मंगोलिया भन्ने देश कहाँ छ, कति टाढा छ हामीसँग के सामीप्यता छ भन्ने आम नेपालीलाई खासै मतलबको विषय होइन । होस् पनि कसरी न ऊसँग हाम्रो कुनै सीमा जोडिएको छ, न त हामीबीचमा कुनै व्यापार व्यवसाय आदान–प्रदान हुन्छ न पर्यटकहरूको आगमन ।
यी सबै कुराले गर्दा हाम्रो लागि त्यो अनकन्टारको देश हो । तर ऊ र हामीबीचमा केही समानता छ— त्यो भनेको ऊ पनि भूपरिवेष्टित तथा हामी जस्तै दुई ठूला विशाल छिमेकीहरूको बीचमा रहेको देश हो । जसरी हामी भारत र चीनबाट घेरिएका छौं, त्यस्तै मंगोलिया पनि रूस र चीनबाट घेरिएको छ ।
भूगोलका हिसाबले हामीभन्दा दशौं गुणा ठूलो भए पनि जनसंख्याको दृष्टिकोणले हामीभन्दा ८ गुणा सानो छ अर्थात् हाम्रो जनसंख्या २९.२ मिलियन उसको ३.३ मिलियन । तर कुनै बेला यो देशको जनसंख्या करिब ६ लाख मात्रै भएको र त्यतिबेला जसरी हामीले आफूलाई भारतबाट पेलिएको महसुस गर्थ्यौं अहिले पनि उसले आफूलाई चीनबाट पेलिएको महसुस गर्दछ ।
चीनसँग उसको निकै पुरानो शत्रुता पनि देखिन्छ, किनभने जुनबेला चिङ्गिस खाँहरूले आफ्नो साम्राज्य विस्तार गरेका थिए त्यतिबेला चीन त्यति शक्तिशाली थिएन । मंगोलियाबाट हुने निरन्तरको आक्रमणबाट बच्नकै लागि पनि चीनको ग्रेटवाल बनाइएको थियो भनिन्छ । अहिले पनि त्यस्तो शत्रुता कुनै न कुनै रूपमा यी दुई देशको बीचमा विद्यमान देखिन्छ ।
हामीबीचमा खासै कुनै समानता र गहिरो मित्रता नभए तापनि त्यो देशको भ्रमण एउटा अध्ययन र अवलोकनको लागि भएको थियो । हामी जस्तै भूपरिवेष्टित तथा अविकसित देश भएको कुरा थाहा भएको हुँदा बेइजिङ हुँदै करिब ५ घण्टाको उडान मार्फत राजधानी उलनवटोर पुग्दा विशाल भूमि र नांगा डाँडाकाँडा, मे महिनामा पनि यहाँभन्दा धेरै चिसोले हामीलाई स्वागत गरेको थियो ।
खुला युगमा प्रवेश गरेको करिब २० वर्ष भएको थियो, अतः त्यहाँ सबै ठाउँमा केही पुराना देखिने सोभियतकालीन घरहरू बाटा–बाटामा देखिन्थे । जमिन प्रशस्तै तर मानवबस्ती अत्यन्त पातलो भएको हुँदा बाटाघाटा फराकिला थिए । तर सडकमा रूख भने नभएको बराबर थियो । भएका केही पीपलका रूखहरू पनि नांगा थिए मानौं ती आफ्नो प्राकृतिक हरियालीमा फर्किन अझै केही महिना कुरे जस्तो ।
राजधानी उलनवटोरका वरिपरिका डाँडा केही हरियो देखिए तापनि सबै रूखविहीन नांगा भएको हुँदा सडकमा देखिएका ती सीमित रूखहरूलाई उमार्न तथा जोगाउन पनि निकै मिहिनेत गर्नु परेको कुरा ती रूखहरूको संरक्षणमा खटिएका श्रमिकहरूले काम गरेको देख्दा लाग्थ्यो ।
वर्षको लगभग ७/८ महिना नै हिउँमा बस्नुपर्ने भएको हुँदा खेतीपाती गरिएको क्षेत्र राजधानी वरिपरि पनि देख्दै देखिएन । अतः उनीहरूको जीविकोपार्जनको प्रमुख स्रोत भनेको विशाल पशुपालन रहेछ तर अहिले आधुनिकतामा प्रवेश गरिसकेको हुँदा त्यो पनि निकै घटेको बताउँथे ।
मंगोलिया देशको हिसाबले हामीभन्दा विशाल भएतापनि जनसंख्याको हिसाबले अत्यन्त सानो भन्दा फरक पर्दैन, चीनसँगको उसको पुरानो शत्रुताको कारणले गर्दा उसको अस्तित्व रक्षा नै पहिलो प्राथमिकता भएको देखिन्छ, किनभने हरेक हिसाबले विशाल चीनसँग उसले कुनै पनि क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्ने स्थिति थिएन त्यसकारण उसले सोभियत संघको साथ लिएको देखिन्छ ।
प्रायः सबैजसो देशहरूमा राजनैतिक परिवर्तन शान्तिपूर्ण वा सशस्त्र आन्दोलनबाट भएको देखिन्छ तर मंगोलिया यस्तो देश हो जहाँ दुई ठूला राजनैतिक परिवर्तन शान्तिपूर्ण, त्यसमा पनि त्यहाँको नेतृत्वको सामान्य अगुवाइमा भएको थियो । लेनिनको नेतृत्वमा सन् १९१७ मा बोल्सेभिक क्रान्ति भएको थियो मंगोलियामा सोभियत मोडेलकै कम्युनिष्ट क्रान्ति त्यसको ५ वर्षपछि अर्थात् १९२२ मा ।
हामीले भरसक भारत र चीनसँग समदूरी तथा पञ्चशीलको सिद्धान्त अनुसार व्यवहार गर्छौं तर मंगोलिया पूरै सोभियत छातामुनि बसेर आफूलाई चीनबाट सुरक्षित मात्रै गरेन उसको वफर स्टेट जस्तो भएर बस्यो । शासन व्यवस्था, पूर्वाधार सबै सोभियतहरूले बनाई मात्र दिएनन्, शासन चलाउने सल्लाहकार समेत उतैबाट आएका थिए ।
जबसम्म सोभियत शासन कायम रह्यो तबसम्म मंगोलियाले पनि कम्युनिष्ट शासनमै आफूलाई सुरक्षित राख्यो । एउटा अचम्म लाग्दो कुरा के देखिन्छ भने मंगोलियामा विभिन्न खनिजहरूको विशाल भण्डार रहेको छ तर सोभियतहरूले त्यसको दोहन गर्ने काम गरेनन् र त्यसलाई त्यतिकै छोडिदिए ।
जब सन् ९० मा सोभियत संघको पतन भयो मंगोलिया पनि उसको छाताबाट बाहिर निस्किनुपर्ने बाध्यता आइपर्यो र उसले पनि शान्तिपूर्ण तरिकाले बहुदलीय लोकतान्त्रिक व्यवस्था अंगीकार गर्यो । तर एउटा रोचक कुरा के देखिन्छ भने बहुदलीय लोकतन्त्रमा पनि शासन गर्ने ती पुरानै कम्युनिष्ट नेताहरू भए । कम्युनिष्ट शासन एउटा अनुशासनमा चलेको हुन्छ त्यहाँ धनको वितरण समान नभए पनि गरिबीको वितरण भने समान हुन्छ ।
ठूला उद्योगमा सोभियत संघ अमेरिकाको प्रतिस्पर्धी भएतापनि जनताका आवश्यकता पूरा गर्ने स–साना कुरामा ऊ अत्यन्त पछाडि थियो । अतः मंगोलियाका जनताको जीवन पनि त्यस्तै हुनेभयो । अहिले पनि एउटा ठूलो पुस्ता सोभियत शिक्षा प्रणालीबाटै प्रशिक्षित रहेर उसकै हालिमुहाली चलिरहेको छ ।
पश्चिमी पूँजीवादले हामी सबैमा उच्च जीवनशैलीको रंगीन सपनाहरू देखाउने गर्छ र मंगोलियाले बहुदलीय व्यवस्था अंगीकार गरेपछि पनि त्यही भयो । शासन व्यवस्था पूँजीवादी भए पनि जनताका आकांक्षा पूरा भएनन् । ऊसँग विशाल खनिजहरूको भण्डार भएतापनि त्यसलाई निकाल्ने प्रविधि, पूँजी थिएन ।
अतः त्यसलाई उत्खनन र बजारीकरण गर्नको लागि पश्चिमा देशहरूका बहुराष्ट्रिय कम्पनीहरूलाई उसले देशमा भित्र्यायो, त्यसले विदेशीहरूको चहलपहल एक्कासी बढायो र त्यहाँ जनता बीचमा हुने र नहुने बीचमा पनि असमानता तथा निराशा बढायो यसले एउटा जमातलाई विदेशी विरुद्ध घृणा समेत फैलाउन उक्सायो । त्यही घृणाको शिकार हाम्रो एकजना साथी भए ।
हाम्रो दश जनाको टोली उलनवटोरमा पर्यटकको रूपमा घुम्दै थियौं । हाम्रो समूह बजारमा हिंड्दा हिंड्दै दुइटा समूहमा विभक्त भएको हामीलाई पत्तै भएन । हाम्रो साथी शारीरिक हिसाबले अलि खाइलाग्दो र कुनै विदेशी धनाढ्य जस्तो देखिन्थे । कोइला बालेर उत्पादन गरिने बिजुली भएको हुँदा राजधानी शहरमा पनि साँझको समयमा पर्याप्त प्रकाश थिएन ।
यस्तो बेलामा हाम्रो समूहलाई कुन बेलादेखि कसैले पछ्याइरहेको हामीलाई थाहा हुने कुरा भएन । हामीभन्दा पुछारमा भएका ती मित्रलाई केही अँध्यारो बाटोमा पछाडिबाट प्रहार गरिएछ । उनी आफैं खाइलाग्दो ज्यानका भएको हुँदा आफूलाई सन्तुलन गर्न सक्ने कुरा भएन अतः उनी भुईंमा लड्न पुगे ।
त्यो घटनाको प्रत्यक्षदर्शी हामी हुन पाएनौं, यदि हामी सबै सँगै भएको भए संभवतः आक्रमण पनि हुने थिएन होला तर दुर्भाग्य उनी लगभग एक्लै पछाडि भएको मौका छोपी प्रहार गरियो । हामी हाम्रो होटलमा फर्किएको निकैबेर पछि मात्र उनी साह्रै मलिन अनुहार लिएर आएका थिए । पछाडिबाट एकैपटक प्रहार गरी लडाएको मात्रै हुनाले त्यस्तो गम्भीर चोट देखिएन । तर पनि विदेशको ठाउँमा विना कारण यसरी कुटिनु पर्दा हामी सबैको मन कुँडियो ।
हामी जुन कार्यक्रमको लागि गएका थियौं त्यो संस्था त्यहाँको राम्रै र परिचित संस्था थियो । अतः तुरुन्तै प्रहरीमा जानकारी गराइयो । तर त्यस्ता घटना खासगरी विदेशीहरू माथि बराबर भइरहने भएको हुँदा प्रहरीले खासै केही गरेको देखिएन । हाम्रो साथीको चोट धेरै गम्भीर नभएको हुँदा हाम्रो बाँकी कार्यक्रमहरूमा खासै फरक परेन । तर, कम्युनिष्ट विरासतले बोकाएको राष्ट्रवादले गर्दा अनाहकमा हाम्रो साथी कुटिनु पर्यो ।
हामीले ल्हासामा सुन छ कान मेरो बुच्चै भन्ने उखान बचपनदेखि सुन्दै आएका हौं । मुना मदनको कथामा पनि मदन ल्हासामा सुन कमाउनै गएको बुझिन्छ तर मंगोलिया गएपछि थाहा भयो ल्हासामा जाने सुन सबै मंगोलियाबाटै जाने रहेछ । किनभने मंगोलियाले पनि तिब्बतियन महायानी बुद्धधर्म अपनाएको र दलाई लामालाई नै गुरु मानिएको हुँदा उनीहरूको लामो परम्परागत सम्बन्ध तिब्बतसँग रहेछ ।
अहिले मंगोलियाले पश्चिमा बहुराष्ट्रिय कम्पनीहरूको सहयोगमा आफ्ना खानीहरूको उत्खनन गरी मनग्ये आम्दानी गरिरहेको छ । जनतालाई हरेक वर्ष क्यास डिभिडेन्ड बाँडिरहेको छ । तर एउटा शिक्षा र अनुभव लिन गएको हाम्रो टोलीले भने अत्यन्त पीडादायी अनुभव समेत लिएर फर्किनु पर्यो ।
from Online Khabar https://ift.tt/LrvE1Na
No comments:
Post a Comment