Friday, December 31, 2021

बेड नम्बर २९६ : एक दर्दभरी कहानी

१७ पुस, काठमाडौं । त्यो दिन कस्तो होला, जब सुरेश शाह झिटिगुम्टा च्यापेर आफ्नी श्रीमतीका साथ बीर अस्पतालको मूल ढोकाबाट बाहिरिनेछन् । कलंकी पुगेर रात्री बस चढ्नेछन् । रातभरको यात्रापछि आफ्नो घर-आँगन टेक्नेछन् । महिनौदेखि विछोडिएका लालाबालालाई स्नेहपूर्वक अंगाल्नेछन् । र, उमंग अनि फूर्तिको भावमा भन्नेछन्, ‘देख्यौं, तिमीहरुको आमालाई बचाएँ । उनी निको भइन् । अब आमा बोल्न सक्छिन् । अनि सधैभर तिमीहरुसँगै हुनेछिन् ।’

त्यस पल उनले भुल्नेछन्, बर्षौं-बर्षदेखि अस्पतालमा बिताएका अनिदा रातहरु । उपचारका लागि सिध्याएका भएभरका घर-बारीहरु । दुनियासँग हारगुहार गर्दै काडेका ऋणहरु । उनलाई खुसीले नाचौं, नाचौं लाग्नेछ । जोड-जोडले गीत गाउन मन लाग्नेछ ।

तर, यो जुनीमा सुरेश शाहलाई यस्तो घमाइलो दिनले पर्खिरहेको छ वा छैन ?

किनभने उनको जीवनमा अझैपनि निष्पट अँध्यारो छ । हरेक बिहानी दुःखको सुस्केराले उनको जीवनमा कोलाहाल मच्याउन थाल्छ ।

पाँच जना बालबच्चालाई एक बोरा चामल र दुई हजार रुपैयाँ छाडेर सिरहाबाट श्रीमतीको उपचारका लागि काठमाडौं आएका थिए, उनी । हप्तौ भइसक्यो, उपचार भएको छैन । घरमा चामल सकियो होला । बालबच्चा के खाँदै होलान् ? सम्झिएर उनको मन चिरिन्छ । यता दिनदिनै रोगले गलाउँदै गएको श्रीमतीलाई देखेर उनी अत्तालिन्छन् । कसरी यो विपत्तिलाई सम्हाल्ने हो ?

औसतभन्दा होचो ज्यान । मधेशी वर्ण ।,अनपढ । यो शहरले उनी जस्ता मान्छेलाई मान्छे गन्दैन । उनको आवाज सुन्दैन, उनको व्यथा बुझ्दैन । कसरी खर्च जुटाउँदा हुन् ? कसरी रगत र खानेकुरा जोहो गर्दा हुन् ? कसरी औषधिपानी खोज्दा हुन् ?

दुःखको रामकहानी

बनीबुतो गरेर जेनतेन गुजारा गर्दै आएका थिए, सुरेश शाह । सिरहाको गाउँमा सानो झुपडी थियो । दिनभर मेलापात गर्थे । त्यसैबाट जुटाएको पैसाले परिवारको छाक टार्थ्यौं।

ज्याला मजदुरीको टुंगो नहुने । कहिले कहाँ पुग्नुपर्ने, कहिले कहाँ । काम खोज्दै बिहार पुगे । धुलो-माटोमा काम गरिरहँदा उनको दृष्टि गुम्यो । अपाङ्ग भएर घर फर्किए । संयोगले निशुल्क आँखा शिविरमा पुगे । आँखाको शल्यक्रिया भयो ।

फेरि उसैगरी ज्याला मजदुरी गर्न थाले । तर, दुःखले कहाँ छाड्छ ?

श्रीमतीको स्वर नै हरायो । राती बाघ घुरे झै घ्वाँर-घ्वाँर आवाज आउने । न बोल्न मिल्ने, न सास फेर्न । श्रीमतीलाई रोगले च्याप्दै गयो । उनले ऋणपान गरे । बिहारको एक निजी अस्पताल पुर्‍याए । १६ दिनसम्म त्यही भर्ना गरियो । अनेक जाँच गरियो । त्यहाँबाट र्फकदा उनको झोलाभर औषधि थियो, तर समस्या ज्यूँका त्यूँ ।

अस्पतालका चिकित्सकले भनेका थिए, ‘यस्तो त क्यान्सर हुनसक्छ । नेपालकै क्यान्सर अस्पतालमा लगेर जाँच्नु ।’

उनले श्रीमतीलाई भरतपुर क्यान्सर अस्पताल पुर्‍याए । हप्ता बित्यो । रोग पत्ता लागेन । दुई हप्ता बित्यो । तब भनियो, क्यान्सर लागेको छैन । घरबार छाडेर हिँडेको महिनौं भयो । रोग पत्ता लाग्दैन ।

उपचारकै खोजीमा उनीहरु एक निजी अस्पताल पुगे । त्यहाँ बल्ल थाहा भयो, त्यो थाइराइडको समस्या हो । अब यसैको उपचार गर्नुपर्ने भयो । तर, त्यहाँ उपचार गर्नै नसकिने । अस्पतालको बेडमा भर्ना भएको एक रातकै हजारौं रुपैयाँ लाग्छ भनेपछि सुरेश साहको हातखुट्टा गल्यो ।

अब के कसो गर्ने हो ? उनले मेलो पाएनन् । कसैले सुझाए, काठमाडौंमा जानु । वीर अस्पतालमा उपचार गराउँदा धेरै खर्च लाग्दैन ।

अनि घर बेचे

यसै त गरिब, ऋणपान पत्याइदिने कोही थिएनन् । यसै त एक्लो, साथ-सहयोग गरिदिने कोही थिएनन् । यसै त निर्धो, भनसुन गरिदिने कोही भएनन् । आफुसँग भएको सानो झुपडी बेचे । आफुलाई ओत लाग्न अर्कैको जग्गामा सानो झुपडी बनाए । बालबच्चालाई त्यही छाडे अनि काठमाडौं आए ।

रात्रीवसमा चढेर, रातभरको यात्रा गरेर, रोगी श्रीमतीलाई काठमाडौंसम्म ल्याउन कम्ता सास्ती थिएन । काठमाडौं कहिल्यै देखेका थिएनन् । कहाँ जाने, कसलाई सोध्ने टुंगो थिएन । बिहान झिसमिसेमा बसले कलंकी ल्याएर उनीहरुलाई उतारिदिए ।

रनभुल्ल परेर बाटोको छेउमा बसे । वीर अस्पताल जानुपर्ने । कताबाट जाने, कुन गाडी चढ्ने ? थाहा छैन । एउटा माइक्रोबस आयो, रत्नपार्क-रत्नपार्क भन्दै । उनले ‘वीर अस्पताल जान्छ’ भनेर सोधे । सहचालकले ‘जान्छ-जान्छ’ भन्दै चढाए ।

शहरको भीडमा ल्याएर उनीहरुलाई उतारिदिए । खोइ त वीर अस्पताल ? उनले सोधे । सह चालकले जबाव दिएनन् ।

माइक्रोवस हुँइकियो । सोध्दै-खोज्दै जाँदा कसैले भन्यो, ‘यहाँ नजिकै हो । त्यहाँबाट हिँड्दै गए पुगिन्छ ।’

शिथिल भइसकेकी श्रीमतीलाई डोहोर्‍याउँदै उनी वीर अस्पतालको सम्मुखमा पुगे । अस्पतालभित्र खचाखच थियो । कहाँ गएर भर्ना गर्ने, कसरी गर्ने ? उनले भेउ पाएनन् । रातभरको अनिदो । आफै पनि बिरामी झै भएका थिए । एक छेउमा ओड्ने-ओछ्याउने राखे । श्रीमती त्यही ढल्किइन् । उनलाई सास फेर्न नै गाह्रो भइसकेको थियो । घाँटीबाट घ्याँर-घ्याँर आवाज अरु जोडले आइरहेको थियो ।

त्यहाँ कसैलाई कसैको सरोकार छैन । कसैले सोधीखोजी गर्दैनन् । देखेर पनि नदेखे झै गर्छन् मान्छेहरु । दिन ढल्दैछ । अनिदो, चिसो र दिनभरको धपेडीले श्रीमतीको पीडा अरु बढेको छ । अस्पतालसम्म पुर्‍याएपछि कसै न कसैले त साथ सहयोग गर्छ भन्ने लागेको थियो उनलाई । तर, वीर अस्पतालको भिडभाडमा उनी आफुले आफैलाई नचिन्ने भए ।

उनको त्यो बिजोग देखेर हुनुपर्छ, एक चिकित्सक नजिक आए र सोधीखोजी गरे । चारतिरको दौडधूपपछि बल्ल उनले आफ्नो बिरामी भर्ना गर्न सके ।

बेड नम्बर २९६

बीर अस्पताल । इएनटी वार्डको बेड नम्बर २९६ । कौशिलादेवी शाहलाई थाहा छैन, कहिलेसम्म यो शैयामा रात कटाउनुपर्ने हो ।
झाडु-कुचो लगाउनेहरुको चर्को आवाजसँगै उनको निद्रा भंग हुन्छ । हत्तपत्त आफु सुतिरहेको ‘बेड’ छाडिदिनुपर्छ । डाक्टर-नर्स आउँछन् । उनकी रोगी श्रीमतीको जाँच गर्छन् । अनि उही कुरा सोध्छन्, ‘रगत पायो ?’

सुरेश शाहलाई यसो भनिरहँदा आफु साह्रै निमुखा भएको वोध हुनेछ, ‘हिजो पनि पाइएन । खोज्न त दिनभर खोजें ।’
डाक्टर भन्छन्, ‘अझैपनि अप्रेशन गर्न संभव छैन । किनभने तिम्रो श्रीमतीको शरीरमा रगतको मात्रा एकदमै कम छ । ताकत छैन ।’

उनी बिहानै रगत खोज्न निस्कन्छन् । कहिले पाटन, कहिले भक्तपुर । कहाँ जाने, कसलाई भेट्ने., के भनेर माग्ने ? उनले राम्ररी मेलोमेसो पाउँदैनन् । दिनभर कहाँ-कहाँ पुग्छन् र साँझ रित्तो हात र्फकन्छन् । त्यसपछि डाक्टरले थमाइदिएको प्रेस्किप्सन बोकेर कहिले टिकटको पंक्तिमा उभिनुपर्छ, कहिले औषधि पसल चाहर्नुपर्छ ।

उनकी श्रीमती स्वरनलीको जटिल शल्यक्रिया गर्नुछ । शल्यक्रिया गर्नुअघि उनको सम्पूर्ण शरीर बेहोस बनाइनेछ । त्यसपछि उनको घाँटीमा चिकित्सकले कैची र छुरा चलाउनेछन् । तर, त्यो रोगी त्यसमाथि कमजोर ज्यानले यी सबैकुरा खेप्न सक्छन् ?

चिकित्सकको प्रारम्भिक रिपोर्टले देखाएको छ, सक्दैन । उनको रोग हटाउन जटिल शल्यक्रिया गर्नैपर्छ । जबकि अझैपनि उनको शरीर त्यस्तो शल्यक्रियाको लागि तयार छैन । कुपोषित र कमजोर ज्यान कुनैपनि क्षण जोखिममा पर्न सक्छ । त्यसैले शरीरमा ताकत आएपछि र रगतको मात्रा पुगेपछि उनको शल्यक्रिया गर्ने भनी चिकित्सकले भनेका छन् ।

एकातिर बुढीको हाल यस्तो छ । अर्कोतिर घरमा बालबच्चा कसरी रात कटाइरहेका होलान् भन्ने कुराले पनि उनलाई कम्ता पिरोलेको छैन । केही समयअघि घरमा फोन गर्दा १० बर्षका छोरोले रुँदै भनेको थियो, ‘आमालाई कहाँ लगेको ? छिटै ल्याइदेउ ।’

उनीहरु देउता थिए

वीरको सोही वार्डमा एकजना विरामी भर्ना भएका थिए । उनीहरु को थिए, कहाँ गए ? सुरेश शाहलाई स्पष्ट थाहा छैन । उनले नाम र फोन नम्बर त टिपेर राखेका थिए । तर, त्यो कागजको टुक्रो हरायो ।

उनीहरू डिस्चार्ज भएर घर जानुअघि सुरेश शाहलाई बोलाए । २० हजार रुपैयाँ नगद दिए, उपचार गराउनु भन्दै । त्यसपछि उनलाई केही लुगाफाटो किनिदिए । उनकी रोगी श्रीमतीका लागि साडी किनिदिए । सुरेश शाहले चिताएका थिएनन्, यो शहरमा यति मनकारी मान्छे पनि छन् । ‘उनीहरु देउता थिए’ सुरेश शाहलाई यस्तै लाग्छ ।



from Online Khabar https://ift.tt/3FNO3Gg

No comments:

Post a Comment