Monday, December 20, 2021

सभामुख-कानूनमन्त्री भेट, बोलाइयो कार्यव्यवस्थाको बैठक

६ पुस, काठमाडौं । सभामुख अग्नि सापकोटा र कानूनमन्त्री दिलेन्द्रप्रसाद बडुबीच भेटवार्ता भएको छ । मंगलबारको प्रतिनिधि सभा बैठक अघि सोमबार सभामुख र कानूनमन्त्रीबीच भेटवार्ता भएको हो ।

भेटमा भएका कुराकानीको विषय सार्वजनिक भएको छैन । तर एमसीसीबारे छलफल भएको हुनसक्ने कानूनमन्त्री निकट स्रोतले बतायो । सभामुख सापकोटाको सचिवालयका एक सदस्यले भने उक्त भेट नियमित भएको बताए । उनले भने, ‘सभामुख र कानुनमन्त्रीबीचको भेट नियमित र सामान्य हो । विशेष कुरा केही पनि भएको छैन ।’

कानूनमन्त्रीसँगको भेटपछि सभामुख सापकोटाले मंगलबार बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रतिनिधि सभा बैठकको कार्यसूची तय गर्दछ । यसअघि गत मंसिर २८ गते पनि सभामुखले कार्यव्यवस्था समितिको बैठक बोलाएका थिए । सो बैठकले ६ वटा अध्यादेश पेश गर्ने कार्यसूची तय गरेको थियो ।

मंगलबारको समितिको बैठकमा एमसीसीको एजेण्डाबारे छलफल हुनसक्ने कतिपयको अनुमान छ । तर प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा सहमति नभएकाले कार्यव्यवस्था परामर्श समितिको बैठकमा यो विषयबारे छलफल नहुने सभामुख निकट स्रोतले बतायो ।

संसद सचिवालयले सोमबार सार्वजनिक गरेको मंगलबारको सम्भावित कार्यसूचीमा कानुन मन्त्री बडुले यौन हिंसाविरुद्ध र फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८ प्रस्तुत गर्ने उल्लेख छ ।



from Online Khabar https://ift.tt/3sn3GAB

No comments:

Post a Comment