Tuesday, March 15, 2022

‘अभिव्यक्ति स्वतन्त्रता नै लोकतान्त्रिक समाजको मुख्य सूचक हो’ 

३४ वर्षअघि रिलिज भएको फिल्म ‘युगदेखि युगसम्म’पछि राजेश हमालले कहिल्यै पछाडि फर्किएर हेर्नुपरेन । करिअरको यो विन्दुसम्म आइपुग्दा पनि हमाल नेपाली फिल्मको ट्रयाकमा बुर्कुसी मार्दैछन् ।

मोडल बन्न कुनै बेला मुम्बई हानिएको राजु नामक ठिटोले कसरी देश फर्किएर राजेश हमालमा आफूलाई बदल्यो ? कसरी ऊ ‘महानायक’ कहलियो ? कसरी उसले ‘स्टारडम’ को मानक खडा गर्‍यो ? यी प्रश्नको जवाफ निकै रोचक लाग्छन् ।

हालैको एक साँझ राजेश आफ्नो चर्चित अखडा ‘लन्डन क्याफे’ मा अनलाइनखबरसँग गफिए— युट्यूब, प्रकाश सपुतको नयाँ गीत, काठमाडौंको मेयर, गायन, कोभिड महामारी, स्टारडम, फिल्म निर्देशन, रूस–युक्रेन युद्ध र आउने समयको बारेमा । प्रस्तुत छ अनलाइनखबरका लागि विष्णु शर्माले महानायक राजेश हमालसँग गरेको कुराकानीको सम्पादित अंश ।

नेपालमा युट्यूब प्रयोगलाई लिएर सरकारले कडाइ गरिरहँदा र चौतर्फी बहस भैरहँदा तपाईंले सोही ‘प्लाटफर्म ज्वाइन’ गर्नुभएको छ, किन ?

पहिलेदेखि नै युट्यूब गर्छु भन्ने योजना थियो । यतिबेला संयोगवश डेब्यु भएको मात्र हो । आफ्नो सोचाइ र भोगाइलाई समेटेर ‘प्लाटफर्म’ उपयोग गरौं भनेर हो । अहिलेको जमानामा नौलो कुरा पनि हैन । म अलिकति ढिलो आएँ, त्यही नै हो । के कस्तो सामग्रीबाट काम गर्ने भन्नेबारे पनि सोच्न सकिरहेको थिइनँ । संयोगवश अहिले यस्तो समयमा पर्‍यो । युट्यूब जस्ता ‘प्लाटफर्म’ भनेको त अभिव्यक्तिको माध्यम मात्रै हो । मेरो विचारमा त्यसले स्वतन्त्रता पाइरहनुपर्छ ।

युट्यूबले डिजिटल अनुशासन कायम नगरे कडाइ गर्नुपर्ने हुन्छ भन्ने सरकारको भनाइप्रति तपाईंको धारणा के छ ?

यी त समयले लिएर आएका कुरा हुन् । समयले ल्याएका कुरालाई कसरी ‘च्यानलाइज’ गर्नुपर्छ भन्ने सरकार जिम्मेवारीमा हुन्छ । समयले ल्याएका परिवर्तनलाई प्रतिबन्धित गर्नुपर्छ भन्ने कुरा लोकतान्त्रिक माहोलमा उचित नहोला तर ‘च्यानलाइज’ कसरी गर्नुपर्छ भन्ने कुरा त आउँछ । कसैलाई केही असर पर्‍यो भनेर समयानुसार उपलब्ध प्रविधिलाई रोक्न सकिंदैन ।

जस्तो कि फिल्म हेर्न पहिले फिल्म हल नै जानुपथ्र्यो मान्छेलाई । अहिले मान्छेले हात–हातमा मोबाइल राखेर युट्यूब र एपमा हेर्न थाले जसकारण फिल्मलाई असर गर्‍यो भनेर बन्द गर्न त मिल्दैन । त्यो त समयले ल्याएको प्रविधि हो । हामी फिल्मकर्मीले पनि यही प्रविधिसँग हातेमालो गरेर कसरी अघि बढ्न सकिन्छ भनेर समन्वय गर्नुपर्छ । समयअनुसार त राजनीति, कला र समाज पनि ढल्नुपर्ने हुन्छ ।

युट्यूबमा तपाईंले कस्ता कन्टेन्ट र कार्यक्रम ल्याउने तयारी गर्नुभएको छ ?

सरल र मनोरञ्जनात्मक तरिकाबाट गहन विषयवस्तु पस्कने विचारमा छु । गहन विषयवस्तुलाई पनि मनोरञ्जनात्मक तरिकबाट पस्कन सकिन्छ भन्ने मलाई लाग्छ ।

हालै तपाईंले काठमाडौंको मेयर बन्ने चाहना व्यक्त गर्नुभएको सार्वजनिक भएको थियो । के राजनीतिमा जाने तयारी गर्नुभएको हो ?

एउटा व्यंग्यात्मक कुरा थियो त्यो । संकेत मात्र गरेको हुँ । हाम्रो सहर अस्तव्यस्त भएको सबैलाई महसुस भएकै छ । सहर सुन्दर, व्यवस्थित र घुम्दा पनि सफा अनि रमाइलो होस् भन्ने चाहनाबाट उक्त कुरा भनेको हुँ । राजनीतिमा जाने योजना तुरुन्तै छैन । पार्टीगत हिसाबले त म लागेकै छैन ।

तपाईंकै गायन रहेको दोस्रो गीत यसै साता रिलिज भयो, म्युजिक करिअरलाई कसरी अघि बढाउन चाहनुहुन्छ ?

संगीत ‘इन्टरटेनमेन्ट’ को एउटा पाटो हो । प्रयास किन नगर्ने भन्ने कुरा आयो । अनि हुन्छ भनेर मैले पनि प्रयास गरें । नयाँ–नयाँ कुराहरू सिक्न पनि मलाई रुचि लाग्छ । गीत–संगीत र सिनेमा एउटै क्षेत्र जस्तो पनि पर्‍यो । अनि अहिले सिनेमा पनि खासै ‘सुटिङ’ भैरहेको छैन । सम्पूर्ण तयारी हुँदाहुँदै पनि हामी ‘फ्लोर’मा जान सकिरहेका छैनौं । सिनेमाको पूर्ण तयारी भए पनि कोभिड र अन्य कारणले गर्दा हामी जान सकिरहेका छैनौं ।

त्यसैले म त मनोरञ्जन क्षेत्रमा छु । आफू ‘प्रोडक्टिभ’ किन नहुने ? किनभने ‘प्रोडक्टिभ’ समय त सधैं रहिरहँदैन । मान्छेको जीवन पनि छोटो छ । यी सबै पक्षहरूमा केही न केही अनुभव बटुल्ने हेतुले गरेको हो । गाउँले ठिटो भन्ने आखिरी गीत जुन मैले गरें त्यो सुनियोजित योजना नै थियो । यस्तो गीत गरौं, जुन चाहिं समसामयिक नेपाली समाज, नेपालीको भावना प्रकट हुने खालको गीत गरौं भनेर कुरा आयो, त्यही अनुसार ‘लिरिक्स’ लेखियो । लेखिएपछि दाइले नै गाउँदा ठीक हुन्छ भन्ने भयो । यसरी नै यो गीत सिर्जना भएको हो ।

गायक प्रकाश सपुतको गीत ‘पिर’लाई लिएर अहिले भैरहेको विवादलाई कसरी लिनुहुन्छ ?

गहिराइमा गएर मैले बुझेको छैन । यस्तोविधि हल्ला हुँदा कुनै न कुनै हिसाबबाट त कानमा परिहाल्छ । विस्तृत रूपमा त मैले हेर्‍या छैन । तर, म अभिव्यक्ति स्वतन्त्रताको वकालत गर्छु । लोकतान्त्रिक समाजको अभिव्यक्ति स्वतन्त्रता नै मुख्य सूचक हो । हामी आफ्नो राष्ट्रलाई लोकतान्त्रिक मान्छौं भने यहाँ अभिव्यक्ति स्वतन्त्रता हुनैपर्छ । अभिव्यक्तिलाई कसरी ग्रहण गर्ने, त्यो अभिव्यक्तिलाई अर्को व्यक्तिले कसरी लिने भन्ने कुरा चाहिं मुख्य कुरा हो । अभिव्यक्तिलाई नै प्रतिबन्ध गर्ने, अभिव्यक्तिमाथि नै हावी हुने लोकतान्त्रिक प्रणालीभित्र पर्दैन जस्तो लाग्छ मलाई । स्वतन्त्र अभिव्यक्तिको चाहिं म वकालत गर्छु ।

के नेपालमा दलहरूले सिर्जनालाई आफू अनुकूल व्याख्या गरिरहेको अवस्था हो ?

यदि आफ्नो पक्ष सशक्त छ, आफ्नो स्थान बलियो छ भने अर्को पक्षको अभिव्यक्तिले केही फरक पार्दैन । आफ्नो स्थानले आफूलाई सुरक्षित राख्दैन भने मात्र असुरक्षा हुन्छ । यदि आफ्नो स्थानलाई लिएर तपाईं ढुक्क हुनुहुन्छ भने सामाजिक, राजनीतिक कोणबाट तपाईंको विपक्षमा आउने अभिव्यक्तिले तपाईंलाई खासै डगमगाउने अवस्थामा पुर्‍याउँदैन ।

विभिन्न कोणबाट आउने अभिव्यक्तिबाट हिच्किचाउने त्यही व्यक्ति हुन्छ जो आफ्नो स्थानलाई लिएर असुरक्षा महसुस गर्छ । नभए उसले त विपक्षीको अभिव्यक्तिलाई पनि सुन्छ । लोकतन्त्रमा राजनीतिक, सामाजिक र पेशागत स्थानबाट तपाईं सुरक्षित हुनुहुन्छ भने विपक्षीको अभिव्यक्ति त झक्झकाउने चीज मात्रै हुन्छ ।

बजार सामान्य भए म फिल्म निर्माणमा अघि बढ्छु भनेर भन्नुभएको थियो । यो कुरा कहाँ पुगेको छ ?

हामीसँग कथा पनि छ । कोभिड सुरु हुनुभन्दा केही समय अगाडि मेरो  आफ्नै प्रोजेक्ट नभए पनि म अर्को एक मेगा प्रोजेक्टमा सहभागी हुने कुरा थियो । कोभिड र अन्य कारणले त्यो चाहिं हामीले सोचेभन्दा धेरै नै लम्बियो । अलिकति अन्योलमा पनि गर्‍यो । भलै त्यसको सम्पूर्ण तयारी पनि भैसकेको थियो । म पछिल्ला दुई वर्षमा शतप्रतिशत त्यसमा लागिरहेको थिएँ । प्रोजेक्ट विभिन्न कारणले ‘फ्लोर’मा जान ढिला भैरहेको हुनाले अब चाहिं आफ्नै ‘प्रोजेक्ट’ अघि बढाउँछु जस्तो लाग्छ मलाई ।

यो ‘प्रोजेक्ट’ ले अहिलेसम्म कस्तो आकार लिएको छ ? निर्माण, निर्देशन, कलाकार र अन्य पक्षमा ?

हामीले यसको स्टोरी लाइन तयार पारेका छौं । मेरो टाइपको ‘फिल्ममेकिङ’ भनेको दर्शकलाई हेर्दा पनि आनन्द आओस् भन्ने हो । यसमा केही समसामयिक र राष्ट्रका विगत र वर्तमानका विभिन्न मुद्दा होउन् । यी सबै कुरा कुनै न कोणबाट समेटिउन् र समाजले भोगेका र भोग्न लागेका कुराबाट समाज पनि परिचित होस् भन्ने हो ।

मनोरञ्जनात्मक हिसाबबाट हेर्न सकिने टाइपकै फिल्म बनाउन सकूँ भन्ने हो । आफ्नै लेखाइ भएकाले सोचाइ त आफैं निर्देशन गरुँ कि भन्ने छ । अरूको कथामा फिल्म बनाउन एक–दुई वटा अफर त आइरहेको छ । अरूको स्टोरीमा निर्देशन गर्न म त्यति तयार भैरहेको छैन । मेरो आफ्नै स्टोरी भएकाले आफैं निर्देशन गर्छु होला । अहिलेसम्म ‘कास्ट’ बारे सोचेको छैन । वातावरण सहज हुने वित्तिकै ‘फ्लोर’ मा जान्छु । अहिले पनि वातावरण सहज छैन ।

फिल्म बनाउन वातावरण उपयुक्त हुनुपर्‍यो । फिल्मको लागि चाहिने बृहत् मार्केट हामीले खोज्न सकिरहेका छैनौं । पहिले नै बनेको ‘ओभरसिज मार्केट’ त्यहाँ पनि देखाइहाल्ने परिस्थिति छैन । बनेर बसिरहेका धेरै ‘मेगा प्रोजेक्ट’ पनि अड्किरहेका छन् । वातावरण अलिकति सहज होस्, आफूले बनाएको सामग्री पस्कन वातावरण बनोस्, त्यो भएपछि बनाउने हो । बनाउनको लागि मात्र बनाएर त के भो र ?

कोभिडपछि फिल्मलाई लयमा फर्काउन के गर्नुपर्छ जस्तो लाग्छ ?

चहलपहल त सुरु भैसकेको छ । हलमा पनि मान्छेहरू आउन थालेका छन् । हाम्रो उद्देश्य यही नै हुनुपर्छ कि कसरी राम्रो चलचित्र हलमा राख्न सकौं ताकि दर्शक आइदिउन् । किनभने दर्शकले नेपाली फिल्म वा विदेशी फिल्म भनेर छुट्याउँदैनन् । दर्शकलाई राम्रो फिल्म चाहिएको छ । फिल्म राम्रो भए दर्शक हलसम्म आउँछन् ।

नराम्रो भएपछि आइदिनुस् भनेर मात्र भएन । हाम्रो मुख्य ध्येय भनेकै आफ्नो सामग्री सशक्त बनाउनुपर्‍यो । फिल्ममा दम हुनुपर्‍यो । त्यो भएको खण्डमा र विस्तारै–विस्तारै दर्शकलाई हलमा आउने बानी पनि पर्दै जान्छ । अनि हलहरू पनि व्यवसाय गर्न उत्साहित हुन्छन् ।

तर पहिलेको परिस्थितिमा आउन हामीलाई समय अवश्य पनि लाग्छ । केही धैर्य चाहिन्छ । तर, हामी हतोत्साही हुनुुहुँदैन । चुनौतीपूर्ण समयलाई सामना गर्न हामी पनि तयार भएर जानुपर्छ ।

महामारीअघि हामीले जहाँ उद्योगलाई छाडेका थियौं, त्यहींबाट सुरु गर्न सक्दैनौं । अलिकति ‘ब्याकगियर’ लगाइसकेको छ । त्यहाँबाट अघि बढ्न हामीले केही चुनौतीको सामना पनि गर्नुपर्छ । सम्पूर्ण सिनेकर्मी एकजुट हुनुपर्छ । अहिले हामी विशेष परिस्थितिबाट गुज्रिरहेका छौं ।

अहिले हामीलाई ‘कन्टेन्ट’ महत्वपूर्ण कि ‘स्टारडम’ ?

यी दुवैको खाँचो पर्छ । सिनेमा भनेको ‘स्टारडम’ मा पनि दम हुनुपर्छ । स्टारडम भनेको त व्यक्तिलाई आकर्षित गर्ने कुरा मात्र हो । अन्ततः दिगो हिसाबले फिल्म चल्ने भनेको त ‘कन्टेन्ट’ ले नै हो । दर्शकले लोकप्रिय ठानेका हिरो–हिरोइन देशमा हुनुहुन्छ ।

पब्लिकलाई सुरुआतमा आकर्षित गर्न त त्यसले काम गर्छ तर, त्यो फिल्म दिगो हिसाबले चल्न त ‘कन्टेन्ट’ नै राम्रो हुनुपर्‍यो । स्टार छैन तर पनि कन्टेन्ट आफैंमा बलियो छ भने पनि यसको परिणाम राम्रो हुन्छ । मलाई लाग्छ, फिल्ममा मुख्य भूमिका ‘कन्टेन्ट’ ले नै खेल्छ ।

पछिल्ला दिनमा दक्षिण भारतीय फिल्महरूको प्रभाव नेपाली ‘बक्स अफिस’मा देखिएको छ । के नेपाली फिल्मको लागि चुनौती थपिएको हो ?

नेपाली फिल्मको लागि बाहिरी फिल्महरू जहिले पनि चुनौती थिए । अहिले यो लहर (साउथ इन्डियन फिल्म) पनि आइरहेको छ । चुनौतीमुक्त त नेपाली फिल्म क्षेत्र कहिल्यै पनि थिएन । तर, हामीले आफ्ना दर्शकलाई आफ्नो ‘कन्टेन्ट’ प्रति कसरी आकर्षित गर्न सकिन्छ भनेर सोच्नुपर्छ । नेपाली फिल्मको बलियो पक्ष भनेको नेपाली भावना हो । नेपाली भावना राम्रोसँग देखाइएको फिल्म नेपाली समुदायले पाउँछन्, त्यही मापदण्डमा विदेशी फिल्ममा पाउँदैनन् । विदेशी फिल्ममा पस्किएका भावना र विषयवस्तुहरू मनोरञ्जनपूर्ण भए पनि, केही हदसम्म रिलेट गरेतापनि जति नेपाली परिवेशलाई नेपाली व्यक्तिले महसुस गर्न सक्छन् त्यति विदेशीमा गर्न सक्दैनन् ।

नेपाली फिल्मको सशक्त ‘प्वाइन्ट’ भनेकै त्यही हो । नेपाली मन र नेपाली चीजलाई कसरी प्रस्तुत गर्न सकिन्छ भन्ने हो । यसो गर्न सकिए नेपाली दर्शक नेपाली फिल्म हेर्न आउँछन् । यसलाई नै हामीले बिक्रीको मुख्य उत्पादन बनाएर आफ्नो चीज बेच्न सक्यौं भने त्यो चुनौतीको सामना गर्न सकिन्छ । तर, नेपाली दर्शकहरू खाली नेपाली फिल्म भनेरै हेर्न आउँदैनन् । हामीले त्यो पनि बुझ्नुपर्छ ।

तपाईंले ३० वर्षसम्म ‘हिरोइज्म’ र मानक खडा गर्नुभयो । तर, पछिल्लो समयमा के त्यो विशेषताको अभाव देखिएको हो ?

समयअनुसार नै व्यक्तिले आफूलाई संचालन गर्नुपर्ने हुन्छ । केही नयाँ कलाकारहरूले कोभिड अगाडि ‘स्पिड’ मा काम गरेका थिए । अब त्यसमा  केही न केही विघ्न बाधा आइपरेको छ । अहिलेको पुस्ताको लागि सबैभन्दा नराम्रो कुरा चाहिं यही नै हो । कोभिडले तीन वर्ष उनीहरूको स्पिडमा ब्रेक ल्याइदिएको छ । त्यसलाई हिम्मत नहारिकन फेरि आफ्नो क्रियाकलाप कसरी अघि बढाउने भनेर नयाँ पुस्ता लाग्नुपर्छ । किनभने यो भनेको चानचुने कुरा हैन । म आफैं सोच्छु, मैले ‘युगदेखि युगसम्म’ भन्ने फिल्म गरिसकेको थिएँ, ठ्याक्क कोभिड आइदिएको भए के हुन्थ्यो ?

समयअनुसार सबैजना अगाडि बढ्नुपर्छ । ‘कन्टेन्ट’ आफैंमा सबैभन्दा सशक्त हुन्छ । त्यही हिसाबले जान सक्नुपर्छ । त्यसरी जाँदाखेरी केही सम्झौता गर्नुपर्ने होला । हाम्रो ‘बजेटिङ’ मा सम्झौता गर्नुपर्ने हुन्छ कि ! अन्य कुरामा सम्झौता गर्नुपर्ने हुन्छ कि ! सबैभन्दा महत्वपूर्ण कुरा के हो भने ‘फिल्ममेकिङ’ को प्रक्रिया चाहिं रोक्नुहुन्न ।

वातावरण बनेर हलहरू खुल्न थाले, दर्शक आउन थाले भने कम बजेटमा अरू उत्कृष्ट फिल्म कसरी बनाउन सकिन्छ ताकि लगानीको हिसाबले जोखिम नहोस् भन्ने नयाँ सोचाइ हुनुपर्छ । बजेटको हिसाबमा जोखिम पनि नहोस्, फिल्म बन्ने काम पनि ठप्प नहोस् भन्ने परिस्थितिबाट हामी अगाडि बढ्नुपर्छ ।

तपाईं केही महिनाअघि मुम्बई पुग्नुभएको थियो । त्यहाँ तपाईंले नेपाल र भारतबीच संयुक्त लगानीमा फिल्म निर्माण गर्न सकिने बताउनुभएको थियो । यसबारे प्रकाश पार्दिनुस् न !

त्यो ‘ज्वाइन्ट भेन्चर’ भनेको, उताको टीम यहाँ आएर फिल्म बनाउने भन्ने हो । विशेषगरी लगानी उताकै गर्ने र यहाँ चाहिं म लगायतका केही कलाकार यताकै रहेर नेपालमै छायांकन गर्ने योजना छ । सो प्रोजेक्टको लागि उहाँहरूले कथावस्तुको छनोट गरिरहनुभएको छ । यताको परिवेश र कलाकारलाई पनि समेट्न सक्ने कथावस्तु कस्तो हुनसक्छ भन्ने हिसाबबाट उहाँहरू गृहकार्य गरिरहनुभएको छ ।

यसरी दुइटा मुलुक जोड्दा सांस्कृतिक हिसाबले पनि यी दुई मुलुक नजिक होउन्, आत्मीयता होस् भन्ने हो । हाम्रो राजनीति कहिलेकाहीं यताउता हुँदा पनि सांस्कृतिक हिसाबले दुई राष्ट्र नजिक छन् भन्ने बोध गराउन सके राम्रो हुन्थ्यो भन्ने हिसाबले यो योजना अघि बढाइएको हो ।

बिहेपछिको जीवन कस्तो चल्दैछ ? निजी जीवनका योजनाबारे मधुजी र तपाईंबीच कस्तो समझदारी बनेको छ ?

हाम्रो वैवाहिक जीवन हाम्रो ‘प्लानिङ’ अनुसार नै चलिरहेको छ । बालबच्चा नहुनु पनि हाम्रो ‘प्लानिङ’ अन्तर्गत नै पर्छ । यो अनौठो सुनिन्छ तर नितान्त व्यक्तिगत कुरा हो । सामान्य व्यक्तिहरूले सुन्दा चाहिं यो मान्छेले के गरिराख्या होला भन्ने पनि पर्ला । ढिलो बिहे गर्‍यो, बिहे गरेको ५–६ वर्ष भैसक्यो । अहिले पनि ‘प्लानिङ’ मै छु भन्छ । यो चाहिं नितान्त हामीमा मात्र लागू हुने कुरा भयो । बच्चा ‘एडप्ट’ गर्ने तयारीमा त छैनौं । ‘बायोलजिकल्ली’ नभएर गर्‍या होइन । ‘बायोलजिकल्ली’ हामीलाई केही गुनासो छैन । सायद अर्को उपाय अपनाएर पनि सन्तान जन्माउनुपर्छ कि भन्ने छ । अर्को उपाय भनेको सन्तान नगरुम् कि भन्ने विचारबाट अब सन्तान उत्पादन गरुम् कि भन्ने विचारतर्फ भन्ने हो ।

राजनीतिक अस्थिरता र महामारीको अनिश्चितताबीच जीवन बाँचिरहेका नेपाली नागरिकलाई तपाईंको सन्देश के हुन्छ ?

परिस्थिति जीवनक्रममा कहिल्यै पनि सहज हुँदैन । कुनै पनि कालखण्डमा सहज हुँदैन । अहिले घडीमा आएर हरेक समय, हरेक पल सहज होस् भन्ने अपेक्षा राख्नु पनि हुँदैन । जिउने क्रममा संसारका घटनाक्रममा धेरै उतारचढाव आउँछन् । अहिले आएका जति घटनाक्रम छन्, ती इतिहासमै नभएका नौला पनि होइनन् । कस्ता कस्ता चुनौतीको सामना गरेर मानवजाति यहाँ आइपुगेको छ । २१औं शताब्दीमा मानव जातिलाई सुविधा होस् भन्ने प्रयास हुँदाहुँदै पनि कोभिड–१९ घटनाक्रम, युरोपमा भएका हिंसाहरू, अहिले दुइटा राष्ट्र (रूस–युक्रेन)मा युद्ध भएको जस्तो देखिए पनि त्यो दुई राष्ट्रमा मात्र सीमित रहँदैन । त्यसको असर संसारले महसुस गर्छ ।

यस्ता परिस्थितिको सामना गर्नेबारे हामी सचेत हुनुपर्छ, हतोत्साही चाहिं हुनुहुँदैन । जीवन जहिले पनि सहज हुन्छ भन्ने हुँदैन । युक्रेनीहरूले आजको तीन महिनाअघि सहज रूपमा जीवन चलाइरहेका थिए । आज कति घर र राष्ट्रविहीन भएका छन् ।

विभिन्न कारणले यस्ता घटना मानवजीवनमा आउँदा रहेछन् । अहिले हामी पनि विशेष समयबाट गुज्रिएका छौं । कोभिडबाट सहज महसुस गरेका छौं । नेपालको आफ्नै खाले भूराजनीतिक परिवेश छ । यी सबैलाई बुझेर समयको सामना र सतर्कता अपनाउनुपर्ने पनि हुन्छ ।



from Online Khabar https://ift.tt/O7UoQZT

No comments:

Post a Comment