Monday, March 14, 2022

नेपाल-युएई संयुक्त समितिको बैठक आज

१ चैत, काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री डा. अव्दुल रहमान अव्दुलमानन अल अवारबीच आज भेटवार्ता हुँदैछ ।

भेटवार्ताको क्रममा नेपाली श्रमिकको सुरक्षा र हितका विभिन्न आयामबारे छलफल हुने मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ । मन्त्री श्रेष्ठले ‘भिजिट भिसा र सोबाट सिर्जित समस्या समाधानका उपायहरूबारे समकक्षीसँग छलफल गर्ने’ मन्त्री श्रेष्ठको सचिवालयबाट जारी प्रेस नोटमा उल्लेख छ ।

नेपाल र संयुक्त अरब इमिरेट्सको संयुक्त समितिको बैठकमा सहभागी हुन मन्त्री श्रेष्ठ यूएईको राजधानी आबुधावी गएका हुन् । आज हुने बैठकको उदघाटन सत्रलाई मन्त्री श्रेष्ठ र समकक्षी अल अवारले सम्बोधन गर्नेछन् ।

उदघाटन सत्रपछि प्राविधिक समूहको बैठक हुने छ । सो बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व मन्त्रालयका सहसचिव राजीव पोखरेलले गर्नेछन् । बैठकमा नेपाल र संयुक्त अरब इमिरेट्सबीच सन् २०१९ मा भएको श्रम–सम्झौता कार्यन्वयनबारे समीक्षा हुने मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।

बैठकमा वैदेशिक रोजगारीका लागि युएई जाने नेपाली श्रमिकको सुरक्षा, पारिश्रमिक वृद्धि र पर्यटन भिसामा आएर अलपत्रमा परेका नेपालीहरुको समस्या समाधानबारे पनि बैठकमा छलफल हुनेछ ।

बुधबार मन्त्री श्रेष्ठले आबुधावीस्थित नेपाली दूतावासमा नेपाली श्रमिकले भोगेका समस्या र समाधानबारे नेपाली समुदायसँग छलफल गर्ने कार्यक्रमसमेत तय भएको छ ।



from Online Khabar https://ift.tt/VbBDTKa

No comments:

Post a Comment