Friday, January 7, 2022

पर्सामा गम्छाले घाँटी बेरिएको अवस्थामा बालकको शव भेटियो

२४ पुस, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका-६ सन्ठीमा एक जना बालकको शव भेटिएको छ । स्थानीय नागेश्वर पटेलका १२ वर्षीय छोरा मन्टु पटेल मृत भेटिएका हुन् ।

गाउँको पूर्वपट्टी उखुबारीमा घाँस काट्न गएकी महिलाले बालकको शव देखेपछि गाउँमा खबर गरेकी थिइन् । गाउँलेले प्रहरीलाई सूचना दिएका थिए ।

बालकको शव पोस्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय, पोखरियाका प्रमुख प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिए ।

बालक चारदिनदेखि हराएका थिए । कतै गयो होला आइहाल्छ भनेर अभिभावकले प्रहरीमा खोज तलासका लागि समेत निवेदन दिएका थिए ।

बालकको घाँटीमा गम्छा कसिएकोले घटनालाई शंकास्पद मानेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

घटनामा संलग्न रहेको आशंकामा चार जनालाई निगरानीमा राखेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) ओम प्रकाश खनालले जानकारी दिए ।



from Online Khabar https://ift.tt/3zD6MC7

No comments:

Post a Comment