२३ अप्रिल, विश्व पुस्तक दिवस। यसै दिन १६औं केन्सिङ्टन बुक फेस्टिभल रहेछ, स्ट्रिट फेस्टिभलका रुपमा। मलाई लाग्यो, यो एउटा राम्रो दिन हो। सूचनामा लेखिएको थियो- बिहान ११ बजेदेखि ४ बजेसम्म। लाइभ म्युजिक। लेखक र तिनका रचना तथा कविता वाचन। केटाकेटीका कार्यक्रम। धेरै भाषाका किताब।
घाम लागे पनि, पानी परे पनि। अमेरिकामा भन्ने चलन छ, ‘रेन अर शाइनस’। भनेपछि जस्तो मौसम भए पनि कार्यक्रम हुन्छ। मेरो निवासबाट ३३ मिनेटको दूरी, गाडीमा। टाढा पनि होइन।
मेरिल्याण्ड राज्यको केन्सिङ्टन शहर मेरा लागि अपरिचित नाम थिएन। त्यो शहर हुँदै यात्रा त गरेकै हुँ। तर कुनै कार्यक्रममा भने संलग्न भएको थिइनँ। सन् १८७३ सम्म मुख्यतः कृषिका लागि उपयोग भएको यो ठाउँ अहिले शहर भएको हो। शुरुमा यो ठाउँमा बस्ती बस्दा नोल्स स्टेशनको नामले चिनिंदो रहेछ। तर सन् १८९० को सुरुवाततिर वाशिंटन डिसीका ब्रेनार्ड वार्नरले जग्गा किनेर भिक्टोरियन शैलीको बस्ती बनाउने अवधारणा लिएछन्। उनले त्यतिवेला लण्डनको भ्रमण गरेकाले उनलाई त्यो शैलीले प्रभावित गरेको रहेछ। उनैले त्यस ठाउँको नाम केन्सिङ्टन पार्क राखेछन्। अनि त्यहाँका मेयरलाई शहरको नाम केन्सिङ्टन राख्न सुझाएछन्। यसरी सन् १९८० सम्म आइपुग्दा यो ठाउँ केन्सिङ्टन हिस्टोरिक डिस्ट्रिक्टका रुपमा दर्ता भएको रहेछ नेशनल रजिस्टर अफ हिस्टोरिक प्लेसेसमा।
यही ऐतिहासिक शहरको हावार्ड एवेन्यूमा विगत १६ वर्षदेखि २३ अप्रिल विश्व पुस्तक दिवसका दिन आयोजना हुँदै आएको बुक फेस्टिभलमा म जाँदै थिएँ- पहिलो पल्ट, अनेकन् उत्सुकता बोकेर, एक्लै।
छरछिमेकमा जति पनि पार्किङ गर्न सकिन्छ भन्ने सूचना थियो। हावार्ड स्ट्रिट त बन्द गरिएको थियो। म नजिकको स्ट्रिटमा गाडी पार्क गरेर हावार्ड एवेन्यूतर्फ लागें।
गाडी पार्क गरेको ठाउँबाट केन्सिङ्टन रेल स्टेशनको लिक पार गरेर जानु पर्दोरहेछ। त्यहींबाट देखियो स्टलहरु र मानिसको चहलपहल। बुक फेस्टिभलका झोलामा किताब लिएर आउनेहरु पनि बाटामा भेटिए। आउने–जाने चलिरहेको थियो।
स्टलहरुको मुखैमा यौटा बुक स्टल रहेछ, नि:शुल्क पुस्तकको। विभिन्न विषयका पुस्तकहरु स्टलमा थिए। दुई तीन जना अमेरिकन महिला पुरुष भनिरहेका थिए, “सित्तैंमा किताब लैजानुहोस्। जति सक्नुहुन्छ लैजानुहोस्।“
मलाई झलक्क क्यालिफोर्नियाको यौटा पुस्तक पसलको याद आयो। नि:शुल्क पुस्तक पसल। आफूले रोजेर सित्तैंमा किताब लैजान पाइने। मित्र ध्रुव थापाले मलाई त्यहाँ लैजानुभएको थियो। यहाँ त म एक्लै थिएँ। नि:शुल्क पुस्तकको स्टल थियो। मानिसहरु पुस्तक धमाधम छानिरहेका थिए। त्यो हूलमा पसें र किताबहरु हेर्न थालें। म पनि पुस्तक प्रेमी। पढ्न र सङ्कलन गर्न रुचाउने, किनेरै। तर यहाँ त नि:शुल्क थियो।
मैले ‘ग्राण्टा’ पत्रिकाको ७२ अङ्क, जुनोट डियाजको कथा सङ्ग्रह ‘दिस इज हाउ यू लूज हर’ र एडमण्ड ह्वाइटको उपन्यास ‘फरगेटिङ एलेना’ छनौट गरें र ती पुस्तक लिएर अरु स्टलतर्फ अघि बढें।
यौटा स्टलमा लेखक तथा फोटोग्राफर जोन रोमौल्डी अभिवादन मुद्रामा देखिए। उनी आफ्नो ‘हु आर द ग्रेटफुल डेड एण्ड ह्वाई आर दे फलोइङ मी ?’ नामक पुस्तक सहित स्टलमा बसेका थिए। सिङ्गो टेबुलमा त्यही पुस्तक केही प्रति थियो। उनीसँग परिचय गरें। आफू पनि लेखक भएको बताएँ। अनि उनको किताब पल्टाएर हेर्न थालें। उनले भने, “यो पुस्तक ग्रेटफूल डेड सांगीतिक ब्याण्डको बारेमा हो।“ मलाई त यो ब्याण्डको बारेमा जानकारी थिएन। उसो त यस्ता ब्याण्डहरु मेरा रुचिका कुरा पनि होइनन्। झन् अमेरिकी सांगीतिक ब्याण्डहरुको बारेमा त मेरो ज्ञान शून्य थियो।
लेखक जोनले सन् १९९५ मा सान फ्रान्सिस्कोमा यो ब्याण्डको प्रस्तुति हेरेका रहेछन्। त्यतिवेला यो ब्याण्डको प्रस्तुति हेर्ने दर्शक २० हजार रहेछन्। त्यतिवेलै यो ब्याण्ड र यसमा संलग्न हुनेहरुबाट प्रभावित भएर पुस्तक लेख्ने मन बनाएका रहेछन्। हाल पेन्सिल्भेनियाको पिटसवर्गमा बस्ने उनी भ्रमण प्रिय रहेछन् र काठमाडौं पनि जाने धोको भएको बताए। अनि पुस्तकमा सही गर्दा लेखे, ‘फर गोविन्द ! ग्रेट टु मीट यु। सी यु इन नेपाल !”
अनि फोटो लियौं र सम्पर्क नम्बर साटासाट गरेर छुट्टियौं।
नजिकै अर्को स्टल थियो ‘मोर्गान जेम्स प्रकाशन’ को। उनीहरु पुस्तक प्रकाशन गर्ने मन हुनेहरुले सम्पर्क गर्नू भनेर पर्चा बाँडिरहेका थिए। तिनले स्टलमा आफूले प्रकाशन गरेका पुस्तकहरु प्रदर्शन र बिक्रीका लागि सजाएर राखेका थिए।
जोनको बुकस्टलको पारिपट्टि यौटी अश्वेत कवयित्री निकै दमदार ढङ्गले कविता वाचन गरिरहेकी थिइन्। उनको स्वर स्पष्ट बुझिने र प्रभाविलो थियो। मानिसहरु ध्यान दिएर उनलाई सुनिरहेका थिए। यौटा खाली मेचमा बसेर म पनि सुन्न थालें। उनका कविताहरु महिलाको बारेमा थिए। रङ्गभेदको बारेमा थिए। आमाको बारेमा थिए। उनले केही कविता लगातार सुनाइन्। प्रत्येक कविता वाचनपछि सबैले ताली बजाइरहेका थिए। मैले पनि तिनको तालीलाई साथ दिएँ।
उनले ५।७ कविता सुनाइन्। कुनै कविता पुस्तकबाट, कुनै चाहिं पानाबाट। अनि मसँगैको मेचमा बस्न आइन्। मैले राम्रो कविता वाचनका लागि धन्यवाद भनें। उनको नाम रहेछ डायन विल्सन पार्कस्। उनको यौटा कविता सङ्ग्रह प्रकाशित रहेछ, “द विज्डम अफ ब्लु एप्पल्स“। उनी मेरिल्याण्डकै बोई शहरबाट आएकी रहिछन्। उनको पुस्तक सहित हामीले फोटो लियौं र फोन नं साटासाट गर्यौं।
डायन पछि अर्की एक अश्वेत महिलाले कविता वाचन गरिन्। कविता वाचन प्रभाविलो थियो। उनको कविता वाचनपछि म त्यहाँबाट उठेर अरु स्टलहरु चहार्न थालें।
अर्को स्टल थियो, “द फेडरल पोयट्स” को। त्यो कविहरुको समूहको प्रकाशन ‘द फेडरल पोयट’ पनि प्रदर्शनमा राखिएको थियो। त्यहाँ भएकी एक वृध्द महिलाले ती प्रकाशन नि:शुल्क भएको बताइन्। मैले त्यहाँ राखिएका केही प्रति लिएँ।
‘द फेडरल पोयट्स’ वाशिंटन डिसी मेट्रो क्षेत्रको निरन्तर सक्रिय सबैभन्दा पुरानो कवि समूह रहेछ। यो सन् १९४४ मा ‘कमर्स डिपार्टमेण्ट’ मा काम गर्ने कविहरुले ‘कमर्स लिटररी सोसाइटी’ का रुपमा स्थापना गरेका रहेछन्। तर तुरुन्तै यसको नाम परिवर्तन गरेर ‘बुक फेलोज क्लब’ राखिएछ। अनि सन् १९४६ मा फेरि नाम परिवर्तन गरेर ‘फेडरल पोयट्स’ नामकरण गरिएछ, जुन नाम आजपर्यन्त त्यही नै छ। सुरुमा संघीय सरकारमा काम गर्ने कविहरुलाई मात्र सदस्यको रुपमा स्वीकार गर्ने गरिए पनि पछि कविता लेख्ने जो–कोही पनि यसको सदस्य हुन पाउने व्यवस्था गरिएको रहेछ।
त्यहाँ फेडरल पोयट्स ग्रुपका अध्यक्ष पनि आइपुगे। अनि मलाई पनि रुचि भए उनीहरुको समूहमा आवध्द हुन आग्रह गरे र इमेल ठेगाना लिए। यो यौटा चाखलाग्दो घटना भयो।
हुन त म केही वर्ष यता सीधै अङ्ग्रेजी भाषामै कविता लेखनको अभ्यास गरिरहेको छु। नर्दन भर्जिनियाका कविहरुको समूह ‘नोभा वार्डस्’ मा पनि आवध्द छु। ‘पोयट एनोनिमस’ का कार्यक्रमहरुमा पनि बेला बखत पुग्छु। ४ वर्षदेखि ‘नोभा वार्डस् एन्युअल’ मा मेरा कविता प्रकाशित हुँदै आएका छन्। यो फेडरल पोयट ग्रुपमा पनि संलग्नता हुने सम्भावना देखियो।
यो बुक फेस्टिभलमा आएको सार्थक अनुभव भयो।
अर्को स्टलमा भेटिइन् ग्यावी गिलियन। उनी कवयित्री र उपन्यासकार रहिछन्। उनको यौटा लघु उपन्यास बिक्रीका लागि थियो। अनि कविता चाहिं विभिन्न सङ्कलनमा सामूहिक रुपमा मात्र प्रकाशित रहेछ। आफ्नो बेग्लै कविता सङ्ग्रह छिट्टै प्रकाशित गर्दैछु भनिन्।
अर्को स्टलमा भेटिइन् फ्रान्सेली उपन्यासकार पाउलिन मौहाना खारुम। उनी आफ्नो नव प्रकाशित उपन्याससहित अर्का फ्रान्सेली लेखकसँग टेबुल बाँडेर बसेकी रहिछन्। उनका छोरा र छोरी पनि साथैमा थिए। उनको उपन्यास फ्रान्सेली भाषामा भएकाले मैले बुझ्ने कुरा थिएन। तर उनले अङ्ग्रेजीमा पनि अनुवाद हुने क्रममा रहेको बताइन्।
मैले भनें, “त्यसो भए अब अङ्ग्रेजी भाषामा प्रकाशित हुन्जेल कुर्नुपर्ने भो।“
ती फ्रान्सेली लेखिकाको टेबलको लहरै अरु पनि फ्रान्सेली लेखक लेखिकाकै स्टलहरु थिए।
अर्को ठाउँमा पनि कविता वाचन भइरहेको थियो। मानिसहरु कोही मेचमा बसेर, कोही उभिएरै कविता सुनिरहेका थिए। कतिपय कवि कवयित्रीहरु हातमा किताब वा कविताका पाना लिएर कविता पढ्नका लागि पालो कुरिरहेका थिए।
त्यहाँ साना साना रङ्गमञ्चहरु पनि बनाइएका रहेछन्। कतै विभिन्न संस्कृति झल्कने नृत्यहरु भैरहेको थियो। कतै केटाकेटीका लागि मनोरञ्जनात्मक नाटक प्रदर्शन भइरहेका थिए। सङ्गीतको पनि कार्यक्रम चालु थियो।
बुक फेस्टिभल भनिएकोले होला त्यहाँ लेखक कविकै बाहुल्य थियो। तर ती लेखक कविहरु अमेरिकाका ठूला प्रकाशन गृहले मोटो रकम लेखकस्व दिने खालका लेखक कवि थिएनन्। र त्यहाँ भएका प्रकाशक पनि मोटो लेखकस्व दिने हैसियत भएका प्रकाशक थिएनन्। ती लेखक कविहरु व्यावसायिकताबाट टाढा तर समर्पण र निष्ठाका निकट थिए। हुन त आजकाल हरेक जसो लेखक कविका पुस्तक अमेजनबाट सहजै उपलब्ध हुन्छ। तर त्यसरी उपलब्ध हुने हजारौं हजार किताबको बिक्री भने लेखक बाँच्न सक्ने गरी लेखकस्व आउने बराबरको हुँदैन, एकाध अपवाद बाहेक।
अमेरिका लगायत विश्वमै अहिले टिक्ने र बिक्ने साहित्य समानान्तर रुपमा चलिरहेको छ। बिकाउ पुस्तकको पछि छन् प्रकाशकहरु। निष्ठापूर्वक स्वान्त सुखाय लेख्ने कवि लेखकहरुको जमात पनि सानो छैन। त्यही जमात यो फेस्टिभलमा देखिए। स्थानीय तहमा यसरी लेखनरत अमेरिकी लेखक कविहरुको सङ्ख्या निकै ठूलो छ, अमेरिकाभरि।
घाम नलागे पनि, चिसो चिसो भए पनि फेस्टिभलमा हूल राम्रै थियो। भीड राम्रै थियो। ४ बजेसम्म फेस्टिभल चालु हुने भनिए पनि ३ बजेतिर आकाशबाट पानी सिमसिमाउन थाल्यो। पाककलाको पुस्तक बिक्रीका लागि स्टल राखेका लेखक आफ्नो पुस्तकमा भएको परिकारमध्ये एक कागुनोको सलाद परिकार आफैंले त्यहीं तयार गरेर नि:शुल्क चखाउँदै थिए। मैले पनि चाखें र घर फर्कने उपक्रम गर्न थालें।
फर्कँदै गर्दा फेरि पहिलोपल्ट पसेको नि:शुल्क पुस्तक वितरण गरिरहेको स्टलमा पुगें। स्वयम् सेवकहरु निरन्तर निःशुल्क पुस्तक लैजान प्रेरित गरिरहेका थिए। मैले थप अरु केही किताब छानें।
गाडीमा आउँदा सिमसिमे पानीले भेटिसकेको थियो। सिटमा बसिसकेपछि मैले किताब पल्टाएर हेरें। किताबको कभरको भित्रपट्टि बुक क्रसिङ डटकमको स्टिकर टाँसिएको रहेछ। त्यहाँ लेखिएको रहेछ, ‘म विशेष खालको पुस्तक हुँ। म संसार भ्रमणको क्रममा छु नयाँ नयाँ साथीहरु बनाउँदै। म आशा गर्दछु, मैले यौटा अर्को साथी भेटेको छु। मलाई पढ्नुस् र मलाई जानकारी दिनुस्, म तपाईंको हातमा सुरक्षित छु। पढिसकेपछि मलाई मुक्त गर्नुहोस्।’
कुरा के रहेछ भने यो बुक क्रसिङको अवधारणा रन हर्नबेकरले सन् २००१ को मार्चमा ल्याएका रहेछन्। यो अवधारणा “संसारलाई नै एक पुस्तकालय” बनाउने उद्देश्यमा आधारित रहेछ। आफूले पढिसकेपछि पुस्तकलाई अर्को पाठकको हातमा पुर्याउनु बुक क्रसिङको उद्देश्य रहेछ।
यो सुरु भएको दुई वर्षमा यसको सदस्य सङ्ख्या एक लाख तेह्र हजार पुग्यो। सन् २०१९ मा सदस्य सङ्ख्या १९ लाख पुग्यो र १३ लाख पुस्तक विश्वका १३२ देशमा घुमिरहेका छन्। जसमध्ये जर्मनी, अमेरिका, स्पेन, इटाली, अष्ट्रेलिया, बेलायत, नेदरल्याण्ड र ब्राजिल गरी ८ देशमा ८० प्रतिशत किताब घुमिरहेका हुन्छन्। ३० देशमा त यौटा किताब एक पाठकको हातबाट अर्को पाठकको हातमा ३ दिनमै पुग्छ।
यो अवधारणामा विवाद पनि भयो। सन् २००३ मा ज्योतिष तथा उपन्यासकार जेसिका आदम्सले बुक क्रसिङका कारण किताबको बिक्री घटेको र त्यसले लेखकस्व पनि घटेको भन्दै आलोचना गरिन्।
त्यस्तै मार्च २००५ मा हार्पर प्रेसका प्रबन्ध निर्देशक क्यारोलाइन मार्टिनले पनि आलोचना गरिन्।
तर यो लोकप्रिय हुँदै विश्वभरि फैलिरहेको छ। यो अवधारणालाई मूर्त रुप दिन कतिले त किताब किनेर पनि बुक क्रसिङमा पठाउँदा रहेछन्।
मेरो लागि यो अवधारणा नौलो र पहिलो अनुभव भयो। यो अवधारणामा म पनि थाहै नपाई समाहित भएछु सित्तैंमा पुस्तक पाइयो भनेर।
हुन पनि कति पाठक एकपल्ट पढिसकेपछि त्यो किताब दान गर्दछन् पुस्तकालयलाई वा गुड विल जस्तो सामाजिक संस्थालाई जसलाई उनीहरुले बिक्री गरेर पुस्तकालयको हितको लागि वा सामाजिक कामका लागि आर्थिक स्रोत जुटाउँछन्।
केन्सिङटन बुक फेस्टिभलमा गएर मैले पुस्तकको विश्व यात्रा बारे थप ज्ञान पनि हासिल गर्न पाएँ।
सार्थक बित्यो अमेरिकामा एक दिन, पुस्तक र लेखकको संसारमा।
–फल्स चर्च, भर्जिनिया, अमेरिका
from Online Khabar https://ift.tt/d9U3r4W
No comments:
Post a Comment