Monday, December 27, 2021

दिल्लीमा ओमिक्रोन : केजरीवालले बोलाए समीक्षा बैठक, थप कडाइ गर्ने तयारी

१३ पुस, काठमाडौं । भारतमा कोभिड-१९ को नयाँ ओमिक्रोन भेरियन्टको खतरा लगातार बढिरहेको छ । मंगलबारसम्म ओमिक्रोनबाट ६५३ जना संक्रमित भएका छन् ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ६ हजार ३५८ जना नयाँ संक्रमित थपिएको जनाएको छ । हालसम्म ओमिक्रोन भेरियन्टबाट ६५३ जना संक्रमित भएको मन्त्रालयको भनाइ छ । ओमिक्रोनका संक्रमितमध्ये १८६ जना निको भएको वा अन्यत्र गएको पनि मन्त्रालयले बताएको छ ।

हालसम्म भारतका २१ राज्यमा ओमिक्रोन भेरियन्ट फैलिएको छ । ओमिक्रोनका संक्रमितमध्ये सबैभन्दा धेरै महाराष्ट्र र दिल्लीमा छन् । महाराष्ट्रमा मंगलबारसम्म १६७ जना र दिल्लीमा १६५ जनामा यो भेरियन्ट पुष्टि भएको छ ।

ओमिक्रोनका संक्रमित निरन्तर बढ्न थालेपछि दिल्लीमा थप प्रतिबन्ध लगाइन सकिने भारतीय समाचार माध्यमले जनाएका छन् । त्यहाँका मुख्यमन्त्री अरविन्द केजरीवालले आज उच्चस्तरीय बैठक बोलाएका छन् । १२ बजे बस्ने उक्त बैठकमा ओमिक्रोनबाट उत्पन्न पछिल्लो जोखिमबारे समीक्षा हुने छ ।

समीक्षा बैठकमा कोरोना भाइरसको तेस्रो लहरसँग जुध्न भन्दै ल्याइएको ‘ग्रेडेड रेस्पोन्स एक्शन प्लान’बारे समेत छलफल हुने बताइएको छ । सोही योजनाअनुसार ‘यलो अलर्ट’ लागू गरी थप प्रतिबन्ध लगाउन सकिने संभावना रहेको भारतीय समाचार माध्यमले जनाएका छन् ।

दिल्लीमा सोमबारबाट राति ११ बजेदेखि बिहान ५ बजेसम्म रात्रिकालीन कर्फ्यू लगाइसकिएको छ ।



from Online Khabar https://ift.tt/342CbT0

No comments:

Post a Comment