स्कुले जीवनमा खप्तडको सुन्दरताको लागि एउटा कुशल कविले रचेको कविताले नै मेरो मनमा खप्तडप्रतिको असीम छाप बसालिसकेको थियो ।
एउटा दुर्गम ठाउँमा रहेर नबिग्रिएको प्राकृतिक सुन्दरतालाई यही जीवनकालमा जसरी पनि आस्वादन गर्नुपर्छ भन्ने त थियो । तर उचित मौका जुरिरहेको थिएन ।
फागुनको अन्तिम साता खप्तडको यात्राका लागि साथीहरूबाट प्रस्ताव आयो । झट्ट वाल्यकालमा मानसटलमा बनेको खप्तडको मानचित्र आँखामा झलझली आयो । त्यसपछि एकै वचनमा ‘हुन्छ’ भन्ने उत्तर दिएँ । त्यहीँबाट खप्तड यात्राको योजना अघि बढ्यो ।
बझाङ, बाजुरा, डोटी र अछाम जिल्लालाई छोएको खप्तड राष्ट्रिय निकुञ्जको यात्राको अघिल्लो दिन चैत तीन गते नयाँ उत्साह र उमंगले मनमा बेचैनी पैदा भइरहेको थियो । स्कुले जीवनमा सुनेको र पढेको खप्तड क्षेत्रको विभिन्न समयमा फोटोग्राफरले कैद गरेको फोटोको आधारमा मस्तिस्कमा तयार भएको मानचित्रले अघिल्लो दिनदेखि नै बेचैनी बढाउँदै थियो । मनमा अनेकथरी कुरा खेले । कस्तो होला ? केही कठिनाइ आयो भने के गर्ने ? जस्ता कौतुहल मस्तिष्कमा भरिएर आए । त्यही मानचित्रलाई मस्तिस्कमा राखेर हामी चैत ४ गते काठमाडौंबाट खप्तडको यात्रामा निस्कियौं ।
काठमाडौंदेखि ६५० किलोमिटरको दूरीमा धनगढी र त्यसपछि ८ घण्टाको बसयात्रापछि सिलगढी पुगेपछि सुरु हुन्छ, पैदल यात्रा । यहींबाट सुरु हुन्छ वास्तविक घुमघामको मजा पनि । उकालो बाटो, छेउछाउमा राताम्ये लालीगुराँस, ठीक पारिपट्टि सेता हिमाल र त्यहीँबाट फर्किएको चीसो सिरेटोले उकालोको थकानलाई भुलाउँदै छ ।
यस पटक हाम्रो पैदलयात्रा खप्तड राष्ट्रिय निकुञ्जको प्रवेशद्वार झिग्रानाबाट सुरु भएको थियो । झिग्राना डोटी जिल्लामा पर्छ । झिग्रानामा पाइला टेक्नेबित्तिकै जंगली जनावर र चराचुरुंगीको चिरबिर आवाज सुनिन्छ । छुट्टै संसारको प्रवेशद्वार जस्तो देखिन्छ । साथै, सुन्दर प्रकृतिको एउटा शृंगारिक छटाको अवलोकन गर्न सकिन्छ ।
हरेक ५०० मिटरको हिँडाइपछि पैदलयात्रीको लागि प्रतीक्षालय छ । जति माथि पुग्यो उति नै पैदलयात्रीले आनन्दको महसुस गर्छन् । जतिमाथि पुग्यो उति सेता पहाडलाई राता लालीगुराँसले सिँगारेको सुन्दर दृश्य देखेर थकान भुलाउने गर्छ ।
झिग्रानाबाट उक्लिएको केही मिनेटमै नेपाली सेनाको व्यारेक पुगिन्छ । गन्तव्यको सोधीखोजी एवं झोलाका सबै सामानको जाँच गरिसकेपछि ‘शुभ यात्रा’को मीठो आतिथ्य दिएर बिदाइ गरे । हामी झनै रोमाञ्चित भयौं । किन भने एउटा सपनाको दुनियाँमा हामीले प्रवेश गर्दैथियौं ।
खप्तड आफैंमा प्राकृतिक सुन्दरताले मात्रै होइन, आप्त पुरुषहरुको तपोभूमिका कारण पनि चर्चित छ । यही ठाउँमा खप्तड बाबा तपद्वारा सिद्धि प्राप्त गरे । यही पवित्र भूमि धार्मिक हिसाबले समेत देवभूमिको रुपमा चिनिन्छ । झिग्रानाबाट साढे ९ किलोमिटरको दूरीमा छ, बीचपानी । बीचपानी पुग्नको लागि मालिका मन्दिरको र ३ वटा ट्रस्ट घरमध्ये दुईवटा बाटो छ । त्यहीं पुगेर हामीले खाना खाँदै अल्पकालीन विश्राम गर्यो । त्यसपछि हाम्रो यात्रा सिधा उकालो हुँदै फोनडाँडा हुँदै बुकी दहतिर मोडियो । पैदलयात्रामा साढे ६ किलोमिटरको ठाडो उकालोलाई ढकमक फूलेका सुन्दर फूलको सुगन्धले भुलेर हामी ३ घण्टामा बुकी दह पुग्छौं ।
त्यसपछि छिन्टे ढुंग, सीता पाइला, केदार ढुंगा, खप्तड बाबा आश्रम लगायतका क्षेत्रमा घुम्दै एक रात एक दिनको यात्रापछि हामी पुनः झिग्राना आएर खप्तडको यात्रालाई पूर्ण गरियो । त्यहाँ रहेका २२ पाटनमध्ये हामी १० पाटनको यात्रा गरेका थियौं । यो क्षेत्रको पदयात्रामा जाँदा केही सामानहरू भुल्नु हुँदोरहेन छ ।
खप्तड ट्रेकिङ जाँदा लैजानुपर्ने सामानहरु :
१. ट्रेकिङ जुत्ता
२. ट्रेकिङ व्याग
३. पानीको बोत्तल
४. केही खानेकुरा
५. चस्मा
from Online Khabar https://ift.tt/j8pYs4g
No comments:
Post a Comment