Monday, December 20, 2021

धनगढी विमानस्थल वरपरको जग्गामा कसले गर्‍यो रेखांकन ?

६ पुस, धनगढी । धनगढी उपमहानगरपालिका-१३ का धोखे रानाले विगत चार वर्षदेखि धनगढी विमानस्थल स्तरोन्नतीका लागि सरकारले जग्गा अधिग्रहण गर्ने सुन्दै आएका थिए ।

धनगढी विमानस्थलबाट दक्षिणतर्फ डेढ बिघा जग्गा रानाको नाममा छ । त्यसबाहेक १० कठ्ठा ऐलानी जग्गा पनि उनैले वर्षौंदेखि जोतभोग गर्दै आएका छन् । शनिबार बिहान आफ्नो पूरै जग्गा पर्ने गरेर सिमेन्टका पक्की पिलरहरु गाडिएको देखेपछि उनी झस्किए । गाउँलेहरु भन्दै थिए, ‘अधिग्रहणका लागि विमानस्थल कार्यालयले रेखाङ्कन गरेको हो । अब तिम्रो जमिन पनि जाने भयो ।’

जग्गामा रेखाङ्कन गरिएपछि अहिले लगाएको गहुुँबाली पनि भित्र्याउन पाइने हो कि होइन भन्ने चिन्ता उनको छ । तर जब उनी शनिबार धनगढी विमानस्थल कार्यालयमा पुुगे, तब मात्रै थाहा भयो कि जग्गामा कसले रेखाङ्कन गर्यो भन्ने जानकारी कसैलाई रहेन छ । राना भन्छन्, ‘हामीले हाकिम सापलाई भेट्यौं तर उहाँले जग्गा अधिग्रहण कसले गरेको हो भन्ने कुरा हाम्रो जानकारीमा छैन भन्नुभयो । यदि उहाँहरुलाई थाहा छैन भने हाम्रो जग्गामा आएर अनधिकृत रुपमा कसले पिल्लर गाड्यो ? यसको खोजी गरिनुपर्छ ।’

रानाको मात्र होइन धनगढी विमानस्थलका लागि अधिग्रहण गर्नुपर्ने भन्दै कैलाली गाउँदेखि कम्तीमा एक किलोमिटर क्षेत्रमा रेखाङ्कन गरेर सिमेन्टका पिल्लरहरू गाडिएको स्थानीय बताउँछन् ।

धनगढी विमानस्थलजग्गा अधिग्रहण संघर्ष समितिका सदस्य ओमप्रकाश जोशीले स्थानीय प्रशासन र विमानस्थल कार्यालयको जानकारीविना जबरजस्ती रेखाङ्कन गरिएको बताए । यसरी रेखाङ्कन गरिएपछि जग्गा धनीहरू आक्रोशित मात्र नभएर त्रसित समेत बनेको उनको भनाइ छ ।

‘वर्षौदेखि भोग चलन गर्दै आएको जग्गा एयरपोर्टले लैजाने भनेर स्थानीय बासिन्दा विगतदेखि नै चिन्तित छन्,’ जोशीले अनलाइनखबरसँग भने, ‘अहिले आएर जानकारीविना विचौलियामार्फत अवैध रुपमा अधिग्रहण गर्ने भन्दै पिल्लर गाडिनु आपत्तीजनक छ ।’

जोशीले प्रशासन र विमानस्थललाई पनि जानकारी नदिएर जग्गाधनीहरुलाई त्रसित बनाउने गरी अवैध रुपमा रेखाङ्कन गरिनुमा ठूलो चालबाजी हुनसक्ने बताए । ‘अधिग्रहण हुने भयो भनेर सस्तोमा जग्गा खरिद गरेर पछि महँगोमा बिक्री गर्ने चाल पनि हुनसक्छ । यसमा माफिया र दलालहरु संलग्न छन् भन्ने हाम्रो आशंका छ,’ उनी भन्छन् ।

अर्का स्थानीय लालमणी भट्टले जग्गामा अवैध रुपमा कसले पिलर गाड्यो भन्ने कुरा अहिलेसम्म खुल्न नसकेको बताए । ‘अधिग्रहण गर्ने हल्लापछि हामीमाथि ठूलो अन्याय भएको छ । बैंकले यहाँका जग्गामा लगानी नै गर्दैनन्,’ भट्टले भने, ‘एक किलोमिटर पर प्रतिकठ्ठा ८० लाखमा बिक्री हुन्छ । विमानस्थल नजिकमा १५ लाखमा पनि बिक्री गर्न सकिएको अवस्था छ्रैन ।’ यस्तो अवस्थामा आम नागरिक त्रसित हुने गरी गरिएको रेखाङ्कन आपत्तीजनक भएको उनको भनाइ छ ।

अवैध रुपमा आफ्ना जग्गामा रेखाङ्कन गरिएको भन्दै आक्रोशित स्थानीयहरुले गाडिएका पिल्लरहरु भत्काइदिएका छन् । उनीहरुले सोमबार विमानस्थल कार्यालयमा भेला भएर विरोध प्रदर्शन पनि गरेका छन् ।

धनगढी विमानस्थल कार्यालयका प्रमुख रामकृष्ण भट्टले रेखाङ्कन कसले गरेको हो भन्ने कुरा आफूहरुलाई जानकारी नभएको बताए । ‘वडाध्यक्षसहितका जनप्रतिनिधि र स्थानीयहरु हामीलाई भेट्न आएपछि मात्र जग्गामा रेखाङ्कन गरिएको छ भन्ने कुरा हामीले थाहा पाएका हौं,’ भट्टले अनलाइनखबरसँग भने, ‘तर त्यो हामीले गरेका होइनौं । माथिल्लो निकायबाट गरिएको भए पनि हामीलाई खबर आउँथ्यो, त्यो पनि छैन ।’

नेपाल नागरिक उड्डयन प्राधिकरणले धनगढी विमानस्थल स्तरोन्नतीका लागि कम्तीमा साढे चार सय मिटरदेखि एक किलोमिटर क्षेत्रसम्मको जग्गा अधिग्रहण गरिने जनाएको थियो ।

२०७६ माघमा धनगढीमा आयोजित कार्यक्रममा प्राधिकरणले विमानस्थलको स्तरवृद्धि तथा क्षेत्रफल विस्तारका लागि बनाइएको गुरुयोजना प्रस्तुत गर्दै उक्त कुरा बताएको थियो । तर विमानस्थलको केन्द्रदेखि चारैतिर के-कति जग्गा अधिग्रहण गरिन्छ भन्ने कुरा खुलाइएको छैन । यद्यपि २० वर्षे गुरु योजनाअन्तरगत अहिले कायम रहेको समेत गरेर विमानस्थल स्तरोन्नतीका लागि दुई सय ९७ बिघा जग्गा आवश्यक पर्ने प्रस्ताव गरिएको छ । विमानस्थल कार्यालयसँग अहिले ७० बिघा जग्गा मात्र छ । बाँकी दुई सय २७ बिघा अधिग्रहण गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।



from Online Khabar https://ift.tt/3Eh7lT5

No comments:

Post a Comment