Thursday, March 10, 2022

निर्वाचन आयोगले दलहरूसँग छलफल गर्दै

२७ फागुन, काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनबारे राजनीतिक दलहरुसँग आज छलफल गर्दै छ ।

संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १७ राजनीतिक दलका दुई–दुई जना प्रतिनिधिहरुलाई शुक्रबार बिहान ११ः३० बजे छलफलका लागि बोलाइएको आयोगले जनाएको छ ।

छलफलको क्रममा स्थानीय तह निर्वाचनको तयारीबारे जानकारी गराउने र दलहरुको अपेक्षाबारे रायसुझाव लिइने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

‘निर्वाचन घोषणा भएको करिब एक महिना पूरा भयो, यस अवधिमा आयोगबाट भएका क्रियाकलाप जानकारी गराउने, आयोगसँग दलका अपेक्षाका विषय वस्तुबारेमा छलफल तथा अन्तरक्रिया गरी रायसुझाव लिने उद्देश्य हो,’ पौडेलले भने ।

आगामी स्थानीय तह निर्वाचनका लागि आयोगले ऋषि कट्टेल नेतृत्वको नेकपाबाहेक ७९ दललाई मान्यता दिएको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा ८० दलले दल दर्ताका लागि निवेदन दिएकामा ५७ दलले भाग लिएका थिए । उक्त निर्वाचनमा भाग लिएकामध्ये १८ राजनीतिक दलको स्थानीय तहमा प्रतिनिधित्व छ ।



from Online Khabar https://ift.tt/6tspZS1

No comments:

Post a Comment