाग्थ्यो, यहाँ सबै कुरा ठीकठाक छ ।
त्यसो त जब–जब शहरमा संकट छाउन थाल्छ, मान्छेले गाउँघर सम्झन्छन् । आर्थिक र सामाजिक सुरक्षाको लागि गाउँघर पुग्छन् । हुन पनि गाउँघरमा पाइने हार्दिकताले जो–कोहीलाई आकर्षित गर्छ । त्यसमाथि गाउँघरको रैथाने सौन्दर्य त छँदैछ ।
यसपाली बारपाक सुलिकोट पुग्दा अन्नबालीहरु पाक्नै लागेका थिए । त्यसैले बेंसीका फाँटहरु धान पाकेर पहेंलपुर देखिन्थे । बारीका गह्राहरुमा कोदो पाकेर रहरलाग्दा देखिन्थे । टलक्क टल्केको मनास्लु हिमाल र त्यसै हिमाललाई पृष्ठभूमि बनाएर उभिएका बस्तीहरु । सुलिकोटबाट दक्षिणतर्फ अनन्तसम्म देखिने पत्र–पत्र पहाड । झुरुप्प एकनासे घरहरु । डाँडागाउँको उचाईबाट देखिने कुहिरोको साम्राज्य । ताकु कोटको माइभगवती मन्दिर, स्वाँरा गाउँको सीता गुफा । आहा ! जति हेरेपनि मन अघाए पो ?
विनाशकारी भूकम्पपछि बारपाकको स्वरुप फेरिएको छ । भूकम्पले ध्वस्त संरचनाहरु पुनः निर्माण गरिएका छन् । नयाँ घरहरु बनेका छन् । यद्यपि बारपाकको आफ्नो रैथाने सौन्दर्य भने फिका लाग्छ । किनभने नयाँ संरचनाहरुले पुराना शैलीलाई विस्थापित गरिदिएको छ ।
from Online Khabar https://bit.ly/3g8xbPy
No comments:
Post a Comment