Friday, January 28, 2022

नेपाल र मोरिसस बीचको पहिलो खेल आज, रंगशालामा दर्शकलाई अनुमति

१५ माघ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिम र मोरिससबीचको पहिलो मैत्रीपूर्ण खेल आज हुँदैछ । नेपाल र मोरिसस बीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ४ः४५ बजे सुरु हुनेछ ।

नेपालले पहिलो पटक अफ्रिकन राष्ट्रिय टोलीविरुद्ध फुटबल खेल खेल्न लागेको हो । कप्तान किरण चेम्जोङले पहिलो पटक अफ्रिकन राष्ट्रविरुद्ध खेल्न लागेकाले यो फरक अनुभव हुने र सिक्ने मौकाको रुपमा लिने शुक्रबारको प्रि–म्याच कन्फ्रेन्समा बताएका थिए ।

यस्तै प्रशिक्षक किरण श्रेष्ठले नेपाल र मोरिसस उस्तै स्तरको टिम रहेको र यसअघिका गल्ती सुधार गर्दै राम्रो प्रदर्शन गरिने बताएका छन् ।

मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले दुई मैत्रीपूर्ण खेलका लागि दुई फरक टोलीको घोषणा गरिसकेका छन् । उनले बन्द प्रशिक्षणमा रहेका सबै ३४ खेलाडीलाई नै दुई टिममा मौका दिँदा नयाँ ९ खेलाडीले राष्ट्रिय टिममा स्थान बनाएका छन् ।

प्रशिक्षक किरण श्रेष्ठले एसियन कप छनोटको तेस्रो चरणको तयारी स्वरुप यो खेल रहेकाले धेरै खेलाडीलाई अवसर दिन लागेको बताए ।

शुक्रबार प्रि–म्याचमा उपस्थित नभएका प्रशिक्षक अलमुताइरीले शनिबार बिहानै जित र हार खेलको पाटो रहेकाले फाइटिङ स्प्रिट मुख्य कुरा रहेको सामाजिक सञ्जालमा लेखेका छन् । उनले साफ च्याम्पियनपछि नेपालले पहिलो पटक खेल्न लागेकाले सबैलाई समर्थनका लागि आग्रह समेत गरेका छन् ।

अलमुताइरीले युवा खेलाडीलाई एक्पोजर दिने योजना रहेको र त्यो अनुभव भविष्यका काम लाग्ने विश्वास राखेका छन् । पहिलो खेलका लागि घोषित टोलीमा ४ नयाँ खेलाडी छन् ।

मोरिससका मुख्य प्रशिक्षक टोनी फ्रानइसले नेपालविरुद्ध राम्रो प्रदर्शन गर्ने अपेक्षा गरेको बताए । ‘हामी साढे दुई वर्षपछि अन्तर्राष्ट्रिय खेल खेल्दैछौँ । यसका लागि डिसेम्बरदेखि यता हामीले ४५ दिन मात्र प्रशिक्षण गरेका छौँ । नेपाल विरुद्ध खेल्न सहज छैन ।’

यस्तै मोरिससका कप्तान केभिन ओब्रायनले नेपाल राम्रो टिम रहेको र राम्रो खेलको अपेक्षा राखेको बताए ।

फिफा वरीयतामा मोरिससभन्दा नेपाल अघि छ । नेपाल १६९औं स्थान र मोरिसस १७२ औं स्थानमा छ ।

यस्तै नेपाल र मोरिससबीचको खेलमा दशरथ रंगशालको कूल क्षमताको एक तिहाइ दर्शकलाई नेपाल सरकारको कोभिड–१९ प्रोटोकल अनुसार प्रवेश अनुमति दिने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सरकारले जारी गरेको स्वास्थ्य प्रोटोकलको पालना गर्दै एक तिहाइ दर्शकलाई मात्र अनुमति दिइने जनाएको छ ।

खेल हेर्नका लागि सामान्य प्यारापीटतर्फ ५ सय र भीआईपीतर्फ १ हजारको टिकट दर राखेको छ ।

पहिलो मैत्रीपूर्ण खेलका लागि नेपाली टिम

किरण लिम्बु, दीप कार्की, टेकेन्द्र थापा, गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरज ज्यु ठकुरी, सुदिप गुरुङ, सुमन लामा, ताज तामाङ, विशाल राई, सुजल श्रेष्ठ, मनिष डाँगी, अन्जन विष्ट, आशिष लामा, दर्शन गुरुङ, विमल घर्तीमगर, सुनिल बल, नितिन थापा, आकाश बुढामगर, कृतिस रत्न छुन्जु, जगजित श्रेष्ठ ।



from Online Khabar https://bit.ly/341lAiK

No comments:

Post a Comment