Thursday, December 30, 2021

स्वस्तिमाको टिप्पणी : घरमै बसेर स्टार भइन्छ भन्ने सोच्नु गलत

१५ पुस, काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्काले घरभित्रै बसेर स्टार भइन्छ भनेर सोच्नु गलत भएको बताएकी छन् । दर्शकसँग जति धेरै कुराकानी भयो उति नै नजिक भइने उनको धारणा छ ।

सञ्चारकर्मीसँग कुरा गर्दै स्वस्तिमाले भनिन्, ‘दर्शकसँग जति धेरै कुराकानी भयो उति नै उहाँहरुसँग नजिक भइन्छ जस्तो लाग्छ । जस्तो म आज मिडियाको माध्यमबाट दर्शकसँग कुराकानी गरिरहेको छु । अब मिडिया आउँछ भनेर म बाहिर नै ननिस्किएको भए त दर्शकसँग जोडिन पाउँदिन थिएँ होला नि । बाहिर मुखै देखाउन हुँदैन भन्ने म मान्दिनँ ।’

स्वस्तिमाले आम मानिस पनि समय अनुसार बदलिनुपर्ने बताइन् । ‘म कलाकार हुँ, सामाजिक सञ्जाल नै प्रयोग गर्दिन भन्नु गलत हो । किनकि, १० वर्ष अगाडि टीभी थियो भने अहिले सामाजिक सञ्जाल छ । अबको १० वर्षपछि अरु कुनै माध्यम आउन सक्छ,’ उनले भनिन्, ‘सामाजिक सञ्जाल चलाउँदिन भन्दा म फेरि समय भन्दा धेरै पर गएँ जस्तो होला नि होइन ? अहिले दर्शकसँग जोडिने, काम देखाउने भनेको नै सामाजिक सञ्जाल त हो ।’

स्वस्तिमाले सामाजिक सञ्जाललाई कसरी प्रयोग गर्ने भन्ने कुरा स्वयं व्यक्तिमा नै निर्भर रहने बताइन् । घरमै बसिरहने र सामाजिक सञ्जालमा पनि सक्रिय नहुने केही कलाकारहरुलाई लक्षित गर्दै स्वस्तिमाले यस्तो धारणा राखेकी हुन् ।

अर्को प्रसंगमा स्वस्तिमाले कलाकार र पत्रकारको सम्बन्ध कलाकार र पत्रकारको जस्तै हुनुपर्ने पनि उल्लेख गरेकी छन् ।



from Online Khabar https://ift.tt/3n4lhdt

No comments:

Post a Comment