Saturday, March 26, 2022

बागमती प्रदेश खेलकुद : चितवन च्याम्पियन

१३ चैत, काठमाडौं । चितवन जिल्लाले प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिताको उपाधि जितेको छ ।

शनिबार सम्पन्न प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता २०७८ मा सहभागी ८ खेलमा सर्वाधिक पदक हात पार्दै चितवन जिल्ला च्याम्पियन बनेको हो ।

बागमती प्रदेश खेलकुद विकास परिषद्ले आयोजना गरेको प्रतियोगिताको दोस्रो स्थान काठमाडौं र तेस्रो स्थान ललितपुरले हात पारे ।

चितवनले २१ स्वर्ण, १९ रजत र १४ कांस्य हात पार्‍यो । काठमाडौंले १९ स्वर्ण, ६ रजत, ७ कांस्य र ललितपुरले ९ स्वर्ण, ९ रजत र ८ कांस्य हात पार्‍यो ।

बागमती प्रदेशका १३ जिल्लालाई समावेश गर्दै आयोजना गरिएको प्रतियोगिता शनिबार काभ्रेको धुलिखेल रंगशालामा समापन गरिएको छ । प्रतियोगिताको फागुन २८ गते मकवानपुरको हेटौंडास्थित पिप्ले क्यापडाँडा रंगशालामा उद्घाटन गरिएको थियो ।

प्रतियोगितामा प्रदेश सरकारले प्राथमिकतामा राखेका ८ खेललाई समावेश गरेको थियो । जसमध्ये हेटौडामा ब्याडमिन्टन, तेक्वान्दो, पुरुष फुटबल, चितवनमा भलिबल र क्रिकेट, काठमाडौंमा एथलेटिक्स, काभ्रेमा महिला फुटबल र बक्सिङ, सिन्धुपाल्चोकमा कराँतेका खेल आयोजना गरिएको थियो ।

प्रतियोगिताको अन्तिम दिन महिला फुटबलमा मकवानपुरले धादिङलाई एक शून्यले हराउँदै पहिलो स्थान हासिल गर्‍यो ।

बक्सिङतर्फ पुरुष ४८ केजीमा काठमाडौंमा रविन थापा, ५१ केजीमा काभ्रेका लालप्रसाद उप्रेती, ५४ केजीमा ललितपुरका सुमन नेपाली, ५७ केजीमा काठमाडौंका सुजर महर्जन, ६० केजीमा ललितपुरका शेखर कुटवाजु, ९२ केजीमाथि काभ्रेका रवीन्द्र घिमिरे, ९२ केजीमुनि चितवनका विभान गुरुङ, ८६ केजीमा काठमाडौंका सोनु गुरुङ, ८९ केजीमा ललितपुरका राजन तामाङ, ७५ केजीमा काभ्रेका विनिस राई, ७१ केजीमा काठमाडौंका प्रमोद राई, ६७ केजीमा मकवानपुरका अमन श्रेष्ठ र ६३ केजीमा रसुवाका मौसम राना मगरले स्वर्ण जिते ।

महिलामा ५० केजीमा भक्तपुरकी अस्मिता ढुवाल, ५७ केजीमा काभ्रेकी हेमा राई, ६० केजीमा दोलखाकी डेचेन शेर्पा, ४८ केजीमा काठमाडौंकी सुस्मा तामाङ, ५२ केजीमा भक्तपुरकी सुस्मा खड्का, ५४ केजीमा रामेछापकी सोस्तिका तिरुवा र ६६ केजीमा काठमाडौंकी कबुना श्रेष्ठले स्वर्ण जिते ।

उपाधि विजेता खेलाडीलाई संघीय सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकाल, प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीलगायतले पुरस्कृत गरेका थिए ।

समापन समारोहलाई सम्बोधन गर्दै बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले खेलकुदको ऐन कानुन, संरचना बनाउने काममा अघि देखिएको बागमती प्रदेश सरकारले प्रदेशस्तरीय खेलकुद प्रतियोगिता आयोजना गरेर इतिहास रचेको बताए ।

प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न ढकालले छोटो समयको तयारीमा चुनौतीका बाबजुत प्रतियोगितालाई सफलतापूर्वक आयोजना गरिएको उल्लेख गरे ।

समापन समारोहका प्रमुख अतिथि संघीय सरकारका युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले प्रदेश खेलकुद आयोजना गरेर बागमती प्रदेश सरकारले उल्लेख्य सफलता हासिल गरेको उल्लेख गर्दै यसले अन्य प्रदेशलाई समेत प्रदेश स्तरीय खेलकुद प्रतियोगिता आयोजना गर्न हौसला मिल्ने बताए । उनले प्रदेश खेलकुदमा राष्टिय कीर्तिमान कायम गर्ने खेलाडीलाई आसन्न एसियन गेम्सको बन्द प्रशिक्षणमा राखिने जानकारी दिए ।

प्रतियोगितामा २१ सय बढी खेलाडी सहभागी बनेका । संघीय संरचना अनुसार प्रदेश खेलकुद विकास परिषद् गठन भएपछि प्रदेश खेलकुद प्रतियोगिता आयोजना गरेर बागमती प्रदेश सरकारले इतिहास रचेको छ ।

 महिला फुटबल विजेता टिम



from Online Khabar https://ift.tt/TPJ6CXK

No comments:

Post a Comment