Friday, November 4, 2022

विप्लवको वहिष्कारले रोल्पामा सुरक्षा चुनौती कति ?

१९ कात्तिक, रोल्पा । नेत्रविक्रम चन्द विप्लवसहित आधा दर्जन बढी माओवादी घटकहरुले मंसिर ४ को निर्वाचन वहिष्कार गर्ने घोषणा गरेसँगै सुरक्षा चुनौती बढेको महसुस रोल्पालीले गरेका छन् । तर प्रशासनले भने पूर्णरुपमा सुरक्षा प्रवन्ध मिलाइएकाले ढुक्क भएर मतदानमा भाग लिन आह्वान गरेको छ ।

गत वैशाख ३० को स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारलाई सघाएको विप्लव समूहले मंसिर ४ को निर्वाचन भने बहिष्कार गर्ने घोषणा गरेको छ । सो पार्टीले पत्रकार सम्मेलन गरेर निर्वाचन ‘बिथोल्ने’ जनाएको थियो ।

निर्वाचन बिथोल्ने धम्किले नागरिकहरुमा सुरक्षा संवेदनशीलता बढेको स्थानीय दयाराम डाँगी बताउँछन् । ‘राज्यबाट सुरक्षाको ग्यारेन्टी गरिए पनि वहिष्कार घोषणाले भौतिक र मानसिक रुपमा असुरक्षाको महसुस हुन्छ,’ डाँगीले भने । राज्यले नागरिकलाई निर्धक्कसँग मतदान गर्ने वातावरण बनाउनु पर्ने डाँगीको भनाइ छ ।

रोल्पालाई विप्लव नेतृत्वको नेकपाको प्रभाव क्षेत्र मानिन्छ । त्यसैले सुरक्षा निकायले पनि त्यसैअनुसारको सुरक्षा रणनीति तयार पारेको र पूर्णसुरक्षाको ग्यारेन्टी गरेको जनाएको छ ।

निर्वाचन विशेष सुरक्षा योजना

रोल्पाका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले निर्वाचन विशेष सुरक्षा योजना २०७९ तयार गरी कार्यान्वयन गरिरहेको बताए ।

प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा

उनका अनुसार नेपाली सेनालाई पहिलो घेरा, सशस्त्र प्रहरी बललाई दोस्रो घेरा र नेपाल प्रहरीलाई तेस्रो घेरामा राखेर सुरक्षाको जिम्मेवारी दिइएको छ । ‘अधिकांश ठाउँहरुमा म्यादी प्रहरी समेत प्रहरी समेत पुगिसकेका छन्,’ प्रजिअ सापकोटाले भने, ‘उम्मेदवारको व्यक्तिगत सुरक्षा, मतदान स्थलको सुरक्षाका साथै भयरिहत वातावरणमा मतदान गर्न पाउने कुरालाई ग्यारेन्टी गर्न सुरक्षा निकाय तम्तयार भएर बसेको छ ।’

चुनाव वहिष्कार गर्ने वा विथोल्ने सम्भावनाप्रति पनि सचेत रहँदै सुरक्षा योजना तय गरेको प्रमुख जिल्ला अधिकारी सापकोटाको भनाइ छ । ‘संवैधानिक दायरा भित्र रहेर विरोध गर्न पाउने कुराप्रति सजग रहँदै असंवैधानिक हर्कतलाई नियन्त्रण गर्न सुरक्षा निकाय तयारी अवस्थामा रहेको छ,’ प्रजिअ सापकोटाले भने ।

मतदान स्थलवाट मुख्य निर्वाचन अधिकृतको कार्यालय लिवाङसम्म मतपेटिका सुरक्षित रुपले ल्याउने गरी सुरक्षा योजना समेत बनिसकेको सुरक्षा स्रोतले जनाएको छ ।

रोल्पाका एकतिहाइ मतदानस्थल अति संवेदनशील

मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाका लागि रोल्पामा तय भएका ८६ मध्ये ३१ मतदानस्थललाई जिल्ला सुरक्षा समितिले अतिसंवेदनशीलको सूचीमा राखेको छ । जिल्लाका अति संवेदनशील मतदान स्थलमा थवाङ गाउँपालिकामा ३, रोल्पा नगरपालिकामा २, त्रिवेणी गाउँपालिकामा १, रुन्टीगढी गाउँपालिकामा ६, परिवर्तन गाउँपालिकामा २, गंगादेव गाउँपालिकामा ६, माडी गाउँपालिकामा १, सुनछहरी गाउँपालिका ५ र लुंग्री गाउँपालिकामा ५ रहेका छन् ।

रोल्पाको थवाङ गाउँ ।

जिल्लाका ४२ मतदान स्थल संवेदनशील र १३ मतदान स्थल सामान्य रहेको जिल्ला सुरक्षा स्रोतले बतायो । गत स्थानीय तह निर्वाचनमा ८१ मतदान स्थल रहेको रोल्पामा जनसंख्या, भौगोलिक अवस्था, यातायात र सुरक्षा अवस्था हेरेर गत भदौमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले ५ वटा मतदान केन्द्र थप्ने गरी सिफारिस गरेको थियो ।

८६ मतदान स्थल अन्तरगत जिल्लामा स्थायी १७५ र अस्थायी २ सहित १७७ वटा मतदान केन्द्र कायम गरिएको छ । यसैगरी सदरमुकाम लिवाङको कारागार कार्यालय र जिल्ला समन्वय समिति प्राङ्गणमा अस्थायी मतदान केन्द्र स्थापना गरिएको छ । ‘अस्थायी मतदान केन्द्रका कारागारका कैदी, सेना, प्रहरी तथा वृद्धाश्रमका रहेका व्यक्तिहरुले समानुपातिक पद्दतीमा मतदान गर्छन्,’ जिल्ला निर्वाचन कार्यालय रोल्पाका निर्वाचन अधिकारी पदमबहादुर डाँगीले भने ।

प्रदेश सभा १ मा ६८ हजार १६४ र प्रदेश सभा २ मा ७७ हजार ३०७ सहित रोल्पामा १ लाख ४५ हजार ४७१ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय रोल्पाले जनाएको छ ।

संगठन सुदृढीकरण गर्दै विप्लव

नेत्रविक्रम चन्द विप्लव सहित आधा दर्जन बढी माओवादी घटकहरुले निर्वाचन बहिष्कार गर्ने घोषणा गरे पनि रोल्पामा विप्लव नेकपा बाहेक बहिष्कारवादी अरू समूहको खासै प्रभाव देखिदैन । रोल्पालाई विप्लव नेतृत्वको नेकपाको प्रभाव क्षेत्र मानिन्छ । विप्लव समूह अहिले संगठनलाई पुनरजीवित बनाउने प्रयासमा छ । सो पार्टीले वडा सम्मेलन, पालिका सम्मेलन हुँदै जिल्ला सम्मेलन सम्पन्न गरेको छ । नेकपा रोल्पाका पूर्व जिल्ला इञ्चार्ज तथा वैकल्पिक केन्द्रीय सदस्य सन्तोष सुवेदीका अनुसार जिल्लाका अधिकांश स्थानीय तह र झण्डै ५० प्रतिशत वडाहरुमा कमिटी गठन भई संगठन सुदृढीकरण र विस्तारको काम भइरहेको छ ।

स्थानीय तह निर्वाचनमा भाग लिने कि नलिने भन्ने विषयलाई लिएर भएको विवाद अन्ततः पार्टी फुटमा पुगेको थियो । धर्मेन्द्र बास्तोला, हेमन्त प्रकाश वली लगायतका नेताहरु अलग भएर नेकपा बहुमत खोले । तर विप्लव समूहले गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा कतै एकल त कतै कांग्रेस र एमालेसँग तालमेल गरेर चुनाव लड्यो ।

पार्टीका केन्द्रीय सदस्य चुडामणी वली, पूर्व जिल्ला सेक्रेटरी पुष्टमन घर्ती, पूर्व जिल्ला इन्चार्जहरु सन्तोष सुवेदी र कमल थापा चुनावमा होमिएका थिए । केन्द्रीय सदस्य वली गंगादेव गाउँपालिका अध्यक्षमा, पूर्व जिल्ला सेक्रेटरी पुष्टमन सुनछहरी गाउँपालिका अध्यक्षमा, पूर्व जिल्ला इन्चार्ज कमल थापा सुनिलस्मृती गाउँपालिका अध्यक्षमा र अर्का जिल्ला इन्चार्ज सन्तोष सुवेदी सुनिलस्मृती गाउँपालिका ६ को वडाध्यक्षमा उमेदवार बनेर पराजित भएका थिए ।



from Online Khabar https://ift.tt/F3N49l8

No comments:

Post a Comment