Friday, December 31, 2021
बड़े डिस्काउंट पर मिल रहा है 32 इंच का एंड्रॉयड Realme Smart TV, मिलेगा 24W का क्वाड स्पीकर
from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/3eDdBtQ
4 जनवरी 2022 से नहीं चलेंगे ये स्मार्टफोन, जानें कौन से हैं वह फोन और क्या है वजह
from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/3HH6I7x
समृद्धिका लागि कृषि उत्पादन
भूमण्डलीकरणसँगै उपभोगमुखी वातावरणमा जानी नजानी प्रवेश गरेको नेपाली परिवेशमा समृद्धिका लागि उत्पादन अनिवार्य शर्त हो। नेपाल सरकारले आफ्नो मूल नारा ‘समृद्ध नेपाल: सुखी नेपाली’ भन्ने तय गरेपछि समृद्धिप्रतिको नेपाली चासो बढेको छ। सदियौंदेखि चरम गरीबी, विभेद, सामाजिक असमानता, वञ्चितीकरणको पीडा भोगेको नेपाली समाजमा समृद्धिको नाराले उत्साहका तरंग फैलिएको देखिन्छ। पन्ध्रौं योजनाले समृद्धिका सूचकहरू तयार गर्दै गुणस्तरीय जीवनमापन गर्ने आधार तोकेको छ भने दिगो विकास लक्ष्यले समेत समृद्धिको पक्षमा पाइला चाल्ने तयारी गरेको छ।
समृद्धिले निरन्तर र नियमित रूपले कायम हुने सकारात्मक परिवर्तनको अपेक्षा गर्दछ। साविकमा भौतिक पूर्वाधारका क्षेत्रमा भएको विकास र परिवर्तनलाई समृद्धिको रूपमा लिइन्थ्यो।तर, सन् १९९० को दशक पश्चात् भौतिक पूर्वाधारको क्षेत्रमा भएको विकास तथा प्रगति मात्र समृद्धिको परिसूचक मात्र नभई समग्र मानवीय पक्षसँग जोडिएका विविध पक्षसँग हुने सकारात्मक परिवर्तनलाई समृद्धिको सूचकको रूपमा लिइन्छ। समृद्धि परिपूर्णता हो; नागरिकको अनुहारमा खुशीको झल्को झुल्किएको अवस्था हो।
समृद्धिले हठात् परिवर्तनलाई स्वीकार गर्दैन।आतंकवाद वा संगठित अपराधमा लागेर कोही पनि रातारात मालामाल हुनसक्ला। एउटा गरीब मानिसले चाउचाउ खाने क्रममा उपहारस्वरूप घर चिठ्ठामा पारेको पनि हुनसक्ला। तर यो समृद्धिको मार्ग किमार्थ होइन।क्रमिक सुधार, समतामूलक पहुँच, हिंसारहित समाजको सृजना समृद्धिका आधार स्तम्भहरू हुन्।अर्थतन्त्रसँग गाँसिएका सूचकहरूमा देखिएको सुधार समृद्धिका लागि अनिवार्य हो तर यसले मात्र समृद्धिलाई पूर्ण सुनिश्चितता दिन सक्दैन।
यसर्थ समतामूलक पहुँच, विविधताको सम्मान र स्वीकृति, राजनीतिक तथा सामाजिक विकास समृद्धिलाई बल प्रदान गर्ने र सही गन्तव्यमा लैजाने रणनीतिहरू हुन्।नेपालले यस्तै रणनीतिको प्रयोग शासकीय शैलीमा अनुवाद गरेर समृद्धि हासिल गर्ने परिकल्पना गरेको छ।
समृद्धिको पहिलो शर्त उत्पादन हो। उत्पादनको दर बढ्न सकेमा यसले आर्थिक वृद्धिलाई बढाउँछ। वि.सं. २१०० सम्ममा उन्नतशील मुलुकको रूपमा रूपान्तरण गर्ने सपना देखेको मुलुकमा दोहोरो अंकको आर्थिक वृद्धि कायम हुनु वाञ्छनीय छ।परन्तु यो हुनसकेको छैन। अझ कोभिड १९ को कारणले केही समय आर्थिक वृद्धि ऋणात्मक समेत रह्यो। आर्थिक वृद्धि बढोत्तरीको उपाय भनेकै वस्तु तथा सेवाको उत्पादन र तिनको प्रभावकारी वितरण प्रणालीको विकास हो। मानवीय क्षमता, प्रविधि, श्रम सहभागिता, रोजगारी र लगानीको अवस्थाले आर्थिक वृद्धिको दायरालाई बढाउँछ। हामीले उत्पादन विना समृद्धिको सुन्दर सपना देख्यौं।समृद्धिको सपना वितरण गरे बमोजिमको दरमा उत्पादन अघि नबढाइदा ती विषय फिक्का सावित भइरहेका छन्।उत्पादन विनाको समृद्धिको सपनाले नागरिकमा भ्रम र निराशाको खेती मात्र फष्टाउँछ।
सामन्तवादी अनि पूँजीवादी हुँदै समाजवादी अर्थव्यवस्थामा रुपान्तरित हुँदै गएको नेपाली अर्थतन्त्रको स्वरूपलाई हेर्दा धेरै नागरिक सहभागी भएर पनि कृषिको उत्पादनको दायरा साँघुरो छ।कृषिमा आधुनिकीकरण नभएकोले उद्योग क्षेत्रको योगदान समेत बढ्न सकेको छैन। विप्रेषणबाट अर्थतन्त्र परिचालित भएकोले उद्योग क्षेत्रको समुचित विकास नभए पनि सेवा क्षेत्रको योगदान भने ठीकै नै छ।अत: कृषि क्षेत्रको उत्थान नै नेपालमा उत्पादन बढाउने आधार हो।
नेपालमा कृषि क्षेत्रको उत्थानका लागि केही प्रयत्न गरिए पनि यसले पूर्णता प्राप्त गर्न सकेको छैन। चितवनलाई कृषि क्षेत्रको उत्पादन पकेट क्षेत्रको रूपमा घोषणा गरेर उत्पादन वढाउने कार्यक्रम गरियो। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालन गरी आधुनिक कृषि औजारमा कृषकहरूको पहुँच अभिवृद्धि गर्ने कार्य भएको छ। पाँचखाल पनौती लगायतका क्षेत्रमा तरकारी उत्पादन तथा दूध उत्पादनको पकेट क्षेत्रको रूपमा घोषणा गरी कतिपय कृषि उत्पादनमा नेपाललाई आत्मनिर्भरताको बाटोमा लम्काइएको छ।कृषि क्षेत्रमा सबैको चासो र चिन्ता बढाउन नसकेको कारणले यसतर्फ अपेक्षा गरे बमोजिमको प्रतिफल पाउन सकिएको छैन।
यसका लागि अबको ठूलो चासो र जागृति भनेकै यो हो कि युवाहरूलाई कसरी कृषिको उत्पादन क्षेत्रमा जोड्न सकिन्छ। समाजका अगुवाहरूले युवाहरूलाई कृषिको उत्पादनलाई आधुनिकीकरण गर्दै जीवनको वृत्तिको पहिलो पथ कृषि क्षेत्रलाई बनाउनका लागि मनोवैज्ञानिक परिवर्तन गर्न जरुरी छ। नेपालको संभावना रहेको क्षेत्र भनेकै कृषि क्षेत्रको उत्पादन हो। सन् १९६० को दशकमा नेपालले निर्यात गर्ने गरेका कृषि उपज आज त्यसको दोब्बर मात्रामा आयात गरिरहँदा र आयातको दर वर्षेनि वृद्धि भइरहँदा यो विषय नीतिनिर्माताको लागि दुख्ने घाउ बन्नै पर्छ। यसका लागि राज्य तथा राज्येत्तर निकायबाट तल चर्चा गरिए बमोजिमका केही विशेष पक्षमा ध्यान दिनै पर्छ।
१. गाउँ नगरबीच साझेदारी
गाउँ नै गाउँले भरिएको नेपाललाई सामान्य र अति आवश्यक पूर्वाधार नभएका केही गाउँ जोडेर नगरपालिका घोषणा गराउने र सोही बमोजिम शहरवासीहरूको प्रतिशत बढाउने मात्र काम भएको छ। नगरपालिका घोषणासँगै जग्गा दलाल र भूमाफियालाई कमाउ धन्दाको अत्यन्तै सुखद अवसर सृजना भयो। यसबाट खेतीयोग्य जमीनबाट हुने उत्पादनको दर ह्वात्तै घटेको छ।ग्रामीण सडक सञ्जालको विकास गरेर गाउँको उत्पादन शहरमा र शहरको उत्पादन गाउँसम्म लैजाने उपाय खोज्न सकेमा गाउँलाई आत्मनिर्भरता तर्फ डोहोर्याउन सकिन्छ भने शहरको उत्पादनको वितरण ग्रामीण भेगसम्म पुग्ने भरपर्दो उपायको खोजी गर्न सकिन्छ। ग्रामीण सीप र परम्परागत मूल्यमान्यताको जगेर्ना गर्न अवसरको रूपमा यसलाई लिन ढिला हुन लागिरहेको छ। पर्यटकीय गाउँहरूमा होमस्टे सञ्चालन गरिए तापनि तिनले आयातित खाद्यान्नको भर पर्नुपर्ने दुःखद नियतिको अन्त्यका लागि गाउँ नगर साझेदारी आवश्यक छ।
२. कृषि सडक र कृषि पूर्वाधार निर्माण
कृषि उत्पादनको बजारीकरणका लागि ग्रामीण कृषि सडकको सञ्जालीकरण प्राथमिक शर्त हो। नेपालमा खेतीयोग्य जमीनको करीब १४ प्रतिशत जमीनमा मात्र सिंचाइको सुविधा छ। आकाशे खेतीको भरले हुने उत्पादन निर्वाहमुखी मात्र हुने र यसले व्यावसायिक कृषि उत्पादनमा जोड दिन सक्दैन । सुक्खाग्रस्त क्षेत्रको लागि पानी लिफ्टिङ गराउने तथा पानीको मुहान संरक्षण गरी उत्पादन बढाउने उपाय खोजिनुपर्छ। भौगोलिक क्षेत्रका आधारमा माटोमा रहने लवणका आधारमा फस्टाउन सक्ने सम्भाव्य बालीको पहिचानमा सहजताका लागि प्रत्येक पालिकास्तरमा माटो प्रयोगशालाको स्थापना गरी कृषकलाई जानकारी गराउन सक्ने पद्धतिको विकास गरिनुपर्छ।
३. भण्डारण र वितरणको प्रबन्ध
तराईमा मिल्क होलिडे मनाइरहे पनि पाउडर दूधको आयातको हिस्सा घटेको छैन। मासु फलफूल लगायतका कृषि उपजको समुचित भण्डारणको लागि चिस्यान केन्द्रको निर्माण कम्तीमा पालिका स्तरमा गरिंदा र सार्वजनिक निजी साझेदारीको मोडलमा त्यसको व्यवस्थापन गर्न सक्दा उत्पादनको समुचित मूल्य प्राप्त गर्न सकिने र कृषकलाई प्रोत्साहित गर्न सकिने अवस्था छ। युवाहरूलाइ गाउँ गाउँमा लैजाने पनि भनियो। उत्पादनका गफ पनि दिइयो। तर कृषि क्षेत्रमा कायम रहेको विचौलियापनलाई निमिट्यान्न नपारेसम्म युवाहरूलाई प्रोत्साहन गर्न सकिन्न।विचौलियालाई किलोको दुई रुपैयाँको दरले बेच्नु भन्दा बारीमा मल बनाउन तयार पारिएको बन्दाकोभी; टिप्ने लागत पनि नउठ्ने टमाटरको भाउ हाम्रा तिक्त यथार्थहरू हुन्। कृषि सामग्रीको वितरणका लागि कृषि सहकारीहरू मार्फत संकलन केन्द्र निर्माण र त्यसैबाट बजारसम्मको पहुँच स्थापित गर्न सक्दा विचौलियाको प्रभाव कम गर्न सक्ने अवसर छ।
४. भूउपयोग योजना
जमीनको सम्बन्ध उत्पादनसँग जोड्नका लागि मोहियानी हकको निर्माण गरी उत्पादनकर्तालाई जमीनको हक प्रदान गरी मालिक बनाउने पुरानो व्यवस्था अहिले परिवर्तन भयो।जमीनको स्वामित्व भएकाहरू खेती नगर्ने र जमीनको स्वामित्व नभएका गरीव वर्गले मात्र खेती गर्दा कृषि ऋण समेत पाउन समस्या भई कृषिमा आधुनिकीकरण सम्भव छैन। कृषि क्षेत्रको उत्थानका लागि वास्तविक किसानलाई समेट्ने भन्दा पनि कृषि कर्म रत्तिभर पनि नगर्ने तर झोलामा कागज बोकेर हिंड्ने वर्गले यसबाट लाभ लिएका छन् तर तिनको उत्पादनमा योगदान छैन।जमीनको वर्गीकरण गरी खेती र बस्तीका लागि अलग मापदण्ड सहित उपयोगको सीमा तोक्नु ढिला भइसकेको छ।
५.कृषि क्षेत्रको उत्थानका लागि अनुदान र राहत
नेपालमा कृषि क्षेत्रमा लागेका नागरिकहरू गरीबीको चपेटामा छन्। तिनको उत्थान सहितको राहतको प्याकेज प्रदान गर्नु जरुरी छ। संघ प्रदेश र स्थानीय सरकारबाट राहतका लागि कार्यक्रम निर्माण गरिए पनि कार्यक्रमहरू छरिएका तथा दोहोरिने प्रकृतिका रहेकाले एउटै टाठो किसानले पटक पटक लाभ लिने प्रवृत्ति देखिएको छ। जलवायु परिवर्तनले वर्षातको चक्रमा पारेको परिवर्तनले प्रकोपका घटनाहरूले गरीबीको सीमारेखामा भएका किसानलाई जीवन निर्वाह गर्न कठिन हुँदै गएकोले कृषि पेशाबाट पलायन हुने दर बढेको देखिन्छ।भारतसँगको खुला सिमानाका कारणले भारतीय कृषि उपज सहजै बजारमा उपलव्ध हुने र कृषकका लागि भारत सरकारले दिने अनुदानको दर उच्च रहेकोले नेपाली किसानलाई प्रतिस्पर्धा गर्न र टिक्न कठिन छ।
६. जनशक्ति उत्पादन र नागरिक सशक्तीकरण
विश्वव्यापीकरणबाट नेपालले प्राप्त गरेको ठूलो लाभ भनेकै नेपाली युवाहरूलाई खाडी मुलुकमा रोजगारीमा पठाउन सक्नु मात्र देखिन्छ। जनसांख्यिक लाभांशको रूपमा रहेका युवा जनशक्तिलाई पलायन गराएर समृद्धि हासिल नै गरेछौ भने पनि त्यो कसका लागि हो र ? निम्न माध्यमिक तहको पढाइ नसक्दै ग्रामीण क्षेत्रको विद्यालयको विद्यार्थी पासपोर्ट बनाएर विदेश जाने सपनाको जालो बुन्न थाल्दछ। वैदेशिक रोजगारीलाई नै जीवन निर्वाहको अन्तिम अस्त्र मानेर युवाहरू चालीस कटेपछि रमाउन मानसिक रूपले नै तयार भएजस्तो भान भइरहेछ।पलायन भइरहेको श्रमशक्तिलाई रोक्दै देशको लागि समर्पितहरूप्रति समर्पित योजना अनिवार्य आवश्यकता हो।
अत: हामीले देखेको समृद्धिको सपनालाई विपनामा रुपान्तरण गर्ने पहिलो उपाय नै कृषि क्षेत्रसँग जोडिएको उत्पादनको दायरामा बढोत्तरी हो।कृषि कर्ममा कहिल्यै नलागेका, कृषकको व्यथा नबुझेका, उत्पादनसँग जीवनको सामीप्यता कहिल्यै नसाटेका नीतिनिर्माताबाट बनाइएको नीतिले कृषक भन्दा व्यापारी मालामाल हुने अवस्था छ । यसलाई चिर्दै वास्तविक किसानको पहिचान सहित कृषक उत्थानका कार्य समानान्तर ढंगले सञ्चालन गरिए समृद्धिको गन्तव्य प्राप्त गर्न सकिन्छ।
(लेखक नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुन्।)
from Online Khabar https://ift.tt/3FL76RI
बेड नम्बर २९६ : एक दर्दभरी कहानी
१७ पुस, काठमाडौं । त्यो दिन कस्तो होला, जब सुरेश शाह झिटिगुम्टा च्यापेर आफ्नी श्रीमतीका साथ बीर अस्पतालको मूल ढोकाबाट बाहिरिनेछन् । कलंकी पुगेर रात्री बस चढ्नेछन् । रातभरको यात्रापछि आफ्नो घर-आँगन टेक्नेछन् । महिनौदेखि विछोडिएका लालाबालालाई स्नेहपूर्वक अंगाल्नेछन् । र, उमंग अनि फूर्तिको भावमा भन्नेछन्, ‘देख्यौं, तिमीहरुको आमालाई बचाएँ । उनी निको भइन् । अब आमा बोल्न सक्छिन् । अनि सधैभर तिमीहरुसँगै हुनेछिन् ।’
त्यस पल उनले भुल्नेछन्, बर्षौं-बर्षदेखि अस्पतालमा बिताएका अनिदा रातहरु । उपचारका लागि सिध्याएका भएभरका घर-बारीहरु । दुनियासँग हारगुहार गर्दै काडेका ऋणहरु । उनलाई खुसीले नाचौं, नाचौं लाग्नेछ । जोड-जोडले गीत गाउन मन लाग्नेछ ।
तर, यो जुनीमा सुरेश शाहलाई यस्तो घमाइलो दिनले पर्खिरहेको छ वा छैन ?
किनभने उनको जीवनमा अझैपनि निष्पट अँध्यारो छ । हरेक बिहानी दुःखको सुस्केराले उनको जीवनमा कोलाहाल मच्याउन थाल्छ ।
पाँच जना बालबच्चालाई एक बोरा चामल र दुई हजार रुपैयाँ छाडेर सिरहाबाट श्रीमतीको उपचारका लागि काठमाडौं आएका थिए, उनी । हप्तौ भइसक्यो, उपचार भएको छैन । घरमा चामल सकियो होला । बालबच्चा के खाँदै होलान् ? सम्झिएर उनको मन चिरिन्छ । यता दिनदिनै रोगले गलाउँदै गएको श्रीमतीलाई देखेर उनी अत्तालिन्छन् । कसरी यो विपत्तिलाई सम्हाल्ने हो ?
औसतभन्दा होचो ज्यान । मधेशी वर्ण ।,अनपढ । यो शहरले उनी जस्ता मान्छेलाई मान्छे गन्दैन । उनको आवाज सुन्दैन, उनको व्यथा बुझ्दैन । कसरी खर्च जुटाउँदा हुन् ? कसरी रगत र खानेकुरा जोहो गर्दा हुन् ? कसरी औषधिपानी खोज्दा हुन् ?
दुःखको रामकहानी
बनीबुतो गरेर जेनतेन गुजारा गर्दै आएका थिए, सुरेश शाह । सिरहाको गाउँमा सानो झुपडी थियो । दिनभर मेलापात गर्थे । त्यसैबाट जुटाएको पैसाले परिवारको छाक टार्थ्यौं।
ज्याला मजदुरीको टुंगो नहुने । कहिले कहाँ पुग्नुपर्ने, कहिले कहाँ । काम खोज्दै बिहार पुगे । धुलो-माटोमा काम गरिरहँदा उनको दृष्टि गुम्यो । अपाङ्ग भएर घर फर्किए । संयोगले निशुल्क आँखा शिविरमा पुगे । आँखाको शल्यक्रिया भयो ।
फेरि उसैगरी ज्याला मजदुरी गर्न थाले । तर, दुःखले कहाँ छाड्छ ?
श्रीमतीको स्वर नै हरायो । राती बाघ घुरे झै घ्वाँर-घ्वाँर आवाज आउने । न बोल्न मिल्ने, न सास फेर्न । श्रीमतीलाई रोगले च्याप्दै गयो । उनले ऋणपान गरे । बिहारको एक निजी अस्पताल पुर्याए । १६ दिनसम्म त्यही भर्ना गरियो । अनेक जाँच गरियो । त्यहाँबाट र्फकदा उनको झोलाभर औषधि थियो, तर समस्या ज्यूँका त्यूँ ।
अस्पतालका चिकित्सकले भनेका थिए, ‘यस्तो त क्यान्सर हुनसक्छ । नेपालकै क्यान्सर अस्पतालमा लगेर जाँच्नु ।’
उनले श्रीमतीलाई भरतपुर क्यान्सर अस्पताल पुर्याए । हप्ता बित्यो । रोग पत्ता लागेन । दुई हप्ता बित्यो । तब भनियो, क्यान्सर लागेको छैन । घरबार छाडेर हिँडेको महिनौं भयो । रोग पत्ता लाग्दैन ।
उपचारकै खोजीमा उनीहरु एक निजी अस्पताल पुगे । त्यहाँ बल्ल थाहा भयो, त्यो थाइराइडको समस्या हो । अब यसैको उपचार गर्नुपर्ने भयो । तर, त्यहाँ उपचार गर्नै नसकिने । अस्पतालको बेडमा भर्ना भएको एक रातकै हजारौं रुपैयाँ लाग्छ भनेपछि सुरेश साहको हातखुट्टा गल्यो ।
अब के कसो गर्ने हो ? उनले मेलो पाएनन् । कसैले सुझाए, काठमाडौंमा जानु । वीर अस्पतालमा उपचार गराउँदा धेरै खर्च लाग्दैन ।
अनि घर बेचे
यसै त गरिब, ऋणपान पत्याइदिने कोही थिएनन् । यसै त एक्लो, साथ-सहयोग गरिदिने कोही थिएनन् । यसै त निर्धो, भनसुन गरिदिने कोही भएनन् । आफुसँग भएको सानो झुपडी बेचे । आफुलाई ओत लाग्न अर्कैको जग्गामा सानो झुपडी बनाए । बालबच्चालाई त्यही छाडे अनि काठमाडौं आए ।
रात्रीवसमा चढेर, रातभरको यात्रा गरेर, रोगी श्रीमतीलाई काठमाडौंसम्म ल्याउन कम्ता सास्ती थिएन । काठमाडौं कहिल्यै देखेका थिएनन् । कहाँ जाने, कसलाई सोध्ने टुंगो थिएन । बिहान झिसमिसेमा बसले कलंकी ल्याएर उनीहरुलाई उतारिदिए ।
रनभुल्ल परेर बाटोको छेउमा बसे । वीर अस्पताल जानुपर्ने । कताबाट जाने, कुन गाडी चढ्ने ? थाहा छैन । एउटा माइक्रोबस आयो, रत्नपार्क-रत्नपार्क भन्दै । उनले ‘वीर अस्पताल जान्छ’ भनेर सोधे । सहचालकले ‘जान्छ-जान्छ’ भन्दै चढाए ।
शहरको भीडमा ल्याएर उनीहरुलाई उतारिदिए । खोइ त वीर अस्पताल ? उनले सोधे । सह चालकले जबाव दिएनन् ।
माइक्रोवस हुँइकियो । सोध्दै-खोज्दै जाँदा कसैले भन्यो, ‘यहाँ नजिकै हो । त्यहाँबाट हिँड्दै गए पुगिन्छ ।’
शिथिल भइसकेकी श्रीमतीलाई डोहोर्याउँदै उनी वीर अस्पतालको सम्मुखमा पुगे । अस्पतालभित्र खचाखच थियो । कहाँ गएर भर्ना गर्ने, कसरी गर्ने ? उनले भेउ पाएनन् । रातभरको अनिदो । आफै पनि बिरामी झै भएका थिए । एक छेउमा ओड्ने-ओछ्याउने राखे । श्रीमती त्यही ढल्किइन् । उनलाई सास फेर्न नै गाह्रो भइसकेको थियो । घाँटीबाट घ्याँर-घ्याँर आवाज अरु जोडले आइरहेको थियो ।
त्यहाँ कसैलाई कसैको सरोकार छैन । कसैले सोधीखोजी गर्दैनन् । देखेर पनि नदेखे झै गर्छन् मान्छेहरु । दिन ढल्दैछ । अनिदो, चिसो र दिनभरको धपेडीले श्रीमतीको पीडा अरु बढेको छ । अस्पतालसम्म पुर्याएपछि कसै न कसैले त साथ सहयोग गर्छ भन्ने लागेको थियो उनलाई । तर, वीर अस्पतालको भिडभाडमा उनी आफुले आफैलाई नचिन्ने भए ।
उनको त्यो बिजोग देखेर हुनुपर्छ, एक चिकित्सक नजिक आए र सोधीखोजी गरे । चारतिरको दौडधूपपछि बल्ल उनले आफ्नो बिरामी भर्ना गर्न सके ।
बेड नम्बर २९६
बीर अस्पताल । इएनटी वार्डको बेड नम्बर २९६ । कौशिलादेवी शाहलाई थाहा छैन, कहिलेसम्म यो शैयामा रात कटाउनुपर्ने हो ।
झाडु-कुचो लगाउनेहरुको चर्को आवाजसँगै उनको निद्रा भंग हुन्छ । हत्तपत्त आफु सुतिरहेको ‘बेड’ छाडिदिनुपर्छ । डाक्टर-नर्स आउँछन् । उनकी रोगी श्रीमतीको जाँच गर्छन् । अनि उही कुरा सोध्छन्, ‘रगत पायो ?’
सुरेश शाहलाई यसो भनिरहँदा आफु साह्रै निमुखा भएको वोध हुनेछ, ‘हिजो पनि पाइएन । खोज्न त दिनभर खोजें ।’
डाक्टर भन्छन्, ‘अझैपनि अप्रेशन गर्न संभव छैन । किनभने तिम्रो श्रीमतीको शरीरमा रगतको मात्रा एकदमै कम छ । ताकत छैन ।’
उनी बिहानै रगत खोज्न निस्कन्छन् । कहिले पाटन, कहिले भक्तपुर । कहाँ जाने, कसलाई भेट्ने., के भनेर माग्ने ? उनले राम्ररी मेलोमेसो पाउँदैनन् । दिनभर कहाँ-कहाँ पुग्छन् र साँझ रित्तो हात र्फकन्छन् । त्यसपछि डाक्टरले थमाइदिएको प्रेस्किप्सन बोकेर कहिले टिकटको पंक्तिमा उभिनुपर्छ, कहिले औषधि पसल चाहर्नुपर्छ ।
उनकी श्रीमती स्वरनलीको जटिल शल्यक्रिया गर्नुछ । शल्यक्रिया गर्नुअघि उनको सम्पूर्ण शरीर बेहोस बनाइनेछ । त्यसपछि उनको घाँटीमा चिकित्सकले कैची र छुरा चलाउनेछन् । तर, त्यो रोगी त्यसमाथि कमजोर ज्यानले यी सबैकुरा खेप्न सक्छन् ?
चिकित्सकको प्रारम्भिक रिपोर्टले देखाएको छ, सक्दैन । उनको रोग हटाउन जटिल शल्यक्रिया गर्नैपर्छ । जबकि अझैपनि उनको शरीर त्यस्तो शल्यक्रियाको लागि तयार छैन । कुपोषित र कमजोर ज्यान कुनैपनि क्षण जोखिममा पर्न सक्छ । त्यसैले शरीरमा ताकत आएपछि र रगतको मात्रा पुगेपछि उनको शल्यक्रिया गर्ने भनी चिकित्सकले भनेका छन् ।
एकातिर बुढीको हाल यस्तो छ । अर्कोतिर घरमा बालबच्चा कसरी रात कटाइरहेका होलान् भन्ने कुराले पनि उनलाई कम्ता पिरोलेको छैन । केही समयअघि घरमा फोन गर्दा १० बर्षका छोरोले रुँदै भनेको थियो, ‘आमालाई कहाँ लगेको ? छिटै ल्याइदेउ ।’
उनीहरु देउता थिए
वीरको सोही वार्डमा एकजना विरामी भर्ना भएका थिए । उनीहरु को थिए, कहाँ गए ? सुरेश शाहलाई स्पष्ट थाहा छैन । उनले नाम र फोन नम्बर त टिपेर राखेका थिए । तर, त्यो कागजको टुक्रो हरायो ।
उनीहरू डिस्चार्ज भएर घर जानुअघि सुरेश शाहलाई बोलाए । २० हजार रुपैयाँ नगद दिए, उपचार गराउनु भन्दै । त्यसपछि उनलाई केही लुगाफाटो किनिदिए । उनकी रोगी श्रीमतीका लागि साडी किनिदिए । सुरेश शाहले चिताएका थिएनन्, यो शहरमा यति मनकारी मान्छे पनि छन् । ‘उनीहरु देउता थिए’ सुरेश शाहलाई यस्तै लाग्छ ।
from Online Khabar https://ift.tt/3FNO3Gg
राष्ट्रिय सभा सदस्यका लागि आजदेखि निर्वाचन प्रक्रिया सुरु हुँदै
१७ पुस, काठमाडौं । राष्ट्रिय सभामा सदस्यका लागि आजदेखि निर्वाचन प्रक्रिया शुरू हुने भएको छ । १९ जना सदस्यका लागि आगामी माघ १२ गते हुने मतदानका लागि आजदेखि निर्वाचन प्रक्रिया शुरु गरिने निर्वाचन आयोगले जनाएको छ ।
आजदेखि शुरु भएको निर्वाचन प्रक्रिया अन्तर्गत पुस २० देखि २५ गतेसम्म उम्मेदवारको अन्तिम नामावली, निर्वाचन चिह्न दिने कार्यक्रम र निर्वाचन आचारसंहिता लागू हुने आयोगले जनाएको छ ।
आयोगले निर्वाचन अधिकृत नियुक्त यसअघि नै गरिसकेको छ । मतदान स्थल र केन्द्र पनि तय गरिसकेको छ ।
राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहमा १४९३ जना र प्रदेश सभामा ५३२ जना गरेर जम्मा दुई हजार २५ मतदाता रहेको आयोगले जनाएको छ ।
मतदानका लागि आठ वटा मतदानस्थल र १४ वटा मतदान केन्द्रको व्यवस्था गरिएको छ । यसैगरी निर्वाचनमा भाग दिन १२ दल दर्ता भएका छन् ।
आयोगले प्रतिनिधिसभा निर्वाचनमा दलले पाएको समानुपातिक मतका आधारमा राष्ट्रियसभा निर्वाचनको मतपत्रमा चिह्नको प्राथमिकता निर्धारण गर्ने भएको छ ।
आगामी फागुन २० मा एमालेका आठ, कांग्रेसका तीन, एकीकृत समाजवादीका चार र राष्ट्रपतिबाट मनोनित एक जनाको कार्यकाल सकिने संघीय संसद सचिवालयले जनाइसकेको छ ।
from Online Khabar https://ift.tt/3mITLSf
गल्ती गर्ने र सच्याउने दुवै निर्णय ऐतिहासिक कसरी हुन्छ कमरेड ?
शान्ति प्रक्रिया शुरुआतसँगै माओवादी पार्टीभित्र शान्तिपूर्ण क्रान्तिको कार्यभार के हो भन्ने बहसको आवश्यकता थियो। अन्तरिम संसद गठन, शान्ति सम्झौता हुँदै संविधानसभाको निर्वाचनसम्म पुग्दा माओवादीले बदलिएको परिस्थिति अनुसारको नीति, कार्यक्रम र योजना निर्माण गर्नुपर्ने थियो। नेतृत्व स्तरमा के बहस हुने गर्दथे, हामी त्यत्ति धेरै बुझ्न सक्दैनथ्यौं। तर म र मेरो कमिटीमा पहिलो संविधानसभाको चुनावी कार्यक्रमको घोषणासँगै पार्टीले सुधार्नु र स्वीकार्नुपर्ने विषयमा व्यापक बहस हुने गरेका थिए।
आज १४ वर्षपछि तत्कालीन अवस्थामा हामीले उठाएका विषयलाई पार्टी र नेतृत्वले कमजोरीको रूपमा संश्लेषण गरेको छ। समय हुँदै सही निर्णय गर्न सकेको भए के हुनेथियो, त्यो अलग पाटो हो तर समस्या पहिचानमा नेतृत्व भन्दा १४ वर्ष जेठो भएकोमा आत्मसन्तोष गर्न सकिने अवस्था अवश्य रहेको छ। आज यो सानो आलेखमा यही पृष्ठभूमिमा लेख्ने जमर्को गर्दैछु ।
२०६४ सालको संविधानसभाको कार्यनीतिमा ‘मुखमा चुनाव दिमागमा विद्रोह’ तय भयो। त्यो कार्यक्रम अपरिपक्व र तत्कालीन कार्यकर्ताको मनोविज्ञानलाई हेरी लिइएको भावनात्मक निर्णय थियो। चुनाव त्यतिबेला निर्विकल्प थियो। तर चुनाव हुनुपर्छ भनेर बोल्दा पार्टीभित्र दक्षिणपन्थीको आरोप खेप्नुपर्ने आवश्यकता थियो। संविधान निर्माणसम्म सचेत पहल र जनपरिचालनले नयाँ समीकरण र शक्ति सन्तुलन पैदा गर्न सके जनविद्रोह सम्भव छ भनेर असहमति राख्दै संविधानसभाको चुनावमा सक्रियतापूर्वक सहभागी भयौं।
ठूलै हत्याकाण्डकै बीचमा दाङमा चुनाव सम्पन्न भयो। सत्तापक्षले दमनको बाटो लियो। उनीहरुले कत्लेआमको नीति लिए। सात जना माओवादी कार्यकर्ताको हत्याकाण्ड मच्चाइयो। उक्त काण्डपछि हामीले रगतले भिजेको शरीरले पार्टी नेतृत्वलाई प्रश्न गर्यौं- खोइ, तपाईंहरुले भनेको विद्रोह कतिबेला हुन्छ ? न चित्तबुझ्दो कार्यक्रमको मानसिक बोध भयो, न नेतृत्वको सहयोग। हामीले जिल्लामा सरकारी दमनको हिंसा र आतंक झेल्दै चुनौतीपूर्ण अवस्थामा अगाडि बढ्यौं।
चुनाव सम्पन्न भएसँगै समानुपातिक संसद चयनमा पार्टीको निर्णय पछि हामी हाम्रो स्तरमा ठूलै बहसमा जुट्यौं। पार्टीले राष्ट्रको मनोविज्ञान केन्द्रित गर्दै आम जनसहभागितामा विद्रोह गर्नेछ भन्ने मानसिकतालाई १८० डिग्रीमा घुमाइदिने गरी गरिएको निर्णयले पार्टी विद्रोह या थप क्रान्ति या जनवादी क्रान्तिको पूर्णताको दिशामा छैन भन्ने अन्तिम जस्तै निष्कर्ष हाम्रो बहसको थियो।
हामीले चलाएका बहस ‘मिनी बैठक’को नामले दाङ जिल्लाको माओवादी आन्दोलनमा सुपरिचित छ। हामीले व्यक्तिले अवसर पाउने र नपाउने विषयमा बहस कहिल्यै गरेनौं। जनमुक्ति सेना, लाखौं कार्यकर्ता सहितको जनयुद्धलाई विद्रोहको नयाँ रूपमा उठाउन सक्छौं कि सन्दैनौं भनेर बहस गर्यौं।
विद्रोह संगठित गर्न के गर्नुपर्ने थियो र तत्कालीन अवस्थामा पार्टीले गरेको निर्णयले के के सन्देश दिएको छ भन्नेमै हाम्रो बहस थियो। हामीले आलोचना र असन्तुष्टि हैन समस्याको समाधानको योजना सहित बहस गरेका थियौं। नेतृत्वलाई फुर्सद हुने र बुझ्ने चाहना हुने हो भने अहिले पनि सजिलै तत्कालीन विषय र बहस बुझ्न सकिन्छ। माओवादी पार्टी विभाजन, तत्कालीन समयमा भएका हाम्रा बहस, पहिलो संविधानसभाको असफलतामा हाम्रो बहस, दोस्रो संविधानसभाको हरेक समयमा गरिएका हाम्रा बहसहरू तत्कालीन समय सुनिदिने कोही नभए तापनि आज पार्टीको दस्तावेजमा उल्लेख हुँदा गर्वानुभूति भएको छ।
आज महाधिवेशनमा धेरै बहस चलिरहेका छन्। अध्यक्षले प्रस्तुत दस्तावेजमा कम्युनिष्ट कार्यदिशालाई नयाँ ठाउँमा लैजान खोजेको देखिन्छ। नेपाली मौलिकताको समाजवाद प्राप्तिको बाटो शान्तिपूर्ण र प्रतिस्पर्धाको बाटो नै हो भन्ने स्पष्ट छ। क्रान्तिकारीको सचेत पहलले जनसमुदायको मन जितेर प्रतिस्पर्धाबाटै समाजवादमा जाने बाटो नै माओवादीको आगामी दिनको बाटो हो। यसलाई सरल ढंगले कार्यकर्तालाई बुझाउने, जनतालाई प्रशिक्षित गर्ने र आगामी योजना बनाउने सरल बाटो हो। तर मैले यस महाधिवेशनमा समस्याहरूलाई नयाँ ढंगले विकास गर्ने सचेत पहल देखिंदैछ।
पार्टीले सैद्धान्तिक रूपमै राजनैतिक बाटो परिवर्तन गरेको छ। पार्टीले गम्भीर समीक्षा गर्दै नयाँ बाटोलाई आत्मसात् गरेको छ। पुरानो बाटो हिंड्दा गरिएका कमजोरीको समीक्षा नै यो दस्तावेजको प्रमुख पक्ष हो। समस्याको संश्लेषण नै यस दस्तावेजको प्रधान संश्लेषण हो। अन्य विषयमा प्रवेश गरेको मात्र छ। थप व्याख्या, कार्यान्वयनसँगै संश्लेषण हुन समयको माग गर्दछ।
जनयुद्ध हुँदै आजसम्म नेपाली समाजलाई डोर्याउने विचार माओवादी विचार र माओवादी नेतृत्व नै हो। हिजो हामीले विचार शृङ्खलालाई प्रचण्डपथको रूपमा संश्लेषण गरौं। विचार के नाममा छ, त्यो महत्वपूर्ण हुँदैन, विचार कार्यान्वयन गरियो कि गरिएन भन्ने मुख्य कुरा हो। आज कमजोरी संश्लेषण गरेका छौं। कमजोरीलाई कार्यकर्ताले छूट दिएका छन्। नेतृत्वले अहिले चलेका बहसलाई यही रूपमा बुझ्नुपर्दछ। समाधानको प्रारम्भिक बीजारोपण भएको छ। यसलाई विकसित गर्न आवश्यक छ।
धम्काएर बार्गेनिङ गर्ने र चाप्लुसी गरेर स्वार्थ पूरा गर्ने दुई प्रवृत्तिको घेराभित्र नराम्ररी जकडिएर नै नेतृत्व आजको अवस्थामा पुगेको हो। मनोगत र अति आत्मविश्वास पैदा हुने आधार कमिटीमा आलोचक चेतना नहुनु नै हो। तलबाट जबर्जस्त उठेका आवाजहरूलाई माथिल्लो कमिटीमा लिएर छलफल गर्न सक्ने र चाहने नेतृत्वको अभावले यस्तो भएको हो। यतिसम्म विडम्बनापूर्ण काम हुन्छ कि एकै दिनको बैठकमा एक व्यक्ति एक समितिको निर्णयले अध्यक्ष बन्छ र लगत्तै उसलाई अर्को जिम्मेवारी दिइन्छ। तर उक्त परिवर्तित निर्णयको स्वामित्व कमिटीले लिने अवस्था हुँदैन। गलत भइरहेको छ भनेर सदस्यहरुले धारणा बनाउने र कुरा उठाउन पनि सक्दैनन्। पार्टीभित्रको वातावरण नै त्यस्तो छ। यो मनोविज्ञान पार्टीभित्र रहँदासम्म पार्टीमा विधि र विचार संस्थागत हुन सक्दैन।
आलोचनात्मक विचार सुन्ने र त्यसलाई पार्टी निर्माणमा प्रयोग गर्ने आँट नेतृत्वले गर्नुपर्दछ। पार्टी निर्माणका लागि स्वच्छ चाहनाबाट अभिव्यक्त भएका सुझावलाई ग्रहण गर्ने आँट गर्नुपर्दछ। विचारको विकास र संश्लेषण, पार्टी अनुशासन र विधिको विकास, परिवर्तित कार्यदिशाको सही प्रयोग र विकास गर्न आवश्यक नेतृत्वको ग्रुप तयार गर्न आवश्यक छ। मुख्य नेतृत्वको स्पष्टतालाई ठीक ढंगले बुझ्न र आत्मसात् गर्न सक्ने, संगठनमा व्यावहारिक र वस्तुवादी विधिलाई व्यवस्थित गर्न सक्ने टीम आवश्यक छ।
निर्णय गर्दा पनि ऐतिहासिक भयो भनेर प्रशंसा गर्ने र त्यही निर्णय गलत गरिएछ भनेर समीक्षा गर्दा ऐतिहासिक भयो भनिन्छ। यही पंक्तिको घेराले अहिले प्रचण्डपथलाई विचारधारामा विकास गरौं भन्दै ताली बजाइरहेको छ। उक्त जमातको घेरामा बसेर पार्टीलाई प्रतिस्पर्धामा उतार्न असम्भव छ।
from Online Khabar https://ift.tt/3ELk9Bo
हिमनदीको क्षेत्रफल र आयतन घट्ने क्रममा
१७ पुस, काठमाडौं । हिमालय क्षेत्रका हिमनदीको क्षेत्रफल र आयतन घट्ने क्रममा रहेको तथ्य जलवायु परिवर्तनसम्बन्धी अध्ययनको एक प्रतिवेदनले सार्वजनिक गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआइ) नेपालले इसिमोडलगायत संस्थाको सहयोगमा गरेको अध्ययन प्रतिवेदन शुक्रबार राजधानीमा सार्वजनिक गरिएको छ ।
नेपालको हिमाली क्षेत्रमा जमेर रहेका पानीका स्रोत र यसको तल्लो तटीय क्षेत्रमा जलवायु परिवर्तनको असर बुझ्न अध्ययन गरिएको कार्यक्रममा जानकारी गराइएको छ ।
हिमाली क्षेत्रको भौगोलिक अवस्था, उत्तर-दक्षिणमा छोटो दूरीमा उचाइ परिवर्तनको कारणले तापक्रम र वर्षाको भिन्नतामा उच्च परिवर्तन देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । नेपालमा सन् १९७७ देखि २०१० सम्म करीब २४ प्रतिशतले हिमनदीको क्षेत्रफल घटेको यसअघिको एक अध्ययन प्रतिवेदनको निष्कर्षलाई पनि पछिल्लो अध्ययनले सार्वजनिक गरेको छ । सन् १९७० देखि २००७ सम्म नेपालको खुम्बु क्षेत्रमा पर्ने इम्जा र ल्होत्से हिमनदीको उचाइ घटेको तथ्य पनि अध्ययनले सार्वजनिक गरेको छ ।
हिमतालको तीव्र विकासले हिमताल विष्फोटबाट हुने बाढीको जोखिम बढेको छ । कोशी, गण्डकी र कर्णाली जलाधारमा सम्भावित खतरनाक ४७ वटा हिमताल पहिचान गरिएका छन् । यसमध्ये २१ वटा नेपालको उच्च हिमाली क्षेत्रमा, २५ वटा तिब्बतमा र एउटा भारतमा पर्ने अध्ययन प्रतिवेदनमा उल्लेख छ । हालसम्म नेपाल हिमशृङ्खलाबाट ३५ वटा हिमताल विष्फोटन भएको विभिन्न स्रोतमा उल्लेख गरिएको तथ्यलाई पनि अध्ययन बाहिर ल्याएको छ ।
अध्ययन कार्यदलका संयोजक मोहनबहादुर चन्द सन् १९६३ मा कञ्चनजङ्घा क्षेत्रमा हिमताल फुटेको तथ्य स्थलगत अध्ययनका क्रममा स्थानीय बूढापाकाबाट पुष्टि भएको बताउनुहुन्छ । यसको अभिलेख भने कतै नभएको र यो विषय सञ्चारमाध्यममा पनि नआएको उनले कार्यक्रममा सुनाए ।
कार्यक्रममा पूर्ववातावरण सचिव भएर काम गरिसक्नुभएका कृष्ण ज्ञवालीले यस्ता विषयमा छलफल गर्ने वातावरण परिषद् प्रधानमन्त्रीको अध्यक्षतामा गठन गरिए पनि त्यसको बैठक नै कम बस्ने गरेको जानकारी गराउनुभयो । परिषद्को बोझिलो संरचना भएकाले कमै बैठक बस्ने गरेकोसमेत उनको अनुभव छ ।
वन तथा वातावरण मन्त्रालयका उपसचिव डा अरुणप्रकाश भट्टले पछिल्लो समय मेलम्चीमा आएको बाढी, मनाङको हिमपहिरो र सुदूरपश्चिम प्रदेशमा बेमौसममा पानी परी धानबाली नष्ट भएको घटना जलवायु परिवर्तनको प्रभाव भएको बताए ।
विकसित राष्ट्रले कार्वन उत्सर्जन गर्दा आएको यो समस्या समाधानमा पनि तिनै देशले भूमिका खेल्नुपर्ने उनको भनाइ छ । सन् २०११ को अध्ययन अनुसार नेपालले ०.०५६ प्रतिशतमात्र कार्बन उत्सर्जन गर्छ ।
कार्यक्रममा टिआइ नेपालका अध्यक्ष पद्मिनी प्रधानाङ्ग, उपाध्यक्ष बुद्धिनारायण श्रेष्ठ, महासचिव मुकुन्दबहादुर प्रधान, त्रिभुवन विश्वविद्यालय वातावरण विज्ञान केन्द्रीय विभागका रमेशराज पन्तलगायतले जलवायु परिवर्तनका विषयमा नेपालले आफ्नै स्रोतबाट विस्तृत अध्ययन सुरु गर्नुपर्नेमा जोड दिएका थिए । राजधानी काठमाडौँ उपत्यकालगायत प्रमुख सहरमा फैलिएको प्रदूषण रोकेर पनि जलवायु परिवर्तनबाट हुने समस्या रोक्न सहयोग गर्न सकिने उनीहरूको भनाइ थियो ।
स्थानीय तहले जलवायु परिवर्तनसम्बन्धी अध्ययन जनचेतना जगाउन छुट्याउने बजेट रकमान्तर गरी विकास निर्माणमै लगाइने गरिँदा पनि समस्याका बारेमा जनतालाई जागरुक गराउन नसकिएकाले यसतर्फ ध्यान दिनुपर्नेमा उनीहरूले जोड दिएका थिए ।
from Online Khabar https://ift.tt/341UaZA
रचना रिमाल : छोटो समयमै एक हजार बढी गीतमा गुञ्जिएको स्वर
१७ पुस, काठमाडौं । ‘फोटो फिरिममा, कहिले मिलन कहिले बिछोड मया पिरिममा…।’
रचना रिमालको स्वरमा सार्वजनिक यो गीत निकै रुचाइयो । गीतसँगै गायिका रचनाको स्वरको पनि उत्तिकै प्रशंसा भयो । उनलाई एकपछि अर्को गीतको अफर आउन थाल्यो । एउटा होइन, दुइटा होइन । पाँच, दश हुँदै गीत अफरको संख्या ३५ पुगिसक्यो । तर, गीत रेकर्डिङ गर्नका लागि रचना काठमाडौंमा थिइनन् ।
यो २१ महिना अगाडिको कुरा थियो । ‘फोटो फिरिममा’ गीत सार्वजनिकसँगै उनी आफ्नो घर झापा चन्द्रगढी फर्किएकी थिइन् । कोरोना महामारीका कारण लकडाउन जारी भएको केही समय भइसकेको थियो । ‘केही दिनमा आइहाल्छु, अनि गाउँछु ल !’ अफर गर्नेहरु सबैलाई यसै भनिरहेकी थिइन् रचना ।
जसोतसो बन्दोबस्त मिलाएर उनी केही दिनमा काठमाडौं आइन् । तय भएकामध्ये अधिकांश गीत पालैपालो रेकर्डिङ गर्न थालिन् । जति-जति गीत रेकर्डिङ गराउँदै गइन्, नयाँ गीतका अफरहरु अझ बढ्न थाले ।
तीज नजिकियो । ‘आयौं चेली’ बोलको तीज गीतमा स्वरसँगै अभिनय गरिन् । गीत रुचाइयो, रचनाको व्यस्तता झन्-झन् बढ्यो । यस्तो समय आयो, एकैदिन ३-४ वटा गीत रेकर्डिङ गर्नुपर्ने ।
उनका गीतको संख्या बढ्यो, धमाधम सार्वजनिक हुन पनि थाले । एकपछि अर्को गीत स्रोता-दर्शकले रुचाउँदै गए ।
‘मिनरल वाटर’, ‘पहिलो पल्ट भेट हुँदा’ जस्ता गीतहरु रुचाइए । राष्ट्रकवि माधवप्रसाद घिमिरेको रचना र नारायण रायमाझीको संगीतमा प्रविन बेडवालसँग गाएको ‘उनको प्रीति’ बोलको गीत त निक्कै चर्चित भयो ।
‘नमुछे आमा दहीमा टीका’को नयाँ भर्सन, ‘सुनन पियारी’ ‘चाहन्छु’, ‘सम्झिनी पानी छम्किनी’, ‘भन साइँला’ जस्ता उनका थुप्रै गीतहरु पनि रुचाइएका छन् ।
त्यसो त, रचनाले सांगीतिक करिअर शुरु गरेको लामो समय पनि भएको छैन । आफ्नो पहिलो चर्चित गीत ‘फोटो फिरिममा’ सार्वजनिक भएको दुई वर्ष नहुँदै उनको स्वर एक हजारभन्दा बढी गीतमा गुञ्जिइसकेको छ । १८ वर्षको सानो उमेरमै र छोटो अवधिमै रचनाले पाएको सफलता साँच्चिकै लोभलाग्दो छ ।
स्टेजमा पनि उत्तिकै व्यस्त
कोरोना महामारीका कारण गत वर्ष मेला-महोत्सव तथा स्टेज कार्यक्रम खासै भएनन् । त्यसैले हिजोका दिनमा रचनाको व्यस्तता स्टुडियोमा केन्द्रित थियो । अहिले स्टेजतिर पनि उत्तिकै छाएकी छन् ।
‘महोत्सवबाट हिजो साँझ काठमाडौं फर्किएकी हुँ । हिजो साँझ नै एउटा गीत रेकर्डिङ गरें । आज दुईवटा गीतको रेकर्डिङ सकेर आएकी हुँ,’ व्यस्त दैनिकीकै बाबजुद केही दिनअघिको भेटमा रचनाले भनिन्, ‘दुई/तीन दिनमा केही गीतको रेकर्डिङ सकेर फेरि मेला-महोत्सवतिरै जानुछ । अंग्रेजी नयाँ वर्षको दिन दार्जिलिङमा सांगीतिक प्रस्तुति दिँदैछु । त्यसपछि पुस अन्त्यसम्मै नियमितजसो मेला-महोत्सवको सेड्युल छ । माघका लागि पनि थुप्रै जिल्लाबाट मेला महोत्सवको लागि कुरा भएको छ ।’ यतिबेला उनी सांगीतिक प्रस्तुतिका लागि दार्जिलिङ पुगिसकेकी छिन् ।
आफ्ना गीतलाई जस्तै स्टेजमा पनि आफूले स्रोता-दर्शकबाट एकदमै माया पाउने गरेको रचना बताउँछिन् । स्टेज कार्यक्रममा जाँदा उनी अनेकथरी फ्यान भेट्छिन्, कोही टाढाटाढादेखि भेट्न आएको बताउँदै फोटो खिच्छन् । कोही विभिन्न उपहारहरु ल्याएर दिन्छन् ।
‘अस्ति भर्खरै ताप्लेजुङमा एक जना दिदी म तपाईंलाई भेट्न पाँच घण्टा हिँडेर आएकी हुँ भन्नुभयो । ताप्लेजुङमा एउटा होटलको दाइले किवी लगायत फलफूलहरु कोसेली भनेर पठाउनुभएको छ,’ रचनाले उत्साहित भावमा फ्यानका केही किस्सा सुनाउँदै भनिन्, ‘सिमरामा पनि एक जना महिलाले कार्टुन ल्याएर दिनुभयो । पछि होटल गएर हेर्दा कार्टुनभरि चाउचाउ थियो ।’ सांगीतिक प्रस्तुतिकै लागि दुईपटक दुबई समेत पुगेकी रचनालाई त्यहाँ फ्यानले लकेटदेखि ब्याग, परफ्युमसम्म उपहार दिएका थिए । फ्यानहरुबाट यस किसिमको माया पाउँदा एकदमै खुशी लाग्ने र आगामी दिनमा सांगीतिक क्षेत्रमा अझै राम्रो काम गर्न हौसला मिल्ने उनी बताउँछिन् ।
सानैदेखि भजन गाउँथिन्
झापाको चन्द्रगढीमा सामान्य परिवारमा जन्मिएकी हुन् रचना । आमाले दुई वर्ष अगाडिसम्म घरछेउमै घुम्ती पसलमा चटपटे बेच्थिन् । बुवा पहिले वैदेशिक रोजगारीमा थिए । अहिले घर फर्किएर अटो चलाउँछन् । तीन दिदी-बहिनीमा माइली रचना सानैदेखि भजन गाउँथिन् । भजन गाएको मन पराएर कतिले उनलाई पैसा समेत दिन्थे ।
कक्षा ४ देखि प्राइभेट विद्यालय पढेकी रचना सोही वर्ष विद्यालयको प्रतियोगितामा गीत गाएर प्रथम भइन् । त्यसपछि शिक्षकहरुले सिकाएर बाहिरको प्रतियोगिताहरुमा समेत लैजान थाले । कक्षा ५ मा पढ्दा रचना विद्यालयस्तरीय प्रतियोगितामा गाएकी थिइन् । सो प्रतियोगितामा उनले तारादेवीको गीत ‘उकाली ओरालीहरुमा’ गाएकी थिइन्, प्रथम भइन् । ‘पुरस्कारस्वरुप डायरी र पाँच सय रुपैयाँ पुरस्कार पाएकी थिएँ,’ उनले त्यो दिन सम्झिँदै भनिन्, ‘त्यहाँबाट बल्ल गाउन सक्छु जस्तो भयो । गायनमा एकदमै प्रोत्साहित भएँ ।’
बाल्यकालमा उनको लगाव भजनमा थियो । जब गीत गाएर पुरस्कार पाउन थालिन्, बुबाले ल्याएको स्क्रिनटच मोबाइल लिएर वाइफाइ भएको छिमेकीका घरमा पुग्थिन् । अनि आफूलाई मन परेका गीतहरु डाउनलोड गर्थिन् । तिनै गीत सुनेर सिक्न थालिन् । त्यसो समय तारादेवी, अरुणा लामा, भक्तराज आचार्य लगायतका गीतहरु बढी सुन्ने गरेको रचना बताउँछिन् ।
विद्यालयमा नृत्य सिकाउने एक जना शिक्षिका थिइन्, जसले गीत एकदमै रुचाउँथिन् । उनले रचनालाई गीत गुनगुनाउन लगाइरहन्थिन् । गुनगुनाउन लगाउने मात्र होइन, गाउँदै गरेको भिडियो मोबाइलले खिचेर आफ्नै अकाउण्टबाट एउटा ग्रुपमा समेत पोष्ट गरिदिन्थिन् । सो गु्रपमा जसले पनि गीत गाएर पोष्ट गर्न मिल्थ्यो । त्यतिबेला रचना कक्षा ९ मा पढ्दैथिइन् । गु्रपमा पोष्ट गरिएका भिडियोमा एकदमै राम्रो प्रतिक्रिया आउँथ्यो । शिक्षिकाले ती प्रतिक्रियाहरु देखाउँदा फुरुङ्ग हुन्थिन् रचना ।
सोही गु्रपमा प्रतियोगिता समेत राखिएको थियो, जसको धेरै लाइक कमेन्ट आउँछ ऊ विजेता हुने । तिनै शिक्षिकाले रचनाको भिडियो पोष्ट गरिदिइन् । रचना विजेता बनिन् अनि हार्मोनियम जितिन् । त्यसपछि आफूमा संगीतको नसा एकदमै बढेर गएको रचना सुनाउँछिन् । उनी सोही हार्मोनियममा ‘सारेगमप…’ आलाप्न थालिन् । आमा-बुबाबाट भने गायनमा सधैं साथ र सपोर्ट रहेको उनले सुनाइन् ।
घरछेउमै रहेको चटपटे पसलमा साँझ-बिहान र बिदाको समयमा रचनाले पालो दिन्थिन् । पसलमा गीत गुनगुनाउँदै बस्थिन्, चटपटे खान आएका ग्राहकलाई बनाएर दिन्थिन् । चटपटे बनाउने क्रममा केही युट्युबर त्यहाँ पुगेर रचनाको अन्तवार्ता लिए । र, युट्युबमा ‘चटपटेवाली गायिका’का रुपमा प्रस्तुत गरे । जुन भिडियो स्रोता-दर्शकले निकै रुचाए । सोही भिडियोबाट रचनालाई ‘चटपटेवाली गायिका’ भनेर चिन्नेहरु प्रशस्त भइसकेका थिए ।
वसन्तले दिए पहिलो गीत, नेपाल आइडल बन्यो ‘टर्निङ प्वाइन्ट’
रचना ‘चटपटेवाली गायिका’ भनेर भाइरल भएकी थिइन् । त्यतिबेला उनी बेलाबेला गीत गाएर भिडियोहरु फेसबुकमा पोष्ट समेत गर्थिन् । संगीतकार वसन्त सापकोटालाई आफैंले रिक्वेस्ट पठाएर फेसबुकमा साथी बनाइसकेकी थिइन् । रचनाले फेसबुकमा गीत गाएर पोष्ट गरेको ‘क्लिप’ सापकोटालाई मन परेको रहेछ ।
एक दिन संगीतकार सापकोटाको रचनालाई म्यासेज आयो, ‘नानी तिम्रो स्वर एकदमै राम्रो लाग्यो । काम गर्नुपर्छ ल ।’ सापकोटाको म्यासेजले रचनामा खुशीको सीमा रहेन ।
सापकोटाले गीत रेकर्डिङका लागि काठमाडौं बोलाए । बुबालाई लिएर काठमाडौं आइन्, वसन्तको शब्द तथा संगीतमा रचनाको पहिलो गीत रेकर्ड भयो, ‘रुमाल चिनो’ । जतिबेला रचना कक्षा १० मा पढ्दै थिइन् ।
रचना आफ्नो भिडियोमा आउने कमेन्ट पढिरहन्थिन् । ‘नेपाल आइडलमा जाऊ’ भन्ने कमेन्टहरु थुप्रै आउँथे उनलाई । रचना आफैं पनि नेपाल आइडलको नियमित दर्शक थिइन्, उनलाई त्यहाँ गएर गाउने धोको थियो । अडिसनबारे जानकारी पाएपछि नेपाल आइडलमा जाने आँट गरिन् । सयौंबाट छानिइन्, प्रस्तुति दिँदै गइन् । स्रोता-दर्शकबाट तारिफ बटुल्दै उत्कृष्ट आठसम्म पुगिन् । उनले तीन पटकसम्म सबैभन्दा बढी भोट पाएकी थिइन् । उत्कृष्ठ ८ बाट भने उनी बाहिरिइन्, तर त्यसपछि उनको सांगीतिक यात्राको वेग तीव्र हुँदै गयो ।
स्रोताको कमेन्टले पाएको ‘फोटो फिरिममा’
नेपाल आइडलमा गएपछि आफूलाई चिन्ने र माया गर्नेहरु ह्वात्तै बढेको रचना बताउँछिन् । त्यही मायाले नै आफूले ‘फोटो फिरिममा’ गाउने अवसर पाएको उनले खुलाइन् ।
कलाकार शिशिर भण्डारी नयाँ गीत ल्याउने तयारीमा थिए । आफ्नो शब्द तथा संगीत रहेको ‘फोटो फिरिममा’ गीत कुन गायिकालाई गाउन दिँदा ठीक होला ? भनेर शिशिरले फेसबुकमा प्रश्नसहितको स्टाटस राखेका थिए ।
रचना सुनाउँछिन्, ‘म भर्खरै नेपाल आइडलबाट आउट भएकी थिएँ । शिशिर दाइको त्यो स्टाटसमा धेरैले मेरो नाम लिनुभएको थियो । धेरै जनाले गर्नुभएको तिनै कमेन्टले मैले ‘फोटो फिरिममा’ गीत गाउन पाएँ ।’
कल्पना बाहिरको माया
रचना आफू यो स्थानसम्म आउँछु भनेर कहिल्यै नसोचेको बताउँछिन् । ‘एउटा-दुइटा गीत रेकर्ड गर्न पाए हुन्थ्यो भन्ने चाहिं पहिल्यैदेखि थियो । नेपाल आइडलमा जाँदा पनि दुई तीनवटा गीत पाउँछु होला भन्ने लाग्थ्यो । यसरी व्यस्त हुन्छु, स्रोता दर्शकहरुको यति धेरै माया पाउँछु होला भन्ने सोचेकै थिइनँ,’ उनी भन्छिन् ।
साँघुरो घर भत्काएर पक्की घर बनाउने रचनाको सानैदेखिको धोको थियो । छरछिमेकका दाइहरु अष्टे«लिया, अमेरिका गएर पैसा कमाएर नयाँ घर ठ्डयाइरहेका हुन्थे ।
‘गाउँमा त्यस्तो देखेर पनि होला, मलाई पनि विदेश गएर पैसा कमाएर घर बनाउँछु भन्ने सोच्थें,’ रचना भन्छिन्, ‘तर गीत गाएर घर बनाउँछु भनेर कहिल्यै सोचेकी थिइनँ ।’ यति भनिरहँदा रचनाले सांगीतिक क्षेत्रकै कमाइले झापामा पक्की घर ठड्याउँदैछिन् ।
उनको गायकीलाई मात्र होइन, उनले गर्ने रमाइला जवाफलाई रुचाउनेहरु पनि प्रशस्त भेटिन्छन् । उमेर सुहाउँदो उनको निर्दोषपन अनि रमाइला खालका कुरालाई लिएर कति ‘ट्रोल’ समेत बन्ने गरेका छन् ।
उनी भन्छिन्, ‘मैले बोलेको कुरालाई लिएर कतिपय हाँस्नुहुन्छ । ती कुरा कतिलाई राम्रो लाग्ला, कतिपयलाई नाटकजस्तो पनि लाग्ला । तर, मलाई सोचेर बोल्न आउँदैन । जे मनमा लाग्यो त्यो भनिहाल्छु ।’ सांगीतिक क्षेत्रमा आएपछि स्रोता-दर्शकले दिएका कतिपय कमेन्टहरुलाई भने मनन् गर्दै लगेको समेत रचनाले बताइन् ।
संगीत पढ्ने, चलचित्रमा गाउने
रचना सानैदेखि पढाइमा अब्बल छिन् । एसईईमा ‘ए ग्रेड’ ल्याएकी उनले यसै वर्ष ‘ए ग्रेड’मै कक्षा १२ उत्तीर्ण गरेकी छन् । झापा भद्रपुरको प्रज्ञा एकेडेमीबाट कक्षा १२ उत्तीर्ण गरेकी रचना अब काठमाडौंमा संगीत विषय लिएर स्नातक तह अध्ययन गर्ने तयारीमा छिन् ।
‘ललितकला क्याम्पसमा संगीत पढने सोचेकी छु । केही दिनमा भर्ना हुन्छु,’ उनले सुनाइन् । करिअरको जति महत्व छ, त्यति नै औपचारिक अध्ययनको महत्व रहेको रचनाको बुझाइ छ । रचनाले कक्षा ९ मा पढ्दै गर्दा झापामा केही समय संगीत प्रशिक्षण पनि लिएकी थिइन् ।
अहिले फेरि उनी धेरै गायक÷गायिकाका गुरु एवं संगीतकार चण्डीप्रसाद काफ्लेसँग संगीत शिक्षा प्रारम्भ गरेकी छन् ।
रचनाले ‘धुर्मुस-सुन्तली’को ‘म त मर्छु कि क्या हो’ चलचित्रमा पनि गीत गाइसकेकी छिन् । जुन चलचित्र ओटीटी प्लेटफर्ममा सार्वजनिक भइसकेको छ । अन्य चलचित्रहरुमा पनि गीत गाउने रहर रहेको उनले सुनाइन् । रचनाको जीवनको सम्पूर्ण चाहना र सपना सांगीतिक क्षेत्रमै छ । ‘बाँचुन्जेल कति सकिन्छ गीत गाउने हो । स्रोता-दर्शकलाई राम्रा-राम्रा गीत दिने हो,’ संगीत कक्षामा जान हतार गरिरहेकी रचनाले कुराकानीको वीट मार्ने क्रममा भनिन्, ‘महोत्सवतिर व्यस्त हुँदा संगीत कक्षा छुटिरहेको छ । काठमाडौंमै हुँदा चाहिं छुटाउनु हुँदैन ।’ त्यसपछि रचना लागिन् संगीत गुरु चण्डीप्रसाद काफ्लेकहाँ ।
तस्वीर : आर्यन धिमाल
from Online Khabar https://ift.tt/3sK1KTb
कञ्चनपुरमा लागूऔषधसहित एक जना पक्राउ
१७ पुस, धनगढी । कञ्चनपुरमा सशस्त्र प्रहरीले भारतबाट लागूऔषध ल्याएर आउँदै गरेको अवस्थामा एक जना युुवकलाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरीले नेपाल-भारत सीमास्थित डोकेबजारमा स्थापना गरेको चेक प्वाइन्टबाट खटिएको टोलीले चेकजाँचका क्रममा लागूऔषधसहित एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-६ जाई बस्ने १९ वषर्ीय प्रेम ऐर रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेटक्वाटर शैलेश्वरीले जनाएको छ ।
उनको झोलाबाट ७८ ग्राम खैरो हिरोइन, ४ ट्यावलेट नाईट्रोभेट, दुुई वटा मोबाइल, दुुई हजार सात सय भारतीय रुपैयाँ, तीन वटा घडीलगायत बरामद गरिएको छ ।
ऐरलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय त्रिभुुवन बस्तीको जिम्मा लगाइएको छ ।
from Online Khabar https://ift.tt/3Jx2YXP
5 जनवरी को लॉन्च होगा भारत का पहला रंग बदलने वाला Vivo स्मार्टफोन, मिलेगा 12GB RAM
from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/3sLyY4m
नेपाली फिल्मका लागि ‘थ्रेट’ बन्दैछन् साउथ इण्डियन फिल्म ?
१७ पुस, काठमाडौं । निर्माता अर्जुन कुमारले चलचित्र ‘चपली हाइट ३’ साउथ इण्डियन हिन्दी डब चलचित्र ‘पुष्पा’कै कारण रिलिज गरेनन् । पुस २ गतेबाट पछि सरेको चलचित्रको प्रदर्शन मिति अब पुस ३० गतेलाई तोकिएको छ ।
अर्को साता साउथकै हिन्दी डब चलचित्र ‘आरआरआर’ नेपाल भित्रिने भएपछि नेपाली निर्माताले चलचित्र रिलिजको आँट नै गरेनन् । चैत ३० गते नै साउथको हिन्दी डब चलचित्र ‘राधे श्याम’ रिलिज हुँदैछ । नेपाल भित्रियो भने यो चलचित्र ‘चपली हाइट ३’का लागि पनि थ्रेट बन्न सक्छ ।
चलचित्र ‘पुष्पा’कै कारण शुक्रबारबाट रिलिज भएको नेपाली चलचित्र ‘कठपुतली’ले मल्टिप्लेक्समा कम शो पायो । गत साता रिलिज भएको ‘चुरीफुरी’ नामक चलचित्रले मल्टिप्लेक्समा शो नै पाएन । जबकि, तीन सातादेखि ‘पुष्पा’ले मल्टिप्लेक्समा कब्जा गरेको छ । तेस्रो सातामा पनि ‘पुष्पा’को तुलनामा फ्रेस रिलिज नेपाली चलचित्रले निक्कै कम शो पाएको छ । विदेशी चलचित्रलाई प्राइम टाइमको शो दिएका प्रदर्शकले नेपाली चलचित्रलाई झारा टार्ने काम गरेका छन् ।
कोरोना महामारीका कारण लकडाउन भएपछि नेपालमा चलचित्र हलको अवस्था फेरियो । लामो समय सिनेमा हल बन्द हुँदा नेपाली चलचित्रको किल्लाको रुपमा रहेका अधिकांश सिंगल हलहरु बन्द भए । गोपीकृष्ण हल भत्काइयो । काठमाडौं लगायत देशभरका अधिकांश सिंगल हलहरु बन्द भए । यी हल बन्द हुँदा नेपाली मेकरले बलिउड, हलिउडको मात्र नभएर अब साउथका चलचित्रसँग पनि प्रत्यक्ष रुपमा मल्टिप्लेक्समा भिडन्त गर्नुपर्ने हुन्छ । जसले नेपाली चलचित्रको इनिसियल व्यापारमा असर गर्ने प्रष्ट छ ।
निर्माता अर्जुन कुमारले नेपाली चलचित्र बनाउने निर्मातालाई महामूर्खको संज्ञा समेत दिए । उनले अब नेपाली चलचित्रको अस्तित्व नै सकिने तर्क समेत गरेका छन् ।
अर्जुन भन्छन्, ‘अब साउथको हिन्दी डब चलचित्र नेपाली चलचित्रका लागि काल बन्ने पक्का छ । अहिले म मात्रै बोलेको छु, भोलिको दिनमा यो समस्याबाट अधिकांश निर्माता ग्रसित हुनुपर्ने निश्चित छ ।’ चलचित्र रिलिजका लागि आँशु नै झार्दै हिँडेका अर्जुनले अब नेपाली चलचित्र क्षेत्र सकिएको घोषणा समेत गरिसकेका छन् ।
साउथकै चलचित्र ‘केजीएफ २’को प्रदर्शन मिति पक्का नहुँदा नेपाली चलचित्र ‘ए मेरो हजुर ४’का निर्माता सुनिलकुमार थापाले चलचित्रको प्रदर्शन मिति तय गर्न सकेका छैनन् । उनी ‘केजीएफ २’को रिलिजको सेड्युल अनुसार आफ्नो चलचित्रलाई रिलिज गर्ने बाटो कुरेर बसेका छन् ।
लकडाउनअघि बलिउडका स्टार कलाकारसँग मात्रै भिडन्त गरेका नेपाली निर्माताले अब साउथका चलचित्रसँग पनि शो बाँड्नुपर्ने अवस्था आएको छ ।
नेपालमा साउथका चलचित्र सस्तोमा ल्याएर राम्रै रकम कमाउन सकिने अवस्था आएपछि वितरकहरुले पनि लगानी धमाधम गरिरहेका छन् । ‘पुष्पा’लाई १ करोड बढी भारतीय रुपैयाँ तिरेर नेपाल भित्र्याइएको थियो । तर, यो चलचित्रले वितरकलाई राम्रो मुनाफा दिएको छ । यसले वितरकलाई साउथ चलचित्रप्रतिको लगाव झनै बढाएको छ । अर्को साता रिलिज हुन लागेको ‘आरआरआर’का लागि वितरकले दुई करोड बढी भारतीय रुपैयाँ खर्च गरेको चर्चा छ ।
राम्रो फिल्म बनाएर मात्रै अब सुख छैन
चलचित्र लेखक तथा समीक्षक सामीप्यराज तिमिल्सिना अब नेपाली चलचित्रका मेकरलाई राम्रो चलचित्र बनाएर मात्र सुख नहुने बताउँछन् । ‘मैले पहिले राम्रो चलचित्र बनाएरै प्रतिस्पर्धा गर्नुपर्छ भन्ने तर्क गर्दै आएको थिएँ । तर, अब यो तर्कले पनि काम गर्दैन । किनकि, भारतमा राम्रो भएर पनि ८३ नामक चलचित्र नचलेको उदाहरण नेपालमा पनि लागू हुन्छ,’ उनी भन्छन् ।
उनका अनुसार दर्शकले केही चलचित्रका लागि मात्र रकम खर्च गर्न सक्छन् । यदि उनीहरुले आफ्नो बजेट विदेशी चलचित्रको लागि छुट्याए भने राम्रो भएर पनि नेपाली चलचित्र नचल्न सक्छ ।
साउथ इण्डियन चलचित्र नेपाली बजारका लागि एक दशक अगाडि नै थ्रेट बनेको उनको भनाइ छ । तिमिल्सिना भन्छन्, ‘एक दशक अगाडिदेखि नै साउथका चलचित्र र कलाकारले हाम्रो घरमा प्रवेश पाएका हुन् । त्यसैको परिणाम बल्ल हलमा देखिन थालेको हो । अब नेपाली चलचित्रका लागि दुईवटा मात्र उपाय छन् ।’
उनका अनुसार कि त नेपालमा पनि चीन र कोरियाको मोडल अपनाएर कोटा प्रणालीमा चलचित्र रिलिज गर्नुपर्छ । कि त, विदेशी चलचित्रसँग प्रतिस्पर्धा गर्नुपर्छ ।
तिमिल्सिनाले तेस्रो हप्तामा प्रदर्शन भइरहेको साउथ चलचित्र ‘पुष्पा’ले भन्दा फ्रेस रिलिज नेपाली चलचित्र ‘कठपुतली’ले कम शो पाउनुलाई दुर्भाग्यपूर्ण भने । ‘यो त अन्याय नै हो नि । तर, के गर्नु मल्टिप्लेक्समा विदेशी चलचित्रकै दबदबा छ । नेपाली चलचित्रको अन्यायको विषयमा त कोही पनि बोल्दैनन्,’ उनी भन्छन् ।
नेपाली फिल्मका लागि शो छुट्याउनुपर्छ : दीपकराज गिरी
निर्माता तथा कलाकार दीपकराज गिरी भने साउथको चलचित्र मात्र नेपाली चलचित्रका लागि थ्रेट रहेको भनेर नभन्ने बताउँछन् । उनी भन्छन्, ‘हाम्रा लागि सबै विदेशी चलचित्र थ्रेट हुन् । चलचित्र क्षेत्र कला र संस्कृतिभित्र पर्छ । जसले जहाँबाट जुन भाषाको चलचित्र किनेर ल्याएर पनि चलाउन त पायो । तर, देशको कला र संस्कृति जोगाउने भन्ने शब्द पनि त होला नि होइन ?’
गिरी अगाडि भन्छन्, ‘चीन जस्तो ठूलो देशले पनि किन विदेशी चलचित्रलाई कोटा लगाउनु परेको होला ? चीन पनि खुल्ला व्यापारमा विश्वास गर्छ । तर, चीनमा पनि हिन्दी चलचित्र खोलिदिने हो भने त्यहाँको चलचित्रको बाह्र बज्छ । यसबाट के बुझ्नुपर्छ भने कुनै पनि देशको कला संस्कृतिलाई समाप्त पार्नका लागि यति नै कुरा काफी छ ।’
गिरीले चलचित्र विकास बोर्डको काम भनेको विदेशी चलचित्रको कर उठाएर कर्मचारी भर्ती गर्ने ठाउँ मात्र नभएको आरोप लगाए । ‘कमसेकम राज्यले स्वदेशी चलचित्रका लागि २५ प्रतिशत सिट सुरक्षित त गरिदिनुपर्यो नि । कला र संस्कृति भन्ने व्यापारमा मात्र पर्दैन,’ उनी भन्छन् ।
एक करोड रुपैयाँको चलचित्रलाई अर्बौं बजेटमा बनेका चलचित्रले पेल्ने उनको भनाइ छ । ‘म त लामो समयदेखि कराएर थाकेको मानिस हुँ । हाम्रो क्षेत्रमा विसंगति विरुद्ध बोल्ने मानिसको संख्या कम छ । चूप लगाएर नायक बन्न खोज्नेहरु धेरै छन्,’ उनी भन्छन्, ‘राज्यको माथिल्लो निकायसम्म यो मेरो समस्या होइन भन्ने धेरै छन् ।’
स्वदेशी चलचित्रलाई २५ प्रतिशत हल दिने नियम नलगाउने हो भने हरेक नेपाली चलचित्रको नियति ‘चपली हाइट ३’ जस्तै हुने गिरीको तर्क छ । उनी भन्छन्, ‘साउथको २ वटा, हिन्दी, अंग्रेजी चलचित्र एकसाथ रिलिज हुँदा नेपाली चलचित्र भाग्दै जाने र अन्त्यमा आफ्नै देशको चलचित्रसँग जुध्नुपर्ने नियति अब झनै देखिन्छ ।’
विदेशीलाई रोक्न हुँदैन, तर सबै फिल्म ल्याउनुपर्छ भन्ने छैन : छविराज ओझा
नेपाली चलचित्र क्षेत्रका पाका निर्माता छविराज ओझाले विदेशी चलचित्रको भेलले नेपाली चलचित्र क्षेत्रलाई बगाउने डर रहेको बताए । उनले भने, ‘कोरोनाका कारण विदेशी चलचित्र रिलिज हुन नपाएर थुप्रिए । तर, निर्माण हुने क्रम भने रोकिएन । जसले अब एकैचोटी सबै चलचित्र आउँदा नेपाली चलचित्रलाई नै बगाउने अवस्था आयो । मेरो भनाइ सबै चलचित्र नेपाल ल्याएर रिलिज गर्न आवश्यक छैन भन्ने हो ।’
उनले थपे, ‘विदेशी चलचित्रलाई राम्रो शो दिएर नेपाली चलचित्रलाई बिहानको शो दिइन्छ । यो काम प्रदर्शकले गर्नु हुँदैन । नेपाली चलचित्रलाई माया गरौं । राम्रा र आशा गरिएका विदेशी चलचित्र ल्याउनुपर्छ । तर, साउथमा वर्षमा ७ सय वटा चलचित्र बन्छन् भने सबै ल्याउनुपर्छ भन्ने होइन ।’
ओझाले अहिले सिंगल हल थोरै मात्र बाँकी रहेकाले मल्टिप्लेक्सले नेपाली निर्मातालाई पेल्न नहुने बताए । ‘अर्जुन कुमारले सधैं मल्टिप्लेक्स हलकै लागि चलचित्र बनाए । अब उनलाई नै प्रदर्शकले पेल्ने अवस्था आयो भने निर्माताले कसरी चलचित्र बनाउने ? नेपाली चलचित्रलाई माया नगर्ने हो भने विदेशीको भेलमा सबै बडारिने पक्का छ,’ उनी भन्छन् ।
राज्य स्तरबाट नै नेपाली चलचित्रलाई जोगाउनका लागि नियम नबनाउने हो भने साउथ इण्डियन मात्र नभएर हरेक भाषाका चलचित्र ‘थ्रेट’ बन्ने चलचित्रकर्मीहरुको विश्लेषण छ ।
from Online Khabar https://ift.tt/3zeW5Wg
पहले से भी सस्ता मिल रहा है Xiaomi का 6000mAh बैटरी वाला पावरफुल फोन, मिलेगी 6GB RAM
from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/3Jx8xoZ
पुर्ख्यौली सीपबाट उत्कृष्ट उद्यमी
१७ पुस, दाङ । उनले शायदै सोचेकी थिइन् कुनै दिन उद्यमी बनुँला भनेर । तर भइदियो यस्तै । सशस्त्र द्वन्द्वका बेला रोल्पाबाट विस्थापित भएर दाङ झरेकी प्रेमकुमारी पुनले अल्लो (सिस्नोको रेसाको धागोबाट बुनिने कपडा) बनाउने पुर्ख्यौली सीपलाई व्यावसायिक रुप दिइन् । गाउँघरमा अल्लोबाट कपडा बनाउने त्यही सीपले उनलाई चिनारी दियो, ‘चिनारी महिला अल्लो उद्योग’को सञ्चालकको रुपमा ।
रोल्पाको परिवर्तनशील गाउँपालिका-१ पुरेलीमा जन्मिएकी हुन् उनी । गाउँघरमा दाम्लोदेखि झोला र कपडासम्म अल्लोकै बनाइन्थ्यो । गाउँमा महिलाका लागि अल्लो कपडा बनाउने पुर्ख्यौली सीप अनिवार्य जस्तै थियो ।
आमाले अल्लो कपडा बनाएको देख्दा उनलाई सानैदेखि रहर पनि लाग्थ्यो । नजानेर तान चलाउन खोज्दा कपडा बिग्रन्थ्यो । ‘आमाले पिट्दै सिकाउनु हुन्थ्यो,’ प्रेमकुमारी सम्झँन्छिन्, ‘त्यसरी १२ वर्षकै उमेरमा अल्लो धागोबाट कपडा बुन्न जानें ।’
पछि उनी स्थायी शिक्षक भइन् । विवाह पनि शिक्षकसँगै भयो । छोराछोरी हुर्कंदै थिए । जीवन ठिकठाक चलिरहेको थियो । त्यहीबेला नेकपा माओवादीले सशस्त्र विद्रोह शुरु गर्यो । प्रेमकुमारी पुन जस्तै नागरिकका लागि नसोचेको परिस्थिति सिर्जना भयो । उनीहरु विद्रोही र सरकार दुवैको चेपुवामा पर्न थाले ।
विद्रोही त गाउँमा थिए नै, बेलाबेला आउने सरकारी सुरक्षा फौजको ज्यादती चर्किन थाल्यो । रोल्पा-रुकुममा जति जनयुद्ध चर्कंदै गयो, सरकार पक्षबाट ज्यादती बढ्दै गयो । भिडन्त बढ्दै जाँदा कुनै पनि बेला कुनै पक्षको फन्दामा परिने वा अनाहक मारिने डर बढ्दै गयो । ‘त्यो बेला ज्यान जोगाउनै ठूलो कुरा थियो,’ प्रेमकुमारी भन्छिन् ।
२०५८ सालमा विद्यालयको कामले सदरमुकाम जाँदा प्रेमकुमारीका श्रीमानलाई प्रहरीले पक्राउ गर्यो । तीन पटकसम्म त्यो क्रम चल्यो । ‘त्यसपछि विद्रोही पक्षले सुराकी भनेर सताउन थाले,’ प्रेमकुमारी भन्छिन्, ‘अनि ज्यान जोगाउनै गाह्रो भयो र बाँचे कसैगरी पनि खाइएला भनेर दाङ झर्यौं ।’
बाँच्ने बाटो खोज्ने क्रममा प्रेमकुमारीले आमाले सिकाएको अल्लो कपडाको सीप सम्झँदै सिलाइकटाइको तालिम लिइन् । त्यसक्रममा रोल्पा-रुकुमबाट विस्थापित भएका अन्य महिलाहरुसँग भेट हुन थाल्यो । सबैको व्यथा उस्तै थियो । सबै नयाँ ठाउँमा जीवन निर्वाहको बाटो खोजिरहेका थिए ।
आफूजस्तै विस्थापित दिदीबहिनीको समेत साथ लिएर प्रेमकुमारीले अल्लो उद्योग खोलिन् । २०६० सालमा उद्योगले कपडा उत्पादन थाल्यो । शुरुआती दिन निक्कै चूनौतीपूर्ण रहे । खासगरी मूल्यको हिसाबले अल्लोलाई विदेशी कपडासँग प्रतिस्पर्धामा उतार्नु ठूलो चुनौती थियो ।
‘शुरुमा अल्लोको कपडा बेच्न गाह्रो भयो,’ उनले सम्झिइन्, ‘शान्ति प्रक्रिया शुरु भएपछि बिस्तारै मेला-महोत्सवले बजारीकरण गर्न सहयोग गर्यो । यो कपडाबारे बुझ्दै गएपछि माग पनि बढ्दै गयो ।’
उद्योग स्थापना भएको २० वर्षमा अल्लो कपडाले चिनारी पाइसकेको छ । कपडाको माग पनि बढिरहेछ । उद्योगले अल्लोका झोला, ब्यागदेखि अनेक खालका पोशाक बनाइरहेको छ । अहिले त आफ्नो उद्योगका उत्पादन भारत र चीनमा पनि प्रर्दशनी र बिक्री वितरणमा रहेको प्रेमकुमारी बताउँछिन् ।
‘एउटा राम्रो ब्राण्ड नै बनिसकेको छ अहिले,’ प्रेमकुमारी भन्छिन्, ‘आमाले सिकाएको सीपले मलाई चिनारी दियो । अहिले आमा भइदिएको भए कति खुशी हुनुहुन्थ्यो होला ।’
उनले अल्लो उद्योग थालेको २० वर्षमा थुप्रै राष्ट्रिय-क्षेत्रीय पुरस्कार र सम्मान पाएकी छन् । राष्ट्रिय महिला उद्यमीको चिनारी बनाएकी प्रेमकुमारीको उपनाम नै ‘अल्लो दिदी’ बनेको छ । यो सब आमा र दूरदराजमा बसेर अल्लोबाट कपडा बनाउन सिकाउने महिलाहरुका कारणले भएको उनी बताउँछिन् ।
‘२०७० सालमा मैले नेपाल सरकारबाट उत्कृष्ट उद्यमी पुरस्कार पाएँ,’ प्रेमकुमारी भन्छिन्, ‘त्यो पहिलो पुरस्कार थियो । सबैले बधाई दिँदा भावुक भएँ । त्यो दिन आमा सम्झेर खुब रोएँ ।’
from Online Khabar https://ift.tt/3FOQZm8
Apple, सैमसंग से लेकर OnePlus तक, 2022 में आने के लिए तैयार है ये बेहतरीन स्मार्टफोन, देखें लिस्ट
from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/3JwUAYl
राइफल भिरेर सेन्ट्री बस्दा…
‘कमरेड ! ओ कमरेड !!’ मध्यरातको समयमा मलाई एक अपरिचित युवकले जोडले झक्झकायो ‘उठ्नुस् त ।’
म घोर निद्रामा थिएँ । त्यो झकझकाहटले झसँग भएँ । एकाएक मेरो निद्रा खलबलियो । तर बोल्ने जाँगर थिएन । ‘उँः’ गरेर खुट्टा तनक्क तन्काएँ र निद्रामै फर्किएँ ।
‘ओ कमरेड ! उठ्नुस् त ।’ अलि ठूलो आवाजमा फेरि त्यो युवकले झक्झकायो । यसपटक उसको आवाज र झक्झक्याई अझ कडा थियो ।
मलाई नमज्जा लाग्यो । नमज्जा मात्र हैन हल्का झोंक नै चल्यो । हैन को मान्छे हो यो मध्यरातमा कराउने ? मीठो निद्रामा डुबेको बेला अर्कालाई बिनासित्ती तनाव दिने ? रिसले मेरो कन्सिरी तातेर आयो । उठेर गाला फुट्नेगरी बजाइदिउँ जस्तो पनि लाग्यो । तर दाँत किटेर थामिएँ ।
‘किन होला ?’ आँखा नउघारी शान्तसँग बोले म । भित्रभित्रै भने खुब मुर्मुरिएको थिएँ ।
‘तपाईं केएल पीडित हो ?’ उसले मेरो मुखतिर टर्च बाल्यो, झललल । ‘हो, म केएल पीडित हुँ ।’ हाइ काढ्दै केही झर्केर बोलें म ।
उसको हर्कतले म चिढिंदै गएको कुरा युवकलाई बोध गराउनु थियो मलाई । ताकि अब उप्रान्त उसले मेरो निद्रा बिथोल्ने धृष्टता नगरोस् ।
‘तपाईंको सेन्ट्री बस्ने पालो छ कमरेड । उठ्नुस् है । टाइम भइसक्यो ।’ युवक झन् तात्न पो थाल्यो ।
सेन्ट्री बस्ने रे !? एकछिन ट्वाँ परेर उसलाई हेरे ।
१७/१८ वर्षको खाइलाग्दो युवक अघिल्तिर दृढ उभिएको थियो र एकनासले मलाई घुर्दै थियो ।
‘म त पत्रकार हुँ । घोराहीबाट आएको हुँ । म तपाईंहरुको इन्चार्ज कमरेड हिरामणि दुःखीको साथी हुँ । उहाँले मलाई यहाँ रिपोर्टिङको लागि ल्याउनु भएको हो ।’ मैले एकै सासमा सम्पूर्ण बेलिविस्तार लगाएँ ।
कुन्नि किन हो एकदम हलुका महसुस भयो यसपटक मलाई । एउटा पत्रकार छापामार बनेर सेन्ट्री बस्ने कुरा त भएन नि । पत्रकारले त केवल रिपोर्टिङ गर्ने हो । खासमा कुरा यस्तो हो नि त ! अब बल्ल युवक ठाउँमा आउने भो । अब भने सेन्ट्रीको गलपासोबाट छुट्कारा पाउने कुरामा म शतप्रतिशत ढुक्क थिएँ । म उसैघरि निश्चिन्त भएर घुर्न लागे- घुँर्र, घँर्र ।
‘मैले त तपाईंलाई चिन्दिन कमरेड । पत्रकार हो कि अरु केही ? बेलुका सेन्ट्रीको लिस्ट बनाउँदा कमाण्डर कमरेडले तपाईंको नाम टिपाई दिनुभएको हो । अब तपाईंले सेन्ट्री गर्नै पर्छ ।’
यसपटक युवक उर्दीको शैलीमा बोल्यो- ‘उठिहाल्नुस् कमरेड । हामी श्वैत इलाकामा छौं । जुनसुकै बेला पनि हामीलाई दुश्मनले घेर्न सक्छ । हाम्रो सानो लापरबाहीले पार्टी र क्रान्तिलाई ठूलो क्षति पुग्न सक्छ । हामी अत्यन्त संवेदनशील अवस्थामा छौं । यो बेला अलमलिने र बहस गर्ने समय होइन कमरेड । तपाईं सेन्ट्रीको लागि छिटो तयार हुनुहोस् । तपाईंको टाइम शुरु भइसक्यो ।’
युवक पूरापूर टकटकियो ।
उफ् ! गर्दागर्दै स्थिति त एकाएक भयंकर तनावपूर्ण पो बन्न थाल्यो त ! अब के गर्ने ? कसो गर्ने ? भयंकर अलमलमा परें म । यसो छड्के नजरले युवकलाई हेरें । युवक अधैर्य भावमा मलाई घुरिरहेको थियो । प्रष्ट थियो अब ऊ मेरो ल्याङल्याङ एक मिनेट सहने मुडमा थिएन ।
छापामारहरुको संस्मरणमा पढे बाहेक मलाई सेन्ट्रीबारे ‘क’ पनि थाहा थिएन । कसरी बस्ने सेन्ट्री ? पत्रकार हुँ भन्दा पनि युवक सुन्दैन । एकोहोरो आफ्नै नियमको रटान मात्र गर्छ । आज ठूलो विपतको भूमरीमा परें म । थकान र निद्राले पनि एक हाल गरेको छ । यस्तोमा अझ सेन्ट्री ! वाफ रे ! आज साँच्चिकै बाह्र बज्ने भो मेरो । उफ् !!!
निरुपाय भएपछि आँखा मिच्दै उठें म । अरु कुनै गुञ्जाइस् थिएन अब । ‘म त कहिल्यै सेन्ट्री बसेको छैन । सेन्ट्री बस्दा के के गर्नुपर्छ । केही थाहा छैन,’ मैले अत्यन्त निरीहभावमा सुस्केरा काढ्दै आफ्नो अवस्था जाहेर गरें ।
मेरो निरीहताप्रति युवकले केही न केही सहानुभूति देखाउँछ भन्ने झिनो आशा मेरो मनमा थियो । अहँ ! यसपटक पनि उसमा कुनै बदलाव देखिएन । बरु उल्टो झन्झन् अडिग र कठोर पो देखिँदै थियो ऊ । मान्छे लालसेना जो पर्यो । क्रान्तिको लागि सबथोक न्योछावर गरेको मान्छे । ऊ कहाँ चुक्थ्यो र ? ऊ कहाँ झुक्थ्यो र ? उसको यो क्रान्तिकारितालाई भने मैले उच्च सम्मान गर्नैपर्छ । यो बेला ऊसँग अनावश्यक रुपमा बाझ्नु किमार्थ सही हुने छैन । किमार्थ क्षम्य हुने छैन ।
अब यो महाविपत्तिको सामना नगरी मैले धर पाउने अवस्था रहेन । अतः ढुंगाझैं गह्रुँगो मन लिएर धौ धौ उठे म, खुइय्य गर्दै ।
‘यता आउनुस् कमरेड ।’ युवकले जमिनतिर घोप्टो पारेर टर्च बाल्यो र कोठाबाट बाहिर निस्कियो । मैले ज्ञानी बालकझैं उसलाई पछ्याएँ लुखुरलुखुर । अर्को कोठाको भर्याङ छेउ पुगेपछि युवक रोकियो ।
‘तपाईं २ घण्टा सेन्ट्री बस्नु पर्नेछ । त्यसपछि अर्को कमरेडलाई उठाउनुहोला ।’ टर्चको उज्यालोमा एउटा सानो चिर्कटो हेर्दै उसले भन्यो- ‘तपाईं पछि पालो आउने कमरेडलाई चिन्नुहुन्छ ?’
‘अहँ चिन्दिन ।’ म टकटकिए ।
‘ल आउनुस् म चिनाइदिन्छु ।’ युवकले पुनः पहिलेकै कोठामा पुर्यायो मलाई । त्यो कोठामा करीब १५/२० जना युवक खाँदिएका थिए । ती सब जनयुद्धका लालसेना थिए ।
यसअघि म पनि यही कोठामा गुइँठिएको थिए । उनीहरूलाई यसअघि मैलै कहिल्यै देखेको र भेटेको थिइनँ । उनीहरुसँग म बिल्कुल अपरिचित थिएँ ।
‘ऊ उहाँ हुनुहुन्छ ।’ युवकले कोठाको पूर्व-दक्षिण कुनामा गुइँठिएको एक युवकतिर टर्च बालेर संकेत गर्यो- ‘तपाईंको पालो सकियो भने उहाँलाई उठाउनुहोला ।’
‘हुन्छ ।’ स्वीकारोक्तिमा मैले सुस्तरी टाउको हल्लाएँ । अब म सम्पूर्ण हिसाबले युवकको लाइनमा आइसकेको थिएँ ।
युवक र म त्यहाँबाट निस्केर पुनः भर्याङ भएको कोठामा आयौं ।
‘अबको २ घण्टाको लागि हाम्रो जीवन तपाईंको हातमा छ कमरेड । कुनै किसिमको लापरबाही नगर्नुहोला ।’ युवक एकाएक केही भावुक र गम्भीर देखियो ।
‘हुन्छ ।’ मैले सुस्तरी लामो सास फेरे- स्वाँ ।
युवकले आफूसँग भएको राइफल, ग्रिनेड, खुकुरी, टर्च, घडी र सेन्ट्री बस्नेहरूको सूचीसहितको एउटा चिर्कटो मलाई थमाइदियो ।
अहिलेसम्म गुलेली बाहेक मैले कुनै हतियार चलाएको थिइनँ । अब यो राइफल र ग्रिनेट कसरी भिर्ने ? कसरी चलाउने ?
अब सेन्ट्री शुरु हुनेवाला थियो । तर म भने झन्झन् हतास र विचलित हुँदै थिएँ । चल्ती गाडीको इञ्जिनझैं शरीर भित्रभित्रै उधुमले थर्थराइरहेको थियो । दिमागमा दशथरीका कुरा एकैचोटि आइरहेका थिए ।
अब जे भए पनि अबको २ घण्टा यी सब चुपचाप झेल्नुको कुनै विकल्प थिएन मसँग । जे होला देखाजाला भनेर होमिनु नै मेरो परिस्थिति थियो । म साँच्चिकै सबै हिसाबले एकदम विवश र लाचार थिएँ ।
‘कमरेड ! मैले यी हतियार अहिलेसम्म कहिल्यै देखेको र छोएको थिइनँ । मलाई केही मेसो लगाइदिनुस् है,’ भित्र जे गुज्रेको भएपनि बाहिर भने सेन्ट्रीको लागि आफू तयार र केही हदसम्म उत्साहित र रोमाञ्चित भएको छनक देखाउँदै बोलें म, ‘लालसेनाहरूको संस्मरणमा त यी हतियारबारे केही पढेको त थिएँ, तर पहिलोपटक आज देखें ।
तपाईंहरुको क्रान्तिलाई धेरै बुझेको छु मैले । पत्रकार जो परे नि कमरेड !’
मैले फेरि एकपटक उसलाई आफू पत्रकार भएको सम्झाउने धृष्टता गरे । त्यो फगत एउटा धृष्टता मात्र थियो । जिन्दगीको कुनै मोडमा आत्मसन्तुष्टिको लागि धृष्टता पनि आवश्यक हुँदोरहेछ । आज यो कुरा बहुत गज्जबले महसुस भो मलाई । मेरो पेशाप्रति त्यो युवकमा पाँच पैसाको रुचि थिएन भन्ने कुरा मलाई राम्रैगरी बोध भइसकेको थियो । र, पनि मैले फगत एउट धृष्टता गरें, आत्मतृष्टिको लागि । युवकलाई त यतिबेला केवल पार्टी र क्रान्तिको रक्षासँग मात्र मतलब थियो । लालसेना जो पर्यो ।
वास्तवमा म पनि उसको बारेमा शतप्रतिशत स्पष्ट थिएँ । उसको संकल्प, उसको यात्रा र उसको सपनाबारे ममा कुनै द्विविधा र भ्रम थिएन । निमुखाजनहरुलाई न्याय दिलाउन र यो ‘जनमारा’ व्यवस्था उखेल्न ऊ जनक्रान्तिमा होमिएको एक सुरवीर क्रान्ति-योद्धा थियो ।
यसपटक पनि उसले मप्रति कुनै अतिरिक्त रुचि देखाएन । मप्रति उसको रवैयामा एक रौं जति पनि बदलाव आएन । उसले मेरो आग्रह भने अत्यन्त सहजताका साथ स्वीकार गर्यो । यतिबेला यही नै मेरो लागि ठूलो कुरा थियो । मेरो मन पनि क्रमशः शान्त हुँदै थियो ।
युवकले बडो स्नेहीभावका साथ मेरो काँधमा राफल झुण्ड्याइदियो । कम्मरमा ग्रिनेडको ब्याग बाँधिदियो र कम्मरको देब्रेतिर बडेमानको खुकुरी लट्काइदियो । हातमा टर्च र घडी । हुलियामा म अब बिल्कुल लालसेना जस्तो देखिएँ । एक ख्याउटे र डरपोक पत्रकारको छवि मबाट क्रमशः गायब हुन खोज्दै थियो । मभित्र क्रमशः सौर्यभाव जागृत हुँदै थियो ।
हतियार भिराइदिएपछि युवकले मलाई सेन्ट्रीको नियम र अपनाउनुपर्ने सावधानीबारे बताउन आँगनमा ल्यायो र उत्तरतिर रहेको सानो थुम्काछेउ ओत लागेर उभिन निर्देशन दियो ।
‘यहींबाट चारैदिशा नजर राख्नुहोला । दुश्मन जहाँबाट पनि आउन सक्छ । प्रत्येक १५/२० मिनेटमा यो एरिया एकपटक पूरै घुम्नु होला । कतैबाट दुश्मन आएको संकेत मिल्यो भने तु खबर गर्नुहोला ।’ अन्तिम निर्देशन दिएर युवक सुत्न गयो ।
जुनेली रात थियो । आकाशभरि चहचह जून लागेको थियो । जूनको उज्यालोले पर परसम्मका घरगोठ, बुट्याँन र रुखहरु प्रष्ट देख्न सकिन्थ्यो । मैले एकदम चंख भएर एक झपट चारैदिशा नजर डुलाएँ । सब करिब-करिब ठीकठाक लाग्यो । सब चिज शान्त र अटल थिए, म बाहेक । म त एकदम अशान्त र अस्थिर थिएँ । म भित्र अनेक विचार, भावना र तर्कनाहरुको जब्बर ज्वारभाटा सल्बलाइरहेका थियो । भित्र म उधुमले हल्लिँदै थिएँ ।
‘स्वाँ’ मैले सुस्तरी लामो सास फेरे । डगमगाउँदै गरेको शरीरलाई थाम्ने अनेक प्रयत्न गरें । एकछिन सास रोकें, आँखा चिम्ले । आफू एक सुरवीर क्रान्तियोद्धा भएको कल्पना गरें । कवि कृष्णसेन इच्छुक, पूर्ण विराम, ईश्वरचन्द्र ज्ञवालीका अनेक युद्ध-कविताहरु स्मरण गरे । मन-मस्तिष्कलाई शान्त बनाउन खुब प्रयास गरे । तर सब बेकाम भएँ । मेरो मनोदशामा बीसको उन्नाइस जति पनि सुधार भएन ।
युवकले दिएको घडी गोजीमा थियो, निकाले र हेरें । रातको सवा बाह्र बजेको थियो । मैले २ बजेसम्म सेन्ट्री गर्नुपर्ने थियो । अझै पौने २ घण्टा थियो । यत्रो समय कसरी गुजार्ने होला ? उफ् !!
जुनको उज्यालोमा मैले एकपटक आफूलाई नियालें । ओहोहो मेरो हुलिया ? ! लिखुरे र काँतर ज्यानको काँधमा बडेमानको राइफल ! कम्मरमा गि्रनेट र खुकुरी ! हातमा टर्च ! ओहोहो !!??
सुनसान मध्यरातमा थुम्को मुन्तिर ठिंग उभिएको छु । उभिएको भएपनि अनेक शंका र भयले विचेत छु । घरि यता हेर्छु, घरि उता हेर्छु । फनफनी घुमेको घुम्यै छु । जहाँबाट पनि जुनसुकै बेला पनि ‘दुश्मन’ आउन सक्छ । बस्, यही कुराले दिमाग घोचेको घोच्यै छ । यस्तो जगजगीमा एक ख्याउटे र काँतर पत्रकारले बाँच्न र बचाउन कसरी सक्ला ?! मेरो हंसले ठाउँ छोडिसकेको थियो ।
एकातिर दुश्मन आएर कतिखेर छातीमा ड्याम्म गोली हान्ने हो र मलाई केराको थामझैं लडाउने हो भन्ने भयले मुटु काँपिरहेको थियोे भने अर्कोतिर भिरेका हतियारले तर्साइरहेका थिए । कुनबेला यी हतियार पड्केर चोक्टा चोक्टा हुन्छु भन्ने डरले विचेत थिएँ । स्थिति यति भयावह थियो कि मैले भोलिको बिहान देख्ने कुनै छाँटकाँट थिएन ।
‘दुश्मन’ आउला नआउला तर यो सुकुटे जीउमा झुण्डिएका बम र बन्दूक जुनसुकै बेला पड्किन सक्छन् । मलाई मनको बाघले आधा निलिसकेको थियो ।
अहो ! मृत्युको यो कस्तो भय हो ?
मेरो मनमा अनेकथरी विचार, भावना र प्रश्नहरु उर्लिरहेका थिए । म चैते हुरीमा परेको पिपलको पातझैं शंका र भयले एकमिसै फर्फराइरहेको थिएँ ।
केही पर खल्याङबल्याङ सुनियो । आवाज एकदम मधुरो र अस्पष्ट थियो । त्यो आवाजसँगै रातको सन्नाटा केही हदसम्म खलबलियो । ओहो ! कतै ‘दुश्मन’ पो आयो कि ? मेरो मनमा एकाएक चिसो पस्यो । शरीरमा कम्पन तीव्र भयो । मुटुको धड्कन हृवात्तै चौगुणा बढ्यो ।
अब के गर्ने होला ? म एकदम चंख र सतर्क भएँ । खुर्र दगुरेर घरभित्र जाउँ कि जस्तो लाग्यो । भाँडमा जाओस् सेन्ट्री भन्ने पनि सोचें । तर क्रान्तिकारीहरुको जीवनसँग यो तहको गैरजिम्मेवारी र खेलाँची किमार्थ उचित हुँदैनथ्यो । यो तहसम्म गिर्न मलाई मेरो नैतिकताले पनि किमार्थ दिँदैनथ्यो । न्यायपूर्ण समाज निर्माणका लागि लडिरहेका लालसिपाहीहरुको जीवन जोखिममा पारेर म मोर्चाबाट कुनै हालतमा भाग्न मिल्दैनथ्यो । म मरेर भएपनि क्रान्ति-योद्धाहरुलाई बचाउनैपथ्र्यो । यो समय कायर बनेर ‘दुश्मन’ को अघि पीठ फर्काउने एक रौं पनि छूट थिएन मलाई ।
म एकाएक सम्हालिएँ, अनि एकदम दृढ र जोसिलो भावका साथ खुकुरी निकालें । थोरैबेरका लागि भएपनि म एक सूरवीर योद्धाझैं भएँ र स्थिति नियाल्न केही पर निस्किएँ । एकदम चंख भएर छिटोछिटो त्यो परिवेशलाई एक चक्कर लगाएँ ।
लगभग १ बजेतिर एकाएक कुकुरहरू जोडजोडले भुक्न थाले । लौ यसपालि त पक्कै गाउँमा ‘दुश्मन’ घुस्यो । अब बिना बाजै सिलटिम्मुर खाने भएँ मैले । मनमा त्रासको आँधीबेहरी चल्यो, हुइयँ, हुइयँ । म उत्तिखेरै जमिनमा घोप्टो परें । त्यो बेला ज्यान जोगाउने अचूक उपाय त्यही थियो । सास थामेर केही बेरसम्म म घोप्टो परिरहें । ‘दुश्मन’सँगै जीउका हतियार पड्केलान् भन्ने डर पनि उस्तै थियो । तर चुपचाप सब व्यहोर्नु थियो मलाई ।
कुकुरहरु लगातार भुकिरहे, घ्वाङ ! घ्वाङ !!
एकमुठी सास बिनासित्ति जाने भयो आज । हे भगवान ! मेरो रख्खे गर । मान्छे त नास्तिक हुँ, तर हरहिसाबले लाचार भएपछि त्यहाँ मैले ‘भगवान’ गुहारे पटक-पटक । मलाई प्रष्ट थाहा थियो कि त्यो बेला ‘भगवान’ भन्दा मेरो सौर्य र चातुर्यताले नै मलाई बचाउन सक्थ्यो । तर आफूलाई सम्हाल्न समेत नसकिरहेको म त्यहाँ एकाएक सूरवीर बन्ने रत्तिभर गुञ्जायस थिएन ।
उफ् !’ कस्तो महाचक्रमा परे म ? एउटा पत्रकार र लेखकको रुपमा जनयुद्धमा जनताको उभार र क्रान्तिवीरहरुको संकल्प र सपनाहरु नजिकबाट नियाल्न आएको मान्छे म आज कहाँ फसे ? ! यो महाविपत्तिबाट आज मलाई कसले पार लाउला ? हे ‘भगवान’ !
ठीक यहीबेला मैले लेखक, कवि एवं राजनीतिज्ञ हीरामणि दुःखीलाई सम्झिएँ । उनलाई सम्झेर मलाई खुब झोंक चल्यो । खासमा मलाई यो महाविपत्तिको भुंग्रोमा जाक्ने कमरेड हीरामणि दुःखी हुन् । एउटा पत्रकारलाई बम र राइफल भिराएर मध्यरातमा त्यो पनि ‘दुश्मन’ को एरियामा सेन्ट्री बस्न पठाउने ? उनी भने कतै तातो ओच्छयानमा मस्तले घुर्दै होलान् । उनी कहाँ उम्किए थाहा छैन । म भने यो विरानो ठाउँमा ‘दुश्मन’को गोली खाएर बिनाबाजै मर्ने भए । कथंकदाचित् बाँचेछु भने हीरामणिसँग मज्जाले बदला लिनेछु ।
त्यसको केही दिनअघि भूमिगत रुपमा घोराहीको एक छिमेकी कहाँ पुगेका कमरेड हीरामणिले मलाई घोराहीबाट दाङको पश्चिमी पहाडी गाउँ हुँदै सल्यानका केही वस्तीहरुमा घुमाएर बाघ मारेको बोलाहा खोलाको तीरैतीर धनौरीको देवीपुरसम्म ल्याएका हुन् । नेकपा (माओवादी) दाङको एरिया नम्बर ७ को इन्चार्ज थिए उनी । यो ७ नम्बर एरियामा पश्चिम दाङका गाउँवस्ती सहित सल्यान जिल्लाको तत्कालीन लक्ष्मीपुर-९ को ओखेला लगायतका केही पहाडी वस्तीहरु पनि पर्दथे । हामी देवीपुर र्झनुअघि बाघखोर डाँडा, काभ्रा, अखेला, टोड्के, रामनगर लगायतका थुप्रै गाउँवस्तीहरु घुमेका थियौं । त्यहाँको ग्रामीण जीवन परिवेशका अनेक घामछाँया, दुःखसुख, गरिबी, अभाव, भेदभाव, उत्पीडन र उनीहरुको संघर्ष एवं मुक्तिको आकांक्षालाई नजिकबाट उधिन्ने एक अवसर पाएको थिएँ मैले ।
सोही दिन साँझ मात्र हामी एक विशेष सैन्य दस्ता (स्क्वायड)सँग यहाँ आएका थियौं । आफ्नो एरियामा पहिलोपटक एक विशाल खुला जनसभाको व्यापक तयारीमा थिए कमरेड हीरामणि । हामी यहाँ आइपुदा अँध्यारो छिप्पिँदै थियो । हामी आएको घरमा एरिया पार्टीका नेता, कार्यकर्ता, लालसेना र जनमिलिसियाहरुको ठूलो घुइँचो थियो । विशेष भेटघाट र छलफलमा व्यस्त भएका हीरामणि अबेरसम्म पनि देखा परेनन् । म त्यहाँ एक्लो र निरीह । बिरानो ठाउँ, बिराना मान्छेहरु । न कसैले मलाई चिन्थ्यो न मैले कसैलाई । दुःखसुख बुझ्ने कोही थिएन । यतिका दिनसम्म हरक्षण मलाई सँगै डोर्याएका कमरेड हीरामणि अहिले भने कता गायब कता । मलाई बिरानो ठाउँमा एक्लो र अलपत्र पारेर साँच्चै उनी कहाँ गए हँ ?
केही ढिलो भएपनि मेसमा घुसेर पेटपूजा गरें । पेटको मूसा अब शान्त भयो । सुत्नेबेला भने मलाई ठूलै सकस पर्यो । केही दिनको लगातारको हिंडाइले म लखतरान थिएँ । निऽाले आँखा टालिन थालिहाल्यो । तर अझै सुत्ने ठाउँको कुनै ठेगान थिएन । खाना खाइवरी सब लाखापाखा लागिसकेका थिए । घरका सबै कोठामा मान्छे टनाटन थिए । म पो अलपत्रमा परें । कुनै सुइँको नदिएर एकाएक गायब भएका कमरेड हीरामणिलाई एकछिन मनमनै खुबसँग गाली गरें ।
अन्त्यमा, हार भएर त्यो घरको दक्षिण कोठामा गएर कोच्चिएँ, जहाँ १५/२० जना युवाहरु खाँदिएर सुतेका थिए ।
ओहो ! कतिखेर कुकुरहरु थामिएछन्, थाहै भएन । कमरेड हीरामणिलाई सम्झेर म त कता कता हराएछु ।
उठेर एकपटक फेरि चारैतिर नियालें । बिरालोका चालमा अलि परसम्म पुगें । सब ठीकठाक थियो ।
आकाशमा जुन उस्तैगरी चम्किरहेको थियो र ताराहरु पनि उस्तैगरी चम्किरहेका थिए । त्यतिबेला सिंगो परिवेश बिल्कुल शान्त र अटल थियो । आँखामा घरहरु, गोठहरु, बुट्याँनहरु र रुखहरु सबका सब शान्त थिए । सबका सब अटल थिए । म भने अझै पनि उस्तै अशान्त र विचलित थिएँ । आफैंले भिरेका ज्यानमारा बम र बन्दुकले मलाई शान्त हुन पटक्कै दिइरहेका थिएनन् । यिनीबाट कतिखेर छुट्कारा पाइने हो ?
अन्ततः रातको २ पनि बज्यो ।
अब बाँचें म । अहो ! बडो मुस्किलले यो महाविपत्तिबाट त्राण पाएँ मैले । छिटछिटो भित्र पुगेर अर्को कमरेडलाई हतियार र पालो बुझाएँ । मन र शरीरमा बेग्लै किसिमको स्फूर्ति महसुस गरें मैले । वाह ! क्या गज्जब । भोलिको सुन्दर बिहान नियाल्ने पाउने भएँ मैले । उत्तिखेरै मेरो ज्यानमा प्राण भरिएर आयो ।
भोलिपल्ट बिहान उठ्ने बित्तिकै मैले राति सेन्ट्री बसेको आँगन, थुम्को, त्यो घर, परपर देखिने बस्ती, रुख, बुट्याँन र बाटाहरु एकछिनसम्म नियालें ।
एउटा नयाँ अनुभवसँगै जनक्रान्तिमा पनि मैले केही योगदान दिएको गौरवबोधले छाती चौडा भयो । फेरि एकपटक कमरेड हीरामणिलाई सम्झिएँ । अहिले भने उनीप्रति मभित्र अगाध श्रद्धाभाव जागेर आयो । मलाई जनक्रान्तिको उभार र भव्यतामा प्रत्यक्ष सामेल हुने दुर्लभ अवसर जुराइदिएकोमा उनलाई मनमनै धन्यवाद दिएँ ।
एकैछिनमा गज्जबको फूर्तिका साथ कमरेड हीरामणि पनि टुपुल्किए । उनी निकै हतारो र धपेडीमा थिए । उनको क्षेत्रमा उनको नेतृत्वमा पहिलो विशाल खुला जनसभा हुँदै थियो । यसको व्यवस्थापनको उच्च चाप उनमा थियो नै । तर पनि उनी उत्तिकै उत्साहित र फूर्तिला थिए । सबैतिर एकनासले माहुरीझैं खटिरहेका थिए । यसै पनि उनी हमेशा उत्साहित र जाँगरिला मान्छे हुन् ।
‘ठीक छ नि ?’ उनले जोशिलो हात मिलाउँदै सोधे ।
‘ठीक छ ।’ म मुस्कुराएँ ।
२०५७ सालको माघ महिनाको एक बिहान थियो त्यो । अरु दिन भन्दा आज कमरेड हीरामणि निकै उत्साहित र रोमाञ्चित भइरहेका थिए । आज उनी पहिलो खुला विशाल जनसभाद्वारा जनमारा व्यवस्था र त्यसका मतियारहरुलाई क्रान्तिकारी जनसमुदायको असली ताकत र सामथ्र्य देखाउँदै थिएँ । यो कुराले पनि उनी जस्तै उत्तिकै उत्साहित र रोमाञ्चित बनिरहेको थिएँ ।
बिहानको खाना खाइवरी हामी कार्यक्रमस्थलतर्फ लाग्यौं । गाउँ-गाउँबाट हजारौं जनता रातो झण्डा हल्लाउँदै र गगनभेदी नारा उराल्दै अघि बढिरहेका थिए- जनयुद्ध-जिन्दाबाद !
नेकपा (माओवादी) – जिन्दाबाद !
वीर शहीद- अमर रहून् !
प्रतिक्रियावादी राज्यसत्ता- मूर्दावाद !
from Online Khabar https://ift.tt/3EJcIKZ
माओवादी महाधिवेशन लम्बियो, विधान मस्यौदा पारित भएपछि निर्वाचन प्रक्रिया सुरु हुने
१७ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशन लम्बिएको छ । शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रस्ताव पारित भए पनि विधान मस्यौदा पारित नभएपछि महाधिवेशन लम्बिएको हो ।
विधान मस्यौदा पारित नहुँदा आज बिहान ११ बजेपछि पुन: बन्दसत्र सुरु हुनेछ । विधान मस्यौदामा उठेका जिज्ञासाको जवाफ नेता देवप्रसाद गुरुङले दिएपछि मात्रै पारित गर्ने कार्यसूची रहेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
विधान पारित भएपछि मात्रै नेतृत्व चयनको विषयले प्राथमिकता पाउनेछ । माओवादीले १५ सदस्यीय पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्ने प्रस्ताव गरेको छ ।
माओवादीले बहुपदीय अवधारणा अगाडि सारेको छ । सोही अवधारणाका आधारमा नेतृत्व चयन गर्ने तयारी गरेको छ । हालसम्म अन्य नेताले अध्यक्षमा दाबी गरेका छैनन् । त्यसैले अध्यक्षमा प्रचण्ड नै दोहोरिनु हुने पक्कापक्की छ ।
वरिष्ठ नेतालाई उपाध्यक्षमा समेटन लागिएको छ । यस्तै, वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठको बलियो सम्भावना छ । महासचिवमा पनि विभिन्न नेताहरूले दाबी गरेका छन् । यस्तै, दुई उपमहासचिव, सचिव र कोषाध्यक्षसमेतमा विभिन्न वर्ग, क्षेत्र मिलाएर निर्वाचन गर्ने तयारी गरिएको छ ।
विधान पारित भएपछि निर्वाचनको काम अगाडि बढ्ने निर्वाचन आयोगले जानकारी दिएको छ । आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठका अनुसार विधान पारित भएपछि निर्वाचनको प्रक्रिया सुरु हुन्छ ।
माओवादीको केन्द्रीय प्रचार तथा प्रकाशन समितिका अनुसार त्यसअघि निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठ, केन्द्रीय अनुशासन आयोगका प्रमुख टङ्क राई र केन्द्रीय लेखा आयोगका प्रमुख पेशल खतिवडाले आयोगका प्रतिवेदन प्रस्तुत गरेका हुन् ।
बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाधिवेशनमा प्रस्तुत ‘२१औँ शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेजमाथि समूहगत छलफलबाट आएका सुझाव र जिज्ञासामाथि जवाफ दिए ।
उनले दस्तावेजले पार्टीको क्रान्तिकारी विचार निर्माण प्रक्रिया सुरु गरेको, पार्टीलाई क्रान्तिकारी दिशामा लगेको र विचार संश्लेषणका लागि महान बहसको थालनी गरेको निष्कर्ष सुनाउँदै तीनै तहका आगामी निर्वाचनपछि पार्टीको विशेष महाधिवेशन आयोजना गरेर विचारको संश्लेषण गर्ने प्रस्ताव पेस गरे ।
अध्यक्ष प्रचण्डले सुझाव र जिज्ञासामाथि जवाफ दिने क्रममा स्थायी कमिटी सदस्य राम कार्कीले राखेको पुरक प्रस्तावलाई स्वीकार गरेर दस्तावेजमा समावेश गर्ने र केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले राखेको भिन्न मतलाई भिन्न मतकैरूपमा स्वीकारेको जानकारी दिए । त्यसैगरी २४ वटै समूहगत छलफलबाट आएका महत्वपूर्ण निष्कर्षलाई दस्तावेजमा समेट्ने विश्वास दिलाए ।
आयोजक तथा प्रतिनिधिबाट प्राप्त सुझाव समावेश गरी दस्तावेज आवश्यक परिमार्जन गर्ने प्रतिबद्धतासहित उक्त दस्तावेज पारित गरिदिन आग्रह गरेपछि महाधिवेशनको हलले सर्वसम्मतीबाट पारित गरेको हो ।
from Online Khabar https://ift.tt/3Hq5Dk5
आजदेखि अंग्रेजी नयाँ वर्ष २०२२ शुरु
१७ पुस, काठमाडौं । ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२२ सुरु हुँदैछ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्को सुरुआत भएको भन्ने भनाइ रहेको छ । पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ ।
जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो पात्रो रुसले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको पूर्वप्रशासक एवं ज्योतिषाचार्य डा खिलानाथ बस्ताकोटी बताउँछन् । विवाद भए पनि उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत् लादेकाले हाल यसको विश्वव्यापी प्रचार छ ।
यो संवत् नेपालमा प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन् । केही वर्ष अघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी सन् मनाउने गरिएको छ । विदेशी पर्यटकको भीडभाड हुने काठमाडौँको ठमेल, बौद्ध, पोखरा, सौराहा, लुम्बिनीलगायत स्थानमा अघिल्लो साँझ ‘न्यू इयर इभ’ का नाममा यो संवत् मनाइन्छ ।
from Online Khabar https://ift.tt/3mMbad8
Thursday, December 30, 2021
Flipkart की बड़ी सेल! Realme से लेकर Redmi तक, काफी बड़ी छूट पर मिल रहे हैं दमदार फोन
from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/3qFeKqi
दाङमा गाडीको ठक्करबाट एक जनाको मृत्यु
१६ पुस, दाङ । दाङको तुलसीपुर–सुर्खेत सडक खण्डअन्तर्गत श्रीगाउँमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
शुक्रबार बिहान गाडीको ठक्करबाट दंगिशरण गाउँपालिका वडा नम्बर–६ का अन्दाजी ३२÷३३ वर्षका सुमन केसीको मृत्यु भएको हो ।
आज बिहान करिब चार बजेतिर गाडीले ठक्कर दिएर घाइते भएका केसीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए ।
ठक्कर दिने गाडीको पत्ता लागेको छैन । शवलाई राप्ती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ । घटनापछि मृतकका आफन्तले दोषीको पहिचान र कार्बाहीको माग गर्दै तुलसीपुर–हापुरे सडकखण्ड अवरुद्ध गरेका छन् । ठक्कर दिने गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
from Online Khabar https://ift.tt/3Hg3eZk
Aadhaar Card के जरिए घर बैठे ऑनलाइन कर सकते हैं KYC, जानें क्या है तरीका
from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/3zeKLJZ
बिहानैदेखि हुस्सु र कुहिरो, आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द
१६ पुस, काठमाडौं । काठमाडौं उपत्यकामा बाक्लो हुस्सु र कुहिरो लागेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरु बन्द भएका छन् । जहाजहरू अवतरण पनि हुनसकेका छैनन् ।
भिजिबिलिटी अत्यन्त कम भएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज बिहानैदेखि उडान अवतरण रोकिएको विमानस्थल कार्यालयले जनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले आन्तरिक र अन्तर्राष्ट्रिय विमानस्थल बिहानैदेखि ठप्प रहेको बताए । धनगढी विमानस्थल भने खुलेको छ तर काठमाडौंको एयरपोर्ट नखुलेकाले उडान हुन सकेको छैन ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेपछि जजिरा एयरलाइन्सका दुई जहाजले काठमाडौं उपत्यकाको आकाशमा फन्को लगाइरहेका छन् ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहानैदेखि काठमाडौं उपत्यकासहित तराईका भूभागहरुमा बाक्लो हुस्सु र कुहिरो लागेको छ ।
from Online Khabar https://ift.tt/3EFoMgb
खुशखबरी! बेहद सस्ता मिल रहा 12GB RAM वाला OnePlus का धांसू स्मार्टफोन, मिलेगा 120Hz का डिस्प्ले
from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/3pHcFuR
कोरोनाको चौथो लहर टरेको भन्दै दक्षिण अफ्रिकाले हटायो रात्रिकालीन कर्फ्यु
१६ पुस, काठमाडौं । कोरोना महामारीको जोखिमका बीच दक्षिण अफ्रिकाले रात्रिकालीन कर्फ्यु हटाएको छ ।बीच दक्षिण अफ्रिकाले रात्रिकालीन कर्फ्यु हटाएको छ ।
देशमा कोरोना महामारीको चौथो लहरको उच्चतम अवस्था सम्भवत अब टरेको विश्लेषण गर्दै रात्रिकालीन कर्फ्यू हटाइएको बीबीसीले जनाएको छ ।
दक्षिण अफ्रिकी सरकारका अनुसार कोरोनाको ओमिक्रोन भेरियन्ट बढी संक्रामक हुँदाहुँदै पनि बिरामीहरु अस्पतालमा भर्ना हुने दर कम छ । साथै मृत्युका घटना पनि नगण्य छन् ।
कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट सबैभन्दा पहिले दक्षिण अफ्रिकामा भेटिएको पुष्टि भएको थियो । यो भेरियन्ट अरुभन्दा बढी संक्रामक रहेको भनिएको थियो । त्यसैले ओमिक्रोन भेरियन्ट पुष्टि भएका अन्य देशहरुले पनि स्वास्थ्य सुरक्षासम्बन्धी नियमहरु कडाइका साथ पालना गर्न सुरु गरेका थिए । विश्व स्वास्थ्य संगठनले त अझै पनि ओमिक्रोन ‘भेरियन्ट’को संक्रमणको सुनामी आउनसक्ने चेतावनी नै जारी गरेको छ ।
तर दक्षिण अफ्रिकाको विशेष मन्त्रिपरिषद बैठकले भने बिहीबार केही नियमहरु खुकुलो बनाउने निर्णय गरेको छ ।
दक्षिण अफ्रिकामा २५ डिसेम्बरसम्म कोरोनाका ८९ हजार ७८१ नयाँ संक्रमित फेला परेका छन् । त्यसको एक हप्ता अगाडि यो संख्या १ लाख २७ हजार ७५३ थियो ।
from Online Khabar https://ift.tt/3eFn586
चन्द्रागिरिमा युवकको शव भेटियो
१५ पुस, काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित सडकमा युवकको शव फेला परेको छ । वडानम्बर ४ स्थित चित्लाङ जाने सडकमा ३० वर्षीय सुजन लामाको शव भेटिएको प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।
अहिले एसपी मैनाली नेतृत्वको टोली र अपराध महाशाखाको टोली घटनास्थलमा पुगेको छ । शवको फोरेन्सिक जाँचका कारण चिकित्सकको टोली पनि घटनास्थल पुगेको एसपी मैनालीले बताए ।
from Online Khabar https://ift.tt/3mKC70x
स्वस्तिमाको टिप्पणी : घरमै बसेर स्टार भइन्छ भन्ने सोच्नु गलत
१५ पुस, काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्काले घरभित्रै बसेर स्टार भइन्छ भनेर सोच्नु गलत भएको बताएकी छन् । दर्शकसँग जति धेरै कुराकानी भयो उति नै नजिक भइने उनको धारणा छ ।
सञ्चारकर्मीसँग कुरा गर्दै स्वस्तिमाले भनिन्, ‘दर्शकसँग जति धेरै कुराकानी भयो उति नै उहाँहरुसँग नजिक भइन्छ जस्तो लाग्छ । जस्तो म आज मिडियाको माध्यमबाट दर्शकसँग कुराकानी गरिरहेको छु । अब मिडिया आउँछ भनेर म बाहिर नै ननिस्किएको भए त दर्शकसँग जोडिन पाउँदिन थिएँ होला नि । बाहिर मुखै देखाउन हुँदैन भन्ने म मान्दिनँ ।’
स्वस्तिमाले आम मानिस पनि समय अनुसार बदलिनुपर्ने बताइन् । ‘म कलाकार हुँ, सामाजिक सञ्जाल नै प्रयोग गर्दिन भन्नु गलत हो । किनकि, १० वर्ष अगाडि टीभी थियो भने अहिले सामाजिक सञ्जाल छ । अबको १० वर्षपछि अरु कुनै माध्यम आउन सक्छ,’ उनले भनिन्, ‘सामाजिक सञ्जाल चलाउँदिन भन्दा म फेरि समय भन्दा धेरै पर गएँ जस्तो होला नि होइन ? अहिले दर्शकसँग जोडिने, काम देखाउने भनेको नै सामाजिक सञ्जाल त हो ।’
स्वस्तिमाले सामाजिक सञ्जाललाई कसरी प्रयोग गर्ने भन्ने कुरा स्वयं व्यक्तिमा नै निर्भर रहने बताइन् । घरमै बसिरहने र सामाजिक सञ्जालमा पनि सक्रिय नहुने केही कलाकारहरुलाई लक्षित गर्दै स्वस्तिमाले यस्तो धारणा राखेकी हुन् ।
अर्को प्रसंगमा स्वस्तिमाले कलाकार र पत्रकारको सम्बन्ध कलाकार र पत्रकारको जस्तै हुनुपर्ने पनि उल्लेख गरेकी छन् ।
from Online Khabar https://ift.tt/3n4lhdt
तमु ल्होसारको रौनक (फोटो फिचर)
१५ पुस, काठमाडौं । आज पुस १५ गते । गुरुङ समुदायले ‘तमु ल्होसार’ पर्व मनाइरहेका छन् । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन रहेको छ ।
पर्वका अवसरमा तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् केन्द्रीय समितिले काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरेको छ ।
काठमाडौं उपत्यका र उपत्यका बाहिर घर भई यहाँ बस्ने तमु (गुरुङ) समुदायका व्यक्तिहरू आफ्नो वेषभूषा र झाँकीसहित टुँडिखेलमा उपस्थित भएका छन् ।
‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउँछन् ।
पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ ।
पर्वका अवसरमा आज सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।
तस्वीर : चन्द्र आले
from Online Khabar https://ift.tt/3eyGfMP
नेपाली भलिबल टोली स्वदेश फर्कियो, विमानस्थलमा भव्य स्वागत
१५ पुस, काठमाडौं। बंगलादेशको ढाकामा भएको एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपमा अपराजित रहँदै उपाधि जितेको नेपाली महिला राष्ट्रिय भलिबल टोली र चौथो भएको पुरुष टोली बिहीबार स्वदेश फर्किएको छ ।
टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज अथक, नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमन शर्मा, उपाधि निरोज मास्के लगायतले टोलीलाई स्वागत गरेका थिए । टोलीलाई बाजा बजायर स्वागत गरिएको थियो ।
मंगलबार सम्पन्न सेन्ट्रल जोनमा महिला टोलीले उपाधि जित्दा पुरुष टोली चौथो भएको थियो । ६ राष्ट्र सहभागि सेन्ट्रल जोनमा महिला टिमले उज्वेकिस्तानलाई फाइनलमा ३-२ ले पारजित गर्दै उपाधि रक्षा गरेको थियो ।
पुरुषतर्फ भने ५ टिम सहभागि रहेकोमा नेपाल तेस्रो स्थानको लागि भएको खेलमा उज्वेकस्तानसंग पराजित हुँदै चौथो भएको थियो ।
तस्वीरहरु: विकास श्रेष्ठ
from Online Khabar https://ift.tt/32vG0Qi
कमब्याकका लागि ‘कन्ट्रोभर्सी’ खोजिरहेकी उषा रजक !
१५ पुस, काठमाडौं । चलचित्र ‘कठपुतली’का निर्माता पृथ्वी रानाले विवादले चलचित्र नचल्ने बताइरहँदा सोही चलचित्रकी नायिका उषा रजक भने गसिपको खोजीमा छिन् । मिडियामा चर्चामा आउनका लागि उनले दिने गरेका बयानदेखि उनले लगाउने गरेका पहिरन फेरिएका छन् ।
चलचित्र ‘कुसुमे रुमाल’, ‘इकु’ लगायतका चलचित्रमा काम गरेकी उषालाई अहिलेका पुस्ताका दर्शकले खासै चिन्दैनन् । यसैले पनि अमेरिका छाडेर नेपाली चलचित्र क्षेत्रमा नै रमाउन फर्किएकी उषालाई नयाँ पुस्तामाझ चिनिनु पनि छ ।
चलचित्र ‘कठपुतली’को प्रचारमा निक्कै सक्रिय उषा मिडियाको नजर आफूतिर तान्न कोशिश गरिरहेकी छिन् ।
बुधबार बेलुका यो चलचित्रको प्रिमियर काठमाडौंको बिग मुभिजमा आयोजना भयो । चलचित्रको प्रिमियरको दिन काठमाडौंमा अत्याधिक चिसो थियो । पानी पनि दिनभर नै परेकाले मौसम निक्कै चिसो थियो । तर, नायिका उषा रजकलाई भने यसले कुनै फरक पारेको देखिएन ।
चिसोमा उनी निक्कै नै बोल्ड बनेर प्रिमियर समारोहमा पुगेकी थिइन् । यसैले करिब ३ सय मानिस र मिडियाको क्यामेराको लेन्स उषातर्फ नै परे । उषा पनि खुशी हुँदै तस्वीर भिडियो खिचाउन मस्त देखिइन् ।
तर, चलचित्र सकिएपछि भने उषालाई पनि जाडो बढेको महसुस भएको हुनुपर्छ । उनले आफूसँगै ल्याएको कोट लगाइन् र चलचित्रबारे प्रतिक्रिया दिइन् ।
दुई दिनअघि मात्र उषाले मिडियामा आफ्नो पारिवारिक सम्बन्धको विषयमा दिएको बयानले पनि चर्चा बटुलेको थियो ।
from Online Khabar https://ift.tt/3qCYG8y