समय धर्म, दर्शन र विज्ञानमा अध्ययनको एक महत्वपूर्ण विषयको रूपमा रहेको छ । समय प्राकृतिक र सामाजिक सबै क्षेत्रमा विना शर्त लागू हुन्छ । समयलाई व्यवहार, व्यापार, उद्यम, खेल, विज्ञान, कला आदि मानवीय व्यवहारहरूमा मापन गरिन्छ ।
कल्प, युग, सहस्राब्दी, शताब्दी, वर्ष, मास, दिवस, दिन, रात, प्रहर, घण्टा, घडी, पला, क्षण, निमेष समयका एकाइ हुन् । त्यस्तै ईस्वी संवत्, शक संवत्, नेपाल संवत्, हिजरीले पनि समयका एकाइहरू निर्धारण गरेको छ । हजार वर्षको सहस्राब्दी, सय वर्षको शताब्दी हुन्छ, एक वर्षमा बाह्र मास हुन्छ । समय गणनाको लागि वर्ष सर्वाधिक महत्वपूर्ण एकाइको रूपमा रहेको छ ।
पृथ्वीले सूर्यलाई एक पटक परिक्रमा पूरा गर्दा लाग्ने कुल समयलाई एक वर्ष भनिन्छ । पृथ्वीलाई सूर्यको परिक्रमा पूरा गर्न ३६५ दिन ६ घण्टा लाग्दछ ।
संसारभरि वर्ष दिनको समयलाई बुझाउन अनेक नाम प्रचलित छन् । हिन्दू पञ्चांगमा संवत् र संवत्सर भनिएको छ । पृथ्वीलाई आधार मानिएको वर्षलाई संवत् र बृहस्पति ग्रहलाई आधार मानिएको वर्षलाई संवत्सर भनिन्छ । विक्रम संवत् हिन्दू परम्परा र वैदिक समयाङ्कनमा आधारित सौर्य पात्रो हो । विक्रम संवत्को प्रारम्भ चन्द्र–तिथिको आधारमा चैत्रशुक्ल प्रतिपदाबाट र सौर्य मासको आधारमा वैशाख संक्रान्तिको दिनबाट हुन्छ ।
नयाँ वर्षको पहिलो दिन स्वाभाविक रूपमा पनि विशिष्ट ठहरिन्छ । यस दिन उत्सव र उल्लासका साथ नयाँ वर्ष मनाइन्छ । नयाँ वर्ष उत्सवको प्रचलन विभिन्न क्षेत्र र समुदायमा रहेको पाइन्छ । नेपाल मात्रले पनि आफ्नो देशमा अनेक तिथि–मितिमा अनेक नामले नयाँ वर्ष मनाउने गरेको छ । केही दशकयता राष्ट्रिय तथा सामुदायिक पात्रोहरूमा आधारित नयाँ वर्षहरूको पहिचान बढेको छ ।
लिच्छवि, मल्ल, सेनकालका शिलालेखहरूमा विक्रम संवत्को प्रयोग भएको देखिन्छ । रामशाहको बाइसे–चौबिसे, नेपाल निर्माता पृथ्वीनारायण शाहदेखि वर्तमान समयमा पनि विक्रम संवत् राष्ट्रिय संवत्को रूपमा प्रयोग भएको देखिन्छ । नेपाल–अंग्रेज युद्धका अधिकांश दस्तावेजमा विक्रम संवत् प्रयोग भएको छ । नेपालमा शक संवत् तथा नेपाल संवत्को प्रयोग पनि हुँदै आएको छ ।
शक संवत्, जसलाई शाके वा श्री शाके भनेर पनि उल्लेख भएको देखिन्छ, एक ऐतिहासिक संवत् हो । यसको सुरुवात ईस्वी संवत्को वर्ष ७८ तिर हुन जान्छ । भारतमा यसलाई शालिवाहन शक भनिन्थ्यो । यो संवत्को प्रयोग हिन्दु, बौद्ध र जैन धर्मका पुस्तकहरूमा देखिन्छ । नेपाल संवत् नेपालको मौलिक राष्ट्रिय संवत् हो । नेपाल संवत्का प्रवर्तक शंखधर साख्वाः हुन् । उनले नेपालका विपन्न जनताको ऋण तिरेर ऋणमुक्त बनाएको दिनको सम्झनामा यो संवत् थालिएको हो । भक्तपुरका राजा राघवदेवको आज्ञामा वि.सं. ९३६ मा प्रारम्भ भएको थियो । नेपाल संवत् र शक संवत्हरू अद्यावधि तिथिको आधारमा मात्र चलेका छन् ।
विक्रमादित्य नामक ऐतिहासिक राजाले विक्रम संवत् प्रारम्भ गरेका थिए । नेपाल सरकारको पुरातत्व विभागबाट प्रकाशित भाषा वंशावलीमा धर्मागत राजाको शासनकालमा राजा धर्मागतको नामले राजप्रासादको दक्षिणतर्फ चतुर्मुख नारायण स्थापित गरी जोडी धारा (हालको नारायणहिटी) बनाई तीर्थ समेत चलाएको र त्यसैबेलादेखि विक्रम संवत् प्रचलनमा आएको भन्ने उल्लेख छ ।
त्यस्तै काभ्रेपलाञ्चोक जिल्लाको नालामा उत्तरापुर राज्यको नाउँमा विक्रमादित्य राजाले राज्य गरेको ऐतिहासिक ठाउँमा मेला लाग्ने गरेको किंवदन्ती पनि छ । विक्रमादित्य राजाले राज्य गरेको ऐतिहासिक ठाउँमा साँखुको बज्रयोगिनी मन्दिर परिसरको केही माथि विक्रमादित्य राजाको टाउकाको पूजा युगौंदेखि बज्राचार्य वंशका पुजारीले गरिआएका छन् । यस क्षेत्रमा विक्रमादित्य राजाको कुनै अस्तित्व नभएको भए यसरी विक्रमादित्यको मूर्तिको पूजाआजा गरेर बस्नुपर्ने कुनै कारण हुँदैनथ्यो । यिनै चक्रवर्ती राजाले नेपाललाई विस्तार गर्दै काशीसम्म पुगेका र काशीमा विश्वनाथको मन्दिर स्थापना गरेका थिए भन्ने कुरा स्कन्दपुराणको हिमवत्खण्डमा उल्लेख छ ।
योगी नरहरिनाथले देवमाला वंशावलीमा कुनै चक्रवर्ती राजा विक्रमादित्यको बत्तीसपुतली राम मन्दिर भएको ठाउँमा राजसिंहासन थियो भन्ने उल्लेख छ । सूर्यवंशी लिच्छविको प्रभावले किराँत राजालाई जिती लिच्छवि वंश सुरु भएपछि लिच्छवि वंशका पहिला राजा धर्मपाल, भूमिवर्मा, विक्रमादित्य आदि नामबाट पुकारिने राजाको शासनकालदेखि नै विक्रम संवत् सुरु भएको मानिन्छ । विक्रम संवत् भारतको उज्जैनबाट चलनमा आएको भन्ने पनि छ ।
विक्रमादित्य विक्रमसेन भनेर चिनिन्छ । उनी भारतीय उपमहाद्वीपको परमारा वंशका सम्राट थिए । उनको साम्राज्यले भारतीय उपमहाद्वीपको ठूलो भाग ओगटेको थियो, पश्चिममा हालको साउदी अरबसम्म फैलिएको थियो । पूर्वमा यो वर्तमान चीनसम्म फैलिएको थियो, जसको राजधानी उज्जैन थियो । विक्रमादित्यले ईसापूर्व ५७ मा विक्रम संवत् सुरु गरेका थिए । शकहरूलाई परास्त गरेपछि राजा विक्रमादित्यले रोमन राजा जुलियस सिजरलाई पनि हराएका थिए ।
विक्रम संवत् शाके संवत्भन्दा १३५ वर्ष, नेपाल संवत्भन्दा ९३६ वर्ष र ईस्वी संवत्भन्दा ५७ वर्ष जेठो छ । विक्रम संवत् मेष संक्रान्तिलाई वैशाख १ गते मानी त्यसैको आधारमा महिनाहरूका दिनहरू निर्धारण गरिएका हुन् । मीन राशि समाप्त भई मेष राशि प्रारम्भ हुनासाथ वैशाख महिना सुरु हुन्छ ।
हिन्दु नयाँ वर्षको पहिलो दिन जुन दिन परेको हो, पूरै वर्ष त्यही ग्रहको स्वामित्वमा रहेको मानिन्छ । हिन्दू नयाँ वर्षलाई पूजा–आराधनाको दृष्टिले निकै महत्वपूर्ण मानिन्छ । चैत्र महिनाले हिन्दु नयाँ वर्ष र वसन्त ऋतुको एकसाथ स्वागत गर्दछ । नवरात्रि चैत्र महिना र हिन्दु नयाँ वर्षको पहिलो चाड हो, जसमा माता दुर्गाको नौ दिनसम्म भक्तिपूर्वक पूजा गरिन्छ । नयाँ वर्षको दिन, हरेक व्यक्ति, जहाँ भए पनि, उत्साहित, प्रफुल्ल र नयाँ ऊर्जाले भरिएको महसुस गर्दछ । यसलाई खुशीको पर्व पनि भनिन्छ ।
चैत्र शुक्ल प्रतिपदाकै दिन अर्थात् मेष राशिको पहिलो दिन ब्रह्माले सृष्टिको रचना प्रारम्भ गरेको विश्वास गरिन्छ । यसै दिन सम्राट विक्रमादित्यले विक्रम संवत्को उद्घोष गरेका थिए । भगवान श्रीरामको यसै दिन राज्याभिषेक र जन्म यसै पक्षको नवमीको दिन भएको थियो । यो शिख सम्प्रदायका दोस्रो गुरु श्रीअंगद देवको जन्मदिन हो । स्वामी दयानन्द सरस्वतीले यसै दिन आर्य समाजको स्थापना गरेका थिए । राजा विक्रमादित्यले जस्तै, शालिवाहनले पनि हुण र शकहरूलाई पराजित गरेर उत्कृष्ट राज्य स्थापना गर्न यो दिन रोजेका थिए । युधिष्ठिरको राज्याभिषेक पनि यही दिन भएको थियो । महर्षि गौतम जयन्ती यसै दिन पर्दछ ।
नयाँ वर्षको पर्वलाई वैशाखी पनि भनिन्छ । वैशाखी वैशाख संक्रान्तिको दिन मनाइन्छ । यो पर्व वैशाखमा मनाइने हुनाले यसलाई वैशाखी भनिएको हो । बासिपावनी, जूडशीतल, सिरुवापावनी पनि भनिन्छ । मध्यदेशीय संस्कृतिमा वैशाख संक्रान्तिसहित दुई दिन र कतै कतै तीन दिनसम्म सिरुवा पर्व मनाइन्छ । यो पर्व एकआपसमा पानी हालाहाल, हिलो छ्यापाछ्याप र रङ खेलेर मनाउने चलन छ । नव शहरीकरणको प्रभावले यस्तो चलन साँघुरिंदै गएको देखिन्छ ।
हरेक संवत्को पहिलो पर्व सिरुवा र अन्तिम पर्व फागु हुन्छ । सिरुवा अर्थात् संवत सुरु हुँदाको पहिलो पर्व हो । ‘फगुवा उसारे आ सिरुवा पसारे’ भन्ने भनाइ छ । यसको अर्थ वार्षिक पर्वको प्रारम्भ सिरुवाबाट हुन्छ भने त्यसको अन्त्य फगुवा वा फागु पर्वबाट हुन्छ ।
सतुवाइन सिरुवा पर्वकै हिस्सा हो । मिथिलामा वैशाख १ गते सतुवाइन (सातु खाने) पर्व मनाइन्छ । मधेश प्रदेशको महोत्तरी, धनुषा, सर्लाही, बारा, पर्सा, रौतहट, सिरहा र सप्तरी तथा भारतको बिहार राज्यको दरभङ्गा, मधुवनी, सीतामढी, मुजफ्फरपुरलगायत मिथिला क्षेत्रका घरघरमा सतुवाइनको परम्परा छ । चना, मकै, जौ, भटमास भुटेर, पिंधेर तयार हुने पिठो नै सत्तु हुन्छ । सत्तुलाई चिनी, सख्खर वा नुनसँग पनि खाने गरिन्छ । घरका प्रत्येक सदस्यले कुनै कुरा खानुअघि सबैभन्दा पहिले सातु खाने गर्दछन् । सतुवाइन पर्वका दिन घरमुलीले सबैको हात हातमा सातु दिंदै शीतल र स्वस्थ रहनु भनेर आशीर्वाद दिन्छन् । सत्तुले शीतलता प्रदान गर्ने र व्यक्ति स्वस्थ रहन्छ ।
जूडशीतल सिरुवाकै पर्याय र पर्वको एक हिस्सा हो । यसलाई शीतलताको प्रतीक मानिन्छ । यस पर्वको पहिलो दिन बेलुका कुल देवताको अगाडि शीतल जल, पुष्प तथा प्रसाद चढाई भोलिपल्ट एकाबिहानै त्यो शीतल जल घरको ज्येष्ठ व्यक्ति तथा मान्यजनले आफूभन्दा सानोको टाउकोमा छर्केर आशीर्वाद दिने गर्छन् । ठूलाबडाले सानालाई प्रदान गर्ने आशीर्वाद थाप्न यस दिनमा घरका आफन्तका साथै नातेदार, टोलछिमेक, ईष्टमित्र, बालबालिकादेखि परिवारका सबै सदस्य प्रतीक्षारत रहन्छन् ।
सिरुवा पर्व थारू समुदायमा पनि उत्साहका साथ मनाइन्छ । यस पर्वलाई थारू समुदायले आफ्नो मौलिक पर्व मान्दछ । मिथिला संस्कृति वा हिन्दु धर्मावलम्बीमा पनि सिरुवाको स्थान मौलिक नै मानिन्छ ।
राजवंशी, गनगाई, ताजपुरिया, माझीलगायतका जातिबीच पनि सिरुवा पर्वको विशिष्ट स्थान छ । नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरी धर्म, संस्कृति, भौगोलिक क्षेत्र र स्थान विशेषका लागि मात्र हुने सार्वजनिक पर्व बिदाहरूमा सिरुवा पावनीको दिन– सो पर्व मनाउने झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरी जिल्लाहरूमा सार्वजनिक बिदा दिने गरेको छ । भारतको आसाम, मेघालय, पश्चिम बंगाल र कोचबिहारमा पनि सिरुवा मनाइन्छ ।
सिरुवा पर्वमा सांस्कृतिक कार्यक्रमहरूसहित मेला पनि लगाइने गरिन्छ । यस दिन ठाउँठाउँमा धूमधामका साथ मेला लाग्दछ । परिवारका सदस्य, आफन्त, इष्टमित्र र छरछिमेकी मिली हुलमूलका जमात लिएर नयाँ नयाँ वस्त्र धारण गरेर मेला हेर्न जान्छन् । कतै कतै देवस्थलमा पशुबलिको प्रथा पनि रहेको देखिन्छ । यस्तै एक मेला लोकदेव सलहेशको नाममा पनि लाग्ने गरेको छ ।
लहान नगरपालिकाको मुख्य चोकदेखि तीन किलोमिटर पश्चिममा पर्ने सलहेश फूलबारीमा नयाँ वर्षको पहिलो दिन भव्य मेला लाग्दछ । वर्षमा एक दिन मात्र फुल्ने फूल फूलबारी मेलाको उत्कृष्ट आकर्षण हुन्छ । फूलबारीस्थित हारमको रूखमा वैशाख १ गतेको दिन सुनाखरी फुल्ने गरेको घटनालाई मानिसहरू अलौकिक घटना मान्दछन् ।
सलहेश आफ्नो समयका पराक्रमी व्यक्ति थिए । राजा सलहेशको जन्म पाँचौं वा छैटौं शताब्दीमा मिथिला राज्यको अज्ञात गाउँमा भएको थियो । इतिहासकार ब्रजकिशोर वर्मा ‘मणिपद्म’का अनुसार सलहेश ‘शैलेश’ शब्दको अपभ्रंश हो, जसको अर्थ पर्वतराज भन्ने हुन्छ । राजा सलहेशले आफ्नो राज्यको उत्तर दिशाबाट हुने तिब्बती आक्रमणलाई पटक–पटक परास्त गरेर आफ्नो नाम ‘शैलेश’ लाई सार्थक बनाएका थिए । सलहेश बलशाली, वीर, साहसी र विलक्षण प्रतिभाका धनी थिए । उनको वीरता र ज्ञान देखेर मुंगेरका राजा भीमसेनले उनलाई अंगरक्षक नियुक्त गरेका थिए ।
एक जनश्रुतिका अनुसार मिथिलामा ऐतिहासिक राजा जनकपछि पाँचौं र छैटौं शताब्दीसम्म वज्जिसंघ, लिच्छवि, नन्द, सुनगा, कान्त, गुप्ता, वर्धन इत्यादि वंशको शासन रह्यो तर त्यस अवधिमा मिथिलामा कुनै विशेष उपलब्धि प्राप्त भएन । त्यसपछि शासनमा आएका राजा सलहेशले मिथिलाको राजधानी महिसोथालाई बनाए । त्यहाँ एक प्राचीन गढको भग्नावशेष अझै पनि देखिन्छ ।
दुसाध समुदाय लोकदेव सलहेशलाई आफ्नो कुलदेव मान्दछन् । अत्यन्तै दयालु उनी सबैप्रति सद्भाव राख्दथे । उनी सर्वहारा समुदायका लागि देवतुल्य थिए । लोकदेव सलहेशको लिखित इतिहासको अभावका कारण विभिन्न किसिमका आख्यान प्रचलित छन् । शताब्दीयौंदेखि प्रचलित लोकगीत र सलहेशको गीति नाचमा उल्लेख भएका विवरणहरूलाई धेरै हदसम्म विश्वसनीय मान्न सकिन्छ ।
राजा सलहेश शक्ति, शील र सौन्दर्य तीनवटै गुणले परिपूर्ण थिए । सलहेशको विवाह मधुवनीका बलाठकी छोरी सामैरसँग भएको थियो । पकडियागढका राजा कुलेश्वरकी छोरी चन्द्रवतीले सलहेशलाई प्रेम गर्थिन् । तर उनको प्रेम प्रस्तावलाई सलहेशले अस्वीकार गरे । चन्द्रवतीले आफ्नो प्रेम प्रस्ताव अस्वीकार गरेकोमा पिता राजा कुलेश्वरलाई भनेर सलहेशलाई कैद गरिन् । आफ्ना पति कैद परेको खबर पाएपछि सामैर सखी कुसुमा मालिनीको साथ लिई सलहेशलाई मुक्त गराइन् । कुसुमा मालिनीले पनि सलहेशलाई प्रेम गर्थिन् आफ्नै सखीका पतिलाई आफ्नो बनाउन पाइनन् ।
त्यही वियोगमा उनले प्रत्येक वर्ष सलहेशको प्रतीक्षामा वैशाखको पहिलो दिन हारमको रूखमा देखा पर्ने प्रण गरिन् । हारमको मालामा गाँसिए झंै फुल्छ । हारमको आडमा कुसुमा मालिनीको मन्दिर छ । नयाँ वर्षको दिन कुसुमा मालिनी फूलको माला उनेर सलहेशको प्रतीक्षामा रहने गरेको जनविश्वास छ । सलहेश फूलबारी त्यही प्रेम कथाको प्रतीकको रूपमा रहेको छ ।
अलौकिक फूल फुल्ने घटनाको साक्षी बन्न नेपाली मात्र होइन, हजारौं भारतीय पनि प्रत्येक वर्ष सलहेश फूलबारीका आगन्तुक हुन्छन् । फूलबारीमा प्रविष्ट हुनासाथै मानिसमा शान्ति र प्रेमको अनुभूति हुन्छ । आगन्तुकहरू आ–आफ्नो कामना राखी भाकल गर्ने गर्दछन् । यहाँ गरिने भाकल पूरा हुने विश्वास गरिन्छ । निःसन्तान स्त्री सलहेशको दर्शन गरी सन्तानको कामना गर्दछन् । भाकलबाट प्राप्त हुने सन्तानको मुण्डन संस्कार फूलबारीमै आएर गरिन्छ ।
सलहेश फूलबारी १२ बिघाको क्षेत्रमा फैलिएको छ । नामले फूलबारी भए पनि यो जंगलको रूपमा परिवर्तित भएको छ । सलहेश फूलबारीमा हारम, पाकैर, लावा, सोहरा वृक्ष र विभिन्न प्रकारका जडीबुटी पाइन्छन् ।
फूलबारीमा चारैतिर मूल फुटेर शीतल जल निरन्तर प्रवाहित भइरहेको हुन्छ । फूलबारीको शीतल जल पिएपछि जस्तोसुकै तनाव वा रिस शान्त भएर जान्छ । फूलबारी आसपासका गाउँ र शहरमा आयोजन हुने यज्ञादि, अनुष्ठानमा फूलबारीकै जल कलशमा भर्ने चलन छ । महामारी फैलिंदा सलहेश फूलबारीको पानी औषधि मानेर खाने गरिन्छ र रोगव्याधि पनि निको हुन्छ भनिन्छ ।
सलहेश फूलबारी पर्यटकीय पूर्वाधार विकासको दृष्टिले वर्षौं वर्ष उपेक्षित रह्यो तर स्थानीय स्वशासनको स्थापनापछि यस क्षेत्रको भाग्योदय हुन थालेको छ । सलहेश फूलबारीको मेला सकेर पर्यटकहरू सलहेशको इतिहाससँगै गाँसिएको पतारी पोखरी, पकडियागढ मेलाको आनन्द लिन जान्छन् ।
from Online Khabar https://ift.tt/LNiKd9T
No comments:
Post a Comment